समस्याग्रस्त कर्णाली विकास बैंकका ९० हजार ग्राहकमध्ये ४५ हजार सक्रिय, ३ अर्ब छ निक्षेप
मंगलबारदेखि निक्षेपकर्ताको आंशिक बचत फिर्ता गर्ने तयारीमा छ राष्ट्र बैंकको व्यवस्थापन समूह
नेपालबहस संवाददाता
पुस १५, २०८१ सोमबार ११:५०:५७
१५ पुष, नेपालगञ्ज । सञ्चालकबाटै करिब १ अर्ब २६ करोड रकम वित्तीय नीति विपरीत अपचलन भएको र खराब कर्जाको रेसियो उकालो लागेको भन्दै गत बिहीबारदेखि नेपाल राष्ट्र बैंकले व्यवस्थापन सम्हालेको कर्णाली विकास बैंकका बचतकर्ताले भोलि मंगलबारबाट निश्चित रकम फिर्ता पाउने भएका छन् । राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरी व्यवस्थापन जिम्मा लिएपछि बैंक तथा वित्तीय संस्था नियमन विभागका उप–निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह बनाएको थियो ।
यो व्यवस्थापन समूह नेपालगञ्ज आएर काम सुरु गरिसकेको छ । व्यवस्थापन समूहका एक अधिकारीले दिएको जानकारी अनुसार कागजात बुझबुझारथको काम सकिएको छ । बैंकमा राखेको रकम लिन केही निक्षेप कर्ता आएका थिए । उनीहरुलाई आश्वासन दिएर ढुक्क हुन सम्पूर्ण निक्षेपकर्ता र सेवाग्राहीलाई आग्रह गरिएको छ । मुख्य गरी बचतकर्ताको पैसा फिर्ता दिन नसक्नु (तरलता अभाव)का कारण बैंक समस्यामा परेपछि यो बैंकलाई समस्याग्रस्त घोषणा गरेर व्यवस्थापन राष्ट्र बैंकले नियन्त्रणमा लिएको हो ।
यसअघि कर्णाली विकासको बैंकको अवस्था अध्ययन गर्न समिति बनाइएको थियो । सो समितिले बैंकका पूर्वकार्यकारी अध्यक्ष तथा सीईओ राजेन्द्रवीर राय, पूर्वसीईओ दिनेशकुमार रावत, पूर्ववित्त विभाग प्रमुख महादेव भन्ने बेदप्रकाश ठकुरी तथा हालका सीईओ तथा वित्त विभाग प्रमुख निरजविक्रम शाहको संलग्नतामा १ अर्ब २६ करोड रकम अपचलन गरेको ठहर गरेको थियो । बैंकले मंगलवारदेखि अप्ठ्यारोमा परेका निक्षेप कर्तालाई प्राथमिकता दिएर रकम फिर्ता गर्ने तयारीमा यो समिति छ ।
नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैकका पूर्व कार्यकारी अध्यक्ष, पूर्व र वर्तमान प्रमुख कार्यकारी अधिकृत (सीईओ) र पूर्ववित्त विभाग प्रमुखको मिलेमतोमा करिब १ अर्ब २६ करोड रुपैयाँ बराबर अपचलन भएको तथ्य खुलेको छ । विशेष छानबिन समितिले कर्णाली विकास बैंकको अन्य बैकमा रहेको खातामा रहेको रकम तथा बैंकको कोर बैंकिङ प्रणाली (सीबीएस) मा प्रविष्ट रहेको रकमबीच अन्तर निकाल्दा करिब १ अर्ब २६ करोड अपचलन भएको प्रारम्भिक अनुमान गरिएको हो ।
५ पुसमा पाँच सदस्यीय विशेष छानबिन समिति गठन भएको थियो । समितिले प्रारम्भिक प्रतिवेदन तयार पारी ८ पुसमा आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला प्रहरी कार्यालय बाँके र नेपाल राष्ट्र बैंकको वित्तीय सुपरिवेक्षण विभागलाई प्रतिवेदन बुझाएको थियो । अपचलन भएको रकममध्ये पूर्वअध्यक्ष एवं कार्यकारी प्रमुख रायले करिब ७० करोड र पूर्वसीईओ रावत, पूर्ववित्त विभाग प्रमुख ठकुरी र हालका सीईओ तथा वित्त विभाग प्रमुख शाहले करिब २०÷२० करोड अपचलन गरेको अनुमान गरिएको छानबिन समितिका एक सदस्यले बताए ।
खातामा रकम मौज्दात नभएको अवस्थामा पनि चेक क्लियरिङ मार्फत रकमान्तर गरी भुक्तानी गर्ने गरेर समेत रकम अपचलन गरिएको देखिएको पनि प्रतिवेदनमा छ । सिधै भल्ट र टेलरबाट नगदै रकम लिने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । बैंकको वित्तीय विवरणअनुसार गत असोजसम्म ५ अर्ब २१ करोड निक्षेप संकलन गरी ३ अर्ब ८१ करोड रुपैयाँ कर्जा लगानी भएको छ । तर, राष्ट्र बैंकले व्यवस्थापन सम्हाल्दा बैंकमा ४५ हजारको ३ करोड रुपैयाँ हाराहारी मात्र निक्षेप देखिएको छ ।
अहिले प्रारम्भिक रूपमा हेर्दा ९० हजार बचत खातामध्ये ४५ हजार सक्रिय छन् र त्यसमा ३ अर्ब रुपैयाँ निक्षेप छ । राष्ट्र बैंकले व्यवस्थापन समूहलाई निक्षपकर्ताको बचत भुक्तानी र संस्थाको ऋण असुलीलाई प्राथमिकता दिई काम गर्ने, संस्थाको ड्यु डेलिजेन्स अडिट गराउने, संस्थामा भएको वित्तीय अपचलनको छानबिन गरी कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाउने लगायत अख्तियारी दिएको छ । प्रारम्भिक अध्ययनमा पूर्व अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको मिलेमतोमा केही कर्जा दुरुपयोग गरिएको भए पनि निक्षेप नै डुब्ने अवस्था नभएको समितिका एक सदस्यले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १८, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १७, २०८१ बुधबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
स्थानीय तहमा घरेलु र लघु उद्यमका ४० परियोजना, कुन पालिकामा कुन कार्यक्रम ?
पुष १८, २०८१ बिहिबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा भेटवार्ता
पुष १८, २०८१ बिहिबार
ढुम्रु गीत गाउँदै
पुष १८, २०८१ बिहिबार
सिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी
पुष १८, २०८१ बिहिबार
विमानस्थल यातायात चालकको बोली र व्यवहार राम्रो हुनुपर्छ: पर्यटन राज्यमन्त्री
पुष १८, २०८१ बिहिबार