भविष्यको गन्तव्यः कस्ता नयाँ पुस्ता, कस्तो नयाँ सोंच ?
भेषराज पोखरेल
मंसिर २९, २०८१ शनिबार १३:५४:३
२९ मंसिर, काठमाडौं । पछिल्लो समय नेपालमा आधुनिक शिक्षाको विकास हुँदै गर्दा युवाहरूको पलायन पनि द्रुत गतिमा बढ्दै गएको छ । केही पढ्न र धेरै जागिर खान विदेश पलायन भएको देखिन्छ । हुन त नेपाल आधुनिक प्रविधिमा पौडी खेलिरहे पनि त्यसको उपयोग गरेर नयाँ, नयाँ उद्योग व्यवसायको विकास गरेर युवाहरूलाई नेपालमै रोजगारी सिर्जना गर्न सकिएको छैन तर कतिपय अवस्थामा नेपाललाई चाहिने उच्च स्तरको प्राविधिक जनशक्तिको अभाव छ । आधुनिक शिक्षा ग्रहण गरे पनि नेपाली समाजको वास्तविकतालाई बझ्ने तथा नयाँ गति दिन सक्ने विचारकको उत्पादन पनि हुन सकेको छैन ।
फेसबुक आदि सामाजिक सञ्जालमा कडा प्रतिक्रिया दिने तर ती कुरालाई गम्भीर रुपमा नलिने, आफूले कुनै पनि जिम्मेवारी बोध नगर्ने पुस्ताको विकास हुँदै गएको देखिएको छ । अलि अघिदेखिकै अवस्थालाई हेर्ने हो भने नेपाली विद्वानहरू विदेशी निकायहरूमा जागिर खान अब्बल देखिने तर नेपालको कुनै पनि विषयमा राष्ट्रिय चिन्तन राख्न नसक्ने अवस्था त देखिँदै आएकै हो । जसले गर्दा नेपालमा दीर्घकालीन सोचका साथ देशले गति लिन सकेन । पछिल्लो समयमा यो क्रम अझ कयौं गुणा बढेर गएको छ । अहिलेको पुस्ताका अधिकतर विद्वानहरूले कुनै पनि गम्भीर अध्ययनभन्दा सामाजिक सञ्जालमा आएका विषयका आधारमा आफ्नो धारणा बनाउन थालेको देखिन्छ । राजनीतिमा पनि सस्तो लोकप्रियताका लागि जे पनि गर्ने, जनतालाई तत्काल प्रभाव पार्ने कुरालाई खोजेर सामाजिक सञ्जालमा व्यापक प्रचार गर्नेहरूलाई ठूलो नेता मानेर पछि लाग्ने अवस्था देखिएको छ । यसले नेपाललाई उज्यालोतिर नभएर अझ अन्धकारतिर लैजाने हो कि भन्ने खतरा देखिएको छ ।
शिक्षा, विश्व सञ्चार माध्य र सामाजिक सञ्जालका कारण आधुनिक विकास, सुशासन र नयाँ नयाँ खोजका विषयमा जान्ने अवसर पाएका नयाँ पुस्ताले नेपालमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा कमजोर शासन पद्धतिका बारेमा आवाज उठाउनु राम्रो कुरा हो । यस्ता कुराहरू सार्वजनिक भएपछि पढेलेखेका युवाहरू सामाजिक सञ्जालमा विरोध मात्रै होइन त्यसप्रति गम्भीर पनि हुनु अति आवश्यक हुन्छ । सकेसम्म त्यसलाई सत्यको कसीमा हेर्ने, त्यो कसरी गरियो, त्यसलाई सहयोग गर्ने माध्यम के के छन् भन्ने कुराको खोजी पनि हुनु आवश्यक हुन्छ । यति गरिसकेपछि सम्बन्धित निकायलाई थप खोज, अनुसन्धान र कारबाही गर्न दबाब दिनुपर्ने हुन्छ । अहिले कुनै पनि कुराको तत्कालै प्रतिक्रिया दिने युवा तथा अन्यले पनि यतातिर वास्ता गरेको देखिन्न । बरु उनीहरुले विभिन्न रुपमा आक्रोश पोख्ने, गम्भीर कुरालाई पनि अनेक खालका व्यंग्य गरेर उडाउने गरेको देखिन्छ । हुन त पछिल्लो समय पुरानै दलका नेताहरु पनि यस्तै सामाजिक सञ्जाल प्रयोग गरेर आफूलाई अब्बल देखाउन भरमग्दुर प्रयास गरेको देखिन्छ । तिनीहरूका कार्य व्यवहार भने कमजोर देखिँदै आएका छन् ।
पछिल्लो समय आफूलाई पुराना दलको विकल्पमा आएको मान्ने दलका नेताहरु राष्ट्रिय तथा जन चासोका विषयमा गम्भीर हुनुभन्दा सामाजिक सञ्जाल प्रयोग गरेर कसरी आफूलाई अब्बल देखाउने भन्नेतिर लागेको देखिन्छ । यही मेसोमा प्रारम्भिक, मध्यम तथा उच्चशिक्षा हासिल गरेका युवाहरूले तिनीहरूको परिवेश, सिद्धान्त, काम र व्यवहार हेरेर राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्नुभन्दा ती नेतालाई कहिल्यै गल्ती गर्दैनन् भन्नेजस्तो गरी भगवानजस्तै मान्ने प्रवृत्ति बढेको छ ।
यस्तो हुनुको कारण त पुराना ठूला दलका नेताहरुले भ्रष्टचारलाई प्रश्रय दिने, विकास र सुशासनमा ध्यान नदिने, जनताका दुःखमा साथ नदिनाले यस्तो अवस्था आएको हो । ठूला तथा पुराना दलका नेताको कमजोरीको रिस फेर्न सस्तो लोकप्रियता वादी तथा समयअनुसार आफ्नो व्यवहार जस्तो पनि बनाउन सक्ने स्टज्टवाजी गर्ने नेतालाई देवत्वकरण गरियो भने त्यसले राष्ट्रलाई नै खतरामा पुर्याउन सक्छ । पछिल्लो समय आफू आफ्नो दललाई ठूला दलको वैकल्पिक शक्तिका रुपमा अगाडि सारेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने सहकारीको रकम अपचलनमा मुछिएका छन् ।
उनीसहित अन्य केही व्यक्तिहरूको समूहले एउटा, दुइटा होइन आधा दर्जनभन्दा धेरै सहकारीको बचत रकम अपचलन गरेकोमा अनुसन्धान भइरहेको छ । उनका अन्य क्षेत्रमा पनि कयौं कमजोरी देखिएका छन् तर रास्वपाका प्रायः शिक्षित र युवा नेता तथा कार्यकर्ताहरू रविले सहकारीको रकम अपचलन गरेको अभियोगमा अनुसन्धानलाई पनि स्वीकार्न चाहेका छैनन् । सरकारको विरोध र अनुसन्धानको अस्वीकृति गर्दै दैनिक विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरुले लामिछाने दोषी पनि हुन सक्छन् भन्ने मान्न तयार त छँदै छैनन् नै अनुसन्धानलाई पनि मान्न तयार छैनन् । सरकारले रविमाथि प्रतिशोध साँधेर हिरासत बाहिर राखेर अनुसन्धान गरेन, अन्य सुविधाबाट वञ्चित गर्यो भन्न त सकिएला तर हाम्रा नेताले गल्ती गरेकै छैनन्, अनुसन्धान नै गर्न पाइँदैन भन्नु अपराधलाई बढावा दिनु हो, अराजकतालाई फैलाउने प्रयत्न हो । यो यही घटनामा मात्रै सीमित हुन सक्दैन, प्रजातन्त्र वा लोकतन्त्रका लागि ज्यादै खतरनाक अवस्था सुरुवात पनि हो ।
पछिल्लो समय पुराना स्थापित दलका शिक्षित युवा नेताहरु पनि शीर्ष नेताको वरिपरि रिंगने गरेका छन् । कांग्रेस शीर्ष नेतृत्वका कमजोरीका बारेमा प्रशस्त प्रश्न उठ्ने गरेका छन् । युवा नेताहरूले प्रश्न उठाउने तथा संस्थापन इतरका नेताहरूले आफ्नो धारणा बनाउन छुट्टै भेलासमेत गर्ने गरेका छन् । कम्युनिष्ट दलहरुमा भने शीर्ष नेताको विरुद्धमा कुनै पनि आवाज उठाएको देखिँदैन । भर्खरै एमाले नेता तथा अर्थमन्त्री विष्णु पौडेलले एमालेको आगामी महाधिवेशनमा अध्यक्षमा केपी ओलीको विकल्प नभएको बताएका छन् । उनले आगामी महाधिवेशनमा अध्यक्षको चुनाव नहुने घोषणासमेत गरे । माओवादी केन्द्रमा पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कमजोरीका विषयमा, उनको विकल्पमा जनार्दन शर्माहरुले सामान्य कुरा उठाए पनि उनको विकल्पमै खडा हुने अवस्था छैन । अन्य साना दलमा पनि कुनै नयाँ अवस्था अगाडि आएको छैन ।
पार्टीलाई समयानुकूल सिद्धान्तदेखि भ्रष्टाचारका मुद्दा तथा लोककल्याणकारी राज्यसंयन्त्र स्थापना गर्ने कुरामा, विभिन्न क्षेत्रमा दलाली र कमिसनको अवस्थालाई हटाउने कुरामा शीर्ष नेताको त कुरा नगरौँ युवा नेताहरुको बेवास्ता पनि प्रजातान्त्रि वा लोकतान्त्रिक राज्यसंयन्त्र तथा जनताका लागि खतरनाक हो । यो अवस्थाले भविष्यमा अझ बढी प्रजातान्त्रिक वा लोकतान्त्रिक होइन आफूलाई भगवानकै दूत मानेर प्रचारमा रमाउने माहिरहरूको राजनीतिमा आगमन हुन सक्छ । त्यो अवस्था अराजकको सुरुवात पनि हुन सक्छ ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपएचएमपिभी भाइरस र हाम्रो अवस्था
माघ १, २०८१ मंगलबार
नेपालको मौलिक स्वस्थानी व्रत र त्यससम्बन्धी कथालाई कसरी लिने ?
माघ १, २०८१ मंगलबार
आर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
रवि लामिछानेलाई आज पनि अदालत लगिँदै, छुट्ने वा नछुट्ने आदेश आउन सक्ने
माघ २, २०८१ बुधबार
लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा
माघ २, २०८१ बुधबार
भूकम्प दिवसः पूर्वतयारीका लागि संकल्प जरुरी
माघ २, २०८१ बुधबार
प्रचण्ड सरकारबाट बाहिरिएपछि पहिलो पटक समाजवादी मोर्चाको बैठक बस्दै
माघ २, २०८१ बुधबार
चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
माघ २, २०८१ बुधबार
सुदूरपश्चिममा वर्षा हुन सक्ने, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात
माघ २, २०८१ बुधबार