अब सीडीएमए सेवा बन्द हुने
नेपालबहस संवाददाता
माघ २३, २०७६ बिहिबार १४:४०:३
२३ माघ काठमाडौं । ग्रामीण क्षेत्र लक्षित नेपाल टेलिकमको कोड डिभिजन मल्टिपल एक्सेस ‘सीडीएमए’ सेवा बन्द हुने भएको छ । विश्वव्यापी रूपमै सीडीएमए प्रविधिको विकास रोकिएकाले यसको सेवा बन्द गराउने प्रक्रिया अगाडि बढाइएको टेलिकमले जनाएको छ । करिब १५ वर्ष पुरानो उक्त सेवा बन्द गरेर त्यसका हाल कायम ग्राहकलाई फोरजीमा रूपान्तरण गर्ने कम्पनीले जानकारी दिएको छ ।
बुधबार कम्पनीको१६औँ वार्षिकोत्सवका अवसरमा प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कम्पनीको वायरलेस सेवामा एकरूपता ल्याउने उद्देश्यसहित यो सेवा बन्द गर्ने तयारी भएको जानकारी दिए । उनका अनुसार आगामी आर्थिक वर्षभित्रै सेवा बन्द गरेर त्यसका ग्राहकलाई पछिल्लो पुस्ताको फोरजी ग्राहकका रूपमा रूपान्तरण गरिने छ ।
टेलिकमले सन् २००५ मा पहिलोपटक सीडीएमए सेवाको ‘सफ्ट लन्च’ गरेको थियो । त्यसअघि यो सेवामा नेपालमै पहिलोपटक युनाइटेड टेलिकम ‘यूटीएल’ले सन् २००२ मा सुरु गरेको थियो । हाल प्रचलनमा रहेको जीएसएम मोबाइल सेवाको पहुँच विस्तार नभएका स्थानमा तत्काल नै सञ्चार सम्पर्क स्थापित गराउन सीडीएमए सेवा त्यतिबेला प्रभावकारी बनेको थियो ।
सीडीएमका लागि तोकिएको फ्रिक्वेन्सी धेरै भागमा फैलाउन सकिने भएकाले नेपालमा दूरसञ्चार पहुँच विस्तारमा यसको महत्वपूर्ण भूमिका रहेको थियो । दूरसञ्चार प्राधिकरणका अनुसार अहिले नेपाल टेलिकमका करिब १७ लाख सीडीएमए प्रयोगकर्ता छन् । टेलिकमले आठ सय ५० मेगाहर्ज ब्यान्डमा छ मेगाहर्ज ‘सेयर्ड’ फ्रिक्वेन्सीमार्फत सीडीएमए सेवा उपलब्ध गराइरहेको छ ।
पछिल्लो समय जीएसएम प्रविधिको देशका अधिकांश ठाउँमा पहुँच पुगिसकेकाले सीडीएमएका लागि प्रयोग भएको फ्रिक्वेन्सीसमेत बचत हुने अधिकारीले बताए । प्रविधिगत रूपमा विश्वव्यापीस्तरमै सीडीएमए सेवाको विकास क्रम रोकिएकाले नियामक समेतको सहकार्यमा यो सेवालाई रूपान्तरणसहित बन्द गर्ने कार्यक्रम कम्पनीले ल्याएको हो, उनले भने । टेलिकमले वार्षिकोत्सवका अवसरमा देशका सबै जिल्लाका सदरमुकाममा फोरजी सेवा पुगेको घोषणा पनि गरेको छ ।
देशैभर एफटीटीएच सेवा विस्तार गर्ने र त्यसैमार्फत इन्टरनेटमा आधारित टेलिभिजन सेवा पनि उपलब्ध गराउनेतर्फ काम भइरहेको टेलिकमले जनाएको छ । विगत एक वर्षमा मात्रै कम्पनीका सक्रिय ग्राहक सङ्ख्या करिब १० लाखले बढेको र बजार हिस्सा समग्रमा ५५ प्रतिशतभन्दा माथि रहेको कम्पनीले जनाएको छ । कात्तिक महिनासम्मको तथ्याङ्कअनुसार कम्पनीका कुल ग्राहक दुई करोड ३६ लाख पुगेका छन् ।
त्यस्तै कम्पनीको डेटा प्रयोगकर्ता सो महिनासम्म एक करोड ४६ लाख रहेको पनि टेलिकमले जनाएको छ । वार्षिकोत्सवका अवसरमा केरुङ नाकातर्फ सञ्चालित टेलिकमको लिङ्कलाई तातोपानी नाकामा पनि पुनः सञ्चालन गर्ने, कम्पनीको प्रशासनिक संरचनालाई सङ्घीय स्वरूपमा लैजानेजस्ता काम अगाडि बढिरहेको पनि जानकारी दिइएको छ ।
‘फोरजीको वाचा पूरा भयो’
देशैभर कमसेकस सबै ठाउँमा एकै वर्षभित्र फोरजी पु¥याउने सरकारको योजना पूरा भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताएका छन् । टेलिकमको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा देशैभर हरेक ठाउँमा नपुगे पनि कम्तीमा सबै जिल्लामा यसको पहुँचमा सफलता प्राप्त भएको बताए । एक वर्षभित्र सबै जिल्लामा पु¥याउँछौँ भन्दा मन्त्रीको फोस्रा गफ भन्थे, उनले भने, आज त्यो वाचा करिब पूरा भएको छ । सबै ठाउँमा पूरा हुन केही समय लाग्ने भए पनि एक वर्षको अठोटअनुसार काम भएको उनको भनाइ थियो ।
कार्यक्रममा मन्त्री बाँस्कोटाले फोरजीको पहुँच विस्तार भएकाले अब यसको गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभयो । भूगोलमा त सेवा पुग्यो अब त्यसको गुणस्तरमै कम्पनीले जोड दिनुपर्छ, उनले भने । कार्यक्रममा विभिन्न मागसहित उपस्थित भएका टेलिकमको टे«ड युनियनका कर्मचारीलाई उनले टेलिकम राजनीति गर्ने ठाउँ नभएको र जायज माग सरकारले पूरा गर्ने बताए ।
वार्षिकोत्सवका दिनमा रमाइलो साटासाट गर्नुपर्नेमा विरोधसहित उपस्थित हुनु राम्रो नभएको र त्यस्तो प्रवृत्तिलाई आफूले दृढतापूर्वक पराजित गर्ने उनको भनाइ थियो । आमाको जन्मदिनमा मङ्गल धुन बजाउने कि शोक धुन ? कर्मचारीलाई उनको प्रश्न थियो । टेलिकमभित्रको अराजकता आफूले नसहने पनि उनले स्पष्ट पारे ।
टेलिकम जनताको सम्पत्ति भएको र यसमा सबैले मलजल गर्नुपर्ने उनको सुझाव थियो । विगतमा गोरखकाली टायर, टिम्बर कर्पोरेसनजस्ता सरकारी कार्यालय धराशयी भएको उदाहरण रहेकाले टेलिकमले आफूलाई अब्बल बनाउनुको विकल्प नरहेको उनले बताए ।
कार्यक्रममा मन्त्री बाँस्कोटाले देशैभर अप्टिकल फाइबर बिछ्याउने परियोजनामा सरकारले टेलिकमलाई ‘कान्छो छोरो’जस्तो व्यवहार गरेकाले समयमै यसलाई पूरा गर्न निर्देशन दिए । राज्यले विभेदकारी नीति लिन नसक्ने भएकाले प्राप्त अवसरलाई समयमै सदुपयोग गर्नुपर्ने उनको भनाइ थियो । गोरखापत्रबाट
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबर्दियामा हावा हुरीले एफएमको टावर ढल्यो, दर्जनौं घरको छाना उडायो
असार ७, २०८१ शुक्रबार
सरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
एनपीएल खेल्न नेपाल आइपुगे जिशान मक्सुद
मंसिर १३, २०८१ बिहिबार
म्याग्दीमा पर्यटन पूर्वाधार निर्माण गर्न ११ योजना
मंसिर १३, २०८१ बिहिबार
जाडोमा किन बढ्छ हृदयघातको जोखिम ?
मंसिर १३, २०८१ बिहिबार
अनलाइन जुवा खेलाउने एकै व्यक्तिको खातामा ५५ करोड, ७५ वटा बैक खाता र १ सय २८ इसेवा
मंसिर १३, २०८१ बिहिबार
काठमाडौं उपत्यका संसारकै तेस्रो प्रदूषित शहर [ फोटो फिचर ]
मंसिर १३, २०८१ बिहिबार