बागलुङमा लोकबाजा संग्रहालय बन्दै
नेपालबहस संवाददाता
साउन २६, २०७८ मंगलबार १७:३१:५०
◊रामबहादुर थापा
२६ साउन, बागलुङ । काठेखोला गाउँपालिका–४ तङ्ग्राममा लोकबाजा संग्रहालय बन्ने भएको छ । यसका लागि गाउँमैत्री अक्षयकोषले पूर्वाधार निर्माण र लोकवाद्ययन्त्र संकलनको काम अघि बढाएको छ ।
विश्वभरका देशको प्रतिनिधित्व हुने गरी लोकबाजा संग्रह गर्ने महत्वकांक्षी लक्ष्य अक्षयकोषले लिएको छ । हालसम्म नेपाली र पश्चिमेली गरी २५ किसिमका बाजा संकलन भइसकेको कोषका अध्यक्ष एवं सङ्गीतकर्मी हेमराज आश्रमले जानकारी दिए । उनका अनुसार आगामी पाँच वर्षभित्रमा संग्रहालय पूर्ण स्वरुपमा सञ्चालनमा आउनेछ । भवनलगायत संरचना बनाउने कामका लागि गण्डकी प्रदेश सरकारले चालु आवमा रु ५० लाख बजेट विनियोजन गरेको छ । गत आवमा पनि प्रदेश सरकारबाट रु १० लाख बजेट आएको थियो ।
उक्त बजेटमध्ये रु पाँच लाख नगरा (दमाहा) र बाँकी कार्यालय भवन बनाउँदा खर्च भइसकेको छ । सङ्ग्रहालयको प्रारम्भिक काममध्ये २८० किलोको नगरा (दमाहा) हालै मात्र निर्माण गरिएको उनको भनाइ छ । उक्त नगरा ‘देशकै ठूलो’ भएको अक्षयकोषको दाबी छ । स्थानीय कालिगढले १८ दिन लगाएर नगरा निर्माण गरेका थिए । निर्माणाधीन सङ्ग्रहालय परिसरमा नेपाली लोकबाजा मादलको प्रतिमा भने त्यसअघि नै राखिएको थियो ।
“लोकवाद्ययन्त्रको सङ्कलन र संरचना निर्माणको काम सँगसँगै भइरहेको छ”,उनले भने, “संग्रहालयका लागि चाहिने मुख्य भवनमा बजेटले भ्याएसम्मको काम यही वर्ष हुन्छ, बाँकी आगामी वर्षमा हुँदै जान्छ ।” तीनतले भवनको पहिलो तलामा नेपाली, दोस्रोमा विदेशी लोकबाजा र तेस्रोमा नेपालको परम्परागत संस्कृति झल्काउने वेशभूषा, सामग्री आदिलाई संग्रह गरिनेछ । भवनका लागि अहिले रहेको जग्गा अपुग भएपछि थप एक रोपनी जग्गा खरिदका लागि प्रक्रिया अघि बढाइएको छ ।
विसं २०६६ मा स्थापित अक्षयकोषले संग्रहालय निर्माणका लागि तीन रोपनी जग्गा पहिले नै व्यवस्थापन गरेको थियो । लोकबाजा संग्रहालयले नेपाली संस्कृतिको प्रवद्र्धनमा नयाँ आयाम थप्ने वाङ्मयसेवी एवं काठेखोला गाउँपालिकाका कार्यपालिका सदस्य टीका सङ्गम विकले बताए । “संग्रहालय बनेपछि त्यसले जिल्लामा पर्यटकीय आकर्षण पनि बढाउँछ”, उनले भने, “विश्वभरका लोकबाजा एकै ठाउँमा अवलोकन गर्न पाउनु, तिनबारे बुझ्न पाउनु हाम्रा लागि धेरै महत्वपूर्ण छ ।” गाउँपालिकासहित स्थानीय क्षेत्रबाट पनि संग्रहालय निर्माणमा हातेमालो हुनुपर्ने उनको भनाइ छ ।
संग्रहालय निर्माणका लागि अहिले आर्थिक अभियान पनि जारी छ । देश–विदेशबाट स्वतःस्फूर्तरूपमा सहयोग आउने क्रम सुरु भएको कोषले जनाएको छ । गाउँपालिकासँगको साझेदारीमा छिट्टै महिलालक्षित मादलवादनको कार्यशाला चलाउने योजनामा कोष छ । “पछि सारङ्गीलगायत अन्य लोकबाजाको प्रशिक्षण पनि चलाउने सोच बनाइरहेका छौँ”, अध्यक्ष आश्रमले भने । संग्रहालयमा ‘विश्वकै सबैभन्दा ठूलो’ हार्माेनियम पनि राखिने उनले सुनाए । लोकबाजा सङ्ग्रह गर्ने र त्यसलाई सांस्कृतिक संग्रहालयका रूपमा विकास गर्ने अक्षयकोषको वर्षौँ पहिलेको सपना अब भने पूरा हुने भएको छ ।
यसअघि आर्थिक स्रोतको जोहो नहुँदा संग्रहालय बनाउने योजना अन्योलमा परेको थियो । प्रदेश सरकारबाट बजेटको सुनिश्चितता भएपछि कामले गति लिएको हो । प्रगतिशील गायन र सङ्गीतकर्ममा तल्लीन आश्रमकै विशेष पहलमा स्थापित अक्षयकोष कला, सङ्गीत र साहित्यको उत्थानमा क्रियाशील छ । उक्त संस्थाले वर्षेनी गाउँस्तरमा ‘ट्यालेन्ट अफ भिलेज’ नामको कार्यक्रमसमेत गर्दै आएको छ । गीत, नृत्य र साहित्यतर्फ प्रतिभाको खोजी गरिने उक्त प्रतियोगितात्मक कार्यक्रमले दशौँ संस्करण पार गरिसकेको छ ।
अक्षयकोषलाई थप संस्थागत र व्यवस्थित बनाएर समुदायलाई हस्तान्तण गर्ने योजनमा अध्यक्ष आश्रम छन् । “संस्था स्थापनाकालमा कोही व्यक्ति विशेषको योगदान रहेको भए पनि यो समुदायको साझा सम्पत्ति हो”, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रधानमन्त्रीले उद्घाटन गरे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन
माघ ३, २०८१ बिहिबार
हुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार
हमास-इजरायल युद्बबिराम आइतवार देखी लागु हुनेछः कतारका प्रधानमन्त्री
माघ ३, २०८१ बिहिबार
रास्वपाका नेता कार्यकर्ता माइक टाइसन भन्दा बलियाः गोकुल बाँस्कोटा
माघ ३, २०८१ बिहिबार
प्रधानमन्त्री ओली पोखरा पुगे
माघ ३, २०८१ बिहिबार