गढीमाई मेलामा चोरहरूको बिगबिगी, चोर-पकेटमारसँग प्रहरीको ठेक्कापट्टा !
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार १९:३५:१२
२३ मंसिर, कलैया बारा । विश्व प्रसिद्ध गढीमाई मेलामा यतिबेला दर्शनार्थीको घुइँचो लागेको छ । प्रत्येक पाँच वर्षमा लाग्ने गढीमाई मेला विश्वमै पशु बलिको रूपमा प्रख्यात रहेको छ । बाराको बरियारपुर स्थित गढीमाई मेलामा हालसम्म ४० लाख भन्दा बढी दर्शनार्थीहरू देश विदेशबाट आइसकेका छन् भने अझै आउने क्रम जारी रहेको छ ।
गत मंसिर १ गतेदेखि सुरु भएको गढीमाईको मेला मंसिर ३० गते सम्म चल्ने छ । यस वर्षको मेलामा करिब १ करोड दर्शनार्थीहरूले मेलाको अवलोकन गर्ने मेला आयोजक समितिले अनुमान गरेको छ । मेलामा दर्शनार्थीहरूको सुरक्षाका लागि तीन हजारको संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित ट्राफिक प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जानकारी दिएको छ ।
यसको अलावा नगर प्रहरी, स्वयंसेवकहरू समेत भक्तजनहरूको सुरक्षार्थ खटिएका छन् भने सूक्ष्म तारिकाले सबैको निगरानीका लागि ३५० भन्दा बढी सीसीटिभी क्यामरा पनि राखिएको छ । गृहमन्त्री रमेश लेखकले समेत गढीमाईको दर्शन, पूजा तथा मेलाको अवलोकन गरिसकेका छन् ।
तर मेलामा दर्शनार्थीहरूको घुइँचो बढ्न थालेपछि चोर एवं पकेटमारहरूको बिगबिगी पनि बढ्न थालेको छ । स्थानीय भाषामा 'टाईं' भनिने चोर–लुटेरा समूहले मेलामा आएका सयौं दर्शनार्थीहरूको सुनका सिक्री, मोबाइल, गरगहना तथा पर्स चोरी भएको उजुरी प्रहरी सामु पुगेको पनि छ, कतिपयले भने कहाँ उजुरी गर्ने भन्ने मेसो नै नपाएको बताइएको छ ।
आश्चर्यको कुरा त के छ भने गढीमाई मेलामा स्थानीय प्रहरीसँग चोरहरूको सेटिङ नै हुने गरेको बताइएको छ । प्रहरी स्रोतका अनुसार मेलामा पकेटमार (टाईं)हरुको एउटा समूह र सुनका गरगहना तथा मोबाइल चोर्ने चोरहरूको अर्को समूहले अघोषित ठेक्का लिने गरेका छन् ।
समाचार स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय बाराको घुमुवा टोलीसँगको सेटिङमा यी दुई समूहले चोरी तथा पकेटमारीको ठेक्कापट्टा खरिदबिक्री गरिसकेका छन् । प्रति समूह ५ देखि १० लाख प्रहरीको घुमुवा टोलीलाई बुझाएपछि उनीहरू निर्वाध रुपमा मेलामा घुम्ने र चोरी तथा पकेटमारी गर्ने छुट पाउँछन् । तीन हजार प्रहरी परिचालन भएपनि ठाउँ ठाउँमा प्रहरीका चेकिङ पोइन्ट र गस्ती भइरहे पनि यदि ठेक्का पाएको समूहले चोरी वा पकेटमारी गरेमा प्रहरीले थाहा नपाए जस्तो गर्ने गरेको प्रहरीको एउटा स्रोतले दावी गरेको छ ।
अझ रोचक कुरा त के छ भने मेलामा प्रहरीसँग सेटिङ गरेको चोर समूह बाहेक अरु चोर वा पकेटमार समूह त्यहाँ छिर्न र घुम्न समेत पाउँदैनन् । पटके र व्यावसायिक चोरहरूको समूह भएकाले प्रहरीले सबैलाई चिन्ने भएकाले पनि ठेक्का हात पारको समूहबाहेक अरूको त्यहाँ केही नचल्ने गरेको बताइन्छ । यदि चोरेको वा पकेटमारेको प्रहरीले थाहा पाइहाल्यो वा पक्राउ गर्यो भने देखाउनकै लागि प्रहरीले एक दुई झापड हानेर धपाउने तथा अलि ठूलो चोरी भएकोमा हल्ला भयो भने प्रहरीले चोरहरू माथि चोरी, लुटपाटको कडा मुद्दा नलगाइ सामान्य प्रकृतिका अभद्र व्यवहारको मात्र मुद्दा चलाउने गरेको स्रोतले दावी गरेको छ ।
समाचार स्रोतका अनुसार प्रहरीको सिभिल टोलीलाई पहिल्यै ५ देखि १० लाख प्रिपेड बुझाएर ठेक्का लिने चोरहरूको समूहले मेलामा आउने भक्तजनका पकेट, मोबाइल र गरगहना रित्तो पार्ने गरेका छन् । त्यसरी सुनका गरगहना चोर्ने पारङ्गत चोर समूहलाई सुनचाँदी बिक्री गर्ने सोनारहरुले लगानी लगाउने गरेको रहस्य पनि स्रोतले बताएको छ । चोरी गरेका गरगहना चोर समूहले तिनै लगानीकर्तालाई सस्तो भाउमा बिक्री गर्ने गरेका छन् ।
बारामा जिल्ला एसपीको घुमुवाको रुपमा प्रहरी सहायक हबल्दार धीरज पटेल लामो समयदेखि कार्यरत छन् । मोटरसाइकल गस्तीका नाममा असुली धन्दा गर्ने अर्का वरिष्ठ हबल्दार विनोद साह खटिएको स्रोतको भनाई छ । यतिबेला यो घुमुवा टोलीको अर्को धन्दामा भारतीय भक्तजनहरूले सीमा पारीबाट पशुबलीका लागि ल्याइएका राँगा, बोकाको नेपाल भित्रा्एवापत मोटो रकम असुल्नु पनि रहेको बताइन्छ ।
यस बारे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक (डीएसपी) एवं प्रवक्ता प्रकाश सापकोटासँग जिज्ञासा राख्दा अहिलेको आधुनिक एवं प्रविधिको युगमा प्रहरीसँग चोरहरूको सेटिङ हुनै नसक्ने दावी गरे । सिस्टम नै फेल खाने गरि खचाखच बढेको भक्तजनको घुइँचोका कारण चोरी तथा पकेटमारी पूर्ण नियन्त्रण गर्न कठिनाई भइरहेको जनाउँदै अहिलेसम्म एक सय भन्दा बढी चोर तथा पकेटमारहरू पक्राउ गरिसकेको जानकारी दिए ।
रंगेहात पक्राउ परेका कतिपयलाई पीडितकै सामुन्ने चोरी भएको सामान फिर्ता लिई सम्बन्धित धनीलाई जिम्मा लगाई पठाइएको तथा कतिपयलाई मेला अवधिभर हिरासतमा राख्ने एवं अपराधको स्तर हेरी मुद्दा चलाउने गरिएको बताए । डीएसपी सापकोटाले मेलामा चोरी वा पकेट मार्ने नियतले एक हजार भन्दा बढी संख्यामा स्थानीय भाषामा 'टाईं' भनिने चोर–पकेटमाराहरु आउने गरेको जानकारी दिँदै प्रहरीलाई शंका लागेर पक्राउ गरि अनुसन्धान गर्ने गरिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु
पुष २५, २०८१ बिहिबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
युके पठाइ दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
पुष २६, २०८१ शुक्रबार
कांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार