विश्वका अपराधी र वेश्याको अखडा बन्दै नेपाल
नेपालबहस संवाददाता
भदौ २२, २०७६ आइतबार १३:१५:२
२१ भदौ, काठमाडौं । नेपाल विदेशी अपराधीका लागि सहज ‘सेल्टर’ बनेको खुलेको छ । अहिले पनि देशका विभिन्न जेलमा एक हजार एक सय ९५ विदेशी विभिन्न अपराधका कारण थुनामा छन् । त्यसमध्ये भारतिय अपराधिको संख्या अधिक रहेको कारागार व्यवस्था विभागले जानकारी दिएको छ । नेपालको उदार भिसा नीति, कमजोर नियमन प्रणाली, खुकुलो कानुन, पुरानो प्रविधिको प्रयोग तथा खुला सिमानाका कारण नेपाल विश्वका अपराधीको अखडा बन्दै गएको छ ।
४१ देशका नागरिक नेपाली जेलमा बन्दी जीवन विताइरहेका छन् । भारत पछि पाकिस्तान, भुटान, बंगलादेश, चीन, रसिया, बोलिभिया, सोमालिया, नाइजेरियालगायतका नागरिक धेरै रहेका छन् । भारतीय नागरिक सबै किसिमका अपराधमा छन् । अफ्रिकी देशका नागरिक धेरैजसो ठगीमा समातिएका छन् । चिनियाँहरू सुन तथा अवैध डलर तस्करी मुद्दामा जेल परेका छन् ।
एक वर्षमा ६ सय विदेशी निष्कासित
आर्थिक वर्ष ०७५/७६ मा अध्यागमन विभागले करिब ६ सय विदेशीलाई नेपालबाट निष्कासन गरेको छ । निश्चित समय नेपाल आउन नपाउने गरी निष्कासन गरिएको छ । जसमा सबैभन्दा धेरै चिनियाँ छन् । अध्यागमनसम्बन्धी कानुन उल्लंघन गर्ने र अन्य फौजदारी मुद्दामा पक्राउ परेर छुटेका विदेशीलाई विभागले निष्कासन गर्दै आएको छ । निष्कासितको संख्या हरेक वर्ष बढ्दै गएको छ ।
पाँच वर्षमा ३५ सय विदेशी पक्राउ
पाँच वर्षमा प्रहरीले दुई हजार नौ सय ४० विदेशी पक्राउ गरेको छ । त्यस्तै, अध्यागमन विभागले करिब पाँच सय विदेशीलाई पक्राउ गरी कारबाही गरेको छ । विगतका वर्षमा भारतीय बढी पक्राउ पर्ने गरेकामा पछिल्लो समय अर्को छिमेकी चीनसहित विश्वका विभिन्न देशका नागरिक पनि पक्राउ पर्ने गरेका छन् ।
गत आर्थिक वर्षमा मात्र नेपालमा सात सय ९७ विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सबैभन्दा धेरै सार्वजनिक हितविरुद्धको कसुर र लागुऔषध मुद्दामा छन् । शान्ति–सुरक्षामा असर पुर्याउने गतिविधि गरेको आरोपमा एक सय ८४ तथा लागुऔषध मुद्दामा एक सय ७५ पक्राउ परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ७० जना चोरीमा, ५४ ठगीमा, २९ हातहतियार, १७ मानव बेचबिखन र १२ जना नागरिकतासम्बन्धी मुद्दामा पक्राउ परेका छन् । त्यस्तै, ३९ जना बलात्कार, १५ जुवा, सात खोटाचलन र नौजना हत्या मुद्दामा पक्राउ परेका छन् । धर्म परिवर्तन, अपहरण, डकैती, आत्महत्या दुरुत्साहनजस्ता मुद्दामा पनि विदेशी पक्राउ परेका छन् । गत वर्ष विभिन्न अपराधमा जोडिएका ६४ विदेशी अहिलेसम्म प्रहरीको फरार सूचीमा छन् ।
आर्थिक वर्ष ०७४/७५ मा सात सय आठ, ०७३र७४ मा पाँच सय १९, ०७२र७३ मा चार सय ४९ र ०७१र७२ मा चार सय ७१ विदेशीलाई प्रहरीले विभिन्न अपराधमा पक्राउ गरी मुद्दा चलाएको थियो । हरेक वर्ष नेपालमा पक्राउ पर्ने विदेशीको संख्या बढ्दो छ । यसबाहेक अध्यागमनसम्बन्धी अपराधमा गत वर्ष सयभन्दा धेरै विदेशीलाई अध्यागमन विभागले समेत पक्राउ गरेर कारबाही गरेको थियो ।
नक्कली भारु तस्करीमा पाकिस्तानी
पाकिस्तानी नागरिकले नक्कली भारतीय रुपैयाँ तस्करीमा नेपाललाई ट्रान्जिट बनाएका छन् । पछिल्लोपटक १० जेठमा सात करोड ६७ लाख नक्कली भारुसहित पाकिस्तानी नागरिक नदिन अनवार, नसिन उद्दिन र नदिया अनवार पक्राउ परका छन् । उनीहरू जेलमै छन् । पाकिस्तानीहरू ठगीमा समेत पक्राउ परेका छन् । अवैध रूपमा नेपाल बस्दै आएका पाकिस्तानीसमेत पटक–पटक पक्राउ परेको अध्यागन विभागका शाखा अधिकृत वैकुण्ठराज रेग्मीले जानकारी दिए । अवैध रूपमा बस्दै आएका दुई पाकिस्तानीलाई केही महिनाअघि मात्र पक्राउ गरी निष्कासन गरिएको रेग्मीले बताए । अवैध आप्रवासीका रुपमा समेत दुई सय पाकिस्तानी नेपालमा बस्दै आएका छन् ।
बंगलादेशीको धन्दा कल बाइपासदेखि मानव तस्करीसम्म
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मात्र हालसम्म ३७ जना विदेशीलाई कल बाइपास अपराधमा पक्राउ गरेको छ । जसमा आधाजसो बंगलादेशी छन् । नेपालमा कल बाइपासको अवैध धन्दा नै बंगलादेशी इन्जिनियरले भित्र्याएको प्रहरी अधिकारीहरू बताउँछन् । ०६० पछि अवैध कल बाइपास धन्दा मौलाएको हो । ०६७ पछि प्रहरीले एक सय १० समूहलाई पक्राउ गरेपछि यो अपराध केही घटेको छ ।
नेपाल मानव तस्करीमा समेत बंगलादेशीको ट्रान्जिट बनेको छ । विगतमा हस्तलिखित पासपोर्ट हुँदा सयौँ बंगलादेशी नेपाली पासपोर्टमा विभिन्न देशमा रोजगारीमा गएको खुलेको थियो । अहिले पनि ठूलो संख्यामा बंगलादेशी नेपालमा अवैध रूपमा बस्दै आएका छन् । अधिकांशले गार्मेन्ट क्षेत्रमा काम गर्दै आएका छन् । उनीहरूमाथि निगरानी बढाइएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए ।
विदेशी यौनकर्मीको समेत अखडा बन्दै काठमाडौं
पर्यटन भिसामा आएका कतिपय विदेशीहरू वेश्यावृत्तिमा समेत संलग्न रहेको प्रहरीले जनाएको छ । जसमा चिनियाँ, रसियनदेखि उज्वेकिस्तान युवतीहरू नेपालमा विभिन्न याैन अखडामा बस्तै आएका छन् । दुई–तीन वर्षदेखि नेपालमा अवैध रूपमा बस्ने उज्वेकिस्तानका युवतीको संख्या ठूलो रहेको र उनीहरू वेश्यावृत्तिमा संलग्न रहेको अनुगमनबाट खुलेको अध्यागमन विभागका एक अधिकारीले बताए । विगतमा वेश्यावृत्ति धन्दा चलाएको आरोपमा १० चिनियाँ युवतीलाई पक्राउ गरी निष्कासन गरिएको थियो । अफ्रिकी देशका केही युवतीसमेत नेपालमा यस्तो धन्दामा संलग्न रहेको प्रहरीको आकलन छ ।
आर्थिक सहयोगको आवरणमा भित्रिँदै बालयौन दुराचारी
बाल यौन दुराचारका लागि समेत नेपाल विश्वको प्रमुख गन्तव्य बन्न पुगेको छ । त्यसविरुद्ध प्रहरीले विशेष अभियान नै चलाएको छ । पछिल्लोपटक अस्ट्रेलियाका ६३ वर्षीय बेरीम्यान थोमस अल्फर्डलाई प्रहरीले पोखराबाट पक्राउ गरेको थियो । आर्थिक सहयोगको आवरणमा धेरैले नेपाली बालकलाई यौन दुराचार गर्ने प्रवृत्ति देखिएको सिआइबीका डिआइजी नीरज शाही बताउँछन् । समूह नै बनाएर बाल यौन दुराचारी नेपाल आउने गरेको सिआइबीको अनुसन्धानमा खुलेको थियो । राष्ट्रसंघका पूर्वअधिकारीसमेत रहेका क्यानेडियन नागरिक पिटर जन डाल्ग्लिससहित २० भन्दा बढी विदेशी हाल बाल यौन दुराचार मुद्दामा नेपालका जेलमा छन् ।
एटिएम ह्याकिङमा युरोपियन गिरोह
५ असारमा सिआइबीले बाराका राजुकुमार पाण्डेलाई एटिएम ह्याकिङको आरोपमा पक्राउ ग¥यो । तीन रोमानियन नागरिकले उनलाई सिकाएको र पैसा निकालेर रोमानियनलाई नै पठाउने गरेको अनुसन्धानमा खुलेको थियो । नक्कली एटिएमबाट पैसा झिक्न आउने रोमानियासहित बुल्गेरिया, माल्दोभा, सर्बियाजस्ता पूर्वी युरोपियन देशका नागरिक पटक–पटक पक्राउ परेका छन् । सिआइबीका अनुसार चार रोमानियन, चार टर्किस, चार बुल्गेरियन, चार मोल्दोभियन र दुई भारतीयलाई सिआइबीले पक्राउ गरी मुद्दा चलाइसकेको छ । नेपालमा बैंकिङ सिस्टम र सुरक्षा कमजोर ठानेर उनीहरूले नेपाललाई हब बनाएको हुन सक्ने प्रहरी अधिकारीहरू बताउँछन् ।
निस्शुल्क भिसासँगै भित्रियो चीनबाट अपराध
चार वर्षयता चिनियाँ नागरिकलाई नेपालमा भिसा निःशुल्क गरिएको छ । यो नीतिले नेपालमा चिनियाँ पर्यटक बढेसँगै अपराधसमेत बढेको छ । गत साता एटिएम ह्याकिङमा पाँच चिनियाँ र एक चिनियाँ मूलका फ्रेन्च नागरिक पक्राउ परेका थिए । त्यस्तै, चिनियाँसँग घरजम गराउने नाममा नेपाली चेली तस्करी गर्ने र यौनदासीका रूपमा प्रयोग गराउने चार चिनियाँलाई दुई साताअघि पक्राउ गरेको थियो । सुन तस्करी, डलरको अवैध कारोबार, वन्यजन्तुका अंगको तस्करी, जडीबुटीको अवैध कारोबारदेखि लागुऔषध कारोबारसम्म नेपालमा चिनियाँहरू पक्राउ परेका छन् ।
निःशुल्क भिसा नीतिले पनि नेपाालमा चिनियाँलाई सहज भएको र आपराधिक उद्देश्यले नै धेरै आउन थालेको प्रहरी अधिकारीहरू बताउँछन् । भ्रमण वर्ष २०२० पछि चिनियाँलाई भिसामा शुल्क लिनेबारे छलफल भइरहेको अध्यागमन विभागका एक अधिकारीले बताए ।
विद्यार्थी र बिजनेस भिसा बोकेर धर्म प्रचारदेखि सुन तस्करीसम्म
पर्यटक भिसा मात्र होइन बिजनेस र विद्यार्थी भिसामा नेपालमा बस्दै आएका विदेशीसमेत आपराधिक गतिविधिमा संलग्न रहेको खुल्दै आएको छ । ललितपुरमा व्यवसायको आवरणमा चर्च चलाउँदै आएकी एक अमेरिकीलाई दुई महिनाअघि मात्र अध्यागमन विभागले निष्कासन गरेको थियो ।
त्यस्तै, विद्यार्थी भिसामा बस्नेले पनि अवैध गतिविधि गरेको सूचना प्राप्त भएपछि निगरानी बढाइएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए । ‘विश्वभाषा क्याम्पसलगायत निकायमा हामीले निगरानी बढाएका छौँ,’ उनले भने, ‘विद्यार्थी भिसामा नेपालमा बस्ने र अन्य काम गर्ने सूचना प्राप्त भएको छ ।’
हाल करिब दुई हजार विदेशी नेपालमा विद्यार्थी भिसामा छन् । जसमध्ये ठूलो संख्या नेपाली भाषा पढ्न विश्वभाषा क्याम्पसमा भर्ना हुने गरेका छन् । ग्रामीण क्षेत्रका कतिपय क्याम्पसमा समेत विदेशीहरू भर्ना भएका छन् । तर, उनीहरू धर्म प्रचार तथा जासुसीजस्ता गतिविधिमा संलग्न रहेको अध्यागमनको आशंका छ । त्यस्तै, बिजनेस भिसामा बसेर आपराधिक गतिविधिमा संलग्न रहेको पनि भेटिएको छ । ८८ किलो सुन तस्करी प्रकरणका नाइके रहेका चिनियाँ पान वेमिङ र याङ वेनबिङ बिजनेस भिसामा लामो समयदेखि नेपाल बस्दै आएका थिए । हाल उनीहरू फरार छन् ।
गत असारमा बिजनेस भिसामा बसेर चर्च खोल्ने फिलिपिनी नागरिक दे भेरा रिचर्ड र इन्डोनेसियाकी रिता गोङ्गालाई पक्राउ गरी अध्यागमन विभागले निष्कासन गरेको थियो । युक्रेनका दुई नागरिक वैदेशिक रोजगारी ठगीको आरोपमा पुतलीसडकबाट पक्राउ परेका थिए ।
विदेशमा अपराध, लुक्न नेपालमा
अमेरिकामा फरार रहेका निल स्टेमर पाँच वर्षअघि नेपालमा पक्राउ परेका थिए । नेपाली युवतीसँग बिहे गरेर उनी पोखरामा लुकेर बस्दै आएका थिए । अमेरिकाले दिएको सूचनापछि उनलाई पक्राउ गरी अमेरिका पठाइएको थियो । नेपाल लुक्न आएका अर्का एक अमेरिकी गत बिहीबार मात्र पक्राउ परेका छन् ।
त्यस्तै, चीन र कोरियामा फरार रहेका व्यक्तिहरू पनि नेपालमा लुकेर बसेको भेटिएका छन् । उनीहरूले पक्राउ गरी सम्बन्धित देश पठाइएको छ । नेपालमा विदेशी नागरिकलाई नियमन गर्ने प्रणाली नहुँदा यसरी लुक्न सहज भएको छ । पहिलोपटक गत वर्ष सरकारले बनाएको विदेशी नागरिक अनुगमन निर्देशिका प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन । विभागका महानिर्देशक पौडेल दुई महिनाअघि मात्र पोखरामा लुकेर बसेका विदेशीलाई स्वेदश फर्काइएको बताउँछन् । अन्य क्षेत्रमा पनि अनुगमन भइरहेको उनले बताए ।
एक वर्षमा चार सय विदेशी निष्कासित, धेरै चिनियाँ
आर्थिक वर्ष ०७५/७६ मा अध्यागमन विभागले करिब चार सय विदेशीलाई नेपालबाट निष्कासन गरेको छ । अपराधको प्रकृती हेरेर निश्चित समय नेपाल आउन नपाउने गरी निष्कासन गरिएको छ । जसमा सबैभन्दा धेरै चिनियाँ छन् । अध्यागमनसम्बन्धी कानुन उल्लंघन गर्ने र अन्य फौजदारी मुद्दामा पक्राउ परेर छुटेका विदेशीलाई विभागले निष्कासन गर्दै आएको छ । निष्कासनको संख्या हरेक वर्ष बढ्दै गएको विभागका महानिर्देशक पौडेल बताउँछन् ।
युरोप छिर्न नेपालको बाटो
इरानका तीनजना स्पेनको पासपोर्ट लिएर गत महिना नेपालबाट दिल्ली हुँदै स्पेनका लागि उडे । दिल्ली पुगेपछि थाहा भयो उनीहरूको पासपोर्ट नक्कली हो । दिल्ली विमानस्थलले नेपाल फर्काइदिएपछि मात्रै नेपालका अध्यागमन अधिकारीले चाल पाए उनीहरू इरानी नागरिक हुन् । नक्कली पासपोर्टका आधारमा उनीहरू युरोपियन देश छिर्ने प्रयासमा थिए ।
उनीहरूजस्तै मध्यपूर्वी एसियाका करिब ४० जना पछिल्लो एक वर्षमा नेपालमा पक्राउ परेका छन् । इरान, सिरिया तथा यमनका नागरिक यसरी नक्कली पासपोर्टमा नेपाल आउने प्रवृत्ति देखिएको छ । इरानीहरूले नेपाललाई ट्रान्जिटका रूपमा दुरुपयोग गरेपछि त्यो देशका नागरिकलाई अन अराइभल भिसा नै नदिने सरकारको तयारी छ ।
बोलिभियादेखि अफ्रिकासम्मका लागुऔषध तस्कर काठमाडौंमा
विगतमा नेपाल हेरोइन तस्करीको ट्रान्जिट थियो । पाकिस्तान र अफगानिस्तानमा उत्पादन हुने हेरोइन नेपाल हुँदै विश्वका विभिन्न देशमा पुर्याउने गरिन्थ्यो । पछिल्लो समय हेरोइन तस्करी घटेको छ । कोकिन, आइस ड्रगजस्ता लागुऔषध नेपालमा बरामद हुने गरेको लागुऔषध नियन्त्रण ब्युरोका डिएसपी प्रेम शाही बताउँछन् ।
पछिल्लोपटक ४ भदौमा आइभोरी कोस्टका नागरिक मार्सेल गुहेवीलाई एक किलो ६ सय ग्राम कोकिनसहित ब्युरोले पक्राउ गरेको थियो । त्यसअघि पोर्चुगलका नागरिक टिआगो मेन्डिस परेरिया चार किलो दुई सय ग्राम आइस ड्रगसहित ३ साउनमा पक्राउ परेका थिए । पछिल्लो पाँच वर्षमा करिब नौ सय विदेशी त नेपालमा लागुऔषध तस्करी मुद्दामा पक्राउ परेका छन् ।
लागुऔषध तस्करीमा चिनियाँदेखि बोलिभियन, मलेसियन र अफ्रिकनसम्म पक्राउ परेका छन् । नेपालको विमानस्थललाई सजिलै झुक्याउन सकिने र पक्राउ परे पनि अन्य देशको तुलनामा कम सजाय हुने ठानेर नेपाललाई अन्तर्राष्ट्रिय गिरोहले ट्रान्जिटका रूपमा दुरुपयोग गरेको हो । लागूऔषधको अन्तर्राष्ट्रिय तस्करीमा नेपाललाई मुख्य रुटमा राखिएको छ ।
नाइजेरियाको चिम्पान्जी नेपाल हुँदै भारतमा तस्करी
वन्यजन्तु तस्करीमा समेत नेपाल अन्तर्राष्ट्रिय ट्रान्जिट बन्दै गएको छ । विश्वमा वन्यजन्तुका अंगहरूको प्रमुख गन्तव्य चीन हो । जसकारण भारतबाट वन्जयन्तुका अंग चीन तस्करी गर्ने अन्तर्राष्ट्रिय समूह नै नेपालमा सक्रिय छ । अफ्रिकी देशबाट समेत नेपाल हुँदै अन्य देशमा वन्यजन्तु तथा तिनका अंग तस्करी हुन थालेको प्रहरीले जनाएको छ । दुई वर्षअघि दुई चिम्पान्जी नाइजेरियाबाट नेपाल हुँदै भारत तस्करी गर्ने क्रममा समातिएको थियो । जसमा भारतीय र पाकिस्तानी नेपालमा पक्राउ परेका थिए । सो समूहले भन्सार कर्मचारीलाई प्रभावमा पारी चरासँगै चिम्पान्जी तस्करी गरेका थिए । चरा ल्याउन छुट भएकाले चरासँगै लुकाएर चिम्पान्जी ल्याएका थिए । डेढ वर्षअघि दुई चिनियाँले अफ्रिकाको कंगोबाट टर्की हुँदै एक सय ६२ केजी सालकको खपटा नेपाल हुँदै चीनमा तस्करीको प्रयास गरेका थिए । १५ माघ ०७४ मा विमानस्थलबाट सालकको खपटासहित चिनियाँ नागरिकहरू क्वी जिओरोङ र क्वी लिबाओलाई पक्राउ गरेपछि यस्तो गिरोहबारे प्रहरीले पत्ता लगाएको थियो ।
चिट्ठा ठगीमा नाइजेरियनदेखि चिनियाँसम्म
नेपालमा चिट्ठा ठगीमा समेत विदेशीहरू संलग्न हुन थालेका छन् । गत १० वैशाखामा चिट्ठा ठगीको आरोपमा चिनियाँ नेतृत्वको एक गिरोहलाई सिआइबीले पक्राउ गरेको थियो । ठमेलको सातघुम्तीमा सिएफसी चाइजिन रेस्टुरेन्ट चलाउने चिनियाँ नागरिक वाङ होङछिया र भारतीय नागरिक अमित कुमारलाई सिआइबीले पक्राउ गरेको थियो । फेसबुक, भाइबर तथा इमोमार्फत चिट्ठा परेको भनेर झुक्याई त्यसका लागि केही कर तिर्नुपर्ने भन्दै पैसा हाल्न लगाएर उनीहरूले ठगी गरेका थिए । यो गिरोहका नाइके भने नाइजेरियन भएको र उनी विदेशमै भएको खुलेको थियो । चिट्ठाको नाममा ठगीमा वर्षौँदेखि नाइजेरियनले नेपालीलाई लक्षित गर्दै आएका छन् । नाइजेरियन मात्र नभई बेलायतमा बस्ने एक गिरोहले समेत सयौँ नेपालीलाई ठगी गरिसकेको छ । फेसबुकमा साथी हुने र महँगो उपहार पठाइदिने भन्दै भ्रममा पारेर भारतबाट करबापतको रकम मागेर ठगी हुने गरेको छ ।
अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेल भन्छन्–विदेशीमाथि कडाइ सुरु भइसक्यो
पछिल्लो समय विदेशी नागरिकहरू जसरी नेपालको भूमिमा आएर अपराध गरिरहेका छन्, त्यसमा हामी गम्भीर बनेका छौँ । अन्य देशमा अपराध गरेर नेपाल आउने र ट्रान्जिट बनाएर अन्य देश जाने गतिविधिमा पनि हामी सचेत छौँ ।
अहिले हामीले विदेशीको ट्रयाक रेकर्ड हेर्न थालेका छौँ । नेपाल आएका विदेशी फर्केर गए कि गएनन् भनेर हेर्ने सिस्टम हामीकहाँ छैन । अबको दुई महिनाभित्रमा यो सिस्टम सुरु हुन्छ । एक वर्षदेखि म यसैमा लागेको छु । शंकास्पद यात्रु कसैले बोकेमा एयरलाइन्सलाई समेत कारबाही गर्छौँ । अध्यागमनले आगमनमै कडाइ गर्ने हो । शंका हुनेबित्तिकै विमानस्थलबाटै फर्काइदिने गरेका छौँ । अब विदेशीमाथि कडाइ गर्न थालेका छौँ । जुन देशले हामीलाई जस्तो व्यवहार गर्छ, हामी पनि त्यस्तै गर्छौँ । पहिलेजस्तो जोसुकैलाई भिसा दिँदैनौ । नेपालमा भिसा सजिलो छैन भन्ने सन्देश पनि दिन आवश्यक भएकाे खबर आजकाे नयाँ पत्रिकाले छापेकाे छ । पर्यटकको आवरणमा अपराधी नआओस् भन्ने हाम्रो उद्देश्य हो ।
प्रहरी सहप्रवक्ता एसएसपी उमेशराज जोशी भन्छन्–शंकास्पद विदेशीलाई पस्नै नदिने प्रयास गरेका छौँ
नेपालमा विदेशीको आपराधिक गतिविधिले अवश्य पनि चुनौती थपेको छ । त्यसैले शंकास्पद विदेशीलाई देशमा आउनै नदिन हामीले अध्यागमन विभागसँग पनि सहकार्य गरेका छौँ । जसअनुसार केही महिनाअघिदेखि इन्टरपोलको डाटाबेस अध्यागमनले पनि प्रयोग गर्दै आएको छ । कतिपय शंकास्पद विदेशीलाई ‘इन्ट्री रिफ्युज’ गरेर विमानस्थलबाटै फर्काइदिने गरेका छौँ । नेपालमा बस्ने विदेशीमाथि पनि प्रहरीले निगरानी गरिरहेको हुन्छ । अवैध रूपमा बस्दै आएका विदेशी पक्राउ गर्दै हामीले अध्यागमनमा समेत बुझाउने गरेका छौँ । अन्तरदेशीय अपराध अनुसन्धानमा पनि प्रहरीको क्षमता वृद्धि हुँदै गएको छ । बाल यौन दुराचारसम्बन्धी अपराध अनुसन्धानमा नेपालले पाएको सफलताको अन्तर्राष्ट्रिय रूपमै प्रशंसा भएको छ । एटिएम ह्याकर पनि भाग्न नपाउँदै समातिएका छन् । अपराध नियन्त्रण गर्न प्रहरी सक्षम छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल र चीन बीच भएका ९ बुदेँ समझदारी के के हुन् ?
मंसिर १८, २०८१ मंगलबार
दुर्घटनामा चालकको मृत्यु पछि तुलसीपुर–घोराही सडकखण्ड अवरूद्ध
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गर्दै पोखरा एभेन्जर्स
मंसिर २०, २०८१ बिहिबार
चीन भ्रमण पुरा गरी प्रधानमन्त्री ओली बेइजिङबाट काठमाडौंका लागि प्रस्थान
मंसिर २०, २०८१ बिहिबार
रामेछापको सुन्तलाले बजार पाएन
मंसिर २०, २०८१ बिहिबार
बागेश्वरी मोटरमार्ग दश दिन बन्द रहने
मंसिर २०, २०८१ बिहिबार
झापामा धानको समर्थन मूल्य तोकियो, खाद्य कम्पनी ५० हजार क्विन्टल धान खरिद गर्दै
मंसिर २०, २०८१ बिहिबार
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
मंसिर २०, २०८१ बिहिबार