असार १७ को सहमति भन्दै भित्रभित्रै संविधान संशोधनको गृहकार्य, बेखबर छ माओवादी
नेपालबहस संवाददाता
पुस १०, २०८१ बुधबार १२:५१:१
१० पुष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सहमतिमा भित्रभित्रै संविधान संशोधनको काम अगाडि बढाइएको छ । अघोषित कार्यदलले संविधान संशोधनका लागि आधारभूत विषयहरु टिपोट र अध्ययन गर्न सुरु गरेको छ । संविधान संशोधनका लागि राजनीतिक संयन्त्र बनाउने निर्णय भएपनि पहिले मूलभूतरूपमा मिलाएपछि मात्र कार्यदल तोक्ने बताइएको छ । बुधबार उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले पनि संविधान संशोधनको गृहकार्य अघि बढेको जानकारी दिएका छन् ।
एक प्रकारको खाका बनिसके पछि राजनीतिक दलहरूसँग छलफल गर्ने तयारी छ । देउवा र ओलीसहित दुई दलका शीर्ष नेता बालुवाटारमा केही दिनदेखि बसिरहेका छन् । संविधान संशोधनको गृहकार्य असार १७ मा दुई दलबीच भएको सातबुँदे सहमति अनुसार अगाडि बढेको सिंहले बताएका छन् । उनले संविधान संशोधनका लागि कांग्रेस, एमालेको कार्यदल बनिसकेको र कार्यदलले आन्तरिक रूपमा काम गरिरहेको जानकारी गराएका छन् । कार्यदलले सबै राजनीतिक दलसँग छलफल गर्छ । सबै दलहरूसँग छलफल गरेर नै संविधान संशोधन प्रक्रिया अगाडि बढ्छ, बुधबार रूपन्देहीमा सिंहले यो कुरा उद्घोष गरे ।
कांग्रेस र एमालेले संविधान संशोधनको मूल एजेन्डा बनाएर असार १७ मा सत्ता सहकार्यको सातबुँदे सहमति गरेका थिए । सातबुँदे सहमतिको मुख्य विषय नै संविधान संशोधन थियो । राष्ट्रिय सहमतिको सरकारले संविधान लागू भएपश्चात् अभ्यासमा देखा परेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकुलको कानुन निर्माणलाई प्राथमिकता दिने भनिएको थियो । यसबारे दुई दलीय गठबन्धनले ठोस योजना भने बाहिर ल्याएको छैन् ।
यसअघि गृहमन्त्री रमेश लेखकले संविधान संशोधनको गृहकार्य अघि बढाउन दुई दल सम्मिलित कार्यदल गठन गर्ने निर्णय भएको बताएका थिए । संयन्त्रले नयाँ संविधान कार्यान्वयनको १० वर्षको समीक्षा गर्दै संशोधनका विषय पहिचान गर्ने भनेका थिए । तर, काम भने भित्रिभित्रै भइरहेको कुरा बाहिर आएको थिएन् । संशोधन गर्नुपर्ने विषयवस्तु पहिचान गरेर सबै राजनीतिक दलसँग संवाद गर्ने तयारी सत्ता पक्षको छ । प्रधानमन्त्री ओलीले मंगलबार दुवै दलका प्रमुख सचेतकसहितको बैठक राखेर संविधान संशोधनको विषय राखेका थिए । उनले संसदीय समितिमा विचाराधीन विधेयकलाई चाँडो अघि बढाउन पनि भनेका छन् ।
प्रमुख प्रतिपक्षी माओवादीसँग यसबारे छलफल भएको छैन । एक प्रकारको खाका बनेपछि मााओवादीसँग छलफल गर्ने तयारीमा सत्ता पक्ष छ । निर्वाचन प्रणालीमा संशोधन गर्न खोजेर समानुपातिक समावेशीको व्यवस्था कमजोर बनाउन खोजिएको बताउँदै आएको माओवादीलाई समानुपातिक र समावेशीसहितका व्यवस्थामा सहमति गराउन बाँकी नै छ । माओवादीले कांग्रेस र एमाले ०४७ सालको संविधानतिर फर्कन चाहेको बताउँदै आएको छ ।
एकीकृत समाजवादीले भने संविधान कार्यान्वयनमा देखिएका समस्या पहिचान गर्न कार्यदल नै बनाएको छ । पार्टीको स्थायी समिति बैठकले उपाध्यक्ष प्रकाश ज्वालाको संयोजकत्वमा गरिमा शाह, गणेश विश्वकर्मा, रामचन्द्र यादव र घनप्रसाद गौतम रहेको कार्यदल बनाएको छ । सत्ता गठबन्धनका नेताहरू भने समानुपातिक समावेशितालाई कमजोर पार्ने गरी संविधान संशोधन नहुने दाबी गरिरहेका छन् । निर्वाचन प्रणालीबारे छलफल पेचिलो हुने देखिएको छ ।
प्रधानमन्त्रीले संविधान संशोधनका लागि तत्काल राजनीतिक संयन्त्रको घोषणा गर्ने र विधेयक छिटोछरितो रूपमा अघि बढाउने विषयमा छलफल भएको कांग्रेसका एक नेताले जानकारी दिए । बैठकमा सहभागी कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सहमतिका आधारमा संविधान संशोधनको काम अगाडि बढेको र कांग्रेस र एमालेभित्र राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्ने मत बलियो बताएका छन् । सरकारको स्थायित्वका लागि समानुपातिक समावेशिताको विकल्प खोजेर प्रतिनिधिसभालाई प्रत्यक्ष प्रतिनिधिको थलो बनाउनुपर्नेमा दुई दलको प्रमुख जोड छ । राष्ट्रिय सभालाई समानुपातिक समावेशिता बनाउने वा निर्वाचन क्षेत्रलाई नै समावेशी बनाएर जाने गरी काम सुरु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
भीम रावल एमालेबाट निष्कासित, विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिना निलम्बन
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार