प्रतिनिधिसभा र प्रदेश सभामा आज के–के विषयमा कुरा भयो ?
नेपालबहस संवाददाता
भदौ १०, २०७६ बुधबार ४:३३:२१
१० भदौ, काठमाडौं । प्रतिनिधिसभाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७६ पारित गरेको छ । यसअघि बैठकमा गृहमन्त्री रामबहादुर थापाले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५ माथि छलफल गरियोस् भनी राख्नुभएको प्रस्तावलाई सभाले स्वीकृत गरेको थियो ।
बैठकमा सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री थापाले सदनमा उठेका आवश्यक विषयवस्तुलाई विधेयकमा समेटिने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने, “राष्ट्रिय परिचायपत्र बहुउपयोगी छ, विश्वका १५० भन्दाबढी देशले यस्ता परिचयपत्र लागू गरिसकेका छन्, राहदानी र नागरिकताबाहेक अन्य परिचयपत्र अब विस्थापित हुनेछ, वैयक्तिक गोपनीयतालाई सुरक्षित गर्ने पाटोमा आशङ्का गर्नुपर्ने अवस्था छैन ।”
यसैगरी अर्थमन्त्री डा युवराज खतिवडाले ‘नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी राखेको प्रस्तावलाई बैठकले अनुमोदन ग¥यो ।
यसअघि शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्” भनी प्रस्तुत गरेको विधेयकलाई सभाले स्वीकृत गरेको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही भदौ १२ गते बिहीबार दिनको १ बजे बस्नेछ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक पारित
त्यस्तै, प्रदेश नं ३ को प्रदेशसभाको आज बसेको बैठकले ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७६’ र ‘प्रदेशसभा नियमावली, २०७४ लाई पहिलो संशोधन गर्न बनेको नियमावली, २०७६’ लाई सर्वसम्मतिबाट पारित गरेको छ ।
बैठकमा सामाजिक विकासमन्त्री युवराज दुलालले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक र प्रदेशसभा नियमावलीको पहिलो संशोधन गर्न बनेको नियमावली कार्यदलका संयोजक रामेश्वर फुयाँलले पारित गर्न प्रस्ताव प्रस्तुत गरेका थिए ।
बैठकमा विधेयकमाथिको छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै सामाजिक विकासमन्त्री दुलालले हेटौँडा अस्पताललाई भविष्यमा गुणस्तरीय उपचार सेवा प्रदान गर्न एवं सबै प्रदेशका विद्यार्थीलाई चिकित्सक विज्ञान अध्ययन गर्न निष्पक्षका साथ सुविधा उपलब्ध गराइने विश्वास दिलाए ।
उक्त बैठकको विशेष समयमा बोल्नु हुने प्रदेशसभाका सदस्यहरूले काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाबाट यथाशीघ्र आन्तरिक व्यवस्थापन मिलाएर स्थानीय उपभोक्ताहरूलाई स्वच्छ खानेपानी उपलब्ध गराउन प्रदेश सरकारले छिट्टै केन्द्रीय सरकारसँग समन्वय गर्नुपर्ने र दशैँ पछाडि नै काठमाडौंमा खानेपानी उपलब्ध गराउन माग गरे ।
उहाँहरूले प्रदेशसभाको गठन भएको डेढ वर्ष बितिसक्दा पनि प्रदेशको स्थायी राजधानीको लागि टुङ्गो लगाउन सरकारले तत्काल आत्मसमीक्षा गरी राजधानीको छिट्टै टुङ्गो लगाउन आग्रह गर्नुभयो ।
प्रदेश सरकारले चालू आवको बजेटमा हेटौँडा–कुलेखानी हुँदै काठमाडौँ जोड्ने र भीमफेदी–काठमाडौँ जोड्ने सुरुङ मार्गको निर्माणका लागि नीति कार्यक्रममा समावेश गरी पारित गरिएकामा अहिलेसम्म ती योजनाहरूलाई निर्माण कार्यको लागि के के प्रक्रिया शुरु भयो भनी उनीहरूले प्रश्न गरे ।
बैठकको विशेष समयमा बोल्नु हुने सदस्यहरूमा वसन्त मानन्धर, दीपेन्द्र श्रेष्ठ, सरेश नेपाल, न्हुछेनारायण श्रेष्ठ, जगतबहादुर सिंह, नरोत्तम वैद्य, विराजभक्त श्रेष्ठ, गीता वाग्ले, सृजना सैँजु, जुनेली माया श्रेष्ठ, शान्तिप्रसाद पौडेल, नारायणबहादुर सिलवाल, बुद्धिमान माझी र रामेश्वर फुयाँल थिए । प्रदेशसभाको अर्को बैठक यही भदौ ११ गते बुधबार बिहान ११ बजे बस्नेछ ।
प्रदेश लोकसेवा आयोग विधेयक पारित
प्रदेश नम्बर १ को प्रदेशसभाको आज बसेको बैठकले ‘प्रदेश लोकसेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ बहुमतले पारित भएको छ ।
बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो विधेयक पारित गरियोस् भनी सदनमा प्रस्ताव पेश गरेका थिए । मन्त्री कार्कीले विधेयक संवैधानिक आधार र मापदण्डमा आधारित भएर आएको बताए । उनले विधेयकलाई लचिलो र व्यावहारिक बनाउन प्रयास भएको छ भन्दै यसका पदाधिकारीहरू समावेशी आधारमा एक महिलासहित तीन जनाको हुने जानकारी दिए ।
प्रदेश लोकसेवा आयोग विधेयक न्याय, प्रशासन तथा विधायन समितिमा व्यापक छलफल गरी प्रतिवेदन समितिका सभापति इन्द्रमणि पराजुलीले सदनमा पेश गरेका थिए । उनले यो विधेयकको मस्यौदामा सात जना सदस्यले संशोधनका लागि प्रस्ताव दर्ता गराएको जानकारी दिँदै विज्ञ, आन्तरिक मामिला तथा कानूनमन्त्री, कानून सचिवहरूको व्यापक छलफल पछि सो विधेयक आएको बताए ।
४० घरपरिवारलाई नागरिकता दिन माग
प्रदेशसभा सदस्य उपेन्द्रप्रसाद घिमिरेले चुरेसँग जोडिएको मोरङको उत्तरी क्षेत्रमा बाढी र वर्षात्का कारण बाटोघाटो क्षतिग्रस्त बनेकाले मर्मत सम्भार गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए । सदस्य गोपालचन्द्र क्षेत्रीले लागुऔषध नियन्त्रणमा प्रदेश सरकारले प्रभावकारी कदम चाल्नु पर्नेमा जोड दिँदै धुलो र धुवाँका कारण विराटनगरको कोशी अस्पताल नजिकका पसलहरूमा पाइने खाद्यान्नको अनुगमन गर्न माग गरे ।
अर्का सदस्य जयराम यादवले मोरङको रङ्गेलीस्थित रङ्गेली अस्पताल दिनदिनै जीर्ण बन्दै गएकाले अस्पताललाई तत्काल सुधार गर्न प्रदेश सरकारको ध्यानकर्षण गराए । सदस्य राधा थापाले झापाको काँकरभिट्टामा पुल बन्दा सरकारले सात धुर जग्गा र रु सात लाख मुआब्जा दिने भने पनि पीडितहरूले सो अनुसार रकम नपाएकामा सरकारको ध्यानाकर्षण गराइन । उनले सो स्थानमा बसोबास गर्ने ४० घरपरिवारलाई तत्काल नेपाली नागरिकता प्रदान गर्न पनि सरकारसँग माग गरिन् । प्रदेशसभाको अर्को बैठक भदौ ११ गते बुधबार दिउँसो १ बजे बस्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
अपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार