प्रहरी प्रवक्ता कार्कीको धम्कीपूर्ण खण्डन (खण्डन पत्रसहित)
नेपालबहस संवाददाता
मंसिर २०, २०८१ बिहिबार १९:३८:९
२० मंसिर, काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दानबहादुर कार्कीले नेपालबहस डटकममा प्रकाशित एक समाचारलाई लिएर धम्कीपूर्ण खण्डन पठाएका छन् ।
‘नेपालबहस डटकम’ले २०८१ मंसिर १८ गते मंगलबारका दिन ‘डीआईजी सरुवाको तयारीः कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल’ शीर्षकमा प्रकाशित समाचारलाई लिएर डीआईजी कार्कीले माफी मागेर खण्डन प्रकाशित गर्नुका साथै गलत सामग्रीहरू हटाउन आदेशयुक्त खण्डन पठाएका हुन ।
ईमेलमार्फत पठाइएको सो खण्डन पत्रमा उनले भनेका छन्, “मविरुद्ध गालीगलौज, मानमर्दन, चरित्रहत्या, नेपाल प्रहरीको गरिमामा आँच पुग्ने गरी भ्रामक र मनगढन्ते समाचार प्रकाशित भएकोमा गम्भीर ध्यानाकर्षण भएको छ । ”
उक्त समाचारले आफूलाई अपूरणीय क्षति पुगेको दावी गर्दै डीआईजी कार्कीले “खण्डनलाई तोडमरोड नगरी उचित स्थान दिनु हुन अनुरोध गर्दछु । साथै मविरुद्धका अपुष्ट, तथ्यहीन र भ्रामक विषयवस्तु हटाउन पनि अनुरोध गर्दछु ।” भनेका छन् । उनले “व्यक्तिगत रिसइबी साँध्ने गरेर मविरुद्ध समाचार प्रकाशित हुँदै आएको मेरो भोगाई छ,” खण्डन पत्रमा भनिएको छ ।
डीआईजी कार्कीले पठाएको खण्डन पत्र जस्ताको तस्तै प्रकाशित गरिएको छ । हेर्नुहोस्
श्री सम्पादक ज्यू,
नेपालबहस डटकम,
ललितपुर ।
मिति – २०८१ मंसिर १९विषय – खण्डन
उपरोक्त सम्बन्धमा ‘नेपालबहस डटकम’ले २०८१ मंसिर १८ गते मंगलबारका दिन ‘डीआईजी सरुवाको तयारीः कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल’ मूल शीर्षक र ‘रवि लामिछानेका विश्वास पात्र डीआईजी कार्कीको दौडधूप’ उपशीर्षकमा मविरुद्ध गालीगलौज, मानमर्दन, चरित्रहत्या, नेपाल प्रहरीको गरिमामा आँच पुग्ने गरी भ्रामक र मनगढन्ते समाचार प्रकाशित भएकोमा गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपाल प्रहरीको गरिमा र मेरो व्यक्तिगत जीवनमा आँच पुग्ने गरेर जिम्मेवार सञ्चारमाध्यमले भ्रामक, मनगढन्ते, पुष्टि नै नभएका कुराहरू कथाका रुपमा प्रकाशित गरिएको हुँदा मेरो गम्भीर ध्यानाकर्षण हुनुका साथै समाचारको खण्डन गर्दछु ।
मविरुद्ध लगाइएका आक्षेपहरूको खण्डन प्रकाशित गर्ने क्रममा पुष्टि हुने गरेर जवाफ दिनु होला । व्यक्तिगत रिसइबी साँध्ने गरेर मविरुद्ध प्रकाशित भएका आरोप, आक्षेपहरूलाई पुष्टि गर्नु होला अन्यथा माफी मागेर खण्डन प्रकाशित गर्नुका साथै गलत सामग्रीहरू हटाउन अनुरोध गर्दछु । पत्रकार आचारसंहिता विपरीत यस सञ्चारमाध्यमले मविरुद्ध पटक पटक यस्तै खालका पुष्टि नभएका र भ्रामक कुराहरू प्रकाशित गरेर व्यक्तिगत दुश्मनी साँधेको जसरी समाचार प्रकाशित हुँदै आएको मेरो भोगाइ छ । मलाई तपाई र तपाईंको सञ्चारमाध्यमले न्यायालयले जस्तै गरी दोषी र अपराधी ठहर गरेको छ ।
सञ्चारमाध्यमले यसरी व्यक्तिगत दुश्मनी राखेर समाचार प्रकाशित गर्ने अधिकारी पत्रकार आचारसंहिताले दिएको छ की छैन ? छ भने जवाफ पाउँ । मलाई के आधारमा तपाईंहरूले सर्वाधिक भ्रष्ट, बदनाम र माफियागिरी भन्नुभयो ? यसको पुष्टि हुने गरेर जवाफ दिनु होला । तपाईंहरूले किन यति गम्भीर आरोप लगाएर समाचार प्रकाशित गर्नुभयो ? यो आरोपले म र मेरो जीवनमा पर्ने क्षति अपूरणीय छ । तपाईंको समाचारबाट म र मेरो जीवन, परिवारमा हुने क्षतिको यस सञ्चारमाध्यम जिम्मेवार हुनुपर्नेछ । समाचार प्रकाशित गर्दा मेरो भनाइ र प्रतिक्रियालाई स्थान समेत दिइएको छैन ।
‘आकर्षक मानिने प्रदेश डीआईजीमा जान सर्वाधिक भ्रष्ट, बदनाम र माफिया गिरीमा रमाउने पिपलपाते डीआईजीहरूको दौडधूप चलेको समाचार छ । यस मध्ये कहिले एमाले, कहिले कांग्रेस त कहिले माओवादी हुँदै सहकारी ठगीमा प्रहरी हिरासतमा रहेका पूर्व गृहमन्त्री रवि लामिछानेका खास मान्छे कहलिएका डीआईजी दानबहादुर कार्की ब्रिफकेश बोकेर बालुवाटारदेखि बुढानीलकण्ठसम्म दौडिरहेको बताइएको छ ।’ समाचारमा मविरुद्ध किन यसरी दुश्मनलाई जसरी आरोप र आक्षेपहरू लगाइएको छ , यसको तथ्यगत जवाफ दिनु होला ।
ब्रिफिकेश बोकेर बालुवाटार र बुढानिलकण्ठ दौडिरहेको भनेर आक्षेप लगाइएको छ । यसको पुष्टि हुने आधार र प्रमाण पेश गर्नु होला । मलाई ट्रयाक रेकर्डको प्रमाणपत्र यस सञ्चारमाध्यमले दिने हो ? मलाई मेरो संगठनले दिएको जिम्मेवारी निभाउनु मेरो दायित्व र कर्तव्य हो । मेरो क्षमता र कार्यकुशलतामा प्रश्न उठाउने, दण्ड र पुरस्कार दिने अधिकार मेरो संगठनलाई मात्रै छ । ‘इन्स्पेक्टरको जागिरे जीवनदेखि ट्रयाक रेकर्ड राम्रो नरहेका डीआईजी कार्कीले सहकारी ठगीका आरोपी रवि लामिछानेको गृहमन्त्रीत्वकालमा ३ सिनियर ब्याचलाई उछिन्दै छलाङ मारेर १ नम्बरमा डीआईजी हुन सफल भएका थिए । रविका अमेरिकन व्यावसायिक पाटर्नर मोहनजंग थापासँग विशेष सम्बन्ध रहेको भनिएका डीआईजी कार्कीले जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुख हुँदा रवि लामिछानेको दोहोरो पासपोर्ट छानविन कमजोर पारी मुद्दा चलाउन नपर्ने अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको आरोप लाग्दै आएको छ । हाल केन्द्रीय प्रहरी प्रवक्ताको भूमिकामा रहेका उनीमाथि आईजीपी सचिवालयको फाइदा उठाउँदै रवि लामिछाने बचाउने खेलो फड्कोमा लागेको प्रहरी अधिकारीहरू बीच नै चर्चा हुने गरेको छ ।’, समाचारमा भनिए जस्तो यी कुराहरूको ? कानुनी एवं तथ्यगत पुष्टि हुने गरेर उचित जवाफ दिनु होला ।
‘बुढानीलकण्ठदेखि बालुवाटारसम्मलाई प्रभावमा पारी उनै कार्की अहिले लुम्बिनी प्रदेश प्रहरी कार्यालय वा गण्डकी प्रदेश प्रहरी कार्यालय जाने ध्याउन्नमा लागेको चर्चा छ। किनभने ती दुवै ठाउँमा रवि लामिछाने विरुद्ध करोडौं सहकारी ठगीको मुद्दा अनुसन्धानकै क्रममा चरिरहेको छ । पोखराको सूर्यदर्शन तथा बुटवलको सुप्रिम सहकारीबाट करोडौं ठगीको केस दबाउन उनी त्यस प्रदेशमा जान जोडबल लगाइरहेको आशंका प्रहरी वृत्तमै गर्न थालिएको छ । यी दुई ठाउँमा पार नलागे कार्की तस्करीको स्वर्ग मानिने कोशी प्रदेश जान मरिहत्ते गरिरहेको प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयमा चर्चा छ ।’, यी आरोप र आक्षेपहरूको पनि तथ्य र प्रमाणहरू खण्डनका क्रममा पेश गर्नु होला ।
मेरो खण्डनलाई तोडमरोड नगरी उचित स्थान दिनु हुन अनुरोध गर्दछु । साथै मविरुद्धका अपुष्टि, तथ्यहीन र भ्रामक विषयवस्तु हटाउन पनि अनुरोध गर्दछु । मेरो खण्डनले उचित स्थान पाउन सकेन भने सम्मानित प्रेस काउन्सिल नेपालसहित न्यायिक निकायमा न्यायका लागि जान बाध्य हुने ब्यहोरा अनुरोध गर्न चाहन्छु ।
बोधार्थ
श्री प्रेस काउन्सिल नेपाल,
सिनामंगल, काठमाडौंनिवेदक
दानबहादुर कार्की
प्रहरी नायब महानिरीक्षक एवं प्रवक्तानेपाल प्रहरी, प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाडाैं ।
♦नेपालबहस डटकमको जवाफ
सर्वप्रथम त १८ गते प्रकाशित उक्त समाचारमा तपाईं डीआईजी दानबहादुर कार्कीलाई मात्र लक्षित गरि समाचार प्रकाशित भएको छैन । समग्रमा नेपाल प्रहरीले डीआईजीहरूको नियमित सरुवा तयारी गरेको विषयलाई हाम्रो विभिन्न समाचार स्रोतका आधारमा कसैलाई पनि किटानी नगरी समाचार प्रकाशित भएको छ । हामीले पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै सत्य तथ्यपरक, विश्वसनीय एवं खोजमुलक समाचार सामाग्री पाठक सामु पस्कने गरिँदै आएको छ ।
तपाईं प्रति व्यक्तिगत रिसईबी साध्नु पर्ने कुनै आधार र कारण छैन । उक्त समाचारका विषयमा प्रवक्ताका रुपमा फोन सम्पर्क गर्न पटक पटक प्रयास गर्दा फोन नलागी सम्पर्क हुन नसकेको मात्र हो । तसर्थ समाचार हटाउने वा माफी माग्नु पर्ने कुनै विषय पनि छैन । सञ्चारमाध्यमले समाजमा वा सार्वजनिक निकायमा वा तत् निकायमा बस्ने सार्वजनिक व्यक्तिका बारेमा खोजीनीति गरी भएका, हुँदै गरेका वा हुन लागेका गतिविधिहरूका बारेमा सूचना सम्प्रेषण गर्ने हो, न्यायालयले जस्तै दोषी र अपराधी ठहर गर्ने होइन । गरेका पनि छैनौं । समाचारमा सबै कुरा उल्लेख भएकाले व्यक्ति पिच्छे जवाफ दिइरहनु आवश्यक छैन । सम्पादक
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
माघ ४, २०८१ शुक्रबार
मधेशी युवालाई रोजगारीमा जोड्दै पूर्व एसएसपी थापा
माघ २, २०८१ बुधबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
माघ ४, २०८१ शुक्रबार
सैफअली खानसँग आक्रमणकारीले मागेका थिए १ करोड रूपैयाँ
माघ ४, २०८१ शुक्रबार
पुरानो मिसिल सर्वोच्चबाट रुपन्देही नपुगेपछि रवि र छबिसहितका आरोपीको मुद्दा दर्ता भएन
माघ ४, २०८१ शुक्रबार
नेपाली वायुसेवामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न ईयूलाई आग्रह
माघ ४, २०८१ शुक्रबार
महिला विश्वकप क्रिकेटको पहिलो खेल नेपालले बंगलादेशसँग खेल्ने
माघ ४, २०८१ शुक्रबार
रुकुम पश्चिममा रुखले च्यापेर एकको मृत्यु, एक जना घाइते
माघ ४, २०८१ शुक्रबार
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने पक्राउ
माघ ४, २०८१ शुक्रबार
कालीगण्डकी दोहनविरूद्ध सृजनात्मक प्रतिरोध
माघ ४, २०८१ शुक्रबार