तीन वर्षको प्रयासपछि भरतपुरमा सभागृह निर्माण शुरु
नेपालबहस संवाददाता
मंसिर २२, २०७७ सोमबार १६:२६:२९
२२ मंसिर, चितवन । भरतपुर महानगरपालिकाको तीन वर्षभन्दा बढीको निरन्तर प्रयासपछि यहाँ सुविधासम्पन्न सभागृह (सिटीहल) बन्ने भएको छ । सभागृह निर्माणका लागि ठेक्का सम्झौता भएसँगै निर्माणको काम अघि बढेको हो ।
महानगरको नयाँ नेतृत्व आएसँगै सभागृहका लागि जग्गा खोजी शुरु गरिएको थियो । तत्कालीन समयमा सभागृह निर्माण गर्न शहरी विकास मन्त्रालयले रु ५५ करोड रकम विनियोजन गरेको भए पनि जग्गाको अभावमा सभागृह बन्न सकेको थिएन । नगर प्रमुख रेनु दाहालका अनुसार बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको जग्गा सबै प्रक्रिया पूरा गरी मन्त्रिपरिषद्मा पुगेसँगै विवाद भएपछि फिर्ता भएको थियो । त्यसपश्चात् पुनः छलफल अघि बढाएर जिल्ला समन्वय समिति मातहत रहेको चार बिघा चार कट्ठा जग्गा भरतपुर महानगरपालिकाको नाममा ल्याएर सभागृह निर्माणको प्रक्रिया अघि बढाइएको हो । दुवै ठाउँको जग्गा खोजी र आवश्यक प्रक्रिया पूरा गर्न तीन वर्षभन्दा बढी समय लागेको दाहाल बताए । उनले भने, “हाम्रो निरन्तर प्रयास आज सफल भएको छ ।”
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको जग्गाका लागि अस्पताल सञ्चालक समिति, भरतपुर महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, भूमि सुधार मन्त्रालय, सङ्घीय मामिला मन्त्रालय, गृहमन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पुर्याउँदा लामो समय लागेको थियो । क्यान्सर अस्पताललाई अध्ययन प्रतिष्ठानको रूपमा विकास गर्न जग्गा अभाव हुने भन्दै अन्यत्र खोज्न सुझाएपछि जिल्ला समन्वय समितिको जग्गा प्राप्तिको प्रक्रिया अघि बढाइएको हो ।
यससँगै बजेटको सुनिश्चिता, गुरुयोजना, विस्तृत अध्ययन प्रतिवेदन, बोलपत्र प्रक्रियालगायतका सम्पूर्ण प्रक्रिया पुर्याएर निर्माणको कामका लागि ठेकेदार कम्पनीसँगै सम्झौता भएको हो । दाहालका अनुसार औपचारिक शिलान्यास कार्यक्रमपछि गर्ने गरी काम शुरु गर्न भनिएको छ । शीर्ष नेता र सम्बन्धित मन्त्रालयका मन्त्रीलगायतको समय व्यवस्थापन गरेर पछि शिलान्यास गर्ने गरी काम अघि बढ्ने उनको भनाइ छ ।
दाहालले भने, “महानगरको स्वामित्वमा रहने गरी निर्माण गरिने सभागृहले यहाँको गरिमा बढाउने छ ।” राजनीतिक दललगायत सबैको साथ र सहयोगका कारण परियोजना शुरु भएको उनीले बताए । उनले थपारे , “शुरुआतीदेखि नै आफ्नो गृह जिल्लासमेत रहेकाले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस परियोजना सम्पन्न गर्न पहल गरे । उनकै पहलका कारण सभागृह निर्माणको काम शुरु भयो ।”
सभागृह निर्माणका लागि इण्डो सगुन रौताहा जेभी रुपन्देही र शहरी विकास डिभिजन चितवनबीच सम्झौता भएको छ । भरतपुर महानगरपालिकाको वडा नम्बर १० मा बाइपास रोडसँगै जिल्ला समवन्य समितिको स्वमित्वमा रहेको जग्गामा सभागृह निर्माण हुनेछ ।
बोलपत्र रकम मूल्य अभिवृद्धि करबाहेक रु एक अर्ब छ करोडको रहेकोमा रु ७७ करोड ७७ लाखमा ठेक्का सम्झौता भएको हो । सभागृहमा मुख्य अडिटोरियम ब्लकमा दुई हजार जना अट्ने सुविधासम्पन्न सभाहल हुनेछ । सँगै ३०० क्षमताको कन्फरेन्स हल रहने छ भने विशिष्ट व्यक्तिका लागि छुट्टै कक्ष हुने सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका प्रमुख प्रकाश अर्यालले जानकारी दिए। चारवटा भर्याङ, प्रवेशद्वार, आकर्षक स्टेज, रिहर्सल कक्ष रहने छन् । मुख्य ब्लक सात हजार वर्गमिटरमा हुने उनको भनाइ छ । सभागृहमा प्रशासनिक, पुस्तकालय, सूचना प्रविधि, अतिविशिष्ट कक्ष, फुड ल्याण्ड, बगैँचा , २५७ गाडी र ३१७ मोटरसाइकल एवं साइकल अट्ने पार्किङ रहने उनको भनाइ छ ।
अन्तर्राष्ट्रियस्तरको आकर्षक सभा बन्ने अर्याल बताए । उच्चस्तरका निर्माण सामग्री र आधुनिक प्रविधिको प्रयोग गरी बनाउन लागिएको यो सभागृह देशकै नमूना हुने अर्यालले जानकारी दिए। हालसम्म यति सुविधासम्पन्न र सुन्दर सभागृह नेपालमा नरहेको उनले जिकिर गर्नुभयो । ठेकेदार कम्पनीले १५ दिनभित्र काम थाल्ने गरी सम्झौता गरिएको छ । उनले भने, “अब काम शुरु भयो ।”
ठेकेदार कम्पनीका तर्फबाट आयोजना व्यवस्थापक नहकुल खड्काले सरसफाइको काम तत्काल हुने भन्दै अन्य काम पुस लागेपछि शुरु गरिने बताए । अबको २७ महिनाभित्रमा काम सम्पन्न गर्नुपर्ने हुन्छ । खड्काका अनुसार समयमै काम सम्पन्न गर्ने गरी काम अघि बढाइने छ ।
सभागृह बनेसँगै राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका ठूलादेखि सानासम्मका कार्यक्रम यहाँ गर्न सकिने छ । यो सभागृह निर्माणपछि मध्य नेपालमा पर्ने चितवनमा अधिकांश सङ्घ सङ्गठन, दलले कार्यक्रम आयोजना गर्ने इच्छा भएर पनि ठूलो हलको अभावमा राजधानी केन्द्रित हुनुपर्ने बाध्यता हट्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभा बैठक माघ १८ गते बोलाउन सिफारिस
माघ ११, २०८१ शुक्रबार
जङ्गली हात्ती बस्ती पस्न थालेपछि निजीलाई एकीकृत गर्न माग
माघ ९, २०८१ बुधबार
प्रदेशसभा सचिवालयमा तीन वटा विधेयक दर्ता
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार