राजनीतिक दलका नेताको विचाराधीन मुद्दा फिर्ता लिने प्रावधान हट्यो, माओवादीको असहमती
नेपालबहस संवाददाता
पुस ७, २०८१ आइतबार १३:२८:५७
७ पुष, काठमाडौं । सरकारले शान्तिपूर्ण राजनीतिमा आएका दलका नेता विरुद्धको मुद्दा फिर्ता लिने प्रावधान फिर्ता लिने प्रस्ताव गरेको छ । कानुन न्याय तथा मानव अधिकार समितिमा विचाराधीन रहेको राजनीतिक दलका नेता विरुद्धको मुद्दा फिर्ता लिने सम्बन्धी विधेयक सरकारले फिर्ता लिने घोषणा गरेको हो । नेकपा माओवादीले भने केही नेपाल ऐनको दफा ६४ फिर्ता लिने सरकारको प्रस्तावमा असहमति राखेको छ ।
दफा ६४ मा सशस्त्र द्वन्द्वमा वा भूमिगत रहेको राजनीतिक शक्ति शान्तिपूर्ण राजनीतिमा आए तिनका नेता विरुद्ध जुनसुकै अदालतमा रहेको सरकारले फिर्ता लिनसक्ने प्रावधान थियो । सशस्त्र द्वन्द्वमा वा भूमिगत रहेको राजनीतिक शक्ति शान्तिपूर्ण राजनीतिमा आए जुनसुकै अदालतको जुनसुकै तहमा रहेको मुद्दासमेत सरकारले फिर्ता लिनसक्ने प्रावधान हटाउन लागिएको हो ।
समितिको आइतबारको बैठकमा कानुनमन्त्री अजय कुमार चौरसियाले यो प्रावधान फिर्ता लिन सरकार तयार रहेको बताएपछि माओवादी केन्द्रका सांसदहरूले असहमति व्यक्त गरे । माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले २०७७ सालमा नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँगको तीन बुँदे सहमतिका आधारमा दफा ६४ आएको बताए ।
त्यो बेला प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादल रहेको स्मरण गर्दै घर्तीले उक्त तीन बुँदे सहमति कार्यान्वयनसँग समेत दफा ६४ सम्बन्धित रहेको बताए । सरकारले फिर्ता लिन्छु भन्यो । तर यो आउनुको कारण छ भन्ने लाग्दैन । तै पनि सरकार पछाडि हट्छ र समिति तयार हुन्छ भने हाम्रो पार्टीको नोट अफ डिसेन्ट रहन्छ, सांसद घर्तीले भने ।
शान्तिपूर्ण राजनीतिमा आएका दलका नेता विरुद्धको मुद्दा फिर्ता लिने प्रस्ताव केही नेपाल ऐनको दफा ६४ मा गरिएको थियो । उक्त दफा फिर्ता लिने भनी यसअघिका कानुन मन्त्रीले घोषणा गरेकाले अहिले फिर्ता लिने कानुन मन्त्री चौरसियाले बताए । अदालतमा एउटा प्रक्रिया पुगेको मुद्दा समग्रमा केही नेपाल ऐन मार्फत संशोधन गरेर फिर्ता लिने कार्य उचित नहुने भनी सरकारको आलोचना भइरहेको थियो । सरकारले सशस्त्र द्धन्द्धसम्बन्धी घटनाका मुद्दा टीआरसीको आयोगमा ल्याउन सक्ने र अन्य मुद्दाहरूलाई पनि सोही अनुरूप सम्बोधन गर्नुपर्ने भन्दै उक्त कानुनको आलोचना भएपछि सरकारले फिर्ता लिने घोषणा गरेको थियो ।
कानुन मन्त्रालयका सचिव उदयराज सापकोटाले आवश्यक परे छुट्टै ऐन बनाउन सकिने भएकाले अहिलेको दफा फिर्ता लिने निर्णय गरेको बताए । ‘आवश्यक परे सनसेट ल ल्याउन सकिन्छ । नेपाल सरकारको धारणा मन्त्रीज्यूले राख्नुभएको छ’ उनले भने । विगतमा सरकारले जनमत पार्टीका अध्यक्ष सिके राउत र नेत्र विक्रम चन्द विप्लवसहितका नेताहरू विरुद्ध सहमति गर्दा अदालतमा विचाराधीन रहेका मुद्दाहरू फिर्ता लिने सहमति गरेको थियो । उक्त सहमति कार्यान्वयनका लागि सरकारले केही नेपाल ऐनमा यस्तो व्यवस्था राखेको थियो ।
यसबीचमा सरकारले दुवै दलको फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिइसकेको सचिव सापकोटाले बताए । जनमत पार्टी र विप्लवको पार्टीको फिर्ता लिन मिल्ने मुद्दा फिर्ता भइसकेको छ । अन्य मुद्दाका सम्बन्धमा गृहकार्य आवश्यक रहेको र त्यसमध्ये कतिपयको अदालतबाटै टुंगो लागिसकेको उनले बताए । यो पृष्ठभूमिमा सरकारले केही नेपाल ऐनको दफा ६४ फिर्ता लिन तयार भएको उनले बताए । आवश्यक परे छुट्टै ऐन लाउन सकिने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार