ग्लोबल र जनता बैंक भए अब एउटै बैंक, राजेशकाजीले बोल्दा अर्थमन्त्री र गभर्नर किन जंगिए ?
नेपालबहस संवाददाता
मंसिर २०, २०७६ शुक्रबार २२:२९:२६
२० मंसिर, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र जनता बैंक नेपाल लिमिटेड आजबाट एउटै बैंक भएका छन् । उनीहरू एक आपसमा गाभिई ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत वित्तीय कारोबार सुरु गरेका हुन् । अर्थमन्त्री डा. युवराज खतिवडाले ग्लोबल आइएमई बैंकको कर्पोरेट कार्यालय कमलादीमा आयोजित एक विशेष कार्यक्रमबीच दुई बैंकको संयुक्त कारोबारको शुभारम्भ भएको घोषणा गरेका थिए ।
एकीकृत भइसकेपछि ग्लोबल आइएमई बैंक पूँजी, व्यवसायका हिसाबले नेपालकै ठूलो र धेरै चुक्तापूँजी भएको बैंक बनेको छ । बैंकको प्राथमिक पूँजी करिब २४ अर्ब रुपियाँ (चुक्ता पुँजी करिब १९ अर्ब रुपियाँ र संचित कोष गरी), कुल निक्षेप २ खर्ब १३ अर्ब रुपियाँ र कुल कर्जा १ खर्ब ९४ अर्ब रुपियाँ भन्दा बढी पुगेकाे छ ।
त्यस्तै ७ वटै प्रदेश तथा ७७ वटै जिल्लामा पुग्ने गरी बैंकको ३ सयभन्दा बढी शाखा, २५९ एटीएम, २४३ शाखारहित बैंकिङ्ग सेवा, ३३ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८४० भन्दाबढी सेवा केन्द्रबाट सेवा प्रदान गर्न सक्षम हुनेछ । कार्यक्रममा बौल्दै अर्थ मन्त्री डा. खतिवडाले मुलुकमा अर्थतन्त्रको संरचना परिवर्तन हुन लागेको बताउँदै देशले अल्पकालिन मात्र नभएर मध्यकालिन र दीर्घकालिन लगानी मागिराखेको बताए ।
यसै सिलसिलामा उनले बैंक ठूलो हुँदैमा मजबुत भने छ नै भन्न नसकिने संशय व्यक्त गरे । भवन, संचालक र शेयरधनी धेरै हुँदैमा कुनैपनि बैंक पूर्णरुपमा सबल सक्षम र मजबुत छ भनेर ठोकुवा गर्न नसकिने बताए । आफुनै गभर्नर हुँदा सुरु गरेको मर्जरको अभिष्ट पुरा भएकोमा खुशी हुँदै उनले भने “ठूलो पूँजी संरचना भएका वित्तीय संस्थाहरुको सञ्चालन सकारात्मक कुरा हो । यो मर्जरबाट देशका अरु पनि बैंक तथा वित्तीय संस्थाहरुले सिकुन्,” ।
नेपाल राष्ट्र बैंकका गभर्रनर डा. चिरन्जीवी नेपालले बैंक पुँजी लगायत सबै हिसाबले ठूलो वित्तीय संस्था बनेकोले त्यसै अनुरुप काम गर्न सुझाव दिए । “यो ठूलो वित्तीय संस्था भयो, पुँजी र सबै हिसाबले । अब निक्षेपकर्ताहरुको अपेक्षा पनि बढ्न जान्छ, त्यसैले त्यसतर्फ काम गर्नुहोला । कुनै पनि संस्था ठूलो हुनुसँगै यसका चुनौतीहरु पनि बढ्छन् नै । त्यसैले खतरा या चुनौतीको व्यवस्थापनमा पनि ध्यान पुगोस,” उनले भने ।
“बैंकहरुमा पछिल्लो समयमा धेरै कमजोरी देखिएका समाचार सुनिन्छ, उनले भने यस्ता चुनौतीबाट बैंकलाई बचाउन डिजीटलाइजेशनमा बढी लगानी गर्नुपर्छ । यसका साथै आफ्ना कर्मचारीलाई समयसापेक्ष तालिम दिने, उनीहरुलाई अद्यावधिक गर्ने र सक्षम बनाउने काम पनि अघि बढाउनुप¥यो ।” नेपाल राष्ट्र बैंकको नीति, नियमको पालना गरेर आगामी दिनमा अझै प्रगति गर्न सुझाव दिए ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बैंक ठूलो हुनु भनेको सोही अनुरुप जिम्मेवारी पनि ठूलो हुनु रहेको बताए । “अब बैंकको लगानीको क्षमता बढेको छ सोही अनुरुप पूर्वाधारका क्षेत्रमा पनि लगानी बढ्नुपर्छ,” उनले भने, “अब बैंकले उद्योगी व्यवसायीलाई कम ब्याजदरमा कर्जा प्रबाह गर्नुपर्छ ।”
कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले एकीकृत भइसकेपछि बैंकको पूँजीमा अभिवृद्धि भई प्रतिस्पर्धात्मक क्षमताको वृद्धि हुने, बैंकको वित्तीय, मानव–संशाधन, प्राविधिक एवं अन्य क्षमताको अभिवृद्धि गर्ने कुरा उल्लेख गरे ।
उनले मर्जरपछि ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्न अझ सहज हुने बताए । मर्जर तथा प्राप्तिमा ग्लोबल आइएमई बैंकसँग लामो अनुभव भएको बताउँदै उनले मर्जर पछिको व्यवस्थापनमा बैंकले हासिल गरेको उपलब्धिको आधारमा आउने दिनमा पनि थप उत्साहित बनाउने विश्वास व्यक्त गरे ।
जनता बैंक नेपालका अध्यक्ष केशवबहादुर रायमाझीले मुलुकको अर्थतन्त्र र जनसंख्याको तुलनामा बैंक तथा वित्तीय संस्था बढी भएपनि मुलुकको विकासका लागि आवश्यक ठूला परियोजनामा वित्तीय लगानी गर्न नसकिने अवस्था रहेकोले सबल र सक्षम बैंक बनाउन मर्जरमा गएको बताए ।
बैंकको पूँजी तथा निक्षेपको आकार ठूलो भएसँगै अबका दिनमा देशमा ठूला आयोजना अघि बढाउन सहयोग हुने नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए ।
नेपाल उद्योग परिसंघका कार्यबाहक अध्यक्ष विष्णु अग्रवालले बैंकको आकार ठूलो भएसँगै ठूला–ठूला परियोजनामा विविधिकरण गरेर लगानी गर्नुपर्ने बताए । बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले बजारमा निक्षेप परिचालनमा बैंकहरुबीच अस्वस्थ प्रतिस्पर्धा भइरहेको अवस्थामा वाणिज्य बैंकहरु एकआपसमा मर्जरमा गएर राम्रो सन्देश दिएको बताए ।
राजेशसँग मन्त्री र गभर्नरले पोखे तातो रिस
समारोहमा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बैंकले व्याज लिनका लागि एक घण्टाको समय पनि नछोड्ने र व्यवसायीको टाउकोमा मिनेट भरमानै व्याज थोपर्ने प्रवृत्ति बैंक तथा वित्तिय क्षेत्रमा रहेको उल्लेख गरे । तर व्यवसायीले ऋण माग्दा एकदिन दुईदिन गरेर महिनौँ झुलाउने गरेको प्रति गभर्नर र अर्थमन्त्रीको अगाडि कटाक्ष नै गरे । अझ सरकार र अर्थमन्त्रालयले त महिनाको २५ गने भित्र व्यवसायी या कुनै पनि करदाताले कर नतिरे त्यसको दोब्बर तेब्बर कर थोपर्ने सरकारको शैली ठिक नभएको उल्लेख गरे । लिने कुरामा बैंक र सरकार जति कडा व्यवहार देखाउँछ, आम नागरिक र व्यवसायीलाई सेवा, सुविधा दिने कुरामा सरकार र बैंकिङ सेक्टर चुकिरहेको उल्लेख गरे ।
उनको यो कुरा सुने लगत्तै रोस्टममा बोल्न पुगेका गभर्नर डा. चिरञ्जिवी नेपालले उनलाई हकारेको शैलीमा राजेशजी तपाई कुन बैंकको संचालक रे ? जुन भए पनि एउटामा हुनुहुन्छ । भन्दै जंगिन पुगे । उनको यो हाउभाउ देखेर उपस्थित सबै जना छक्क परेका थिए ।
यतिसम्म भइसकेपछि पालो आयो विद्धान अर्थमन्त्रीको उपमा पाएका डा. युवराज खतिवडाको । उनले पनि व्यवसायीको गुनासो प्रति सम्बोधन गर्ने आशा उपस्थितहरुले गरेको थिए तर उनले त्यसतर्फ कुनै कुरा गरेनन् । उनले व्यवसायीको काम पैसा कमाउने हो । व्यापार गर्ने हो । सरकारको नियम मान्ने हो । पारदर्शी तरिकाले पैसा कमाउँदा सरकारले कुनै बाधा अवरोध नगर्ने उल्लेख गरे । तर सरकारको ढिलासुस्ती र कर उठाउने नीति प्रवृत्ति तिर उनको भाषणमा कुनै सम्बोधन भएन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच भेट
मंसिर १२, २०८१ बुधबार