भिडभाड र ठेलमठेल गर्दै एनआरएनएकाे पत्रकार सम्मेलन, आचार्य प्यानलको टिममा को–को ?
नेपालबहस संवाददाता
असोज २७, २०७६ मंगलबार २:५४:५१
२७ असोज, काठमाडौं । एनआरएनएको अधिवेशन तयारीबारे जानकारी दिन आज दिउँसो एक बजे पत्रकार एवंम् समाचार संस्थाहरुलाई निमन्त्रणा गरिएको थियो । सोही कार्यक्रममा एनआरएनएको अधिवेशन अवधिभरका लागि सञ्चार प्रतिनिधि प्रवेश पास पनि उपलब्ध गराइने जानकारी सञ्चारकर्मीलाई दिइएको थियो ।
निर्माणाधीन भवनको दोस्रो तलाको एउटा साँघुरो कोठामा पत्रकारहरू अटाएनन् । क्यामेराले एनआरएनएका पदाधिकारीलाई ढपक्कै ढाकेपछि सिटमा बस्ने पत्रकारले अगाडि बसेका मान्छे नै देखेनन् । न त मञ्चमा बस्नेले पछाडिका पत्रकारलाई नै देखे ।
विश्व सम्मेलन सरकार, नेपाल उद्योग वाणिज्य महासङ्घ र गैरआवासीय नेपाली सङ्घको संयुक्त आयोजनामा हुँदै छ । सम्मेलनको जानकारी दिने उद्देश्यले आज बालुवाटारस्थित कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष कुमार पन्तले सम्मेलनको सबै तयारी पूरा भएको जानकारी दिए ।
एनआरएनएका महासचिव बद्री केसीले सोमबार पत्रकार सम्मेलन गरी हुने सम्मेलनको तयारी करिब पूरा भएको जानकारी दिएका हुन् ।
उनले सम्मेलन नेपालको विकास निर्माणमा सङ्घले खेल्ने भूमिकामा केन्द्रित हुने बताए । सम्मेलनमा सरकार, राजनीतिक दल, उद्यमी व्यवसायी र सङ्घलाई एकै ठाउँमा सहभागिता गराई मुलुकको आर्थिक विकासमा छलफल गरिनेसमेत उनले जानकारी दिए।
उपाध्यक्ष पन्तले नेपालको आर्थिक उन्नतिका लागि सङ्घका सदस्यले सिकेको ज्ञान, सीप र प्रविधिलाई भित्र्याउन सङ्घ प्रतिबद्ध रहेको धारणा राखे । ‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ शुरु हुन लागेको सो सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले होटल हायातमा गर्ने कार्यक्रम छ ।
भिडभाड र ठेलमठेलको अवस्थामा पत्रकार सम्मेलनमा दुई उपाध्यक्ष र महासचिव बद्री केसीले पत्रकारसँग कुराकानी गरे । पत्रकार सम्मेलन सकियो, सञ्चारकर्मीहरु कोठाबाट बाहिर निस्किएर कोही कार्यालयतिर हिँडे भने कोही खाजा खान थाले ।
पत्रकार सम्मेलनमा सङ्घका प्रवक्ता भुषण घिमिरेका अनुसार सम्मेलनका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा उच्चस्तरिय आयोजक समिति, सङ्घका अध्यक्ष भट्टको संयोजकत्वमा सङ्घको आन्तरिक आयोजक समिति गठन गरिएको छ ।
दुई पटक पत्रकार सम्मेलन !
एनआरएनए अध्यक्ष भवन भट्ट पत्रकार सम्मेलनस्थलमा आइपुग्दा पत्रकार सम्मेलन सकिइसकेको थियो । अध्यक्षबिनै पत्रकार सम्मेलन सकिएको थाहा पाएपछि भट्टले ढोकामै आक्रोश व्यक्त गरे ।
महासचिव खोज्दै आफ्नो सचिवालयमा उक्लेका भट्टले तुरुन्तै पहिलो पत्रकार भेटघाट भएकै कोठामा दोस्रोपटक पत्रकार सम्मेलन गरेर आफ्नो ढिलाई र एनआरएनएको कार्य प्रगतिबारे फेरि जानकारी दिए । सङ्घका अध्यक्ष भट्टले सम्मेलनमा मुलुकको समृद्धिको यात्रामा दिशा निर्देशन हुने एजेण्डामा छलफल गरिने बताए ।
उनका अनुसार ऊर्जा, पर्यटन, पूर्वाधार विकासमा करीब सय अर्ब लगानी गर्ने योजना रहेको जानकारी दिए । उनले सम्मेलनले सबै गैरआवासीय नेपालीलाई एकताबद्ध गराई सहकार्य र सकारात्मक कार्य गर्न ऊर्जा प्रदान गर्दै ‘नेपालका लागि नेपाल’ भन्ने मूल मन्त्रलाई सार्थक बनाउने विश्वास व्यक्त गरे । अध्यक्षको पत्रकार सम्मेलनमा भने नगन्य मात्रामा मात्रै पत्रकारहरु उपस्थित थिए ।
आयोजकले उपस्थित पत्रकारहरुको रजिष्ट्रेशन गराएको थियो । पत्रकार सम्मेलनको अघिल्लोतिरबाट पत्रकारले आफ्नो नाम, नम्बर, ईमेल र हस्ताक्षर गर्दै पछाडिसम्म ल्याइपुर्याएको रजिष्ट्रेशन पत्र आयोजकले कुर्सीमै छाडिदिएका थिए । पहिलो सम्मेलनको रजिष्ट्रेशन दोस्रो पत्रकार सम्मेलन सकिँदा पनि कसैले उठाएर सुरक्षित राखेका थिएनन् ।
आचार्य प्यानलको टिममा को–को ?
गैरआवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले आफ्नो टिमलाई अन्तिम रुप दिएका छन्।
आचार्यले मुख्य पदका उम्मेदवारहरुलाई एकै ठाउँमा राखेर आफ्नो समूह मजबुत रहेको दावीसमत गरे । काठमाडौंको एक होटलमा सोमबार दिउँसो पत्रकार सम्मेलन गर्दै आफ्नो टिम घोषणा गरेका छन् ।
महासचिवमा बेल्जियम निवासी जानकी गुरुङको नाममा अघि सारिएको छ । आचार्य समूहको समर्थनमा गुरुङले महासचिव पदमा उम्मेदवारी दिने पक्का भएको छ। आचार्य समूहमा यसअघि अमेरिकाका डा. केशव पौडेल र मध्यपूर्वका डीबी क्षेत्रीले पनि महासचिव पदका लागि दावी गर्दै आएका थिए।
अमेरिकाका डा. पौडेलले अन्ततः उपाध्यक्ष पदमा उम्मेदवारी दिन राजी भएका छन्। काठमाडौं पुगेर नै महासचिव पदमा उम्मेदवारी घोषणा गरेका उनले साथीभाइको सल्लाहमा महासचिवबाट पछि हटेर उपाध्यक्षमा उम्मेदवारी दिन सहमत भएको बताएका छन् । तर, मध्यपूर्वका क्षेत्री भने पत्रकार सम्मेलनमा उपस्थित भएनन्। कांग्रेस निकटले चिनिएको आचार्य समूहले नेकपा निकट ठानिएका क्षेत्रीलाई पनि समेटेर समाबेशी टिम बनाएको दावी गर्दै आएको थियो।
आचार्य समूहबाट उपाध्यक्षमा डा. पौडेलसँगै, मन केसी (अष्ट्रेलिया), नरेन्द्र भाट (मध्यपूर्व), रबिना थापा (अमेरिका)ले उम्मेदवारी दिने भएका छन्। यस्तै वर्तमान सह–कोषाध्यक्ष सोम सापकोटाले कोषाध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्षका प्रत्यासी आचार्यले अन्य इच्छुक उम्मेदवारलाई समेटेर अघि बढ्ने बताए । आँफूले प्रजातान्त्रिक समूह नभइ सिङ्गो एनआरएनको समूह बनाएको दावी गर्दै आफु अझै सहमति र सहकार्यमा अगाडि बढ्न तयार रहेको आचार्यले बताए ।
गैरआवासीय नेपाली विश्व सम्मेलन मङ्गलबारदेखि
‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ भन्ने नारासहित नवौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन भोलीबाट काठमाडौंमा शुरु हुँदैछ ।
सम्मेलनमा प्रतिनिधिसहित नेपाल र ८१ राष्ट्रबाट २५ सय जनाको सहभागिता रहेने छ । असोज ३० गतेसम्म सञ्चालन हुने सम्मेलनमा मुलुकको आर्थिक विकासमा सङ्घको भूमिकालगायत विभिन्न सात शीर्षकमा छलफलसमेत हुने प्रवक्ता घिमिरेले जानकारी दिए । महाधिवेशनले सङ्घको नयाँ नेतृत्वसमेत चयन गर्नेछ । नयाँ नेतृत्वका लागि बुधबार निर्वाचन हुने जनाएको छ ।
नयाँ नेतृत्वका लागि कुमार पन्त र कुल आचार्यबीच प्रतिस्पर्धा हुँदैछ । सङ्घको नयाँ नेतृत्वका लागि प्रत्येक दुई÷दुई वर्षमा निर्वाचन हुने गर्दछ । कूल ४२ पदका लागि दिउँसो ३ बजेदेखि साँझ ८ बजेसम्म हुने निर्वाचनमा विद्युतीय यन्त्रबाट मतदान हुनेछ । सम्मेलनमा भाग लिन गैरआवासीय नेपाली स्वदेश आएका छन् ।
गैरआवासीय नेपालीहरुलाई डा.महतको आग्रह
नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले विश्वमा आर्जन गरेको ज्ञान र सीपलाई नेपालको विकासमा लगाउन गैरआवासीय नेपालीहरुलाई आग्रह गरेका छन् ।
गैरआवासीय नेपाली सङ्घको महाधिवेशनका लागि हाल काठमाडौंमा रहेका गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिहरुलाई आज आफ्नो निवासमा आयोजना गरेको जलपानमा सहमहामन्त्री डा.महतले सो आग्रह गरेका हुन् ।
हाल संसारको जुनसुकै देशमा रहेको भए पनि सबैभन्दा पहिला आफू नेपाली हूँ भन्ने पहिचानलाई नभुली मातृभूमिप्रतिको दायित्वप्रति सदैव सजग रहन उनले आग्रह गरेका छन्। विभिन्न पेशा, व्यवसाय, रोजगारी तथा अध्ययनका क्रममा संसारभर रहेका नेपालीहरुको ती देशमा पनि विशिष्ठ पहिचान रहेको प्रसङ्ग उल्लेख गर्दै आफूले ती देशमा रहँदा आर्जन गरेको ज्ञान र सीपलाई नेपालमा लगाउन सकेमा देश विकासमा ठूलो टेवा पुग्ने डा.महतले बताए।
उनले संसारका विभिन्न देशमा अध्ययन होस् या पेसा र व्यवसाय गर्दा होस् नेपालीहरुले आफ्नो योग्यता र क्षमताका आधारमा विशिष्ठ पहिचान बनाएका र यसले नेपालको शिर उँचो राख्न र नेपाललाई विश्वमा चिनाउन सघाउ पुगेको धारणा उनले राखे ।
सो कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य रामशरण महत, प्रतिनिधिसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँड, राष्ट्रियसभामा प्रमुख विपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेलगायतका नेताहरु उपस्थित थिए ।
जलपानमा गैरआवासीय नेपाली सङ्घका पूर्व अध्यक्षहरु जिवा लामिछाने र शेष घलेसहित पदाधिकारी र प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
अनुशासन गुमाएको एनआरएन
नेपाली भनेका नेपाली नै हुन् । चाहे स्वदेश बसुन् या विदेश बसुन् । उनीहरुको स्वभावमा खासै परिवर्तन देखिएको छैन । अहिले सामाजिक संजालमा गैर आवासीय नेपालीहरुप्रति कटाक्ष भइरहेको छ ।
नेपालभित्रको विसंगति र अनुशासनहीनताबारे सामाजिक सञ्जालमा बारम्बार चिन्ता व्यक्त गर्ने विदेशीएका नेपालीहरुले आज फेरि एकपटक नेपाली पारा देखाएका छन् । एनआरएनए सम्मेलनबारे जानकारी दिन संघले आयोजना गरेको पत्रकार सम्मेलनमा भद्रगोलको अवस्था देखिएको थियो ।
बालुवाटार स्थित कार्यालय भवनको प्रवेशद्वारभित्र र बाहिर प्रचार सामाग्री असरल्ल छरिएको देख्दा उनीहरूले विदेशबाट केही सिकेजस्तो देखिएन । कार्यालयको गेटमा केही युवतीहरु फलानालाई भोट दिनुहोस् भन्दै भिजिटिङ कार्ड र ब्रोसर बाँडिरहेका थिए । कार्यालयको कम्पाउण्ड बाहिर अव्यवस्थितरुपमा सवारी पार्किङ गरिएको थियो ।
अधिकांशले नेपाली ढाका टोपी लगाएको फोटो र आफ्नो परिचयसहितको ब्रोसर बनाएर ढोकादेखि चोटाकोठासम्म बाँडिरहेका थिए । उनीहरुले बाँडेका ब्रोसर समात्नेहरु यसो हेर्दै सार्वजनिक ठाउँमा मिल्काएर फोहोर पारिरहेका थिए ।
विश्वका विभिन्न देशबाट एनआरएनएको ९ औं अधिवेशनका लागि १५ सयभन्दा धेरै प्रतिनिधिहरू काठमाडौंमा भेला भएका छन् । बुधबार हुने निर्वाचनमा भोट हाल्न उनीहरुले सोमबार साँझ ७ बजेसम्म एक सय डलर तिरेर मतदाता परिचय पत्र लिनुपर्ने छ ।
को हुन् आचार्य र पन्त ?
बेलायतमा बसोबास गर्दै आएका कुल आचार्यको घर पर्वत जिल्लामा पर्छ । होलिकाउ ग्रुपका सञ्चालक रहेका आचार्यले बेलायतका विभिन्न सहरमा कम्पनीका नौ वटा शाखा खोलेका छन्, जहाँ दक्षिण एसियाली स्वादका खानाका परिकार पाइन्छ।
किचन पोटरबाट जागिर सुरू गरेका उनले केही समयपछि तन्दुरी सेफ भएर पनि काम गरे। सन् २००६ सालमा होलिकाउ कम्पनी खोलेदेखि नै उनी एनआरएनएमा सक्रिय भएर लागेका थिए।
आफ्नो कम्पनीमा नेपालीहरूलाई रोजगारीमा प्राथमिकता दिएको बताउने उनले एनआरएनए युके सदस्य, उपाध्यक्ष, अध्यक्ष, युरोप संयोजक हुँदै हाल उपाध्यक्ष छन्।
एनआरएनको अध्यक्षमा आचार्यसँग प्रतिस्पर्धामा कुमार पन्त छन् । सन् २००३ सालमा उपेन्द्र महतोको नेतृत्वमा गठन भएको एनआरएनएमा उनी स्थापनाकालदेखि नै सक्रिय छन्। पन्तले आफ्नो तर्फबाट प्यानल घोषणा गरिसकेका छैनन्। पन्त दोहोर्याएर उपाध्यक्ष बनेका थिए।
पन्त गोरखा फुजेलका हुन्। उनी पढ्न भनेर सन् १९९७ मा ग्रीस पुगेका थिए। तर लामो समय त्यहाँ बसेनन्, केही महिनापछि जर्मनी पुगे। उनले जर्मनीबाटै राजनीतिशास्त्रमा स्नातक गरेका छन्।
जर्मन पुगेको केही समयमा उनले होटलमा काम सुरू गरे। कोरियनले सञ्चालन गरेको होटलमा उनी चार वर्षसम्म म्यानेजर पनि भए। त्यसपछि आफैंले होटल किनेर सञ्चालन गर्न थाले। ३६ कोठाको एउटा होटलबाट व्यवसाय सुरू गरेका पन्तको अहिले जर्मनी, बेल्जियम, स्वीट्जरल्याण्डमा गरी २९ वटा होटल छन्।
व्यवसायसँगै पन्त एनआरएनएमा पनि निरन्तर लागिरहे। सन् २००४ सालमा एनआरएनए जर्मनी राष्ट्रिय परिषद् गठन गरी क्षेत्रीय सदस्य बने। केही महिनापछि उनी संयोजक पनि भए।
सन् २००९ मा अन्तर्राष्ट्रिय समन्वय परिषद्, २०११ मा युरोप क्षेत्रको संयोजक निर्वाचित उनी २०१३ देखि १५ सम्म अन्तर्राष्ट्रिय समन्वय परिषद्को महासचिव भए। यसबेला शेष घले पहिलोपटक अध्यक्ष थिए।
सन् २०१५ मा उपाध्यक्ष भएका पन्त २०१७ देखि हालसम्म पनि उपाध्यक्ष नै छन्। उनी एनआरएनएको भवन निर्माणका लागि लगानी जुटाउने संयोजकसमेत रहेका थिए। हाल बालुवाटारमा एनआरएनएको भवन निर्माण भई सञ्चालनमासमेत आइसकेको अवस्था छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार