तिहार पर्व र यसको महत्व
कुसुम सेञ्चुरी
कात्तिक ८, २०७६ शनिबार ०:४६:६
♦ कुसुम विश्वकर्मा
हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने गरिन्छ ।तिहारमा पिङ खेल्ने, दीपावली गर्ने, देउसी–भैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ ।कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मका पाँच दिन मनाइने भएकाले यसलाई यमपञ्चक भन्ने गरिन्छ ।
कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाईटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक भनिएको हिन्दू शास्त्रमा उल्लेख गरिएको छ ।
तिहार पर्वको नाम हिन्दी शब्दको त्योहार शब्दबाट विकृत हुँदै तिहार बनेको हो । यसलाई दीपावली (दिवाली) नामले पनि जानिन्छ । यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाई पुजा गरिन्छ ।
काग तिहार
तिहारपर्वको पहिलो दिन अर्थात कार्तिक कृष्ण त्रयोदशीका दिन कागको पूजा गरी मीठोमीठो खान दिएर काग तिहार मनाईन्छ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गरिन्छ । कागको पूजा गर्नुका विभिन्न कारण छन् । कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्नबालीमा लाग्ने कीरा–फट्याङग्राहरू खाइदिन्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ ।
आजको दिन कागलाई पूजा आजा गरी खान नदिइकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । वैदिक सनातन हिन्दू धर्मानुसार कागलाई यमदूतका रुपमा मानिन्छ । आजैका दिनदेखि यमदीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।
’ऐन्द्रवारुणवायव्यां याम्यां वै नैऋतास्तथा । वायसा प्रतिगृहृणन्तु मया दत्तं वलिंत्विमम् ।’ भन्ने मन्त्रले कागलाई बोलाएर दहीभात आदि खाद्यपरिकार दिनुपर्ने शास्त्रीय प्रावधान छ तर व्यवहारमा भने दुनामा दाल र भात ठ्वास्स राखेर परम्परा धान्दै आएको पाइन्छ । यसैदिन साँझ यमराजको नाममा घरको चोक आँगन आदि स्थानमा बत्ती बाल्नुपर्ने प्रावधान छ ।
कुकुर तिहार
यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरतिहार मनाइन्छ । कुकुर तिहारमा कुकुरलाई मनपर्ने खाना ख्वाई पूजा गरी माला लगाइदिने चलन रहेको छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिएर यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिन्छ ।
कुकुरलाई पनि यमदूतका रूपमा लिइन्छ । कुकुर यमराजको अर्को प्रियभक्त हो । कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन–अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ । कुकुरले घरको रेखदेख तथा चोरडाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ । त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवीविपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ । कुकुरलाई भैरवको वाहन पनि भनिन्छ ।
वैदिक सनातन हिन्दू परम्परा अनुसार कुकुरलाई अभिभावक, सुरक्षाकर्मी अनि यमराजको दूतका रुपमा मानिन्छ र मृत्यूपर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको कथन रहिआएको छ । चाणक्य नितीमा कुकुरलाई पातलो निन्द्रा भएको बफादार, चनाखो अनि थोरै खाएर पनि सन्तुष्ट हुने प्राणीका रुपमा उल्लेख गरिएको छ ।
गाई तिहार र लक्ष्मी पूजा
यमपञ्चकको तेस्रो दिन अर्थात् कार्तिक कृष्णपक्ष औंसीका दिन लक्ष्मीपूजा र गाई तिहार मनाइन्छ । यस दिन लक्ष्मीलाई धनधान्यकी देवी र गाईलाई गौमाता मानेर पूजा गरिन्छ ।
यो दिन बिहान सबैको घरमा गाईलाई फूलमालाले सिंगारी शरीरमा चामलको पिठो र दूधले छाप लगाई अबीर, केशरी, फूल, अक्षता साथै जनैपूर्णिमामा लगाएका रक्षाबन्धनको डोरो गाईको पुच्छरमा बाँध्ने पनि गरिन्छ । यसरी बिहान गाईपूजा सकेपछि साँझ लक्ष्मीको पूजा गरिन्छ । यस दिन घर, आँगन, चोक, गाईको हरियो गोबरले लिपेर स्वच्छ र चोखो पारिन्छ । साथै ढुकुटी र भण्डारसम्म चामलको पिठोको लक्ष्मीको पाइला चिन्ह बनाएर राखिन्छ अनि भण्डार कोठामा पैसा, सुन, चाँदी राखेको ठाउँनेर दियोकलश राखी लक्ष्मीको मूर्ती राखी पूजा गरिन्छ ।
लक्ष्मीको पूजापछि झ्याल ढोकामा माटाका पाला, मैनबत्ती रंगीविरंगी बिजुलीका चीमले दिपमालिका सजाइन्छ, सक्नेले ५ दिन र नसक्नेले लक्ष्मीपूजा र गोबद्र्धनपूजा दुई दिनमात्र भए पनि घर उज्यालो पार्छन् । यस रात लक्ष्मी स्वर्गबाट धर्तीमा झरी प्रकाशले उज्यालो भएको ठाउँमा पुग्छिन् किनकी धनकी देवीलाई फोहोर मन पर्दैन । यसैले सबैतिर सफा र उज्यालो पारिन्छ । यसै दिन साँझ देउसीभैलो खेल्ने चलन पनि छ ।
गोरु तिहार अर्थात गोबर्धन पूजा
यमपञ्चकको चौंथो दिन अर्थात कार्तिक शुक्लपक्ष प्रतिपदाको हल तिहार वा गोवर्धन पूजा मनाइन्छ । नेपालीहरुले परम्पराअनुसार गोरु तथा गोबर्धन पूजा गरि मनाउँछन् । हिन्दु धर्मावलम्बीहरुले आ–आफ्नो घर आँगनमा गाईको गोबर र रातोमाटोले लिपपोत गरी गोबर्धन पर्वतको आकृति बनाई गोवर्धन पूजा गर्दछन् । कृषकको जमिन जोत्न र गाडा तान्न सहयोग गरेकाले विभिन्न परिकार गोरुलाई खुवाउने र पूजा गर्ने परम्परा छ ।
भाई टीका
तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ । यो पर्व दिदीले भाईलाई र बहिनीले दाजुलाई अनि त्यसैगरी भाईले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान–सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा–मिष्ठान्न आदि मनपर्ने कुरा ख्वाउने, दिदीबहिनीलाई दान–दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ ।
परापूर्वकालमा बहिनी यमुनाले यसै दिन दाजु यमराजलाई विशेष मान–सम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्व छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ । भाईटीकाको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाईको सुख–समृद्धि, अरोग्य एवं दीर्घायूको कामना गरिन्छ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपप्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
सन् २०२४ सर्वाधिक तातो वर्ष पुष्टि
माघ २, २०८१ बुधबार
भूकम्प सुरक्षा दिवसमा सुरक्षाकर्मीद्वारा कृत्रिम अभ्यास
माघ २, २०८१ बुधबार
सहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार
पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनःनिर्माण हुन बाँकी
माघ २, २०८१ बुधबार
सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक
माघ २, २०८१ बुधबार