यस्ता छन् बिग मर्जरका बेफाइदा ! यो बिग मर्जरको एजेण्डा राष्ट्र बैंकको हाे कि सरकारको ?
इन्द्र रिजाल
असार ३१, २०७६ मंगलबार १९:०:१६
चालु आर्थिक बर्ष नेपालका बैंकहरुको लागि तनावपुर्ण रह्यो । निक्षेप, तरलता, ब्याजदर, ब्याजदरको अन्तर गरी एकपछि अर्को संकट, सहुलियतपुर्ण कर्जा तथा, भुकम्पपीडित कर्जा आदिले नेपालका बैंकहरुलाई थिलथिलो नै बनायो । केही बर्षयता नेपालमा नियमनकारी निकाय आक्रमक ढंगबाट काम गर्दैछ । उसको अत्याधिक सकृयता आवश्यक वा अनावश्यक दुबैतर्फ तर्क गर्न सकिन्छ । तर यहाँ त्यो विस्तारमा नजाउँ ।
कहाँसम्म भने अत्याधिक नाफा कमाएर नेपाली जनताको शोषण गरेको आरोप समेत बैंकहरुले सहन पर्यो । बैंकहरुलाई परेको तनावको सम्भवतः पछिल्लो श्रृंखला हो, अब आउन लागेको मौद्रिक नीतिमा घोषणा हुने बिग मर्जरको नीति । त्यसअघि नै देशका वाणिज्य बैंकलाई एक आपसमा गाभिने पार्टनर खोज्न राष्ट्र बैंकले दवाव दिएको खबर छ । सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र अध्यक्षको एकमुष्ट भेला बोलाई राष्ट्र बैंकले मर्जरको लागि बलजफत गर्न खोजेको भनिन्छ । बैंकहरुले पार्टनर खोज्न नसके राष्ट्र बैंकले खोजिदिनेसम्मको कुरा आयो, यो फोर्स मर्जरको संकेत हो ।
मौद्रिक नीति घोषणा हुनु अघि पोहोरसाल पनि बिग मर्जरको हल्ला चलेको थियो । त्यतिबेला सरकारी बैंकहरुको मर्जर राष्ट्र बैंकको एजेण्डा भएको सुनिन्थ्यो । तर अचम्मैसँग मौद्रिक नीतिमा बिग मर्जरको उच्चारण भएन । यस पटक भने सरकारको आदेशमा राष्ट्र बैंक अगाडि बढेको जस्तो छ किनकि वित्तीय क्षेत्रको मुद्दामा सरकारका मन्त्री र सचिवहरु निर्धक्क बोल्न थालेका छन् । तर यस्तो बिग मर्जर केको लागि गरिदैछ ? यसबाट देशले के फाइदा पाउने छ ? यसमा प्रष्टसँग राष्ट्र बैंककै धारणा पनि आएको छैन । बैंकको संख्या धेरै भएको प्रसंग विगतमा बारम्बार उठेको हो । सबैलाई जानकारी छ, विगतमा न्युनतम पुँजी पुर्याउने ठगलाई पनि लाइसेन्स बाँडिएको हो । भर्खरै व्यवसायी र बैंकर छुट्याउने भनिएको छ । भनाइ स्वागतयोग्य भएपनि यसको प्रभावकारी कार्यान्बयन चुनौतीपुर्ण हुनेछ ।
हाल नेपालमा केन्द्रीय बैंक नै अर्थ मन्त्रालयले चलाएको हल्ला आइरहन्छ । अर्थमन्त्री वा अर्थ सचिवको तहबाट ब्याजदर घट्नु पर्ने बोली अत्यधिक सुन्न पर्दा र राष्ट्र बैंकले पनि यसैमा स्वर मिलाएको देख्दा यस्तो हल्ला पत्यारलाग्दो पनि हुन्छ । त्यसैले यो बिग मर्जरको एजेण्डा पनि राष्ट्र बैंकको नभएर सरकारको जस्तो देखिएको छ । अहिलेकाे परिस्थितिले गभर्नर चिरञ्जीवी नेपाल राजनीतिक कार्यकर्ताको रुपमा प्रस्तुत भएकाे भान हुन पुगेकाे छ ।
हाल व्यवसायीहरुको बैंकमा प्रत्यक्ष लगानी छ भने अब अप्रत्यक्ष हुनसक्ने संभावना छ । यस्ता अप्रत्यक्ष कामलाई रोक्न आवश्यक पर्ने इच्छाशक्ति हालसम्म यहाँ देखिएको छैन । अप्रत्यक्ष लगानी प्रत्यक्षको तुलनामा झन खतरापुर्ण हुन्छ । यो समस्या पनि राष्ट्र बैंक आफैले नै निकालेको हो । यसका अतिरिक्त प्रमुख कार्यकारीको नियुक्ती अघि नाम राष्ट्र बैंकबाट अनुमोदन हुनपर्ने प्रस्ताव समेत आउन लागेको बुझिन्छ । यदि यस्तो भएमा निजी क्षेत्रका बैंक प्रमुखको नियुक्ति पनि नेपाल सरकारको हातमा जान बेर छैन । कुनै देशमा भएको ब्यबस्थालाई यहाँ हुबहु लागु गर्दा पैदा हुने संभावित विकृतितर्फ ध्यान जानै पर्छ । यहाँको सरकार हरेक नियुक्तिको लागि आफ्नो दलको क्याडरलाई लायक देख्छ र कार्यकुशलताको खोजीको जहाँसम्म कुरा छ, केही अपवादलाई छाडेर नेपालमा जति गैर जिम्मेवार सरकार सायदै अन्य तुलनायोग्य देशहरुमा होला ।
देशको अर्थ नीति (Fiscal Policy ) कार्यान्वयनमा गम्भिरता नभएको कारणले तरलताको समस्या भोगिरहेका बैंकहरुले भर्खरै रु २ अर्बबाट रु ८ अर्ब शेयर पूँजी पुर्याएका हुन् । शेयर पूँजी बृद्दिले बैंकहरुको जोखिम लिने क्षमता बढ्ने भएकोले संसारभर नियमनकारी निकायले यसै गर्छन् । तर पूँजी बृद्धिको तनाव मुक्तिको लामो श्वास फेर्न नपाउँदै नेपाली बैंकहरुले बिग मर्जरको अर्को चर्को दवाव झेल्न परेको छ । वास्तवमा संस्थाहरु गाभ्दा त्यसको सिनर्जी असर( Synergy Effect ) को अपेक्षा हुन्छ । दुई वा बढीलाई गाभ्दा तीबाट हुँदै आएको कुल फाइदाको तुलनामा बढी फाइदा हुनुलाई सिनर्जी असर भनिन्छ । यस्तो सिनर्जी असर बैंकहरुको विभिन्न सुचकांकबाट प्रतिबिम्बित हुन्छ ।
उदाहरणको लागि बिग मर्जरले देशको वित्तीय स्थिरतामा बढी योगदान दिएको वा बैंकको वित्तीय स्वास्थ्यमा महत्वपूर्ण सुधार ल्याएको वा ग्राहकलाई साविकको तुलनामा कुशल सेवा उपलब्ध गराएको वा मर्जरपछिको बैंकमा कामको शैली र संस्कृतिमा सकारात्मक परिवर्तन आएको वा नेपालको परिप्रेक्षमा भन्ने हो भने युनियनहरुको मसल पावरमा कमी आएको हुनपर्छ । हालै भारतमा बैंक अफ बरोडामा डेना बैंक र बिजय बैंक गाभिएपछि सिनर्जी असर आएको बिश्वास गरियो । यस्तै इन्डोनेसियाका स्थानीय बैंकहरुलाई जापान र दक्षिण कोरियाका बैंकहरुले किनेर गाभ्न थालेकाले त्यहाँ यसको अनुकुल असर परेको अनुभव गरिएको छ । के हालको प्रस्तावित मर्जरबाट यी फाइदाहरुको अपेक्षा गर्न सकिन्छ ? बिग मर्जरको निर्णय आउनु अघि यो प्रश्नको जवाफ खोज्न जरुरी छ ।
सरकार सकभर कर्जाको व्याजदर न्युन तहमा राख्न चाहन्छ, यस सम्बन्धमा उसले बारम्बार बोलिरहेकै छ । अधिकतम आर्थिक बृद्धिको लक्ष लिने सरकारले कम व्याजदरको वकालत गर्छ । बिग मर्जरबाट पनि बैंकहरुको ब्याजदर घट्ने, कर्जा प्रवाह बढ्ने अनुमान सरकारको होला । तर आर्थिक बृद्धिसँगै मुद्रास्फीति पनि उकालो लागेमा आर्थिक बृद्धिको अर्थ हुन्न । त्यसैले अर्थतन्त्रको यस पक्षलाई सम्बोधन गर्न आधार ब्याजदर घटाउने र बढाउने काम सरकारले हैन, कुनै पनि देशमा त्यहाँको केन्द्रीय बैंकले गर्ने गर्छ । राजनीतिक अभिलाषाद्वारा ग्रस्त रहने सरकार यसभित्र पस्न मिल्दैन । यसैले संसारैभर केन्द्रीय बैंकलाई सरकारबाट स्वतन्त्र राख्ने चलन हुन्छ, उसले सरकारको आदेश पालना गर्ने संस्था हुने हैन ।
देशको समष्टिगत आर्थिक अवस्थाको मूल्यांकन गरेर मात्र केन्द्रीय बैंकले ब्याजदर घटाउने वा बढाउने निर्णय गर्छ । वित्तीय स्थायित्व र मुद्रास्फीति दरलाई नियन्त्रणमा राख्ने जिम्मा पाएको केन्द्रीय बैंकले राजनीतिक निकाय सरकारको मुड हेरेर निर्णय गर्दैन । सबै विकसित मुलुकहरुको अवस्था यही हो । प्राय सबै चिजमा विगतका राष्ट्रपतिहरु भन्दा फरक इमेज बनाएका अमेरिकी राष्ट्रपति ट्रम्पले आफैद्वारा नियुक्त फेड रिजर्भका अध्यक्षका बिरुद्ध जेहाद छेडेका छन् । दिनदिनै ट्विट गरेर परम्परा विपरित आफ्नो धारणा सार्वजनिक गर्ने राष्ट्रपतिले खोसिदिने वा पद घटुवा गर्ने चेतावनी दिँदा पनि अध्यक्षले राष्ट्रपतिको प्रस्तावलाई वास्ता गरेका छैनन् । राष्ट्रपतिको नजर आगामी चुनावमा छ । तर केन्द्रीय बैंक कहीँ पनि राजनीतिक संस्था हैन, देशको अर्थतन्त्रमा तत्काल र मध्यम अबधिमा आइपर्ने समस्यालाई सम्बोधन गर्ने दायित्वबोध उसमा हुन्छ ।
मर्जरबाट बैंकहरुका बीच प्रतिष्पर्धा घट्ने छ, उनीहरुको हैसियत भने बढ्ने छ । बिग मर्जरबाट बैंकहरु वित्तिय पावरहाउसको रुपमा विकसित हुने छन् । भारतको स्टेट बैंक अफ इन्डियाको आकारको कारणले त्यहाँको सीईओलाई देशको गभर्नरसँग तुलना गरिन्छ र नेताहरुको लागि उनको राजनैतिक महत्व गभर्नरको भन्दामाथि रहँदै आएको छ । यस्तो हुनु ठिक हो कि हैन, निर्णयकर्ताहरुले मूल्यांकन गर्ने बिषय हो ।
तर, हाल नेपालमा केन्द्रीय बैंक नै अर्थ मन्त्रालयले चलाएको हल्ला आइरहन्छ । अर्थमन्त्री वा अर्थ सचिवको तहबाट ब्याजदर घट्नु पर्ने बोली अत्याधिक सुन्न पर्दा र राष्ट्र बैंकले पनि यसैमा स्वर मिलाएको देख्दा यस्तो हल्ला पत्यारलाग्दो पनि हुन्छ । त्यसैले यो बिग मर्जरको एजेण्डा पनि राष्ट्र बैंकको नभएर सरकारको जस्तो देखिएको छ ।
यत्रो हल्ला भइसक्दा पनि सरकार वा राष्ट्र बैंकले बिग मर्जरबाट राष्ट्रले हासिल गर्न खोजेको लक्ष प्रष्ट पार्न सकेको छैन । ठुला बैंकहरुको मर्जरबाट कर्जाको ब्याजदर साँच्चै घट्ने अनुमान सरकारको हो भने त्यो सरासर गलत लाग्छ । मर्जरबाट बैंकहरुका बीच प्रतिष्पर्धा घट्ने छ, उनीहरुको हैसियत भने बढ्ने छ । बिग मर्जरबाट बैंकहरु वित्तीय पावरहाउसको रुपमा विकसित हुने छन् । भारतको स्टेट बैंक अफ इन्डियाको आकारको कारणले त्यहाँको सीईओलाई देशको गभर्नरसँग तुलना गरिन्छ र नेताहरुको लागि उनको राजनैतिक महत्व गभर्नरको भन्दामाथि रहँदै आएको छ । यस्तो हुनु ठिक हो कि हैन, निर्णयकर्ताहरुले मूल्यांकन गर्ने बिषय हो ।
प्रस्तावित मर्जरले देशलाई वा देशको वित्तीय क्षेत्र विकास र स्थिरताको लागि मदत पुर्याउँछ त ? बैंकहरुको वित्तीय स्वास्थ्यमा सुधार हुन्छ ? यस्तो सुधारबाट बैंकहरुको नाफामा बृद्दि, निष्क्रिय कर्जामा कमी, ब्याजदरमा कमी, शासकीय क्षमतामा अभिबृद्दि, युनियनहरुको शक्तिमा ह्रास, ग्राहकहरुको सेवामा गुणात्मक बृद्दि हुन्छ ? कर्मचारी कटौतीबाट थपिने नाफाको अंक त्यति ठुलो हुने छैन किनकि नेपालका निजी क्षेत्रका बैंकहरुको कर्मचारी खर्च खास धेरै छैन । बैंकका कुल शाखाहरुको संख्या घट्ने छन्, यसबाट बेरोजगारीको समस्या भने थपिने छ । अर्को कुरा, नेपाल यस्तो एउटा देश छ जहाँ संस्थाको आकार ठुलो हुँदै जाँदा शासकीय क्षमतामा गुणात्मक ह्रास हुँदै आउँछ । कुनै बैंकलाई असफल घोषणा गर्न पनि उसको आकारकै कारणले सम्भव हुने छैन, अमुक बैंकको निक्षेपकर्ताको संख्या बढी हुँदा यसले राजनीतिक समस्या ल्याउन सक्छ । राष्ट्रले सरकारै गिराउनेसम्मको नतिजा ब्यहोर्नु पर्ने हुनसक्छ । यस्तो अवस्थालाई रोक्न सरकारको ट्रेजरीबाट जनताको निक्षेप भुक्तानी गर्नुपर्ने दिन आउन सक्ने छ, जुन दूर्भाग्यपूर्ण हुनेछ । बिग मर्जरको यो अर्को बेफाइदा हो ।
अर्को कुरा, दुई संस्थाको कार्यगत संस्कार एकिकृत हुन नसक्ने जोखिम त यस्तो मर्जरमा हुने नै भयो । दुई वा तीन बैंकलाई गाभ्ने निर्णय गर्दा कमजोरलाई बलियो बनाउने उद्देष्य हुन सक्छ, तर यसको उल्टो बलियो बैंक कमजोर हुन सक्ने खतराको पनि बराबर सम्भावना हुन्छ । यदि यस्तो भयो भने राम्रा बैंकमा पनि अनपेक्षित अवस्था सिर्जना हुन्छ, जुन देशको वित्तिय स्थिरताको दृष्टिले जोखिमपूर्ण हुन्छ । मर्जरको एउटा उद्देष्य सधै शासकीय क्षमतामा गुणात्मक बृद्धी हुन जरुरी छ, शासकीय क्षमतामा कम्प्रोमाइज गरेर अन्य उद्देश्य हाँसिल गर्न खोजिएमा त्यसले पश्चाताप मात्र निम्त्याउँछ ।
नेपालमा अहिले कतिपय बैंकहरुमा शासकिय क्षमता फितलो छ । नाम लिन युक्तिसंगत नहोला, तर राष्ट्र बैंककै पदाधिकारीहरु भन्छन्, ‘कुन बैंकको कमजोरी के छ, यसको तथ्यांक हामीसँग छ, खुरुक्क हामीले भनेको मान, अन्यथा फोर्स मर्जरको नीति ल्याउँछौ’ । बैंकका कमजोरीहरुलाई देशको केन्द्रीय बैंकले टुलुटुलु हेरेर बसिरहेको स्थिति हो ? प्रेस रिपोर्टलाई सत्य मान्ने हो भने केन्द्रीय बैंकको यो अभिव्यक्तिमा गैरजिम्मेवारीपनको गन्ध आउँछ । नियमनकारी निकायले बैंकहरुलाई तर्साउनु वा बार्गेनिङ गर्नु भन्दा उनीहरुको कमी कमजोरीको मूल्यांकन गर्नु पर्छ र त्यस्ता बैंकलाई छुट्टै बोलाई शासकीय क्षमतामा सुधार ल्याउन समय सीमा दिनु पर्छ । तोकिएको समय सीमा भित्र सुध्रिने काम नभए त्यस्ता बैकलाई सजाय दिने प्रकृयामा लाग्नु केन्द्रीय बैंकको अधिकार हैन, दायित्व हो । यस्तो बेलामा फोर्स मर्जर गर्ने अवस्था आउन सक्छ । तर नराम्रोलाई राम्रोमा मिसाएर समस्या समाधानको बाटो खोज्दा माथि भनिए झैँ उल्टो परिणाम आएमा के गर्ने ? त्यसैले हालै हल्ला चलाइएको बिग मर्जरको नीति सबै बैंकहरुलाई लागु हुने गरी एकमुष्ट ल्याउनु वा यसको लागि दवाव दिनु उचित हैन ।
बैंक भनेको जनताको निक्षेप लिई देशको आर्थिक बृद्धिमा सहयोग पुर्याउने महत्वपूर्ण संस्था हो, यस्ता संस्थाहरुको नियमन गर्ने निकाय अत्यन्त कुशल र जिम्मेवार हुन जरुरी छ । उसको हुइपमा काम गर्ने इमेज बन्न हुन्न । उसले गरेको कामप्रति ऊ कतै न कतै जिम्मेवार हुन जरुरी छ जस्तो कि संयुक्त राज्य अमेरिकामा छ, तर नेपालमा त्यस्तो छैन । त्यहाँको फेड रिजर्भको अध्यक्षले विभिन्न समयमा कांग्रेस अर्थात संसदको सामना गर्नु पर्छ । विदेशतिर बैंकहरु मर्जर भइराख्छन्, तर त्यो सामान्यतः उनीहरुको आफ्नै अग्रसरतामा हुन्छ, वाह्य संस्थाको हस्तक्षेपमा हैन । यदि राष्ट्र बैंकलाई पनि सिकाउने बाह्य संस्थाबाट बिग मर्जरको प्रस्ताव आएको हो र यदि यो अकाट्य छ भने पनि पहिले त यसलाई ऐच्छिक बनाउनु पर्छ । दोश्रो, त्यसरी मर्जरको विकल्प छान्ने बैंकहरुलाई सम्भव सबै सुबिधा दिनु पर्छ । निर्णय गर्नु अघि बैंकहरुलाई कतिसम्म ठुलो बनाउने हो, यसको एउटा तस्बीर खिचेर राख्नु पर्छ । पेल्ने मनस्थिति बनाउनु स्वेच्छाचारिताको द्योतक हो । राष्ट्र बैंक जस्तो संस्थाले ‘पहिले विस्तार पछि नियमन’को नीति अंगिकार गर्नु त्रुटीपुर्ण हो । कतै जिम्मेबार हुन नपर्ने स्वेच्छाचारी नियमनकारी निकायले यो भुल्न हुन्न कि बैंकहरुको संख्याको समस्या ऊ आफैँद्वारा सिर्जित हो, बैंकहरुले सिर्जना गरेका हैनन् ।
देवेन्द्रप्रताप शाह नेपाल बैंक लिमिटेडका पूर्व प्रमुख कार्यकारी अधिकृत हुन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेला अमेरिका र भारतका उच्च सैनिक अधिकारी नेपालमा
कात्तिक २७, २०८१ मंगलबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कात्तिक २६, २०८१ सोमबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
उपनिर्वाचनका लागि एमालेले छान्यो ४२ उम्मेदवार
मंसिर १, २०८१ शनिबार
वडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
तिलागुफामा निर्वाचन कार्यालय स्थापना
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार