“लौ आयो लोकल माछा” भन्नेको कमाइ मालामाल
नेपालबहस संवाददाता
भदौ १२, २०७६ बिहिबार १६:५२:५३
हरि बाँस्तोला
१२ भदौ, पोखरा । केही गर्छु भन्ने सोचका साथ लगनशील भएर काम गर्ने हो भने बेरोजगार भएर भौँतारिनु पर्दैन, स्वदेशमै स्वरोजगार बन्न सकिन्छ भन्ने कुरालाई यहाँका एक युवाले चरितार्थ पारेका छन् ।
पोखरा–१० बुद्धचोक बस्ने ४० वर्षीय राजु तामाङ पोखरा बजारमा माछा बिक्री गरेर मासिक रु २० हजारभन्दा बढी आम्दानी गरी अरुका लागि पनि अनुकरणीय बनेका छन्र । बिहान उठ्नेबित्तिकै बस चढेर पोखराको लेखनाथस्थित बेगनासतालमा रहेको अन्नपूर्ण माछा फार्ममा पुगी खरीद गरिएका माछा साइकलको सहायताले बजारमा बेच्नु उनको दैनिकी हो ।
नुवाकोट बेलकोट नगरपालिका–९ स्थायी घर भएको बताउने उनी पोखराको लेकसाइड, विरौटा, रामबजार, आँखा अस्पतालचोक लगायतका विभिन्न स्थानमा ‘लौ आयो लोकल ताजा माछा’ भन्दै बिहानै सडकमा भेटिन्छन् । आँखा अस्पतालचोकमा सोमबार बिहानै माछा बिक्रीका क्रममा सरसफाइ गरिरहेको अवस्थामा भेटिएका तमाङले भने, “दैनिक २० देखि २६ किलोग्राम माछा खरीद गरी प्रतिकेजी रु ४०० मा बेच्ने गरेको छु, म पेशाप्रति सन्तुष्ट छु ।”
स्वदेशमा जीविकोपार्जनका लागि अप्ठेरो परेपछि विदेश जानका लागि पासपोर्टसमेत बनाएको बताउने उनले परिवारसँगै बसेर बिहानको करीब चार घण्टा बजारमा डुली आम्दानी गर्दा आफूलाई सुखको अनुभूति भएको सुनाए । उनले आजभन्दा चार वर्षअघि फेवातालको खपौंदीबाट माछा खरीद गरी बिक्री गर्न शुरु गरेका हुन् ।
त्यस अवधिमा रु ३० हजारसम्म आम्दानी हुने गरेको अनुभव सुनाउँदै उनले उक्त क्षेत्रमा जलाहारी समुदायका महिला फुर्लुङमा माछा बेच्ने हुँदा माछा पाउनै असहज भएपछि विकल्पको रूपमा आफू अन्नपूर्ण फार्मतर्पm लागेको बताए । पोखरीमा हुर्केका रेवाजातका माछा पोखरेलीले मन पराउने गरेका कारण पनि खरीद गरिएका माछा सबै बिक्री हुने गरेको उनको भनाइ छ ।
“बिक्रीसँगै सरसफाइसमेत आपैmँले गरिदिने भएकाले माछाको माग दिनप्रतिदिन बढ्दै गएको छ”, उनले थपे । उनका दुई छोरा र छोरी स्कूल पढ्न जान्छन्, श्रीमतीले बुद्धचोकमा फलफूल तथा तरकारी बिक्री गर्दै आएका छन् । जीविकोपार्जन राम्रैसँग चलेको छ । साइकलको अगाडि ह्याण्डलमा झुन्ड्याएर र पछाडि क्यारेटमा एक÷एक किलोको पोका बनाएर बजार डुलाउँदै आएका उनले सरसफाइबाट निस्कने फोहरसमेत साइकलमै राखेर उचित स्थानमा व्यस्थापन गर्दै आएको जानकारी दिए ।
पोखरा महानगरपालिका–१७ आँखा अस्पतालचोकमा कार्की रेष्टुरेन्ट सञ्चालन गर्दै आएका डिलमाया कार्कीले माछा स्वादिष्ट र सरसफाइसमेत गरिदिने भएका कारण उनलाई तामाङसँग बाहेक अरुसँग माछा किन्न मन नलाग्ने बताए । पोखरा बजारमा अहिले भारतबाट आएका माछालाई ‘लोकल’ भनेर बिक्री गर्नेको सङ्ख्या ठूलै भएको बताउँदै उनले भने, “तामाङ भाइले ल्याएको माछा आफूजस्ता धेरैले रुचाउने गरेका छन् ।”
पोखरा उपत्यकामा साना–ठूला गरी नौ वटा ताल र विभिन्न खोलाका कारण यहाँ माछा राम्रै उत्पादन हुन्छ । मानव स्वास्थ्यको लागि समेत उपयुक्त हुने भएको र माग पनि बढ्दै गएका कारण पछिल्लो समय युवाको व्यावसायिक माछापालनप्रति आकर्षण बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार