मादक पदार्थले लठ्ठिएका प्रअले कार्यक्रम बिथोल्न खोजेपछि…
नेपालबहस संवाददाता
असोज ७, २०७६ मंगलबार १८:२:२०
७ असोज, खोटाङ । मादक पदार्थ सेवन गरेर कार्यक्रममा सहभागी बनेका एक प्रधानाध्यापक कार्यक्रमस्थलबाटै पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित मुलाबारी आधारभूत विद्यालयका प्रअ खम्बराज राई सोमबार कार्यक्रमस्थलबाटै पक्राउ परेका हुन् ।
शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नगरपालिका र नगरभित्र रहेका आधारभूत तह कक्षा १ देखि ५ सम्मका प्रधानाध्यापकबीच कार्यसम्पादन करार सम्झौता गर्न आयोजित कार्यक्रममा उनी मादक पदार्थ सेवन गरेर आएपछि नगरपालिकाका तर्फबाट नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको नगरपालिकाका शिक्षा शाखा प्रमुख पुष्पा राईले बताए । “शैक्षिक गुणस्तर सुधारका लागि कार्यसम्पादन करार सम्झौता गर्न नगरपालिकाभित्र सञ्चालित कक्षा १ देखि ५ सम्मका सबै विद्यालयका प्रअलाई झिकाइएको थियो”, उनले भने, “घरबाटै मातेर कार्यक्रममा आएका प्रअ राईले कार्यक्रम नै बिथोल्न खोजेपछि नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हौँ ।”
दिक्तेलस्थित एक होटलमा आयोजित कार्यक्रमबाटै पक्राउ परेका राईलाई हिरासतमा राखेर कारवाहीको प्रक्रिया थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए । “जिल्ला अस्पताल खोटाङमा गरिएको स्वास्थ्य परीक्षण प्रतिवेदनमा प्रअ राईले मादक पदार्थ सेवन गरेको देखिएको छ”, उनले भने, “अहिले हिरासतमा रहेका प्रअ राईलाई थप कारवाहीका लागि आज नगरपालिकाको शिक्षा एकाइमा पठाउने तयारी गरिएको छ ।”
यसअघि गाउँमा रहँदा पनि चौबीसै घण्टा मातेर हिँड्ने प्रअ राईलाई सेवाबाटै हटाउने तयारी गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताए । “विद्यालय समयमा मादक पदार्थ सेवन गरेको प्रमाणित भएमा सेवाबाटै हटाउन सकिने नगरपालिकाको नगर शिक्षा ऐनको धारा २२ (ख)मा उल्लेख छ”, उनले भने, “प्रअ राईले मादक पदार्थ सेवन गरेको पुष्टि भएकाले सेवाबाट हटाउने तयारी गरेका हौँ ।”
प्रअ राईका कारण झण्डै एक घण्टापछि शुरु गरिएको कार्यक्रममा नगरपालिका र प्रधानाध्यापकबीच अन्तरक्रियात्मक छलफल तथा प्रतिबद्धतापछि कार्यसम्पादन करार सम्झौता गरिएको छ । नगरप्रमुख रिजालको रोहवरमा नगरपालिकाका शिक्षा शाखा प्रमुख पुष्पा र नगरभित्रका ५६ विद्यालयका प्रधानाध्यापकबीच २५ बुँदे कार्यसम्पादन करार सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।
विद्यालय विकास प्रस्ताव तयार गरी सोहीअनुसार कार्यक्रम कार्यान्वयन गर्ने, वार्षिक शैक्षणिक योजना बनाउने र कार्यान्वयन गर्ने, आगामी शैक्षिकसत्रदेखि कक्षा ५ सम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्नेलगायत सम्झौता भएको छ । सम्झौतापत्रमा प्रत्येक शैक्षिकसत्रको वैशाख १५ गतेभित्र विद्यार्थी भर्ना अभियान सञ्चालन गरी विद्यालय उमेर समूहका सम्पूर्ण विद्यार्थीलाई विद्यालय भर्ना गराउने तथा १६ गतेदेखि अनिवार्य पठनपाठन शुरु गर्ने उल्लेख गरिएको छ ।
पाठ्यक्रम र शिक्षक निर्देशिकालाई सबै शिक्षकले अनिवार्यरूपमा प्रयोग गर्ने÷गराउने, प्रत्येक विषयका शिक्षकले पाठ्यवस्तुअनुसार सामग्री प्रयोग गरेर मात्रै शिक्षण गराउनुपर्नेलगायत शर्त सम्झौतामा उल्लेख छ । नगरपालिकाभित्रका सबै विद्यालयका शैक्षिक गुणस्तर सुधार गर्न सबै पक्षको प्रतिबद्ध रहेको जनाइएको छ ।
सामुदायिक विद्यालयको शैक्षिक सुधारमा लागेको नगरपालिकाले यसअघि आधारभूत तहको कक्षा ६ देखि ८ र ९ देखि १२ सम्म सम्झौता गरिसकेको छ । कक्षा १ देखि ५ सम्मका ५६ विद्यालयसँगै नगरभित्र सञ्चालित सबै (९४ वटै) विद्यालयमा कार्यसम्पादन करार सम्झौता सम्पन्न गरेर कार्यान्वयमा ल्याइएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार