दीपकराज गिरीको स्टाट्सले भाइरल बनाएको कूलमान बधाई !
नेपालबहस संवाददाता
भदौ १०, २०७७ बुधबार १४:५४:२३
१० भदौ, काठमाडौं । मंगलबार मन्त्रिपरिषदकाे नियमित बैठक बस्यो । झण्डै ६ बजे शुरु भएको नियमित बैठकका आधिकारिक निर्णय यो समाचार तयार पार्दासम्म सार्वजनिक भएका छैनन् । तर मन्त्रिपरिषद बैठक बस्नुभन्दा केही समय अगाडि नै समाजिक सञ्जाल फेसबुकमा कूलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिएको खबर हावासरी फैलियो ।
नेपालकै प्रतिष्ठित कलाकारहरुबाट बाहिरिएको यो समाचार यसरी भाइरल भयो कि ? कूलमानलाई बधाई नदिए समाजमै परिदैन कि जस्तो हाउगुजी आम फेसबुक प्रयोगकर्तालाई भयो । अनि अरुको स्टाट्सकै भरमा फटाफट कूलमानको फोटो हालेर कूलमानलाई बधाई दिन पुगे, कलाकारदेखि नेतासम्म ।
जसले फेसबुके समाचारको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ । यसैपनि भदौको मसान्तसम्म कार्यअवधि भएका कूलमान घिसिङ प्राधिकरणको प्रमुखमा छन् भने उनलाई सरकारले न हटाएको छ न त अर्को कार्यकालका लागि नियुक्ति गरेको छ ।
यतिसम्म कि मंगलबार बसेको मन्त्रिपरिषद बैठकमा कूलमानलाई प्राधिकरणमा नियुक्ति गर्ने बारेमा प्रस्ताव नै लगिएको थिएन् । प्राधिकरण हेर्ने उर्जा, जल तथा सिँचाईमन्त्री बर्षमान पुनले मन्त्रिपरिषदमा यो प्रस्ताव लिएर गएपछि मात्रै सरकारले निर्णय गर्ने गर्छ ।
न त हिजो उर्जामन्त्री पुनले यस सम्बन्धिको प्रस्ताव मन्त्रिपरिषदमा लगेका थिए न त कूलमानलाई अझै २० दिन कार्यकाल रहेकै बेला सरकारले फेरि प्राधिकरण प्रमुखमा नियुक्त गर्न हतार गरेको छ । तर पनि यो खबर आगो जसरी फैलियो ।
मूलधारका कूनैपनि सञ्चारमाध्यमले नलेखेको खबर आखिर कसरी भाइरल भयो ? नेपाललाई उज्यालो बनाउने कूलमानलाई नै भारी पर्ने गरी किन गलत अफवाह फैलियो ? यसका केही कारण छन् ।
दीपकराज गिरीले ब्रेक गरेको समाचार
कार्यव्यस्तताका कारण सोमबार बस्न नसकेको मन्त्रिपरिषदको नियमित बैठक मंगलबार बस्यो । बालुवाटारमा झण्डै ६ बजे शुरु भएको बैठकले अरु विभिन्न प्रस्तावसँगै कूलमानका विषयमा पनि छलफल गर्न सक्ने अनुमान थियो । तर आधिकारिक भने थिएन् ।
बैठक बसेको केही अघि नै कलाकार दीपकराज गिरीले आफ्नो फेसबुकमा कूलमान घिसिङलाई प्राधिकरण प्रमुखमा मन्त्रिपरिषदले फेरि नियुक्त गरेको समाचार ब्रेक गरे । उनले लेखेका छन्, ‘आज बसेको मन्त्रिपरिषद बैठकले कूलमान घिसिङलाई विद्युत प्राधिकरणको प्रमुखमा निरन्तरता दिने निर्णय गरेको छ ।’
फेसबुकले भेरिफाइड गरेको दीपकराज गिरीको अकाउण्टबाट नै यो जानकारी पाएपछि सबैभन्दा पहिले अरु कलाकारले यो समाचार शेयर गरे । यसलाई कपी गरेर आफ्नो फेसबुकमा स्टाट्स लेखे । कूलमानलाई चिन्ने र एक दुई पटक भेटेका कलाकारले फोटोसहित बधाई लेखेरै स्टाट्स हालेपछि अरु पनि पत्याउन बाध्य ।
अनि छ्याप्छ्याप्ती फेसबुकमा कूलमानलाई बधाई दिदै मन्त्रिपरिषद बैठकको निर्णय भाइरल भयो । जबकी यतिबेलासम्म मन्त्रिपरिषद बैठकमा कूलमानका बारेमा छलफल समेत भएको थिएन । तर पनि फेसबुक ट्वीट्रमा कूलमानलाई बधाई स्टाट्स भाइरल भयो ।
दीपकराजको पूरा स्टाट्स नै नपढी मन्त्रिपरिषदको निर्णय सबैले फेसबुकमा ब्रेक गरे । न त कसैले मूलधारका सञ्चारमाध्यम हेरे । न कोही पत्रकारसँग यसबारेमा सोधखोज नै गरे । जबकी केही अनलाईनले मंगलबारको बैठकमा कूलमान नियुक्तिको विषयमा मन्त्रिपरिषदमा प्रस्ताव नै नलिएको बारेमा समाचार लेखिसकेका थिए ।
उर्जामन्त्री पुनकै कोड हालेर लेखिएका समाचारमा कूलमानलाई प्राधिकरणमा फेरि नियुक्त गर्ने प्रस्ताव लगिएको थिएन । प्रस्ताव नै नलगेपछि मन्त्रिपरिषद बैठकले निर्णय गर्न सक्दैन् । त्यसमाथि उनको कार्यकाल यो महिनाको अन्तिम समयसम्म हो । तर पनि यो हल्ला भाइरल भयो । कारण दीपकराजकै स्टाट्स पूरा नपढ्नु कलाकारकै गल्ती थियो ।
सत्य के हो ?
कूलमानलाई फेरि प्राधिकरण प्रमुखमा निरन्तरता दिने निर्णय सरकारले गरिसकेको छैन् । यो विषयमा दीपकराज गिरीले आफ्नो स्टाट्समै खुलाएका छन् । ‘कूलमानलाई विद्युत प्राधिकरणको प्रमुखमा सरकारले फेरि निरन्तरता दिने निर्णय गरेको छ’, दीपकराजले अगाडी लेखेका छन, ‘सरकार यस्तै आशयको समाचार प्रेषित गरेर जनतासँग उभिनुको विकल्प छैन् ।’
सरकारले निर्णय गरिसकेको छैन् । तर कूलमानलाई नै नियुक्त गर्नुपर्छ भन्ने जोड दीपकराजको स्टाट्समा छ । तर घुमाउरो शैलीमा । यो अरु कलाकारले बुझेनन् । फेसबुक प्रयोगकर्ताले झन् उनको पूरा फेसबुक स्टाट्स पढ्ने मौकै पाएनन् ।
किनकी यो खबर कताबाट फैलियो ? भन्ने कुरा पत्रकारले पनि पत्तो पाएका थिएनन् । आमदर्शक स्रोताले पाउने झन कुरै भएन् । अन्ततः दीपकराज गिरीको पूरा स्टाट्स नपढ्दा र हावाकै भरमा उनले समाचार शैलीमा मन्त्रिपरिषदको निर्णय ब्रेक गर्दा मंगलबार झुटो खबर फैलिएको हो ।
दीपकराज भन्दा अगाडी कसैले पनि समाचार आशयको यो खबर फेसबुकमा लेखेका थिएनन् । उनैबाट यो झुटो हल्ला फैलिएको पुष्टि भएको देखिन्छ । यो कुरा स्वंयम दीपकराजले पनि स्वीकार गरेका छन् ।
आफ्नो यही स्टाट्सको मूनि कमेन्ट गर्दै उनले लेखेका छन, ‘केही साथीहरु झुक्किनु भएको छ । यस्तै निर्णय सरकारले गर्नुपर्छ भनिएको छ । निर्णय भएको छैन् । तपाईहरुको यो चाँसोले थप दबाब सिर्जना गर्न दबाब पुग्नेछ ।’
स्टाट्स लेखेको एक घण्टामै दीपकले यस्तो कमेन्ट गरेर यो खबर झुटो भएको भनेपनि आगो जसरी समाचार भाइरल भइसकेको थियो । जसको बुधबारसम्म चर्को आलोचना भइरहेको छ । किनकी मन्त्रिपरिषद बैठकले कूलमानलाई नियुक्ति गरिसकेको छैन् । यो खबर झुटो हो ।
कूलमानलाई घाटा कि फाइदा ?
दैनिक १८ घण्टा लोडसेडिङ भोेगेका नेपालीका लागि सच्चा हिरो भएर आएका थिए, कूलमान घिसिङ । तत्कालिन उर्जामन्त्री जनार्दन शर्माले घिसिङलाई २०७३ सालमा प्राधिकारणको कार्यकारी निर्देशकमा नियुक्त गरेर लोडसेडिङको युग नामेट पार्न जिम्मेवारी सुम्पेका थिए ।
जिम्मेवारी सम्हालेको तीन महिनामै कूलमानले चमत्कार जस्तै काम गरेका थिए । १८ घण्टै लोडसेडिङलाई उनले दुई देखि तीन घण्टा हुदैँ लोडसेडिङमुक्त गरेका थिए । खासगरी प्राधिकणमै रहेका बिचौलियाको कालोधन्दालाई उनले ध्वस्त पारेर नेपालीलाई उज्यालो बनाएक बताइए पनि नेपाली कांग्रेसका सभापति एवं तत्कालिन प्रधानमन्त्री शुशील काेइरालाले भारतसँग बिधुत खरिद सम्झाैता गरेपछि उनलाई काम गर्न सजिलाे भएकाे थियाे ।
यसपछि कूलमान नेपालीको हिरो भए । यसबीचमा पनि पटक पटक उनलाई समस्यामा पार्ने, लोडसेडिङ गर्न खोज्ने प्रयास भएका थिए । तर कूलमानलाई पछार्न सकेका छैनन् । किनकी जनता उनको साथमा छन् ।
कार्यकाल सकिदै गर्दा कूलमानलाई हटाएर अर्को व्यक्तिलाई प्राधिकरण प्रमुखमा ल्याउने चर्चा छ । तर यसले फेरि लोडसेडिङ निम्तिने भन्दै कूलमानलाई नै एक कार्यकाल निरन्तरता दिनुपर्ने अभियान चलेको छ ।
तर अभियान चल्दै गर्दा गलत अफवाह फैलाएर कूलमानमाथि नै भारी पार्ने काम सामाजिक सञ्जाल प्रयोगकर्ताबाट भएको छ । यसले प्राधिकरणमा कूलमानलाई नियुक्त गर्न केही दबाब दिएपनि गलत हल्ला फैलाउने आरोप लागेको फेसबुकजस्ता सामाजिक सञ्जालको विश्वसनीयतामाथि गम्भिर प्रश्न उठेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दीपक राज गिरीको चेतावनी:- मलाई महानायक भने फेसबुकमा ब्लक गर्छु
कात्तिक ३०, २०८१ शुक्रबार
एक्समा सर्वाधिक फलो गरिने विश्वको पहिलो नेता बने नरेन्द्र मोदी
साउन ५, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार