ठुला बैंकहरुकै कारण लगानीकर्ता अप्ठ्याराेमा ! सिटिजन्स बैंकको शेयर लगातार ओह्रालो तर्फ किन ?
नेपालबहस संवाददाता
असोज १५, २०७६ बिहिबार ५:३५:४०
१५ असोज, काठमाडौं । बिगत तीन वर्षदेखि थला पर्दै आएको शेयरबजार आजका मितिमा आइपुग्दा झन्झन् शिथिल भएको छ । दशैंको मुखमा आउँदा पनि अधिकांश कम्पनीका शेयरधनीले न त लाभांश पाएका छन् न त बोनस नै पाएका छन् । शेयरबजारले भुईँ छेड्दा पनि अर्थतन्त्रको बागडोर समातेकाहरु कसैले पनि जिम्मेवारीको बोध गर्न नसकिरहेको देखिएको छ ।
उदाहरणका लागि हामीले सिटिजन्स बैंकलाई लिएका छौँ । वाणिज्य बैंकमध्ये पुँजी बजारमा खासै चर्चा नहुने गरेको तर नेप्सेमा सुचिकृत भएको यो बैंकको कुनै समय साधारण शेयर प्रति कित्ता ४५० रुपैयाँमाथि कारोबार भएको थियो । यस बैंकको शेयर अहिले बजारमा १९७ रुपैयाँको हाराहारीमा पाउँदा पनि मान्छेहरु किन्न तयार छैनन् ।
माछा बजारमा सडेको शहर माछाको हालत जस्तो अवस्था यतिबेला सिटिजन्स बैंकको भएको छ । आज दिउँसो नेप्सेकै तथ्यांक हेर्ने हो भने २५ जना शेयरहोल्डरले गुन्द्रकको मोलमा शेयर बेच्न तयार हुँदा खरिद गर्ने ६ जना मात्रै भए । आज सिटिजन्स बैंकको १३० कित्ता मात्र शेयर बिक्री हुँदा पूँजी बजारलाई २५ हजारमात्र हात लागेको छ । भनेपछि पूँजी बजारमा यो बैंकको शेयरको अवस्था कति दयनिय रहेछ र यसको उच्च व्यवस्थापनको कर्म कति दरिद्र सोचको रहेछ भन्ने यसैबाट प्रस्ट हुन्छ ।
गतवर्ष करिब ९६ करोड प्रोभिजनमा परि ५.२७ प्रतिशत मात्र प्रतिफल बाँडेको सिटिजन्स बैंकले यसवर्ष दशैं अघि नै साधारणसभा सकेको छ । १२ प्रतिशत लाभांश र तीन प्रतिशत बोनस शेयर बाँडेको सिटिजन्सले गतवर्षको प्रोभिजनमा राइटब्याक गरी ठिकै बाँडेको देखिएता पनि पछिल्लो अवस्थामा बैंकको समग्र सुचकहरु सकारात्मक देखिएका छैनन् । यो तथ्यांक पनि सक्कली हो कि नक्कली हो भन्ने आशंका शेयरधनीहरुमा कायमै छ ।
लगानीकर्ताहरुमा त्यस बैंकको शेयर खरिद गर्ने खासै उत्साह देखिएको छैन । पूँजीबजारका खेलाडीहरुमा सिटिजन्स बैंक रित्तिन लागेको भाँडो हो भन्ने नाराले जरा गाडेको छ । बैंक व्यवस्थापने कस्मेटीक कुरा गर्दै साधारणसभा मार्फत दशैं अगावै उल्लेखित लाभांश सबै शेयरधनीको खातामा पठाउने भनेपनि अधिकांशको खातामा घोषित नगद लाभांश जम्मा हुनसकेको छैन ।
यस्तै कुनै समय शेयर खेलाडीको नजरमा तानातान हुने शेयर समग्र शेयरबजार आफुलाई ठूला र अब्बल भनेर प्रचार गरेका कृषि विकास बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, ग्लोबल आइएमई बैंक, नेपाल बैंक, स्टान्डर्ड चार्टड बैंकलाई पछि पार्दै एनआईसी एशिया बैंक, जनता बैंक, सिटिजन्स बैंक र कुमारी बैंकले दशैं अगाबै एजीएम सकेका छन् ।
तर यो उनीहरुले ठूला बैंकलाई उछिन्नलाई मात्रै सकेका होइनन् । प्रतिस्पर्धाको होडबाजीमा नियमनकारी निकायको बाध्यताका बीचमा बसेर त्यो पनि एकै समय जुधाएर सकेका हुन् । मार्जिन लेन्डिङ्गको हिसाबमा यि बैंक पनि अबको दुई वर्ष पछि मात्रै कारोबार योग्य हुने क्रममा देखिएका मात्र हुन् ।
यसैगरी ठूला बैंक भनिएका एभरेष्ट, नविल, स्ट्याडर्ड चार्टर्ड, एसबीआई, इन्भेष्टमेन्ट बैंक लगायतका ठूला बैंकको उच्च व्यवस्थापनको दोषी आमशेयरधनी र सर्वसाधारण हुनुपरेको छ । कुनैपनि व्यक्तिले लगानी गर्ने भनेको नाफा र लाभको आशामा नै हो । बैंकहरुले हरेक आर्थिक वर्षको अन्तिम दिनसम्म करोडाैं र खरबौं नाफा कमाएको रिपोर्ट जारी गर्छन तर त्यो नाफा आमशेयरधनी र लगानीकर्ताले कहिले र कसरी पाउने भनेर कुरेर बस्नुपर्ने बाध्यता छ । यस्तो प्रवृत्तिले आमशेयरधनी र लगानीकर्ता हैरान मात्र छैनन् शेयरमा लगानी गर्न नै अब तयार छैनन् ।
यो कुरा निरन्तर विगत ३ वर्षदेखि ओरालो लागेको बजार इन्डेक्सले नै प्रष्ट पार्छ । समयमा एजीएम गर्न नसकेको कारणले शेयर ब्रोकर र शेयर खेलाडीले ऋण पाउन सकेका छैनन् त्यसकारण पनि शेयरको भाउ घटेको हो भन्ने आशंका गर्ने ठाउँ जन्मिएको छ । मार्जिन लेन्डिङ्गकै विषयलाई लिएर बेला–बेला आन्दोलनका कार्यक्रमपनि लगानीकर्ताका विभिन्न संघ–संगठनले गर्ने गरेको विदितै छ ।
समग्र धितोपत्र बजारको नियमन गर्ने निकाय नेपाल धितोपत्र बोर्डको पत्र संख्या ०७४/७५ च नं. ५९७ मिति २०७४ कार्तिक २० गते जारी २३ बुँदे निर्देशनमा भनिएको छ :–“धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा उपलब्ध गराउँदा कम्तिमा १० हजार शेयरधनी रहेको तथा नेटवर्थ सकारात्मक रही पछिल्लो दुई आर्थिक वर्षमा कम्तिमा वार्षिक १० प्रतिशत लाभांश वितरण गरेको सुचिकृत संगठित संस्थाको शेयरमा मात्र मार्जिन कारोवार सुविधा उपलब्ध गराउनु पर्नेछ ।” के धितोपत्र बोर्डको कसीमा कुनैपनि वित्तिय संस्था छैन त ?
त्यस्तै धितोपत्र दलाल व्यवसायीले सुचिकृत संगठित संस्थाको शेयरको १८० दिनको औषत मुल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ सोको ५० प्रतिशत हुनआउने रकम ग्राहकसँग प्रारम्भिक मार्जिनको रुपमा लिनुपर्नेछ भनिएको छ । यस सम्बन्धमा धितोपत्र बोर्डले अझ प्रष्टसँग बजारको अवस्था तथा जोखिम हेरी ग्राहकसँग न्यूनतम ४० प्रतिशत मार्जिन लिनुपर्ने जनाएको छ ।
तर बैंकहरुले धितोपत्र बोर्डको निर्देशन आफु अनुकुल व्याख्या गर्दै शेयर लगानीकर्तालाई एकोहोरो फोन र एसएमएस पठाउन थालेपछि बजारमा लगानीकर्ताको मनोबल थप गिर्न पुग्यो र आज थलापरेको अवस्थामा बजार देखियो । यदि बैंकहरुले बोर्डको निर्देशनलाई उत्साहजनक रुपमा सहज तरिकाले कार्यान्वयन गरेर शेयर दलालहरुलाई आवश्यकता भन्दा धेरै प्रेसर नदिएको भए आज बजार यो हालतमा नआउने एक ब्रोकरले नेपालबहस डटकमलाई बताए ।
अर्को कुरा हेर्दा साधारण लागेपनि आफुलाई स्वघोषित ठुला बैंक भन्नेहरुले समयमा लाभांश र बोनस घोषणा गर्न नसक्ने, घोषणा गरिहाले पनि समयमा नै शेयरधनीका खातामा पठाउन नसक्ने कारणले नै थाहा हुन्छ कि बैंक तथा वित्तिय संस्थाको आन्तरिक व्यवस्थापन कति चुस्त दुरुस्त छ भन्ने कुरा । यी र यस्तै प्रवृत्तिका कारणले पनि शेयरलगानीकर्ताको मनोबल खस्किएको हो ।
अर्को कुरा धितोपत्र दलाल व्यवसायीले कुनै एक ग्राहक तथा निजको एकाघर सदस्यलाई आफ्नो नेटवर्थको बढिमा १० प्रतिशतभन्दा बढी मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्ने छैन भनिएको छ । तर, यस उपर कसले कसरी शेयर बजारमा खेलिरहेको छ भन्ने कुरा बाहिर आउनु जरुरी छ ।
यस बुँदालाई आधार मानेर शेयरमा लगानी गर्नेहरु स्थायी लगानीकर्ता हुन् या अस्थायी हुन् ? केही समय अघि एनआईसी एशिया बैंकको शेयर किन्न लुछाचुँडी हुनुका पछाडि धितोपत्र बोर्डले निगरानी गर्ने कि नगर्ने ? के यस्ता लगानीकर्तामाथि निगरानी राख्नु आवश्यक छैन ?
यहि कारणले बजारका सदावहार ब्रोकरहरुले मार्जिन लोन नपाउँदा उनीहरु थप पीडामा परेका छन् । गत तीन वर्षदेखि पूँजीबजारको अवस्था दयनिय छ । लगानीकर्ताहरु यो दशैंको बेला पनि टाउकोमा हात राखेर सुँक्क–सुँक्क गर्दैछन् ।
शेयर बजारका खेलाडीहरुले यसको सबै दोष सरकार र अर्थमन्त्रीलाई लगाए पनि अर्को वास्तविक दोषी बैंकिङ क्षेत्र बनेको रहेको एक लगानीकर्ताले नेपालबहसलाई बताए । ब्रोकरले मार्जिन लोन नपाउँदा शेयर खरिदकर्ताहरुले शेयर खरिद नगर्ने, शेयर खरिद गर्नकै लागि कसैले पनि बोरामा पैसा बोकेर शेयर खरिद गर्न जाँदैनन्, त्यो कुरा संभव पनि छैन । जब बैंक तथा वित्तिय संस्थाले लगानीकर्तालाई सकारात्मक साथ दिन सक्दैनन् तबसम्म बजार ओह्रालो नै लाग्ने हो ।
धितोपत्र बोर्डले न्यूनतम दुई वर्षदेखि निरन्तर १० प्रतिशत भन्दा बढी लाभांश दिनुपर्ने र पुस मसान्त भित्र साधारणसभा सक्नु पर्ने प्रावधान गरेपछि ठुला भनिएका बैंकहरुबाट नै शेयरधनीहरु पीडित हुनपरेको छ । जब कि ठूला र आफुलाई अब्बल दावी गर्ने बैंकहरुले समयमा साधारणसभा नगर्दा आम पूँजीबजारका आमखेलाडीहरु मर्कामा परेका छन् । अर्कोतर्फ मार्जिन कारोवार सुविधा उपलब्ध गराउने ब्रोकर कम्पनीको खुद सम्पत्ति कम्तिमा ५ करोड रुपैयाँ हुनुपर्ने व्यवस्थाका कारण पनि बजारमा पर्याप्त लगानी भित्रन सकेको छैन ।
कतिपय ब्रोकरको खुद सम्पत्ति ५ करोड नपुग्ने भएकाले पनि मार्जिन कारोबारका लागि इच्छुक रहेपनि कारोबार गर्न पाइरहेका छैनन् । प्रक्रियागत झन्झटको कारण पनि बजारमा लगानीको मात्रा कम हुँदै गएको लगानीकर्ताको आरोप छ । यस्ता सानातिना त्रुटीहरुलाई बोर्डले बेलैमा नसच्याउने र नियमन चुस्त नबनाउने हो भने अझै धेरै शेयरधनी तथा लगानीकर्ताको लगानी फस्ने निर्विवाद छ ।
खाली अर्थमन्त्रीलाई मात्रै गाली दिने आम लगानीकर्ताले अब बैंक व्यवस्थापनलाई पनि घचघच्याउनु पर्ने देखिएको छ । शेयर मार्केटको बेयरीसमा जति अर्थमन्त्रीको हात हुन्छ त्यो भन्दा धेरै शेयर बजारमा सुचिकृत कम्पनीको व्यवस्थापन समुह उत्तिकै जिम्मेवार रहेको पछिल्लो अध्ययनले देखाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
युक्रेनसँग सम्झौता नभए रुसमाथि थप प्रतिबन्ध लगाउन सक्ने ट्रम्पको संकेत
माघ ९, २०८१ बुधबार
सौर्य जहाज दुर्घटनाका पीडितद्वारा न्याय नपाएको गुनासो
माघ ९, २०८१ बुधबार
‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’
माघ ९, २०८१ बुधबार
संखुवासभाबाट एक अर्ब बढीको अलैँची निर्यात
माघ ९, २०८१ बुधबार