२५ वर्षको अन्तरालमा जनकपुरका मन्दिर गायब, छ सय बिघाभन्दा बढी जग्गा निजीकरण
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
जेठ ३०, २०७६ बिहिबार १५:१९:२८
![](https://nepalbahas.prixacdn.net/media/albums/mandir_ijYqLKZUwW.jpg)
काठमाडौं । २५ वर्षअघिसम्म जनकपुरमा टोलैपिच्छे मन्दिर र कुटी भेटिन्थे। यतिबेला ती मन्दिर र कुटी छैनन्। मन्दिर र कुटी त हराए–हराए, भगवान्का मूर्ति पनि गायब भए। अहिले बाँकी छन् केही मन्दिरका भग्नावशेष मात्र।
पछिल्लो दुई दशकमा जनकपुरमा ४० भन्दा बढी मन्दिर मूर्तिसहित हराएका छन्। कुनै बेला मन्दिर रहेका ठाउँमा अहिले ठूलठूला भवन छन्। जानकी मन्दिरका कारण प्रसिद्धि कमाएको जनकपुरमा ठूलो संख्यामा साधुसन्त आउँथे। छिमेकी भारत र स्वदेशकै साधु जनकपुर आएर भजनकीर्तन गरी रमाउँथे। ती साधुको भक्तिबाट आकर्षित भई जग्गादान दिने परम्परा थियो। ‘सबै कुटीमा रामजानकीकै पूजा हुन्थ्यो,’ जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशनदास वैष्णव भन्छन्, ‘ती कुटी स्थापना गरेका साधुसन्तका नामबाट मन्दिरको नाम राखिन्थ्यो।’
सबै मन्दिर सम्पन्न थिए। तर भूमाफियाको चलखेल र मन्दिर संरक्षककै मिलोमतोमा कुटी मासिँदै गए। कुटीले दानमा पाएको जग्गा व्यक्तिमा नामसारी हुन थाल्यो र बिस्तारै भगवान्का मूर्तिसमेत बेचिए।
२०२२ सालमा गुठी संस्थान ऐन आयो। नेपाली नागरिकता नभएका साधुसन्तले मठमन्दिरको जग्गा चलाउन नपाउने जस्ता स्वामित्वका विषयमा विभिन्न नियम बने। कतिपय साधुसन्तले नेपाली नागरिकता भएका आफ्ना चेलालाई मठमन्दिरको स्वामित्व सुम्पिए। तर, संरक्षणको जिम्मेवारी लिएका पुजारी र महन्थले मन्दिरको जग्गा भूमाफियासँग मिलेर बिक्री गरेपछि ती मन्दिर लोप भए।
कतिपय मन्दिर र जग्गा सरकारी स्वामित्वमा राखेर प्रयोगमा ल्याइएको छ। तर, अधिकांश मन्दिर निजी रूपमै अतिक्रमणमा परेका छन्।
यी हुन् लोप भएका मन्दिर
जनकपुरधाम उपमहानगरपालिकामा रहेको बागवानी फार्ममा वीरपुर राधाकृष्ण मन्दिर थियो। अहिले त्यसको अवशेष नै छैन। जग्गा सरकारले प्रयोग गरिरहेको छ। जनकपुर अञ्चल अस्पताल भएको ठाउँमा सियाबिहारी कुटी थियो। त्यहींका रासबिहारी कुटी, युगल बाबा कुटी, रेवासी माईजी कुटी, रामेश्वर दास कुटी, सीताराम दास तत्मा कुटी, सीताराम दास मनियार कुटी, विमलाबिहारी कुटी लोप भइसकेका छन्।
रामजानकी पिक्चर प्यालेस रहेको ठाउँमा रघुवीरशरण व्यास कुटी थियो। त्यो पनि हरायो। कन्हैयादास कुटी, किशोरीशरण कुटी, सखी कुटी, परमहंसजी कुटी, वशिष्ठशरण कुटी, भटबा कुटी, लक्ष्मणशरण कुटीको नामोनिसान छैन।
रामदयालशरण कुटी, भजनिया कुटी, रुक्मिणी सर कुटी, सतानन्द आश्रम, लक्ष्मणशरण कुटी, द्वारिकानाथ कुटी, निपतकिशोरी कुटी, सीतारामदास कुटी बेल्ही, रौनियार कुटी, चमार कुटी, महापात्र कुटी मूर्तिसहित हराएका छन्।
यी कुटीको अहिले अस्तित्व छैन। कुटीका साथै यसका जग्गा पनि अतिक्रमणमा परेका छन्। स्थानीयका अनुसार जनकपुरको रत्नसागर मठवरिपरिका विरख्ख कुटी, बराही कुटी, वीरपुर कुटी र जानकी सखी कुटी रत्नसागर मठकै महन्थ वैकुण्ठ दासले अतिक्रमण गरी बेचेका थिए। महन्थ दासले मन्दिरको जग्गासहित मूर्ति पनि बेचे। दास जग्गा किर्ते मुद्दामा अदालतबाट दोषी ठहर भई फरार छन्।
गुठी संस्थानले मठमन्दिरमा महन्थ नियुक्ति गर्दा भूमाफियासँग साँठगाँठ भएकालाई पदमा राखेपछि मन्दिर बेचिने क्रम बढेको जानकार बताउँछन्। हराएका मन्दिरमध्ये एउटाको २० देखि २५ बिघासम्म जग्गा थियो। जनकपुरमा मन्दिर र कुटी स्वामित्वको ६ सय बिघाभन्दा बढी जग्गा निजीकरण भइसकेको छ।
रक्षक नै भक्षक
मठमन्दिर संरक्षण र संवद्र्धनको जिम्मेवारी पाएका महन्थ नै भक्षक बनेपछि जनकपुरका कैयन् मन्दिर लोप भए। भारतको बिहार राज्यको सीतामढी जिल्लामा विरख्ख भन्ने गाउँ छ। त्यहाँ रामजानकी भगवान्को परापूर्व कालदेखि नै विरख्ख कुटी स्थापित छ। सोही कुटीका साधुसन्तले दशकौं अघि जनकपुरमा आएर विरख्ख कुटी स्थापना गरेका थिए। जनकपुरस्थित कभर्ड हल नजिकै उक्त कुटीको २२ बिघा जग्गा थियो। तर, गुठी संस्थान ऐन आएपछि भारतीय साधुसन्त कुटी छाडेर हिँडे।
महन्थविहीन बनेको कुटी संरक्षणको जिम्मेवारी रत्नसागर मठले पायो। रत्नसागर मठका महन्थ वैकुण्ठ दासले विरख्ख कुटीको संरक्षण गर्नुको सबै जग्गा गुठी संस्थानकै पदाधिकारीको मिलोमतोमा मोही कायम गरी आफ्नो अधीनमा पारे। उनले मन्दिर र रामजानकीको मूर्ति र जग्गासमेत बेचेको अन्य मन्दिरका महन्थ बताउँछन्।
वैकुण्ठले आफ्नो मठको संरक्षणअन्तर्गत रहेको तुलसी स्मारक, बराही कुटी, सबरी कुटीलगायतका आधा दर्जनभन्दा बढी मठमन्दिरको जग्गा अवैध रूपमा बेचेर निजी संरचना बनाउन लगाएका थिए। वैकुण्ठ भारतीय नागरिक हुन्। उनले नेपाली नागरिकताको नक्कली प्रति लिएका छन्। वैकुण्ठको नागरिकता सर्वोच्च अदालतबाट खारेज भएको छ।
पछिल्लोपटक जनक हजारी विद्यापीठको जग्गा किर्ते कागजात बनाएर बिक्री गर्न खोजको आरोपमा उच्च अदालत जनकपुरले उनलाई थुनामा राख्न आदेश दिएको छ। दास अहिले फरार छन्। उनलाई वैशाखमा सर्वोच्च अदालतले रत्नसागर मठको महन्थ पद खारेज गर्ने आसयको फैसला सुनाएको थियो। दासविरुद्ध कर्तव्य ज्यान मुद्दा पनि लागेको थियो।
हेर्दाहेर्दै मन्दिर गायब
गौ संरक्षण मञ्च नेपालका अध्यक्ष जगदीश महासेठ ६५ वर्षका भए। उनले बाल्यकाल सम्झँदै भने, ‘हामी सानो छँदा जनकपुर मन्दिरको सहर थियो। साउनमा हुने १५ दिवसीय झुलनोत्सव मेलामा सबै मन्दिरमा पूजा हुन्थ्यो। जनकपुर नै झकिझकाउ हुन्थ्यो।’ हेर्दाहेर्दै ती मन्दिर लोप भइसकेका छन्।
अतिक्रमणकारीले मन्दिरको गजुरसँगै भगवान् पनि बेचेको महासेठ बताउँछन्। ‘मन्दिर र भगवान् पनि बिक्री भइसके। संरक्षण गर्ने कोही भएन।’ महासेठका अनुसार भक्तले दानस्वरूप दिएका बिघौं जग्गा हराए।’ गुठी संस्थानको लापरबाहीका कारण मन्दिर लोप भएको महासेठ बताउँछन्।
गुठीमात्र संरक्षक होइन : प्रमुख शर्मा
जनकपुरका सम्पूर्ण मठमन्दिर र देवस्थलको संरक्षणको जिम्मेवारी गुठी संस्थानको नरहेको गुठी संस्थान जनकपुर शाखा कार्यालयका प्रमुख मनोज शर्मा बताउँछन्। हराएका मन्दिरको संरक्षणको जिम्मेवारी कसको हो भन्ने जिज्ञासामा उनले भने, ‘राजगुठी मातहत तोकिएका मठमन्दिरको संरक्षण र व्यवस्थापनको जिम्मा मात्र हाम्रो हो।’ उनका अनुसार जनकपुर नगरभित्र रहेका करिब २० वटा मठमन्दिर र देवस्थल राजगुठीअन्तर्गत छन्।
ती सबैमा मन्दिरको भौतिक संरचना र भगवान् पनि यथावत् रहेको उनले जानकारी दिए। ती मन्दिरमा विधिवत् पूजाआजा भइरहेको उनको दाबी छ। निजी र छुट गुठीअन्तर्गत सञ्चालित मठमन्दिर र तिनका भगवान्को अवस्थाबारे आफूलाई केही जानकारी नरहेको शर्मा बताउँछन्। अन्नपूर्ण पाेस्टबाट
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपछोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार