चियापानमा कार्यकर्ता : जनतासँग जोडिन जिम्मेवारी देऊ
नेपालबहस संवाददाता
असोज २९, २०७६ बिहिबार २:३९:०
नारायण ढुङ्गाना / रासस
२९ असोज काठमाडौं । संविधान जारीपछिको निर्वाचनबाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी नेकपा नेतृत्वको सरकार विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षाका साथ अग्रसर भएपनि पार्टी एकतापछि आम कार्यकर्ताले पूर्ण जिम्मेवारी पाइसकेका छैनन् ।
सरकार र पार्टीको पर्याप्त समन्वय भई आफूहरुले उचित जिम्मेवारी पाएमा जनताका बीचमा पुगेर सरकार र पार्टीको सन्देशजवाहक हुन तयार ती कार्यकर्ताले पार्टीको नेतृत्वलाई एकता प्रक्रियाको बाँकी कामलाई चाँडो पूर्णता दिन पटकपटक सुझाउँदै आएका छन् ।
नेकपाले दशैँ, तिहार, छठ, नेपाल संवत्लगायत चाडबाडका अवसरमा आज काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको चियापान तथा शुुभकामना आदानप्रदान कार्यक्रममा सहभागी कार्यकर्ताले पार्टी एकीकरणको बाँकी काम पूरा गरेर सर्वसाधारणले अनुभूत गर्ने गरी काम गर्न सुझाएका छन् ।
चियापानका क्रममा भेटिएका नेकपा कार्यकर्ताले केही सकारात्मकता, केही गुनासो र केही आलोचनात्मक टिप्पणीसहित नेतृत्वलाई गलत प्रवृत्तिको साथ नदिन र राम्रा कामको प्रोत्साहन गर्न आग्रह पनि गरेका छन् । उनीहरुले आपसी खिचातानीलाई थाती राखेर अगाडि बढ्नुपर्नेसमेत बताए ।
पार्टी एकीकरण समयमै नटुङ्गिनुमा पनि नेताहरुको व्यक्तिगत स्वार्थ मूल कारण भएको कार्यकर्ताको बुझाइ छ । तेरो र मेरो भन्ने भावनाले काम गर्दा एकीकरणले पूर्णता नपाएको भन्दै कार्यकर्ताले आक्रोस पोखेका छन् । विसं २०७४ जेठ ३ गते तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको एकतापछि गठित नेकपाले ढिलो गरी केन्द्रीय नेताहरुको कार्य विभाजन, प्रदेश, जिल्ला र भ्रातृ सङ्गठनका इञ्चार्ज÷सहइञ्चार्ज तोकेकाले सबै जिल्ला, पालिका र भ्रातृ सङ्गठनका तल्लोस्तरसम्मको एकताले पूर्णता पाएको छैन ।
नेकपा गुल्मीका सङ्गठित सदस्य वासुदेव केसीले अल्झन नगरी पहिले पार्टी एकीकरण टुङ्ग्याएर विकासको मार्गलाई तीव्रता दिन र जनतासँग जोडिने गरी कार्यकर्तालाई जिम्मेवारी दिन पार्टी नेतृत्वलाई आग्रह गरे । केसीले भने, “दुई तिहाइको सरकार भएर पनि तल्लो तहमा महसुस गर्ने गरी काम हुन सकेको छैन, विसं २०५१ को सरकार कति लोकप्रिय बनेको थियो, अहिले त्यति ठूलो शक्तिको सरकार बनेको छ, मन छुने काम गरेको देखिँदैन ।”
यद्यपि सरकारले रेल, सुरुङमार्ग, सडक निर्माणमा चालेको कदमलाई सकारात्मकरुपमा लिँदै उनले सँगसँगै जनताले दैनिकरुपमा भोगिरहने समस्यामा ध्यान दिन नेतृत्वलाई आग्रह गरे । महङ्गी, भ्रष्टाचार, अनियमितता, ढिलासुस्तीजस्ता गतिविधि रोक्न सरकार कडारुपमा प्रस्तुत हुन जरुरी रहेको औँल्याउँदै कार्यकर्ताले सरकारको लगाम नेकपा भएकाले त्यहीअनुसार परिचालन गर्न सक्नुपर्नेमा जोड दिएका छन् ।
कार्यकर्ताले नेताहरुको आपसी खिचातानी र गुटउपगुटका कारण पार्टी सङ्गठन कमजोर हुने भन्दै राष्ट्रिय भावनाका साथ पार्टी बलियो बनाएर जनताको मन जित्न नेताहरुलाई आग्रह गरेका छन् । स्थानीय तहमा समेत नेतृत्वले काम गर्ने तौरतरिका सच्याउनुपर्नेमा कार्यकर्ताको जोड छ ।
सिन्धुपाल्चोकका नेकपाका अर्का कार्यकर्ता केशवलाल श्रेष्ठले राजनीतिक नेतृत्वले देश र जनताका लागि भलो हुने काम गर्नुपर्नेमा जोड दिँदै भने, “मुलुकमा विकास हुनुपर्छ, महङ्गी नियन्त्रण हुनुपर्छ, दुःखकष्टमा पिल्सिएका जनताको घाउमा मलम लगाउन सक्नुपर्छ, यस्ता कुरामा नेतृत्वले ध्यान दिनुपर्छ ।”
उनले अहिले नेता र सरकारले प्रभावकारीरुपमा काम गर्न नसकेकामा चिन्ता व्यक्त गर्दै राजनीतिक दल नै तँछाडमछाडमा लागेको बताए । राष्ट्रियहित र साझा विषयमा सबै पार्टी एक हुनुपर्नेमा उनको जोड थियो ।
नेकपाका शुभेच्छुक काठमाडौँका ७० वर्षीय वृद्ध अच्युतराम सत्यालले पछिलो समयमा परिवर्तनको लहर देखिन शुरु गरेको बताउँदै पार्टी एकीकरण टुङ्ग्याएर जनताले थाहा पाउने गरी विकास र समृद्धिमा जान नेकपाका नेतालाई सुझाव दिए ।
नेतासँगै कार्यकर्ताको मानसिकता परम्परागतबाट माथि उठ्न नसकेको जिकिर गर्दै उनले हिजोको सोच बदल्न सुझाव दिए ।
नेकपाको हुम्लाका सदस्य भुवनबहादुर शाही दुई तिहाइको सरकार हुँदा जुन अपेक्षाअनुसार काम गर्न सक्थ्यो, त्यसरी जान नसकेको उल्लेख गर्र्दै जबसम्म रोजगारीका लागि नेपाली युवा विदेश जाने परम्परा रोकिँदैन तबसम्म सरकारले राम्रो काम गरेको नठहरिने तर्क प्रस्तुत गरे ।
हुम्लाकै शुभेच्छुक पार्वती थापाले जनताका दैनिक जीवनमा आइपर्ने समस्या ज्यूँकात्यूँ रहेको बताए । चियापान समारोहमा देशैभरबाट नेकपाका नेता कार्यकर्ताको सहभागिता थियो । सो क्रममा विभिन्न राजनीतिक दलहरुलेसमेत सहभागिता जनाएका थिए । मध्याह्न १२ बजेदेखि शुरु भएको चियापान समारोह साँझ ५ बजे सकिएको थियो ।
चियापान समारोहमा राजनीतिक नेताहरुले साझा विषयमा अझै सबै दलहरुको एकता आवश्यक रहेकामा जोड दिँदै चाडबाडमा हुने यस्ता कार्यक्रमले आपसी सद्भाव कायम गर्न र राजनीतिक नेताहरुबीच नजिक हुने अवसर मिल्ने बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः माधव नेपाल
पुष २७, २०८१ शनिबार
आर्थिक संकट मोचनको लागि सात बुँदे सहमति : उपसभापति गुरुङ
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार