जीबी राईसहित १९ जनाविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता, रवि र छविको आइतबार हुने
नेपालबहस संवाददाता
पुस ५, २०८१ शुक्रबार १६:५०:८
५ पुष, पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अध्यक्ष जितेन्द्रबहादुर (जीबी) राईसहित १९ जनाविरुद्ध कास्की जिल्ला अदालतमा शुक्रबार पूरक अभियोग दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले बिगो दाबी गर्दै पूरक अभियोग पत्र अदालतमा पेस गरेको हो । रवि लामिछाने र छविलाल जोशीको मुद्दा भने आइतबार मात्र दर्ता हुनेछ ।
१९ जनामध्ये सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी र कोषाध्यक्ष कुमार रम्तेलसमेत छन् । कास्कीका जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले सूर्यदर्शन सहकारी ठगीका १९ अभियुक्तविरूद्ध अभियोग आज जिल्ला अदालतमा मुद्दा दर्ता भएको र अरूको आइतबार मात्र दर्ता हुने जानकारी दिएकी छन् । जिल्ला न्यायाधिवक्ता काफ्लेले समय अपुग भएकाले आज र आइतबार गरिएको बताइन् । उनले पहिलो चरणमा पक्राउ पुर्जी जारी भएका १९ जनाविरुद्ध मुद्दा दर्ता भएको बताइन् ।
यसअघि १९ जनाविरुद्ध २०८० असोजमा सहकारी ठगीसम्बन्धी कसुरमा मुद्दा चलाइएकोमा यसपल्ट संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समेत मुद्दा चलाइएको जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन् । १९ जनामध्ये ६ जना पुर्पक्षका लागि कास्की कारागार, ३ जना अन्य जिल्लाका कारागारमा रहेका छन् । १० जना भने फरार छन् ।
रास्वपा सभापति रवि लामिछानेसहित कास्की प्रहरीको हिरासतमा रहेका ५ जनाविरुद्ध भने आइतबार मात्र अभियोगपत्र अदालतमा बुझाइने जिल्ला न्यायाधिवक्ता काफ्लेले बताइन् । पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेको शुक्रबार ९० दिन पुगेको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अधिकतम ९० दिन थुनामा राखेर अनुसन्धान गर्न पाइने कानुनी प्रबन्ध छ ।
शुक्रबार राति १२ बजे उक्त म्याद सकिने र शनिबार बिदा भएकाले आइतबार मात्र अभियोग पत्र दर्ता गरिने जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । लामिछानेसहित पाँचै जनालाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अभियोग पत्र दायर गरिने सरकारी वकिलको कार्यालयले जनाएको छ । मुद्दा दर्ता भएपछि जिल्ला अदालतले लामिछानेसहित पाँचै जनाको बयान लिने छ । बयानपछि थुनछेकको बहस हुनेछ ।
अहिले प्रहरी हिरासतमा रहेका रवि, छविसहित जीवीका साझेदार नेचर हर्बका सञ्चालक रामबहादुर खनाल, लिला पछाईं र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङको मुद्दा भने आइतबार दर्ता हुने उनको भनाइ छ । थप जाहेरी परेकाले पहिलो चरणमा पक्राउ परेका जीवीसहित १९ जनाविरुद्ध मुद्दा आजै दर्ता गर्दैछौं भने रविसहितको हकमा आइतबार हुने छ, न्यायाधिवक्ता काफ्लेले भनिन् ।
बचतकर्ताले दिएको उजुरीका आधारमा प्रहरीले गत साल २४ भदौमा पक्राउ पुर्जी जारी गरेको थियो । सूर्यदर्शन सहकारीका उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे), प्रमोद भट्टराई, अनुज नकर्मी, भविश्वर अर्याललगायत पुर्पक्षका लागि थुनामै छन् ।
सुरुमा पक्राउ पुर्जी भएका १९ जनामध्ये सहकारीका पूर्वअध्यक्ष जीबी राई, उनकै दाइ भूपेन्द्र, अहिलेका अध्यक्ष तथा व्यवस्थापकसमेत रहेका थानबहादुर बुढा, धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, सुरज श्रेष्ठ, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ फरार छन् । सृष्टि मानन्धर, ऋण अधिकृत बुद्धि गुरुङ पनि फरार छन् ।
कानुनअनुसार सहकारी ठगीमा २५ दिन, संगठित अपराधमा ६० दिन र सम्पत्ति शुद्धीकरण निवारण ऐन अनुसार ९० दिनसम्म अभियुक्तलाई हिरासतमा राखेर अनुसन्धान गर्न सक्छ । सहकारी पीडितले गत वर्ष माघ २२ गते दिएको किटानी जाहेरीका आधारमा लामिछानेलाई कात्तिक २ गते काठमाडौंमा पक्राउ गरी पोखरा ल्याइएको थियो । पूर्वडीआइजी छविलाल जोशीलाई भने असोज ६ गते पक्राउ गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमय अपुगले दुई चरण मुद्दा दर्ताः जीवीसहित १९ जनाविरुद्ध आज, रविसहित अन्यको आइतबार
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार