ओली रिझाउन नसक्दा लामो राजनीतिक यात्राको उत्तरार्धमा पुगेर उथलपुथल भए भीम रावल !
नेपालबहस संवाददाता
पुस १४, २०८१ आइतबार १२:१४:३१
१४ पुस, काठमाडौं । एमालेको राजनीतिमा बेलाबखत चर्चामा आइरहेको नाम हो भीम रावल । अहिले उनलाई एमालेबाट गलहत्याइएको छ । उनको साधारण सदस्यता खोसिएको छ । करिब ४५ वर्षे राजनीतिमा उनी अहिले सदस्यता विहिन भएका छन् । पाँच दिन अघिसम्म पार्टी सदस्यका रूपमा रावल एमालेमै थिए, जिम्मेवारी, भावनात्मक सम्बन्ध र निरन्तरको राजनीतिक बहाबका हिसाबले तीन वर्षे दौरानमा कहिल्यै एमालेमा देखिएनन् ।
रावल आफैले भने सधैँ एउटै उत्तर दिइरहे, ‘म एमालेमै छु । एमालेबाट कहिल्यै अलग छैन । एमालेकै बीचमा छु ।’ तर उनको यो उत्तरसँग मेल खाने गरी एमालेले कहिल्यै उनलाई एमाले मानेको देखिएन, न कहिल्यै उनलाई पार्टी गतिबिधिमा उभ्यायो । उनकै गृहजिल्ला अछाममा आयोजित कार्यक्रममा समेत उभिन उनलाई धौधौ परेको देखिन्थ्यो । यसो हुँदा पनि एमालेले रावललाई ‘एमाले होइन’ अथवा ‘एमालेमा छैन’ भनेर भनेन् । जसले राजनीतिक वृत्तमा उठेको प्रश्न जहिल्यै अनुत्तरित रहिरह्यो ।
एमालेबाट उपप्रधानमन्त्रीसम्म बनेका नेता हुन्, भीम रावल । त्यसैबीचमा गृह, रक्षा, पर्यटन जस्ता महत्वपूर्ण मन्त्रालयको नेतृत्व गरे । एमालेका पूर्व उपाध्यक्षसमेत रहेका उनै रावल पार्टीबाट निकालिएका छन् । यससँगै उनी राजनीतिक तवरमा औपचारिक रूपमै किनारामा धकेलिएका छन् । जुन क्रम पार्टीको १०औँ महाधिवेशनपछि चलिरहेको थियो । अध्यक्ष पदमा केपी शर्मा ओलीसँग भिडेका रावलले त्यसयता कुनै पनि पद लिएका थिएनन् । बुधबार बसेको नेकपा एमालेको सचिवालय बैठकले रावलको संगठित सदस्यबाट मुक्त गर्दै एमालेको ढोका बन्द गरिदिएको छ ।
‘कमरेड भिम रावलले उहाँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवार हुनु भो । उपाध्यक्षका लागि आग्रह गरिएकामा उहाँले मान्नुभएन । त्यसपछि हाम्रो केन्द्रीय सदस्यमा पनि नआउनुभएपछि वैधानिक व्यवस्थाअनुसार सल्लाहकारमा रहनुभयो,’ बुधबारको सचिवालय बैठकपछि रावल विरुद्धको कारबाही सुनाउँदै उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘अभिव्यक्तिहरू पनि पार्टीलाई बलियो बनाउने भन्दा पार्टीलाई निरन्तर कमजोर बनाउने हिसाबले आएको हुनाले उहाँलाई संगठित सदस्यताबाट मुक्त गर्ने निर्णय भएको छ ।’ यो सँगै रावल पार्टीबाट घोषित रूपमै निकालिएका छन् । अब उनी कहाँ हुनेछन् वा कहाँ जाने छन् ? त्यो प्रश्न भने उनीभित्र निहीत हुने छ ।
उनले आफ्ना केही साथीहरूसँग नयाँ पार्टीको अभ्यासमा छन् । यो विषयमा उनी मुखर हुन सकेका छैनन् । ‘यो मूलतः ओलीको एकल निर्णय हो। म माथि पार्टीको निर्णय भनेर ओलीले निरंकुशता लादे,’ रावलले भने, ‘यसले पार्टी पंङ्तीलाई क्षति गर्छ।’ सँगै उनले आफूले पार्टीका पक्षमा वकालत गर्दा ओली विदेशीका पाउमा परेको टिप्पणी गर्न भ्याए। उनले भने, ‘मैले पार्टीभित्र राष्ट्र, राष्ट्रियताको पक्षमा वकालत गर्दै लगेको थिएँ। ओली विदेशीको पाउमा पर्दै थिए,‘नेकपा एकीकृत समाजवादीमा जाने कुरा छ नि ?’ ‘मैले अहिले केही सोचेको छैन। साथीहरूसँग छलफल गर्छु,’ रावलले भने ।
२०१३ मा अछाममा जन्मिएका रावल २०३० सालमा कम्युनिस्ट विद्यार्थी राजनीतिमा लागेका हुन् । राधाकृष्ण मैनालीबाट नेकपा मालेको सदस्यता पाएको उनी दाबी गर्छन् । त्यसपछि उनी ०४८ मा एमालेको प्रचार विभाग सदस्य बनेका थिए । ०४८ को संसदीय निर्वाचनमा पराजित भएका रावल ०५१ मा भने निर्वाचित भएका थिए । त्यसयता उनी लगातार सुदूरपश्चिमको भुगोलबाट अवसर पाइरहेका एमाले नेतामा पर्छन् । पटक–पटक मन्त्री देखि उपप्रधानमन्त्रीसम्म बनेका छन् । एमालेको छैठौं (०५४) र सातौं (०५९) महाधिवेशनमा केन्द्रीय सदस्य बनेका रावल आठौं (०६५) महाधिवेशनमा उपाध्यक्ष पदमा पराजित भएका थिए ।
नवौं (०७१) महाधिवेशनमा भने रावल उपाध्यक्षमै सर्वाधिक मतसहित विजयी बनेका थिए । त्यसपछि भने एमालेभित्र उनको प्रभाव ह्वात्तै देखिएको थियो । त्यसबाहेक सुदूरपश्चिम क्षेत्रको एमाले संगठनभित्र उनकै राइँदाइँ चल्थ्यो । १० वर्ष सेती अञ्चल इञ्चार्ज र प्रदेश संरचनामा गएपछि उनी पार्टीको प्रदेश इन्चार्ज नै बनेका थिए । यस्तै माओवादी केन्द्रसँग एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टीको समेत सुदूरपश्चिम इन्चार्ज बने ।
यसक्रममा उनले आफ्नो समर्थन नगर्ने कैयौं पुराना नेतालाई ठेगान लगाएको र कैयौं आफू निकटलाई अवसर दिएका थिए । ०७४ को स्थानीय तह निर्वाचन र संसदीय निर्वाचन रावल र एमालेका लागि सुदुरपश्चिममा फलिफाप भएको थियो । जसको जस एकलौटी रावलले लिएका थिए । यता पार्टीको नवौं महाधिवेशन जितेका अध्यक्ष ओलीसँग भने उनको सुरुदेखि नै मिल्ती भएन । ०७४ को संसदीय निर्वाचनपछि बनेको सरकारमा आफूलाई मन्त्री नबनाएकै कारण ओलीको कटु आलोचक बनेका थिए ।
ओली र रावलबीच किन सम्बन्ध चिसियो ? महाधिवेशन भएको तीन वर्ष एक महिनापछि उनलाई किन कारबाही गरियो ? यो विषय उधिन्न २०७५ जेठ ३ मा पुग्नुपर्ने हुन्छ । त्यति बेला एमाले र माओवादी केन्द्रबीच एकता भई नेपाल कम्युनिस्ट पार्टी गठन भएको थियो । उक्त एकताअघि रावल एमालेका सुदूरपश्चिम इन्चार्ज थिए । एकतापछि उनको पद खोसियो । तत्कालीन माओवादी नेता लेखराज भट्टलाई इन्चार्जको जिम्मेवारी दिइयो । आफ्नो जिम्मेवारी खोसिएपछि चिढिएका रावलले अध्यक्ष ओली, वरिष्ठ नेता नेपाललाई भेटेर परिणाम राम्रो नहुने चेतावनी दिँदै आएका थिए । शीर्ष नेतालाई पटक–पटक दबाब दिँदा पनि सुनुवाइ नभएपछि सुदुरपश्चिममा रावल भर्सेस भट्ट स्थिति देखापरेको थियो । उनले काममा भट्टलाई असहयोग गरेका थिए ।
यस्तोमा नेकपा एकीकरणपछिको समूहगत द्वन्द्वमा रावल ओलीको कटु आलोचक रहँदै पुष्पकमल दाहाल र माधव नेपाल क्याम्पमा रहे । त्यो अवधिमा ओली सरकारका लगभग सबैजसो कदमको उनी विपक्षीभन्दा मुखरित हुँदै आलोचनमा उत्रन्थे । यहीकारण रावल ओलीसँग मिल्नै नसकिने गरी टाढिएका थिए ।
यता नेकपा विवादको सिलसिलामा तत्कालीन प्रधानमन्त्री ओलीले २०७६ पुस ५ र ०७८ जेठ ८ मा संसद् विघटन गरे । त्यसमा पनि रावलसहितका नेताहरू ओलीको विपक्षमा उत्रिए । यसैक्रममा नेकपा विवादको सिलसिला एमाले–माओवादी पूर्ववत् अवस्थामा फर्किनु र एमाले विभाजन हुनुसम्मले रावलको आजको दिन आउनुमा भूमिका खेलेका छन् । एमाले विभाजनताका सुरुमा माधव नेपालसँगै रहेका रावलसहित, अस्टलक्ष्मी शाक्य, योगेश भट्टराई, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलगायतका १० जना नेताहरू अन्तिममा माधवसँगै गएनन् । ‘१० बुँदे सहमति’ गरेर उनीहरू एमालेमै बसे ।
यता अन्य नेताहरू एमालेमै बस्दा विस्तारै ओलीको नेतृत्व स्विकार गर्दै समायोजन भए । रावल र घनश्याम भुसालले एमालेभित्र रहँदा पनि ओलीको विपक्षमा फरक मत राखिरहे । प्रतिनिधिसभाभित्र पनि एमालेले गरेको पार्टीगत निर्णयभन्दा बाहिर गएर आफ्ना अभिमत जाहेर गरिरहे । यसैक्रममा ०७८ मंसिरमा भएको एमालेको १० औं महाधिवेशनमा ओलीको सर्वसम्मत अध्यक्ष हुने चाहनाविपरीत रावलले प्रतिस्पर्धा गरे । रावलले २२३ मत पाउँदा एक हजार ८३७ मत पाएर ओली अध्यक्ष दोहोरिए । उक्त महाधिवेशनमा घनश्याम भुसाल, भीम आचार्य र टंक कार्की पनि ओलीको चाहनाविपरीत पदाधिकारीमै लडेका थिए ।
अध्यक्षमा पराजित रावलले त्यसपछि दिएको केन्द्रीय सदस्य पद लिएनन् । बाहिर बाहिर ओलीको आलोचना गरेर हिँडिरहे । पार्टी वृत्तबाट टाढिदै गए । ०७९ को स्थानीय तह निर्वाचनमा पार्टीले उनलाई कुनै ठाउँ खटाएन् ।
०७९ को प्रतिनिधिसभा निर्वाचनमा अछाम–१ बाट एकल नाम सिफारिस भएर आउँदा पनि उनलाई एमालेले टिकट दिएन् । सुदुरपश्चिममा चुनावी सभामा पुग्दा अध्यक्ष ओलीले ‘भीम रावल बुढो भइसकेको भन्दै अब अरु रावलको पालो आएको’ भन्दै प्रतिक्रिया दिएका थिए । उता यही निर्वाचनमा टिकटबाट वञ्चित भएका घनश्याम भुसाल भने रुपन्देहीमा स्वतन्त्र निर्वाचन लडे, हारेर नेकपा एस प्रवेश गरेर महासचिव छन् । त्यसयता रावल एमालेमा छन् कि छैनन् भन्ने स्थितिबाट गुज्रिरहेका थिए ।
सामाजिक सञ्जाल र विभिन्न टेलिभिजन अन्तर्वार्तामा ओली र पार्टीका अधिकांश निर्णय विरुद्ध उनी चर्को रूपमा आलोचना गर्दै आए । उनको बोलीमा विशेषगरी राष्ट्र, राष्ट्रियता र देशभक्तिका लागि आफ्नो संघर्ष रहेको सुनिदै आएको छ । यतिबेला उनी नयाँ पार्टीको गृहकार्यमा लागिरहँदा सामाजिक सञ्जालको भिडले उनलाई कत्तिको साथ दिन्छ भन्ने मात्रै हो । नत्र उनीसँग पार्टीविहीन भएपछि सामाजिक सञ्जालको भीडबाहेक कार्यकर्ताको ठूलो पंक्ति छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकीकृत समाजवादीले देशभर जागरण अभियान सञ्चालन गर्ने
पुष १६, २०८१ मंगलबार
‘कानुन निर्माणले मात्रै बालविवाह अन्त्य नहुने’
पुष १६, २०८१ मंगलबार
भौतिक विकास मात्र होइन, आध्यात्मिक ज्ञानलाई महत्त्व दिनुपर्छ : उपप्रधानमन्त्री सिंह
पुष १६, २०८१ मंगलबार
आजदेखि नयाँ वर्ष इस्वी संवत २०२५ सुरु
पुष १७, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १७, २०८१ बुधबार
एकीकृत समाजवादीले देशभर जागरण अभियान सञ्चालन गर्ने
पुष १६, २०८१ मंगलबार
फास्ट ट्र्याक निर्माणमा वैकल्पिक व्यवस्थामार्फत बिजुली दिइने
पुष १६, २०८१ मंगलबार
पेट्रोल र डिजेलको मूल्य बढ्यो
पुष १६, २०८१ मंगलबार