मेगा बैंकको वित्तीय अवस्था हेरेर गण्डकीका शेयरधनी जिल्लाराम, बैंकको अधिकांश सूचक नकारात्मक
आर्थिक संवाददाता
साउन ३२, २०७७ सोमबार ३:५३:४
३२ साउन, काठमाडौं । काण्डैकाण्डबाट गुज्रिएको मेगा बैंकले आर्थिक वर्ष ०७६/७७ को चौथो त्रैमासमा निकै खराब वित्तीय विवरण प्रकाशन गरेको छ । खुद मुनाफामा गिरावट आएसँगै प्रतिशेयर आम्दानी पनि निकै कमजोर हुनपुगेकाे छ । चुक्तापुँजीको तुलनामा वितरण योग्य मुनाफा एकदमै कम हुँदा लगानीकर्ताले निकै थोरै लाभांश पाउने सम्भावना देखिएको छ ।
शेयरधनीले खासै प्रतिफल नपाएको अवस्थामा तलव र भत्तामा भने बैंकले राम्रै खर्च गरेको देखिन्छ । बैंकले राम्रो प्रदर्शन गर्न नसके पनि मिडियामा आएर निकै ठूलो बैंक र बैंकरको रुपमा उच्च व्यवथापनले आफुलाई मार्केटिङ्ग गर्दै आएको छ। केही लगानीकर्ताले बैंकलाई झिल्के बैंकको ट्याग पनि दिंदै आएका छन् ।
हालै गण्डकी विकास बैंकलाई आफुमा गाभेको मेगा बैंकले चुक्ता पुँजीमा ठूलो बैंक बनाएकाे रवाफ देखाएपनि सोचे अनुरुप व्यापार गर्न सकेको छैन । दुई प्रमोटर समुह बीचको आन्तरिक किचलोका कारणले गण्डकी विकास बैंक मेगा बैंकमा हतारमा मर्ज भएको र अहिले मेगा बैंकको अवस्था हेर्दा गण्डकी विकास बैंकका शेयरधनीहरुले टाउको हातमा राखेर बसेको अवस्था छ ।
पश्चिमाञ्चलमा आफैमा सबल गण्डकी विकास बैंकले मेगा बैंक भन्दा धेरै राम्रा बैंकसँग मर्जरमा जान सक्ने भएपनि मेगा बैंकमा बिलय हुने निर्णय गण्डकी विकास बैंकको लागि अहिले आएर गलत साबित भयो । त्यो पनि देशभर लकडाउन भएको र कोरोना महामारी फैलिएको अवस्थामा दुवै बैंकका संचालकहरुले अधिकांश शेयरधनीहरुको बिरोधका बाबजुद न्युन शेयरधनीको उपस्थितिमा साधारण सभाबाट मर्जको प्रस्ताव पास गरेका थिए । जुम र भचुर्अल मिटिङका नाममा कोरो.ना महामारीकै बीचमा घरघरमा गई प्रोमोटरहरुको बारेस लिएर साधारण सभा जबरजस्ती सम्पन्न गरिएको एकजना शेयरधनीले बताएका छन् । अहिले आएर साबिकका गण्डकीका शेयरधनीहरु गण्डकीका पुर्व संचालकसँग निकै रुष्ट भएका छन् ।
हाल मेगा बैंकको संचालक समितिको अध्यक्षमा भोजबहादुर शाह रहेका छन् । उनी प्याव्सनका पूर्वअध्यक्ष पनि हुन् । त्यस्तै संचालक समितिको सदस्यहरुमा गोपाल खनाल, मदनकुमार आचार्य, मुक्तिनाथ पाण्डे, डा. इन्द्रबहादुर मल्ल ठकुरी, बालकृष्ण शिवाकोटी रहेका छन् । त्यस्तै बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनुपमा खुञ्जेली रहेकी छन् । त्यस्तै रविना देशराज श्रेष्ठ नायब प्रमुख कार्यकारी अधिकृत र तुलसीराम पोखरेल बैंकको नायब महाप्रबन्धककाे रुपमा कार्यरत छन् ।
बैंकका ठुला शेयरधनीहरु:
मेगा बैंकमा ठुलो शेयर हिस्सा भएका निकै थोरै शेयरधनी रहेका छन् । कम्पनीको २०७६ साल असार मसान्तसम्मको तथ्याङ्क अनुसार ० दशमलव ५ प्रतिशत वा सो भन्दा माथि शेयर स्वामित्व भएका जम्मा ५ जना शेयरधनी रहेका छन् । जसमा नागरिक लगानी कोषको नाममा १० लाख ४९ हजार ४२ कित्ता शेयर रहेको छ । जुन १ दशमलव ०१ प्रतिशत शेयर स्वामित्व मात्र हो । यसरी बैंकमा धेरै शेयरधनी भएपनि शेयर हिस्सा भने निकै थोरै रहेको छ।
मेगा बैंकको आर्थिक वर्ष ०७६/७७ को चैाथो त्रैमास र आर्थिक वर्ष ०७५/७६ को चौथो त्रैमासलाई दाँजेर हेर्दा :
✍ खुद मुनाफामा गिरावट :
बैंकको खुद मुनाफामा ठूलाे गिरावट आएको छ । आर्थिक वर्ष ०७६/७७ को चौथो त्रैमाससम्म बैंकले १ अर्ब ५२ करोड मात्र खुद मुनाफा आर्जन गरेको छ । जबकी आर्थिक वर्ष ०७५/७६को चौथो त्रैमाससम्म बैंकले १ अर्ब ६२ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको थियो । यसरी खुद मुनाफामा ७ प्रतिशतको गिरावट आएको छ ।
✍ प्रमुख आम्दानीको श्रोतमा १० प्रतिशतको वृद्धि हुँदा पनि किन घट्यो मुनाफा ?
बैंकको प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानीमा भने १० प्रतिशतको वृद्धि देखिएको छ तर कम्पनीले जोखिमवापत ८८ करोड ८५ लाख व्यवस्थापन गर्नु परेको छ । आर्थिक वर्ष ०७५/७६ को चौथो त्रैमासमा बैंकले ४२ करोड ६६ लाख मात्र व्यवस्थापन गरेको थियो । यसरी प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानीमा वृद्धि हुँदा पनि खराब कर्जा वृद्धि हुँदा धेरै रकम व्यवस्थापन गर्नु परेकोले बैंकको मुनाफामा असर परेको हो । खुद व्याज आम्दानी भने १० प्रतिशतले वृद्धि भएर ४ अर्ब १७ करोड पुगेको छ।
✍ प्रतिशेयर आम्दानी घट्यो
कम्पनीको हाल चुक्ता पुँजी १३ अर्ब १३ करोड रहेको छ । चुक्ता पुँजीमा २६ प्रतिशतको वृद्धि देखिएको र खुद मुनाफामा ७ प्रतिशतको गिरावट आएको कारणले गर्दा कम्पनीको प्रतिशेयर आम्दानी २६ प्रतिशतले कम हुँदै ११ रुपैयाँ ५७ पैसामा झरेकाे छ । यसरी बैंकको प्रतिशेयर आम्दानी लाजमर्दो रहेको छ । कम्पनीको वित्तीय विवरणमा भने प्रकाशित प्रतिशेयर आम्दानी १४ रुपैयाँ ५२ पैसा रहेको छ तर कम्पनीको खुद मुनाफालाई शेयर संख्याले भाग गर्दा प्रतिशेयर आम्दानी ११ रुपैयाँ ५७ पैसा छ ।
✍ मूल्य आम्दानी अनुपात १९ गुणा :
कम्पनीको दोश्रो बजारमा श्रावण ३२ गतेको बजार मूल्य २१७ लाई आधार मान्दा मूल्य आम्दानी अनुपात १८ दशमलव ७५ गुणा रहेको छ । यो मूल्य आम्दानी अनुपात अलिकता महँगो नै हो ।
✍ संचित मुनाफा घट्यो :
बैंकको संचित मुनाफा घटेको छ । बैंकको संचित मुनाफा ९ प्रतिशतले घटेर १ अर्ब ११ करोड पुगेको छ भने जगेडा कोष ७५ प्रतिशतले वृद्धि हुँदै ३ अर्ब ३२ करोड पुगेको छ । शेयर प्रिमियम शिर्षकमा २ करोड ७८ लाख रहेको छ।
✍ निक्षेप संकलन र कर्जा प्रवाह राम्रै :
निक्षेप संकलन ६३ प्रतिशतले वृद्धि हुँदै १ खर्ब २७ अर्ब पुगेको छ भने कर्जा प्रवाह ५८ प्रतिशतले नै वृद्धि हुँदै १ खर्ब १० अर्ब पुगेको छ ।
✍ खराब कर्जा वृद्धि :
खराब कर्जा २२ प्रतिशतले वृद्धि हुँदै १ दशमलव २० प्रतिशत पुगेको छ । आर्थिक वर्ष ०७५/७६को चौथो त्रैमासमा खराब कर्जा शुन्य दशमलव ९८ प्रतिशत मात्र थियो ।
✍ स्प्रेडदर घटाउन सफल :
नेपाल राष्ट्र बैंकले व्याजदर अन्तर अर्थात स्प्रेडदरमा असार मसान्तसम्म ४ दशमलव ४० प्रतिशत कायम गर्नुपर्ने सीमा कायम गरेपछि बैंकको स्प्रेडदर घटेर ४ दशमलव ३९ प्रतिशतमा सिमित छ ।
कम्पनीको सीसीडी अनुपात भने ७५ दशमलव ३५ प्रतिशत रहेको छ । बैंकले आधार व्याजदर भने कम गराउन सफल भएको छ । आधार व्याजदर थोरै घटेर ८ दशमलव ३२ प्रतिशत पुगेको छ ।
✍ वितरण योग्य मुनाफा निकै कम :
कम्पनीले १ अर्ब ५२ करोड खुद मुनाफा गरेपनि बैंकले विभिन्न जगेडामा रकम व्यवस्थापन, कर्मचारीलाई तालिम खर्च, रेगुलेटरी रिजर्व र सामाजिक उत्तरदायित्यवको लागि रकम राखेर जम्मा १ अर्ब ११ करोड बाँकी रहन्छ । यही वितरण योग्य मुनाफालाई आधार मान्दा बैंकको लाभांश दिने क्षमता जम्मा ८ प्रतिशत मात्र रहेको छ । शेयर प्रिमियम शिर्षकमा थोरै रकम भएकाले सोबाट तान्न मिल्ने रकम नगन्य रहेको छ।
निस्कर्ष:
यसरी बैंकको नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि एकदमै कम रहेको छ। कम्पनीको प्रतिशेयर आम्दानीको तुलनामा बजार मूल्य धेरै हुँदा मूल्य आम्दानी अनुपात १८ गुणा माथि रहेको छ । यसले कम्पनीको बजार मूल्य आम्दानीको तुलनामा निकै धेरै रहेको देखिएको छ । प्रमुख आम्दानीको श्रोतका रुपमा व्याज आम्दानी पनि खासै वृद्धि हुन सकेको छैन भने संचालन मुनाफा पनि घटेको छ । वितरण योग्य मुनाफा निकै कम हुँदा लगानीकर्ताले निकै कम प्रतिफल पाउने सम्भावना छ । त्यस्तै बैंक मर्जरमा गएपछि सबै कुरा राम्रो हुन्छ भन्ने बजारमा चलेको तथ्यलाई पनि मेगा बैंकले गलत साबित गरेको छ ।
नोट : वित्तीय विवरणको आधारमा गरिएको विश्लेषण हेरे पश्चात पुन अध्ययन गरेर लगानीको निर्णय लिनु होला। यो विश्लेषण पूर्ण नहुन पनि सक्छ। लगानी गर्ने वा नगर्ने बारेमा नेपालबहसले कुनै निर्णय दिएको हाेइन।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार
अब अस्पतालहरू सेवाका आधारमा वर्गीकरण हुन्छन्ः मन्त्री पौडेल
मंसिर १२, २०८१ बुधबार
इजरायल र हिजबुल्लाहले अमेरिकी प्रस्ताव स्वीकार गर्दा बाइडेन खुसी
मंसिर १२, २०८१ बुधबार