बीमा प्राधिकरणका अध्यक्ष सिलवाल भ्रष्टाचार मुद्दामा डामिए, स्वतः निलम्बन
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार १५:३४:३२
२४ मंसिर, काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नागरिकतामा पटक–पटक जन्ममिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको, नेपाल बीमा प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्षको उमेरको हदबाट अनिवार्य अवकाश हुनुपर्नेमा ६६ औं वर्षमा प्रवेश गर्दासमेत पदमा बहाल नै रहेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले मुद्दा दायर गरेपछि आगामी माघ २१ गते अवकाशमा जान लागेका सिलवाल स्वतः निलम्बनमा परेका छन् । अख्तियारले सम्वत् २०८० साल साउन १६ गते नै अवकाश लिनुपर्नेमा पछिल्लो ९ (नौ) महिनादेखि राष्ट्रसेवक पदको दुरुपयोग गरी लाभ, सुविधा र अधिकारको प्रयोग गरी रहेको भन्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
अनुसन्धानका क्रममा अध्यक्ष सिलवालले जिल्ला प्रशासन कार्यालय, पर्साबाट जारी मिति २०३२।११।२४ गतेको नेपाली नागरिकता प्रमाण पत्र प्राप्त गर्दा उमेर १६ वर्ष उल्लेख भएको, जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकताको प्रतिलिपि प्राप्त गर्दा मिति २०६६।०१।१७ गते जारी नागरिकतामा जन्ममिति २०१६।०७।२२ उल्लेख भएको तर त्रिभुवन विश्वविद्यालयबाट जारी स्नातक तहको ट्रान्सक्रिप्टमा जन्म मिति २०१५।०४।१५ उल्लेख भएको, स्वयंले भरेको नोकरी तथा वैयक्तिक विवरण (सिटरोल) मा समेत ट्रान्सक्रिप्टको नै जन्म मिति २०१५।०४।१५ उल्लेख गरी विवरण भरी निजामती सेवामा मिति २०४३।०४।०१ गते रा.प. तृतीय श्रेणीको पदमा नियुक्ति लिएको अख्तियारको अभियोग पत्रमा उल्लेख गरिएको छ ।
सिलवालले सोही जन्ममितिको आधारमा निजामती कितावखानाबाट निवृत्तिभरण अधिकार पत्र प्राप्त गरी मिति २०७३।०४।१५ गते अनिवार्य अवकाश प्राप्त गरेको देखिएकोबाट निजले मिति २०१५।०४।१५ लाई नै जन्ममिति कायम र स्वीकार गरे/गराएको अख्तियारको आरोप पत्रमा उल्लेख छ । सिलवालले निजामती सेवामा नै बहाल रहेको अवस्थामा निजले कूटनीतिक राहदानी, विशेष राहदानी प्राप्त गर्न निज स्वयंले भरेको पासपोर्ट आवेदन फारममा आफ्नो उमेरको झुट्टा विवरण दिई जन्ममिति २०१८।०७।२४ (०९ नोभेम्बर १९६१) कायम गरेको देखिएकोले निजले आफ्नो वास्तविक जन्ममिति भन्दा करिब ३ वर्ष उमेर घटाएर राष्ट्रसेवकको हैसियतले प्राप्त हुने कूटनीतिक राहदानी र विशेष राहदानी प्राप्त गर्न झुट्टा विवरण पेश गरी, प्राप्त गरी गराई राष्ट्रसेवकको रुपमा उक्त राहदानीहरु प्रयोग प्रचलनमा ल्याई लाभ, सुविधा प्राप्त गरेको जनाएको छ।
बीमा समितिको अध्यक्ष नियुक्ति गर्ने सम्बन्धमा अर्थ मन्त्रालयले साविकको बीमा समितिको अध्यक्षको पदमा निजलाई नियुक्तिको प्रस्ताव नेपाल सरकार, मन्त्रिपरिषदमा पेश गर्दा नै उल्लेख भएको अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ को दफा ५ को प्रतिबन्धात्मक वाक्यांशसमेत बमोजिम नियुक्ति दिने गरी भएको प्रस्ताव नै नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७।१०।१९ गते स्वीकृत भई सोही मापदण्ड उल्लेख गरी अर्थ मन्त्रालयले निजलाई बीमा समितिको अध्यक्ष पदको नियुक्ति पत्र दिएको अभियोग पत्रमा उल्लेख छ ।
अख्तियारले उक्त मापदण्डको दफा ५ को प्रतिबन्धात्मक वाक्यांशमा “पदावधि समाप्त हुनु अगावै नियुक्त वा मनोनयन भएका पदाधिकारी तथा सदस्यको उमेर ६५ वर्ष पूरा भएमा स्वतः अवकाश हुनेछ” भनि स्पष्ट कानूनी व्यवस्था रहेको देखिएकोमा सो कानूनी व्यवस्थालाई स्वीकार गरी निजले मिति २०७७।१०।२२ स्वःघोषणा तथा शपथग्रहण गरी पद स्वीकार गरेबाट निज सूर्यप्रसाद सिलवाल Ipso facto (स्थापित तथ्यका आधारमा) मिति २०८०।०४।१५ मा अवकाश हुनुपर्ने जिकिर गरेको छ ।
तर सिलवालले नेपाल बीमा प्राधिकरणको अध्यक्षको ओहदा नपाउनेमा जानी जानी सो ओहदामा बहाल रहेको, नेपाल बीमा प्राधिकरणको नपाए/नभएको अध्यक्षको ओहोदा, अधिकार, हैसियत पाए भनी हालसम्म पनि कार्य गरी नै रहेको देखिँदा निज प्रतिवादीको उक्त कार्यहरू प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ मा परिभाषित एवं निषेधित कसुर गरे भएको पुष्टि भएको बताएको छ ।
यसैगरी निजले मिति २०७७।१०।२० गते बीमा प्राधिकरणको अध्यक्षमा राष्ट्रसेवकको रुपमा नियुक्ति पाउन आफ्नो जन्ममिति २०१५।०४।१५ गते हो भन्ने कुराको प्रष्ट थाहा जानकारी हुँदा हुँदै नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतमा आफ्नो जन्ममिति २०१६।०७।२२ को जन्ममिति हो भनी पछिबाट लिएको नागरिकताको प्रमाणपत्र पेश गरेको, उमेर ढाँटी झुट्टा विवरणको वैयक्तिक विवरण पेश गरी, नेपाल बीमा प्राधिकरणको अध्यक्षको ओहदामा हालसम्म पनि बहाल रहि नै रहेको निष्कर्ष निकालेको छ ।
आफ्नो जन्ममिति २०१५।०४।१५ गते हो भन्ने कुराको प्रष्ट थाहा जानकारी आफूलाई हुँदा हुँदै आफ्नो उमेर ढाँटी मिति २०१८।०७।२४ गतेको जन्ममिति कायम गरी नेपाल सरकार, परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागमा करिब ३ वर्ष उमेर घटाई झुट्टा विवरणका फाराम लगायतका कागजात पेश गरी राष्ट्रसेवकको हैसियतले प्राप्त हुने कूटनीतिक राहदानी र विशेष राहदानी प्राप्त गर्न झुट्टा विवरण पेश गरी सोही झुट्टा विवरणका आधारमा प्राप्त गरी गराई राष्ट्रसेवकको रुपमा उक्त राहदानीहरु प्रयोग प्रचलनमा ल्याई लाभ, सुविधा प्राप्त गरिनै रहेको माथि उल्लिखित सवूद प्रमाणबाट पुष्टि भइरहेको देखिँदा निज प्रतिवादीको उक्त कार्य प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) मा परिभाषित एवं निषेधित कसुर समेत गरे भएको देखिएको विशेष अदालतमा दायर अभियोग पत्रमा उल्लेख गरेको छ ।
यसर्थ नेपाल बीमा प्राधिकरणको अध्यक्षको रुपमा कार्यरत निज प्रतिवादी सूर्य प्रसाद सिलवालले झुट्टा विवरण दिई कूटनीतिक तथा विशेष राहदानीको सुविधा लाभ लिएको, नेपाल बीमा प्राधिकरणको अध्यक्षको ओहदामा बहाल रहन नपाउनेमा हाल पनि बहाल रहेको, अध्यक्षको हैसियतले प्रयोग गर्न नपाउने अधिकार प्रयोग गरेको, झुट्टा विवरण,ब्यहोराको आधारमा उल्लिखित हैसियतहरुमा लिन नपाउने लाभ, सुविधा लिएको पुष्टि भएकोबाट सिलवालको उक्त कार्यहरू भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ र दफा १६ को उपदफा (१) बमोजिमको कसुरजन्य कार्य भएको पुष्टि भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ र दफा १६ को उपदफा (१) बमोजिमको कसुरजन्य कार्यमा सोही ऐनको दफा १५ र दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन माग गरेको छ ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवालले भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद २ (भ्रष्टाचारको कसुर र सजाय सम्बन्धी व्यवस्था) अन्तर्गतको माथि उल्लिखित माग दावी बमोजिमको कसुर गरेको हुँदा निज प्रतिवादी सूर्य प्रसाद सिलवाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन पनि माग गरेको छ । सिलवालले मिति २०८०।०४।१५ गते देखि हालसम्म लिएको लाभ सुविधा रकम रु.३६,६२,१५४।१६ (छत्तीस लाख बैसठ्ठी हजार एक सय चौवन्न रूपैयाँ सोह्र पैसा मात्र) भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख. र कसूरजन्य सम्पत्ति तथा साधन-रोक्का, नियन्त्रण र जफत) ऐन, २०७० को दफा ११ बमोजिम जफत र असुल उपर हुन माग दावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय बीमा कम्पनीले माग्यो कार्यकारी प्रमुख
माघ २४, २०८० बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
आजदेखि गढीमाई मेलामा पशु बलि शुरु , हेर्नुहोस् तस्विरमा मेलाको रौनक
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार
गौं हत्याको आरोपीविरुद्ध पक्राउ आदेश जारी
मंसिर २५, २०८१ मंगलबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
७ वर्ष कैद सजाय मागसहित दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको मुद्दा दर्ता
मंसिर २६, २०८१ बुधबार
जसपा नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन
मंसिर २६, २०८१ बुधबार
‘जनसङ्ख्या नीति छिट्टै परिमार्जन गरिने’
मंसिर २६, २०८१ बुधबार
सहकारी बचतकर्ताहरुले बुझाए आयोग समक्ष ध्यानकर्षणपत्र
मंसिर २६, २०८१ बुधबार
‘प्रकृतिमा आधारित पर्यटनका लागि हिमाल आकर्षक गन्तव्यस्थल’
मंसिर २६, २०८१ बुधबार
पुँजीबजारको निष्पक्ष र पारदर्शी विकासका लागि प्रतिबद्ध छु : अध्यक्ष श्रेष्ठ
मंसिर २६, २०८१ बुधबार