पहिलोपटक पाइपलाइनबाट इन्धनः उपभोक्तालाई मूल्यमा राहत
नेपालबहस संवाददाता
भदौ २४, २०७६ मंगलबार २०:१३:५
२४ भदौ, काठमाडौं । पाइपलाइनबाट इन्धन ल्याइन थालेपछि ढुवानी खर्च कम भई नेपाली बजारमा उपभोक्ताले राहत पाउन थालेका छन् । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्मको पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएसँगै नेपाल आयाल निगमले इन्धनको मूल्य समायोजन गरी आज मध्याह्न १२ बजेदेखि लागू हुने गरी डिजेल÷मट्टितेल र पेट्रोलमा प्रतिलिटर रु दुई÷दुई घटाएपछि उपभोक्तालाई राहत भएको हो ।
मूल्य घटेसँगै प्रतिलिटर डिजेल÷मट्टितेल रु ९५ र पेट्रोल रु १०७ कायम भएको छ । यसअघि पेट्रोलको मूल्य रु १०९ र डिजेल÷ मट्टीतेलको मूल्य प्रतिलिटर रु ९७ थियो । पाइपलाइनका कारण ढुवानी खर्च जोगिने भएपछि स्वचालित प्रणालीमा भाउ बढेमा कम प्रतिशतमा वृद्धि हुनेछ । पाइपलाइनाबाट इन्धन भित्र्याउन थालेपछि वार्षिक रु दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुनेछ ।
मुलुकले समृद्धि र आर्थिक विकासको लक्ष्य लिइरहेको बेला यस राष्ट्रिय आयोजनाले प्रत्यक्ष योगदान दिने निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताउनुभयो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रिमोट थिचेर इन्धन ‘सेन्डिङ’ र प्रधानमन्त्री केपी शर्मा ओलीबाट ‘रिसिभिङ’ गरेपछि आज परियोजनाको शुभारम्भ भएको थियो ।
यसअघि भारतको रक्सौल नाकाबाट दैनिक १५० भन्दा बढी गाडीमा पेट्रोल र डिजेल आउने गरेकामा त्यसको ढुवानी खर्च पूरै बचत हुनेछ । पाइपलाइनका लागि अतिरिक्त कर्मचारी र बिजुली खर्च लाग्ने छैन । यसरी नयाँ प्रविधिबाट तेल आउँदा प्रतिलिटर ६० पैसासम्म कम पर्न आउने अनुमान गरिएको छ । परियोजना शुरु भएपछि वार्षिक करीब रु दुई अर्ब बचत हुने निगमको अनुमान छ ।
हाल भारतबाट छ हजार किलोलिटर डिजेल र एक हजार किलोलिटर पेट्रोल आयात हुँदै आएको छ । यस परियोजनाले मासिक रु एक अर्ब २९ करोड घाटामा रहेको निगमलाई पनि घाटापूर्तिमा सघाउनेछ । नेपालमा पेट्रोलभन्दा डिजेलको माग बढी भएकाले हालका लागि यसबाट डिजेल ल्याइनेछ । आवश्यकताअनुसार चौबीसै घण्टा चल्ने यो पाइपलाइनबाट प्रतिघण्टा २०० किलोलिटर तेल झर्ने क्षमता छ ।
नेपाल आयल निगमका अमलेखगञ्ज डिपो (क्षेत्रीय कार्यालय)का प्रमुख प्रदीप यादवका अनुसार परियोजनाको ‘पाइपिङ’ प्रणालीअन्तर्गत मेकानिकल र सिभिलकार्य गत महीना सकिए पनि शुभारम्भको मिति आज जुरेकाले डिजेल ल्याउन शुरु गरिएको हो । भारतीय पक्षले नेपालका २५ कर्मचारी र प्राविधिकलाई लखनऊमा दुई साताको तालीम दिएको थियो भने अबको एक वर्षसम्म परियोजनालाई प्राविधिक सहयोग गर्नेछ ।
दक्षिण एशियामै पहिलो अन्तरदेशीय पाइपलाइन
नेपालतर्फ ३६ दशमलव २ र भारततर्फ ३३ किलोमिटर गरी कूल ६९ दशमलव २ किलोमिटर दूरीमा पाइपलाइन बिछ्याउने कार्य सम्पन्न भई यसअघि परीक्षणका रुपमा पाइपबाट डिजेल ल्याइसकिएको छ । यो दक्षिण एशियामै पहिलो अन्तरदेशीय (क्रस बोर्डर) पाइपलाइन परियोजना हो । पाइपलाइनबाट डिजेल, पेट्रोल ल्याउन थालेपछि यसको प्रविधिबाट सम्पूर्ण सूचना (विवरण) नियन्त्रण कक्षमा जानकारी हुने प्रणाली विकास गरिएको छ । कति आएको, चुहिएको, रोकिएको वा कुनै अवरोध भएमा त्यसको सूचना कम्प्युटर प्रणालीमा जानकारी हुनेछ ।
शुरुमा रक्सौल–अमलेखगञ्जसम्म पाइपलाइन बिछ्याउने भनिएकामा भारतीय आयल निगमले रक्सौलको डिपो मोतिहारीमा सारेकाले मोतिहारीदेखि नै पाइप बिछ्याइएको हो । भारतको बरौनीबाट पटना, कानपुर, सेवान, मोतिहारी हुँदै अमलेखगञ्जमा इन्धन आउनेछ । पाइपलाइन शुरु भएपछि दुई देशको सीमामा हुने अन्य तनाव वा सवारी जामले आपूर्तिमा कुनै अवरोध गर्ने छैन । पाइपलाइनबाट इन्धन ल्याउन थालिएपछि प्रदूषण कम पनि हुनेछ ।
पाइपलाइनलाई प्रथम चरणमा अमलेखगञ्जदेखि चितवनसम्म जोड्न ‘फाष्टट्र्याक’को आवश्यक सम्भाव्यता अध्ययन गरी विस्तृत प्रतिवेदन भइरहेकको निगमले जनाएको छ । पाइपलाइन निर्माण, डिपो निर्माण तथा जग्गा खरीद आदि कार्यलाई छुट्टै परियोजनाको रुपमा संरचना, कार्य्विधि आदि बनाई व्यवस्थित तबरबाट अघि बढाइन पनि तयारी भएको छ । एलपी ग्यास तथा प्राकृतिक ग्यासको पाइपलाइनको सम्भाव्यता अध्ययन तथा चीनको केरुङदेखि त्रिशूली वा धादिङसम्म पाइपलाइन विस्तार गर्न सम्भाव्यता अध्ययनको कार्य अगाडि बढाइने निगमले जनाएको छ ।
यसरी बिछ्याइयो पाइप
पेट्रोलियम पदार्थको मागअनुसार बिनाकुनै बाधा अवरोध सहजरूपले आपूर्ति गर्न, गुणस्तर कायम राख्न तथा नोक्सानी कम गर्न भारतीय आयल निगमले रक्सौल डिपोदेखि निगमको इन्धन डिपो अमलेखगञ्जसम्म पेट्रोलियम पदार्थको ढुवानी गर्न पाइपलाइन बिछ्याउन सघाएको हो । परियोजना निर्माणका लागि प्रधानमन्त्री ओलीको पहिलो औपचारिक भारत भ्रमणका क्रममा भारत सरकार र नेपाल सरकारबीच २०७२ भदौ ७ मा हस्ताक्षर भएको थियो ।
सन् २०१५ अगष्ट २५ मा भारतीय आयल निगम र नेपाल आयल निगमबीच सम्झौता भएको थियो । नेपालतर्फ २०७५ वैशाखदेखि पाइपलाइन बिछ्याउन शुरु गरिएको थियो । ७ मार्च २०१८ मा सम्पन्न हुने भनिएको यो परियोजनाअन्तर्गत पाइप बिछ्याउने कार्य ३० जुन २०१९ मा सम्पन्न भएको थियो । मूल सडक (हाइ–वे) र अप्टिकल फाइबरसँगै जमिनमुनि साढे दुई मिटर गाडिएको यो पाइप बिछ्याउने परियोजनाको हालसम्मको खर्च भारतीय पक्षले व्यहोरेको छ ।
परियोजनाको कूल बजेट भारु २७५ करोड रहेकामा भारु ७५ करोड नेपालले व्यहोर्ने सम्झौता भएको थियो । दूरी बढेपछि यसको बजेट वृद्धि भई भारु ३२४ करोड लाग्ने अनुमान गरिएको छ । परियोजनाअन्तर्गत अमलेखगञ्ज डिपोमा रहेका चार वटा भण्डारण ट्याङ्कीलाई रेक्टोफिटिङ गरिएको छ । यसमा दुई वटा चार हजार १०० किलोलिटर र दुई वटा तीन हजार ९०० किलोलिटर भण्डारण क्षमताका छन् ।
भण्डारणस्थलमा आगलागी नियन्त्रणका लागि ठूलाठूला पानीका पाइप बिछ्याइएकोे छ । ‘टेलिकम्युनिकेसन एण्ड इन्स्ट्रमेन्टेसन’, ‘केवुलिङ’ पनि गरिएको छ । सोही स्थानमा २४ वटा ‘लोडिङ बे’ प्रयोगशाला बन्ने प्रक्रियामा छ । यस प्रकारको परियोजना नेपालमै पहिलो भएको र प्रज्वलनशील तथा संवेदनशील विषय भएकाले सुरक्षा र अन्य व्यवस्थापनका लागि नेपाली सेनाको सहयोगमा निगम गम्भीरताका साथ लागिरहेको छ । गाडीबाट ढुवानीको तुलनामा भने पाइपलाइनबाट तेल ल्याउँदा सैयौँ गुणा सुरक्षित हुने निगमको भनाइ छ । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा आउनु सुखद होइनः बाबुराम भट्टराइ
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
कति छ आज तरकारी र फलफूलको मूल्य ?
पुष २३, २०८१ मंगलबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
काठमाडौंमा एकविहानै भूकम्पको धक्का, नागरिकहरु सडकमा निस्किए
पुष २३, २०८१ मंगलबार