बीपीको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिः फरक गुट र फरक मञ्चमै देखिए कांग्रेसका नेता
नेपालबहस संवाददाता
पुस १६, २०८१ मंगलबार १६:१६:५३
१६ पुष, काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलाको नीति लिएर भारतबाट नेपाल आएको सन्दर्भ दिन पारेर नेपाली कांग्रेसले हरेक वर्ष पुष १६ गते विभिन्न कार्यक्रम राखेर यो दिवस बनाउँदै आएको छ । आज मंगलबार पनि कांग्रेसले विभिन्न कार्यक्रम राखेर बीपीको मेलमिलाप नीतिको ब्याख्या गर्यो । तर, कांग्रेसकै नेताहरु एउटै मञ्चमा बस्न सकेनन् । मेलमिलाप दिवस मनाएको कांग्रेसभित्र गुटगट बेमेल देखियो । फरक फरक गुटका कार्यक्रम भए ।
संस्थापन पक्षकाले इतरसमूहका नेता नबोलाउने, इतरपक्षले संस्थापन पक्षलाई नबोलाउन जस्ता कुरा मेमिलापका दिनमा पनि देखिए । यो माथिल्लयो तहमा भन्दा तल्लो तहमा बढी देखियो । देउवा गएको कार्यक्रममा शेखर कोइराला पक्षका नेता कार्यकर्ता नजाने र शेखर पक्षका नेता भएको कार्यक्रममा अर्को पक्षकाले सहभागीता नजनाउने । महामन्त्री उपस्थित कार्यक्रममा पनि यो रोग प्रष्ट देखिएको थियो । कांग्रेसभित्र हाबी हुँदै गएको यो गुटगत विवाद र विभाजनले पटकपटक लोकतान्त्रिक शासन व्यवस्था नै अप्ठेरोमा परेको कुरा पनि आजको दिनमा कुनै नेताले सम्झिएको देखिएन् ।
मंगलाबार काठमाडौँमा राष्ट्रिय मेलमिलाप दिवस एवं सय दिने विशेष अभियान समापन कार्यक्रमलाई सभापति शेरबहादुर देउवा र नेता कष्णप्रसाद सिटौला उपस्थित थिए । देउवाले देशमा गणतन्त्रको विकल्प नभएको र यसलाई नेपाली कांग्रेसले नै सुधार गरेर गतिलो व्यवस्था बनाउनुपर्ने बताए । सिटौलाले कांग्रेस र एमाले मिलेर संयुक्त सरकार बनाएको र प्रधानमन्त्रीमा केपी शर्मा ओली रहेका भए पनि सरकारको नीतिगत नेतृत्व कांग्रेसले गरिरहेको बताए । नेपालको समग्रमा नेपाली जनतालाई अघि बढाउने नीतिगत नेतृत्व कांग्रेस पार्टीले गरिरहेको उनले दावी गरे ।
मेलमिलाकै सन्दर्भमा राखिएको अर्को कार्यक्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा उपस्थित थिए । उनले देश बनाउने डिजाइन बनाएर एकताबद्ध भएर लाग्दा आगामी दिन कांग्रेसले नै नेतृत्व गर्ने र त्यसका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए । यसो भन्दै गर्दा तपाईंहरूले पार्टीका नेताहरूको द्वन्द्व र फरक फरक विचार सुन्नुहोला । हुन्छ त यो कम्युनिष्ट पार्टी हो र ? जहाँ प्रश्न गरिसक्दा मान्छे कारवाहीमा पर्छ । उनले प्रधानमन्त्रीले ओलीले कांग्रेसजस्तो अलोकतान्त्रिक दल कुनै छैन भनेको प्रति पनि व्यंग्यात्मक शैलीमा जवाफ फर्काए ।
आजको कार्यक्रम हेर्दा पनि संघीय लोकतान्त्रिक गणतन्त्रमाथि अनेकन प्रश्न उठिरहेका बेला सिंगो कांग्रेस पार्टीभित्र मात्र होइन, गुटभित्रका उपगुट र अझ नेता–नेताबीच अविश्वास र संशय छाएको प्रष्ट देखियो । हिजो पञ्चायतले पार्टीकै नेता–कार्यकर्तालाई आफूविरुद्ध प्रयोग गर्न सक्ने आशंका र भय तत्कालीन समयका नेताहरूमा भएजस्तै अहिलेका नेताहरूमा पार्टीका होइन, आफ्नै गुटका नेता एकअर्काविरूद्ध प्रयोग हुने त होइन भन्ने आशंका र भय कांग्रेस नेताहरूमा देखिएको छ । त्यो सभापति शेरबहादुर देउवाको समूहमा होस् वा इतर समूहको नेतृत्व गर्दै आएका शेखर कोइराला पक्षमा होस्, अविश्वास र संशय बढेको छ ।
आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइएको हो । विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेताकार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए ।
भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको घटना नजिकबाट हेरिरहेका कोइरालासहितका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिइ आजभन्दा ४६ वर्षअघि स्वदेश फर्किएका हुन् । देशको सार्वभौमसत्ता संरक्षणका लागि बिपीलगायत नेता ज्यान बाजी थापेर स्वदेश फर्किएका थिए । विसं २०१७ पुस १ गतेको तत्कालीन राजा महेन्द्रको शाही ‘कु’ पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो ।
सोही वर्ष फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी सुन्दरीजल बन्दी गृह बनाएर जेल स्थानान्तरण गरिएको थियो । आठ वर्षपछि विसं २०२५ मा उपचारका लागि बिपीलाई रिहा गरिएको थियो । रिहापछि उपचारका लागि भारत पुगेका कोइरालाले त्यहाँ निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक क्रियाकलाप सुरु गरेका थिए । त्यसबेला भारतले सिक्किमलाई गाभेको, भारतबाट पाकिस्तान अलग्गिएको र एसियाका अन्य देशमा पनि विखण्डन सुरु भएको देखेर राष्ट्रियता कमजोर हुन नदिन राष्ट्रिय मेलमिलाप तथा एकताको नीति लिइ ४९ वर्षअघि आजैका दिन उनीलगायत नेता नेपाल फर्किएका थिए ।
विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै कोइराला, नेता गणेशमान सिंहलगायतलाई फेरि सुन्दरीजलमा लगी बन्दी बनाइएको थियो । विसं २०३४ जेठ २७ गते मिति खाली राखी उपचारपछि फिर्ता भई कारागारमा फर्कने गरी बिपी कोइरालालाई रिहा गरिएको थियो । यसपछि एक पटक सुन्दरीजल बन्दी गृह फर्काइ प्रहरी तालिम केन्द्र महाराजगञ्जमा उनलाई बन्दी बनाइएको थियो । चौबीस रोपनी क्षेत्रफलको बन्दीगृहलाई २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालयमा परिणत गरिएको छ ।
दिवसका अवसरमा आज कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवसको नाम त जपे । तर, व्यवहारमा देखिएन् । कांग्रेस जिल्ला कार्यसमिति काठमाडौँले यस अवसरमा सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्यो । त्यो कार्यक्रममा शेखर कोइराला बोलाइएनन् । कमसेकम सभापति उपस्थित हुने कार्यक्रममा सबै पक्षलाई बोलाएको भए कांग्रेमा अर्कै सन्देश जाने थियो । यो कुरा न बुढौलीले सम्झिए न युवाले ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
माधव नेपालसँग बामदेव गौतमले मागे कार्यकारी भूमिका, झलनाथपछिको वरियता
पुष १५, २०८१ सोमबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
अर्थतन्त्रलाई विश्वका लागि खुला राख्न चीन ‘कटिबद्ध’
पुष १९, २०८१ शुक्रबार
विश्वमा सन् २०२४ ले गुमाएका चर्चित व्यक्तित्व
पुष १९, २०८१ शुक्रबार
पाँच महिनामा सात करोड बढी राजस्व संकलन
पुष १९, २०८१ शुक्रबार
धुलिखेल क्षेत्रका क्षतिग्रस्त खानेपानी आयोजना पुनःनिर्माणका लागि एक लाख युरो सहयोग
पुष १९, २०८१ शुक्रबार
पूर्वीनाकाबाट पर्यटकको आगमन बढ्यो
पुष १९, २०८१ शुक्रबार
दाउन्ने ‘एग्रो फार्म’ १० करोडको ‘शेयर’ जारी गर्दै
पुष १९, २०८१ शुक्रबार