सुनकोशी–मरिन डाइभर्सन : स्रोत सुनिश्चित गरिदिन आग्रह
नेपालबहस संवाददाता
मंसिर २४, २०७६ मंगलबार १२:४५:५०
२४ मंसिर काठमाडौं । चालु आर्थिक वर्षको बजेटमार्फत राष्ट्रिय गौरवको आयोजनामा समावेश गरिएको सुनकोशी–मरिन डाइभर्सन आयोजनाका लागि स्रोत सुनिश्चित गरिदिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले अर्थमन्त्रालयसँग आग्रह गरेको छ ।
हिमाल, पहाड र तराईलाई समेत जोड्ने भएकाले राष्ट्रिय एकताको आयोजनाका रुपमा समेत सुनकोशी मरिन डाइभर्सन आयोजनालाई लिइएको छ । आयोजनाबाट प्रदेश नं २ को एक लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुनेछ । त्यसकारण पनि सो आयोजना रणनीतिक महत्वको रहेको छ ।
ऊर्जामन्त्री वर्षमान पुन र अर्थमन्त्री डा युवराज खतिवडाबीच विभिन्न आयोजनाका प्रगतिका बारेमा आइतबार छलफल समेत भएको थियो । सोही छलफलका आधारमा सोमबार ऊर्जाले सुनकोशी–मरिन आयोजनाका लागि स्रोत सुनिश्चितता गरिदिन अर्थ मन्त्रालयसँग आग्रह गरेको हो ।
आयोजना बहुउद्देश्यीय प्रकृतिको हो । भेरी बबई डाइभर्सन आयोजनामा जस्तै सुनकोशीको पानी मरिनमा खसाल्दा सिँचाइ सुविधाका अलावा विद्युत् समेत उत्पादन गरिनेछ । प्राविधिक अध्ययनअनुसार आयोजनाबाट कूल ४२.५ मेगावाट विद्युत् समेत उत्पादन हुनेछ ।
मन्त्री पुनको सचिवालयले आयोजनाको स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयलाई आग्रह गरिएको जानकारी दिएको छ । आयोजनाको हाल डिजाइनको सम्पूर्ण काम अन्तिम चरणमा पुगेको छ । सुनकोशी मरिन डाइभर्सन आयोजनाका प्रमुख सुशील आचार्यका अनुसार स्रोत सुनिश्चित भए आगामी केही महिनाभित्रै निर्माण व्यवसायी छनोटका लागि विश्वव्यापी बोलपत्रमा जान सकिने अवस्था रहेको छ ।
आयोजनाको विद्युत् गृह रहने स्थानको जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा छ । आयोजना प्रभावितलाई मुआब्जा वितरण गर्ने अन्तिम तयारीमा रहेको छ । चिनियाँ आयात निर्यात बैंकले उपलब्ध गराउने बजेटमा केही प्राविधिक काम बाँकी छ । चालु आवको बजेटमा रु दुई अर्बको स्रोत सुनिश्चित छ । ऊर्जाले अर्थ मन्त्रालयसँग रु ४६ अर्ब ७२ करोड बराबरको स्रोत सुनिश्चितताका लागि आग्रह गरेको छ ।
बहुवर्षीय ठेक्का प्रक्रियामा आयोजना अगाडि बढाइने भएकाले सोहीअनुसार स्रोतको सुनिश्चितता भए आयोजनालाई निर्माणमा लैजान सकिने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको बुझाइ छ । भेरी बबई डाइभर्सन आयोजनामा प्राप्त भएको सफलताले पनि मन्त्रालयलाई नयाँ आयोजना शुरु गरिहाल्ने हुटहुटीले काम गरेको छ ।
भेरी बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माण सम्पन्न भई हाल विद्युत् गृह तथा बाँधस्थल निर्माणको काम शुरु भइसकेको छ । आयोजनाको भौतिक तथा वित्तीय प्रगति समेत असाध्यै सकारात्मक रहेको छ ।
वातावरणीय प्रभाव मूल्याङ्कन तथा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत अन्तिम तयारीको चरणमा रहेको आयोजना प्रमुख आचार्यले जानकारी दिए । निर्माण प्रक्रिया सुरु गर्ने चरणमा रहेको सुनकोशी–मरिन डाइभर्सन आयोजनामा भेरी बबई आयोजनाको शैलीमा टनेल बोरिङ मेशिन (टिबिएम) प्रयोग गर्ने तयारी गरिएको छ । आयोजनामा टिबिएम प्रयोग गरेर १३.१ किलोमिटर सुरुङ निर्माण गर्ने मन्त्रालयको तयारी छ ।
नदी स्थानान्तरण गरेर सिँचाइ सुविधा तथा विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सरकारले अगाडि बढाएका आयोजनामा अब क्रमशः टिबिएमको प्रयोग गरिने भएको छ । निजी क्षेत्रले पनि त्यसमा चासो व्यक्त गरेको छ ।
सुनकोशी र गोलन्जोर गाउँपालिकाकाको सिमाना नजिकै रहेको खुर्कोटबाट बाँध बाँधी सुरुङमार्फत ६७ मिटर क्युसेक पानी मरिन खोलामा खसालिनेछ । सिन्धुलीको कमलामाई नगरपालिका–२ मा निर्माण हुने विद्युत गृहबाट विद्युत् उत्पादन गर्ने र बारा, पर्सा, रौतहटका एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराइने भएको छ ।
भौगोलिक रुपमा समेत विष्फोटन गराएर सुरुङ खन्न नसकिने अवस्था भएकाले टिबिएमको नै प्रयोग गर्नु उचित हुने निष्कर्षमा आयोजना पुगेको छ । कूल पाँच दशमलव पाँच मिटर व्यासको सुरुङ निर्माण हुने भएकाले सोहीअनुसारको टिबिएम डिजाइन गर्नुपर्ने निष्कर्षमा आयोजना पुगेको छ ।
तराई मधेशमा सिँचाइ र खानेपानी सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सरकारले सो आयोजनालाई प्रमुख प्राथमिकतामा राखेको छ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत अन्तिम चरणमा पुगेकाले स्रोतको सुनिश्चितता भए आफूहरु निर्माणमा जान सक्ने अवस्थामा रहेको आयोजना प्रमुख आचार्यको भनाइ छ । आयोजनाको निर्माण अवधि पाँच वर्ष लाग्ने अनुमान गरिएको छ ।
सरकारले चालू आवको बजेटमा समेत सो नदी स्थानान्तरण आयोजनालाई उच्च प्राथमिकतामा राखी रु दुई अर्ब बजेट विनियोजन गरेको छ । प्रमुख आचार्यले उक्त परियोजनाबाट २ नम्बर प्रदेशलाई खानेपानीका लागि पानी उपलब्ध गराउने लक्ष्यसमेत राखिएको छ ।
बागमतीमा पानीको सतह घटेपछि रौतहट र सर्लाहीको खेतीयोग्य जग्गामा सिंँचाइमा समस्या देखिँदै आएको छ । बागमती सिँचाइको क्षमता एक लाख २२ हजार क्युसेक रहे पनि हिउँदमा पानीको मात्रा असाध्यै कम हुने रहेको छ । सुनकोशीबाट मरिन उपत्यकामा झारिने पानीमध्ये रौतहटका किसानलाई ४८ र सर्लाहीलाई ६४ क्युसेक पानी उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
ऊर्जामन्त्री पुनले परियोजनालाई छिटो सम्पन्न गर्न अत्याधुनिक प्रविधिको प्रयोग गरिने भएको छ । चालू आवभित्रै निर्माणको काम अगाडि बढाउने गरी तयारी गरिएको छ । मन्त्री पुन, मन्त्रालयका उच्च अधिकारी र सिन्धुलीका जनप्रतिनिधिले केही समय पहिले आयोजना स्थलको स्थलगत निरीक्षणसमेत गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार