निराशामा बितेको दुई वर्ष
नेपालबहस संवाददाता
फागुन ४, २०७६ आइतबार १९:२४:४४
सम्पादकीय
४ फागुन काठमाडौं । प्रधानमन्त्री के पी ओलीको दुई वर्षे कार्यकालको फेहरिस्त सुनेपछि नेपाली जनतामा थप निराशा बढेको छ । हिजो संसद्को प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओली आफ्नो सरकारका उपलव्धि सुनाउँदै थिए, त्यही बखत आम मानिसको आक्रोशको पारा भने उकालोलाग्दो थियो । दुई वर्षे कार्यकालमा नेपाल र नेपाली जनताले अप्राप्त उपलव्धि हासिल गरेको उनको भाषण फगत गँजेडी गफ लाग्दैथ्यो ।
विगतमा उनले बाँडेका आश्वासन र लक्ष्यको लामै फेहरिस्त थिए । तर ती कुनै पनि पूरा भने हुन सकेको देखिंदैन । यद्यपि ओली भने आफ्नो कार्यकाल स्वर्ण कालका रुपमा चित्रण गर्दै थिए । पूर्ण वहुमतको सरकारको नेतृत्व गरेका ओलीको वचनप्रति जनतामा आशा र भरोशा जागेकै थियो । चुनाव ताका उनी भन्थे– वहुमत देउ म विकास दिन्छु । यस्तै , मलाई जिताउ, समृद्धि र समाजवाद दिन्छु । जनताले आफ्नो काम गरे । अर्थात , ओलीलाई वहुमत दिए । तर ओलीले जनतालाई न त विकास दिए , न समृद्धि नै । दिए त केवल भुक्तमान , अभाव र निराशा ।
गएको दुई वर्षको उनको कार्यकालको इमान्दार समीक्षा गर्ने हो भने उपलव्धि न्यून, गफ ज्यादा भएका छन् । जसले गर्दा ओलीको ओज र कद दुबै दबिएको छ । पार्टी भित्र होस् वा सरकारमा उनको भाउ खस्किएको छ । उनको आक्रमक शैली प्रतिरक्षात्मक बन्न पुगेको छ । राणा कालपछि ढुक्कले सत्ता चलाउन पाउने हैसियतमा नेपाली जनताले ओलीलाई नै पुगाएका हुन् । पाँच वर्षे कार्यकाल सहज छ । पार्टी भित्र र बाहिर कतैबाट उनलाई चुनौती छैन , सत्ता सञ्चालनका लागि । तर उनको गति र मति भने सबैभन्दा निरिह र गतिछाडा प्रतीत हुन्छ । सरकारका तीनवटै तहमा उनको एकछत्र छ । स्थानीय , प्रदेश र संघमा उनको एकलौटी जस्तो छ । कसैले उनलाई हल्लाउन सक्ने ल्याकत देखिंदैन ।
तर जनताले अनुभूत गर्न पाउने खालको एउटै काम गरेको चाहिं देखिएको छैन । उनले चाहेका भए अहिले नेपालको गेम चेञ्जरको खाका तयार गर्न सकिन्थ्यो । यो सरकारले चाहँदा गर्न नसकिने काम के थियो र ? तर उनले चाहेनन् वा उनलाई गर्न दिइएन , त्यो उनै जानुून् । तर नेपाली जनताले भने राहतको अनुभूति गर्ने एउटै ठाउँ पाएका छैनन् । बढो तामझामका साथ उनले थालेका सामाजाकि सुरक्षा कार्यक्रमप्रति कसैको विश्वास जागृत भएको छैन । प्रधानमन्त्री कृषि र रोजगार कार्यक्रम आसेपासेको कमाउ धन्दा मात्र भएको छ । रेल र पानी जहाजका गफ आज ठूलो मजाक बनेको छ । तर ओलीको हठ उस्तै छ ।
सामान्य मानिसको रोजगारी, शिक्षा र स्वास्थसँग गाँसिएका मुद्धा ओझेलमा परेका छन् । सरकारका तीनवटै तहबीचको अधिकार बाँडफाँटको विषय विवादास्पद बनेको छ । केन्द्रको अधिकार प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्न ओली अनुदार देखिएको गुनासो जनप्रतिनिधिहरुको रहेको छ । असीमिति अधिकार केन्द्रिकृत गर्ने ओलीको चाहले सरकारमा मात्र नभई स्वयं पार्टी पंक्तिमा समेत ठूलै समस्या बनेको छ । लोकतन्त्र भन्दा शक्तिको भोकले ओली आशक्त बनेको अवस्था छ ।
सत्तामा पुगेपछि लुई चौधौंको जस्तो म नै राज्य हँु भन्ने दम्भ उनमा झाँग्गिएको छ । जनविरोधी ऐन कानून बनाउन उनी हतारिएका छन् । अनि भन्छन् जनतालाई सहज भएको छ । जबकी उनका हरेक निर्णयमा जनताको विमति देखिएको छ । उनको दुई वर्षे कार्यकालले आगामी तीन वर्षको आँकलन र अनुमान गर्न नेपाली जनता विवश भएका छन् ।
सुशासन र भ्रष्टाचारमा शून्य सहनशीलताको गफ दिएर नथाक्ने ओलीले संसद्मा ललिता निवास प्रकरणमा ठूलै माछा फसेको अनुभव सुनाए । जबकी उनकै चण्डमुण्डका कारण यो प्रकरणमा अख्तियार दुरुपयोग अनुुन्धान आयोग विवादको खाडलमा जाकिएको चाहिं उनले बिर्सिए । पार्टी महासचिव विष्णु पौडेल र पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई समेत यो प्रकरणमा न्यायिक कठघरामा ल्याउन सघाएको भए ओलीको भ्रष्टाचारमा शून्य सहनशीलता साँच्चै पत्यार लाग्दो हुने थियो ।
साथै, यति होल्डिङ्ससँगको मितेरी साइनो चँुडाएर छानबीन गर्न सकेको भए जनतामा एकखाले आशाको सञ्चार हुने थियो । तर ती काम उनले गरेनन् र गर्न आवश्यक पनि ठानेका छैनन् । केवल शव्दजाल रचेर जनतालाई भ्रमित पार्ने नाकाम प्रयत्न भने उनी गरिरहेका छन् । दुई वर्षको अवधिमा उनले दर्शाएको कार्यशैली र व्यावहारबाटै बाँकी समयको समेत आँकलन गर्न सकिने भएकाले आम जनताले वाँधी तीन बर्षको गन्तव्यसमेत पहिल्याइ सकेका छन् ।
लामो संघर्ष र बलिदानीपछि नेपाली जनताले प्राप्त गरेको लोकतन्त्र र लोकतान्त्रिक प्रणालीको क्षयिकरण नै ओलीको बाँकी समयको मूल कार्यदेश हुनेमा अब कुनै आशंका रहेन । नागरिक समाजले खबरदारी गर्ने र आमसञ्चार माध्यमले पहरेदारी गर्ने हो भने ओलीको कार्यशैलीमा बदलाव ल्याउन नसकिने नै पनि होइन । तर सामान्य प्रयासले मात्र ओलीको बोली र व्यावहारमा बदलाव ल्याउन भने सहज छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
कञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
युक्रेनसँग सम्झौता नभए रुसमाथि थप प्रतिबन्ध लगाउन सक्ने ट्रम्पको संकेत
माघ ९, २०८१ बुधबार
सौर्य जहाज दुर्घटनाका पीडितद्वारा न्याय नपाएको गुनासो
माघ ९, २०८१ बुधबार
‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’
माघ ९, २०८१ बुधबार
संखुवासभाबाट एक अर्ब बढीको अलैँची निर्यात
माघ ९, २०८१ बुधबार