चाडपर्वको सुरुवात : पारि भीड, वारि सुनसान
नेपालबहस संवाददाता
असोज ७, २०७६ मंगलबार १५:५५:४२
काशीराम शर्मा / रासस
७ असोज बाँके । सदरलाइन नेपालगञ्जकै पुरानो बजार हो । जसलाई एकलैनी बजार पनि भनिन्छ । एकलैनीका साँघुरा गल्लीभित्र सबैथोक पाइन्छ ।
नुनदेखि सुनसम्मको व्यापार यहीँ हुन्छ । नेपालगञ्जको सबैभन्दा पुरानो बजार हो, एकलैनी । नेपालगञ्जको परिचय जोडिएको एकलैनी बजारको साघुँरो गल्लीभित्र पाइलैपिच्छे थरिथरिका पसल खुलेका छन्, तर ग्राहकको रोजाइँमा अझै पनि एकलैनी बजार नै पर्छ ।
नेपालगञ्जको स्थापनासँग जोडिएको एकलैनी बजारमा जुत्ता, चप्पल, कपडादेखि कस्मेटिक, चुरापोतेलगायतका पसल सानो गल्लीभित्र लहरै लागेका छन् । सबैको रोजाइँमा पर्ने एकलैनीभित्र सामान किनमेल गर्नेको भीड र ताँती सधैँ एकनासको हुन्छ ।
अहिले चाडपर्वको मौसम शुरु भएसँगै एकलैनी आसपासका बीच सडकमै पसल थापिएका छन् । एकलैनी र सदरलाइनका बीच सडकमा जब पसल थापिन्छ, हिन्दूका चाडपर्व शुरु भएको भन्ने बुझिन्छ । यो सडकखण्डको ‘बीच बाटो’मा पसल थाप्नु परम्पराजस्तै हो ।
बीच सडकमा पसल राखिँदा यात्रामा अलिकति असहज भए पनि यसलाई यहाँका बासिन्दाले सहजरूपमा लिने गर्दछन् । नेपालगञ्जको सदरलाइन मुख्य बजारअन्तर्गत नै पर्दछ । नेपालगञ्ज उपमहानगरपालिकाले चाडविशेषमा लाग्ने पसललाई व्यवस्थित गर्ने प्रयास गर्दै आएको छ । यहाँ एउटा पसल राखेवापत रु २५० को पर्चा काट्नुपर्ने नियम रहेको पसले बताउँछन् ।
सदरलाइनमा अलि लामो समयका लागि दशैँ–तिहारमा पसल लाग्छन् । अरु चाडपर्वमा दुई÷तीन दिनका लागि पसल लगाउने गरिन्छ । बाहिरबाट आएका यात्रुलाई असहज लागे पनि यहाँका रैथानेले बीच सडकमा लागेका पसललाई स्वभाविकरूपमा लिने मात्रै गरेका छैनन्, त्यस्तो पसल देखेपछि चाडपर्व भित्रिएको धारणा बनाउँछन् । चारपाङ्ग्रे साधनलाई प्रवेश नदिँदा सडकमा थापेका पसलले अप्ठ्यारो नपार्ने स्थानीयवासी अनिल श्रेष्ठ बताउछन् । उनी भन्छन्, “बीच सडकमा पसल थापेको देख्दा चाडबाडको रौनक बढेजस्तो लाग्छ ।”
चाडवाडका बेला सबै सामान एकलैनी बजारमै पाइन्छन्, तर नेपाली उपभोक्तालाई भने भारतीय बजारमा भरोसा धेरै छ । दशैँ आउन दुई साता बाँकी छ, नेपाली उपभोक्ता नेपालगञ्जमा किनमेल नगरी भारतीय बजार रुपैडिहा पुग्ने गर्छन् । सीमापारि भारतीय बजारमा नेपाली उपभोक्ताको भीड बढिरहेको छ । सीमावारिको नेपाली बजार भने सुनसान बनेको छ । सीमापारि सस्तो सामान पाउने लोभमा नेपाली ग्राहक उतै केन्द्रित हुने गरेका छन् ।
नेपालगञ्जको बजारभन्दा सीमावर्ती रुपैडिहा बजारमा नेपाली उपभोक्ताको भीडभाड भइरहेको छ । नजिकिँदै गरेका चाडपर्वका लागि नेपालगञ्ज बजारमा सबैखाले उपभोग्य सामग्री सहजरूपमा उपलब्ध भए पनि आम उपभोक्ता भने रुपैडिहा बजारप्रति नै बढी आकर्षण छ ।
नेपाली ग्राहकको भीडले सीमावर्ती रुपैडिहा बजारको कारोवार ह्वात्तै बढेको छ । यहाँका मात्र नभई पहाडी जिल्लाका उपभोक्ता समेत किनमेल गर्न रुपैडिहा पुग्ने गरेका छन् ।
नेपालीले ग्राहकले दैनिकरूपमा रुपैडिहा बजारमा पुगेर कति रकम बराबरको किनमेल गर्छन् भन्ने आधिकारिक तथ्याङ्क नभए पनि चाडपर्वको मुखमा करीब रु ५० लाखको हाराहारीमा नेपाली ग्राहकले रुपैडिहामा किनमेल गर्ने गरेका भारतीय व्यापारीको अनुमान छ । नेपालगञ्जबाट अटोरिक्सा, ई–रिक्सा, माइक्रोबसजस्ता सवारीसाधन तथा मोटरसाइकलबाट पनि ठूलो सङ्ख्यामा उपभोक्ता किनमेलमा जाने गरेका छन् ।
चाडपर्व र बिहेवारीको सिजनबाहेक पनि नेपालगञ्जका करीब ५० प्रतिशत उपभोक्ता सस्तोमा दैनिक उपभोग्य सामग्री खरीद गर्न पाउने लोभमा रुपैडिहा नै पुग्ने गरेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यको भनाइ छ । उहाँका अनुसार मल्टिनेशनल कम्पनीको सामान पनि भारतमा भन्दा नेपालमा सस्तो पर्छ । तर नेपाली उपभोक्ता भने भारतमै सस्तो पाइने लोभमा रुपैडिहामा ठगिइरहेका छन् ।
सामान्यतया मुस्लिम समुदायको इद, हिन्दूको दशैँ–तिहार र छठमा नेपाली उपभोक्ताले सीमावर्ती बजार रुपैडिहाको व्यापार ह्वात्तै बढाइदिन्छन् । यसरी रुपैडिहा किनमेल गर्न जानेमा बढीजसो नेपाली गृहिणी छन् । प्रायः सबै पसलमा नेपालीकै भीडभाड देखिन्छ । दशैँ–तिहारजस्ता पर्वमा चाहिने सामान किन्नका लागि नेपाली ग्राहकको रुपैडिहा बजारमा निकै भीड बढ्न थालेको रुपैडिहाका कपडा व्यापारी अमनलाल सिन्धीले बताउनुभयो ।
किनमेलका लागि नेपालगञ्ज, कोहलपुरदेखि सुर्खेत, दैलेख, दाङ, सल्यानलगायतका जिल्लाबाट पनि उपभोक्ता रूपैडिहा पुग्ने गरेको व्यापारी सिन्धीको भनाइ छ । रूपैडिहाको राष्ट्रिय व्यापार मण्डलका अनुसारका रुपैडिहामा साना–ठूला गरी एक हजार बढी पसल रहेका छन् । धेरै खाद्यान्न, फेन्सी र काँचो कपडा पसल रहेका छन् । रुपैडिहामा अटोमोबाइल्सको व्यापारमा पनि उत्तिकै बढेको छ ।
एउटा पसलले दैनिक कम्तीमा रु तीन लाख बढीको कारोवार गर्ने व्यापारी सिन्धीले बताउनुभयो । उहाँका अनुसार रुपैडिहाको व्यापार ९० प्रतिशत नेपाली ग्राहकले नै धानेका छन् । दैनिक उपभोग्य सामग्री, साबुन, महिला सौन्दर्यका सामग्री, लत्ताकपडा, अन्न, विद्युतीय उपकरण, मोबाइल, साइकललगायतका सामग्री नेपाली ग्राहकले खरीद गर्ने गरेका छन् । नेपालगञ्ज बजारको तुलनामा रुपैडिहाको बजार मूल्यमा खासै अन्तर छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकामा तरुल, सखरखण्ड र पिँडालुको बजार
पुष २४, २०८१ बुधबार
सार्वजनिक यातायात : सरकार भाडा दर मात्र बढाउँछ छैन सुधारका योजना [ फोटो फिचर ]
पुष २३, २०८१ मंगलबार
विश्वकै शक्तिशाली भवन हिम आँधीको चपेटामा [ फोटो फिचर ]
पुष २३, २०८१ मंगलबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार