प्रहरी फेरी भकुन्डो ! लोभीपापीको जालमा एआईजी थप्नु गलत
नेपालबहस संवाददाता
भदौ १२, २०७८ शनिबार २२:३:२३
♦मधु लम्साल
अहं, दम्भ, अहंकार, बेलगाम बोली र हेपाहा प्रवृत्तिले एमाले अध्यक्ष केपी ओली अस्ताए । यसैमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई चिठ्ठा पर्यो । अनयासै प्राप्त विरासत कसरी सम्हाल्ने देउवाले बुझ्न जरुरी छ ।
खुस्केका ओली अहिले धेरै नबर्बराए मात्र हुन्छ, देउवाले भने धेरै गर्नुपर्छ । देउवा फुकी फुकी पाइला चाल्नुपर्ने अवस्थामा छन् । पाँचौ पटक देशको वागडोर समातेका देउवा ‘सुधारिएको’ देख्ने अपेक्षा हो तर फरक दृष्य देखिदैंछ।
ओली प्रधानमन्त्री भएपछि सुरक्षा निकायलाई थप चलायमान, छरितो बनाउने र आर्थिक भार कम पार्ने उद्देश्यले प्रहरीका माथिल्ला दर्जा घटाए। जनपद प्रहरीका १५ एआईजीलाई तीनमा र २६ डीआईजीलाई चौधमा झारे । सशस्त्रका वहालवाला एआईजीहरुलाई जबरजस्ती राजीनामा गराए । तर उनले एक वर्षमै ‘युटर्न’ लिए । उनैले पाँच डीआईजी र दुई एआईजी फेरी थपे । कारण थियो, राजनीतिक भागबण्डा । तत्कालीन नेकपाभित्रको आक्रोश व्यवस्थापन गराउन प्रहरी संगठनलाई ओलीले विलो लगाएका थिए ।
प्रहरीमा २०४६ साल अगाडी दरवारको चलखेल हुन्थ्यो तर प्रणाली नबिगार्ने गरी । प्रजातन्त्र पश्चात भने राजनीतिक स्वार्थ हावी हुन थाल्यो । अहिले प्रहरीका हाकिम एआईजी, डीआईजी पदहरू राज्यको ढुकुटी खोस्न र आफ्ना मान्छेलाई पोस्न ल्याएको देखिन्छ । पद ल्याउन रकम कलमकै हिसाब पनि हुन थाल्यो । नाताले तान्दा र पैसाले पुरिंदा हाकिम पद थपिदै गए । पद किन्ने महत्वाकांक्षा पाल्ने उच्च पदस्थ प्रहरी र पद बिक्रीकर्ता नेताजीको स्वार्थ मिल्ने भएकोले होष्टेमा हैंसे हुने नै भयो ।
वास्तवमा सुरूमा ओलीले संख्या घटाएको देशका लागि थियो । तर एक वर्षभित्रैमा उनमा ‘डवल स्ट्याण्डर’ देखियो । उनकै पालामा प्रहरी संगठन र गृह मन्त्रालयलाई थाहा नभई एआईजी पद थप्दा ‘राज्य व्यवस्था तथा सुशासन समिति” ले त्यो रोक्न कडा निर्देश गर्यो । तर ओली रोकिएन् । त्यतिमात्रै होइन, पद खुस्किने बेलामा फेरी अर्को एआईजी थपेर गए । दुई तिहाईको हुंकार भर्ने ओलीले गरेको सोही रोग अहिले कांग्रेसको पालामा फेरी सुरु हुन लागेको छ । उम्रदै तीन पात ।
गठबन्धन सरकार पूर्ण भएको छैन । चार जना मन्त्री छन् । प्रहरीका आवश्यक काम भएकै छैन, हाकिमको संख्या थप्ने हतारो भैसक्यो । प्रहरीमा एआईजीको संख्या थप गर्ने प्रक्रिया सुरु भैसक्यो । एआईजी दशको संख्यामा पुर्याउने । यसको लागि लोकाचार पुरा गर्न “ओ एण्ड एम” सुरु गरियो । यो असल नियत होइन, नियत असल थियो भने पहिला प्रहरीका आधारभूत कुरा हेरिन्थ्यो ।
प्रहरीमा काम गर्ने भनेका तल्ला दर्जाका कर्मचारी हुन । जीउ ज्यानको प्रवाह नगरिकन घरपरिवार समर्पण गरेर उनीहरु काममा जोतिन्छन । माथिका दर्जा त तिनका घोडा चढ्ने मात्र हुन । हाकिम सधैँ घरमा नै बस्न पाउँछन्, घर नभए क्वाटर हुन्छ । क्वाटरमा झन बढी सुविधा हुन्छ । हाकिमलाई सधै मस्ती । हेर्नुपर्ने पहिला तल्ला दर्जालाई हो । प्रहरीका सईहरु करिब २० वर्षदेखि सई पदमा नै छन् । विगतमा पचास पचास प्रतिशत पदोन्नति र खुल्ला प्रतियोगिताद्वारा लिने व्यवस्था थियो ।
अहिले साठी खुल्ला र चालिस पदोन्नति गरेकोले समस्या भयो । यसलाई सुधार्न नियमावली संशोधन जरुरी छ । प्रहरी समायोजन ऐन २०७६ जारी भएको छ । प्रदेशमा अलग प्रहरी बन्ने संबैधानिक व्यवस्थाले प्रहरी समायोजन छिटो गर्नुछ । प्रहरीको एकेडेमी खोसिएको छ । प्रहरीलाई नै दिने निर्णय गर्नुछ । प्रहरीले कोभिड भत्ता पाएका छैनन् । अग्रपंतिका सुरक्षाकर्मीलाई भत्ता दिन जरुरी छ । निजामती, संस्थान, प्राधिकरणका कर्मचारीले पाउने पर्यटन बिदा प्रहरीलाई छैन ।
ओली सरकारले म्याद थप नगरेर भरखरै खोसिएका सशस्त्रका डीआईजीलाई पुनर्वहाली गर्दा हुन्छ । संगठनले सिफारिस गर्ने तर सरकारले स्वीकार नगर्ने गलत प्रचलन सुरु भयो । सशस्त्रको आईजी हुने अवस्थामा रहेका डीआईजीको ‘वार्गेनिङ’ मा चित्त नवुझेर म्याद थपिएन । गलत नजिर बस्न नदिन सुधार्नु पर्ने छ । प्रहरीले लत्ता कपडा पाएका छैनन् ।
हिम्मत नभएका हाकिमहरू डराएकाले सामान खरिद हुँदैन । डरपोकहरूले सामान किन्न नसक्ने भए त्यो बराबरको पैसा प्रहरी कर्मचारीलाई सिधै उपलब्ध गराउँदा हुन्छ । हिजो राशन जिन्सी दिइन्थ्यो, अहिले सिधै पैसा । पोशाकमा पनि त्यही गर्दा हुन्छ । प्रहरीको नियुक्ति, तालीम, सरुवा, वढुवामा सुधार्नुपर्ने धेरै कुराहरू छन् । प्रधान कार्यालयलाई सोधियो भने भइहाल्छ भन्ने तयारी जवाफ आउँछ ।
पहिला देउवाज्यू नै प्रधानमन्त्री भएको बेलामा एआईजी अनावश्यक थपिएका हुन । लोभीपापी हाकिमहरू प्रदेश प्रमुख हुन पाइने भएपछि एआईजी पद किनेरै गए । तत्काल सेनालाई पनि प्रदेशमा दुइतारे जर्नेल खटाउन भनियो । सेनाले कानुन बनाएपछि मात्र पठाउने भन्यो । ऐन बनेपछि मात्र सेना गयो । केवल आदेशको भरमा गएकोले प्रहरी ओलीको पालामा फर्कनु पर्यो । ऐन बनाएर गएकोले सेना फिर्ता भएन ।
प्रदेश प्रमुख भएर डकार्न पाउने भएपछि त्यसको केही अंश कालो कुनामा राख्न लोभीपापीलाई केही गाह्रो हुँदैन । एउटा एआईजी थपिदा कम्तिमा १५ जना प्रहरीको खपत हुन्छ । हुक्के चम्चे, रनर, ड्राइभर, गार्ड, ढोके, घर सुरक्षा र उठती पुठती वाला । उनका आफन्तका हेर्दा अरु थप प्रहरी व्यस्त हुनुपर्छ । अवकाश भएपछि पनि ड्राइभर र भान्छे गरी दुई जनालाई आजन्म कोशेली पठाउनु पर्छ । वास्तवमा एआईजी फिल्डको पद होइन । विभागीय र सेरेमोनियल जस्तो हो । तत्काल ओलीले घटाएको ठिक भएको प्रहरी नै बताउँछन् ।
वर्तमान आईजीपी शैलेश थापा क्षेत्रीको पहिलो प्राथमिकता भक्तपुरका प्रहरीको कल्याण गर्नु देखिन्छ, ताकी भोलि प्रहरीको कमाण्ड भक्तपुरमै होस् । दोश्रो आफ्नो व्याचमेटको कल्याण । नत्र डीआईजीको एउटै खाली पदमा आफ्ना व्याचमेट शौरभ राणा पदोन्नति गर्न हतारो परेकालाई त्यो समेत खाली एसएसपी अरु पद पूर्ति किन गरिदैन ? कारवाही परेकाको बढुवा हुने, नपरेकाको ढिलो गरिने ? यतिबेला नेता र महानिरीक्षक दुवैको स्वार्थमा टेक्दै बिचौलियाहरू पद थप्ने खेतीमा लागेका छन ।
कानुन हेरौं । गत वर्ष प्रहरी समायोजन ऐन २०७६ र प्रहरी सञ्चालन, सुपरिवेक्षण र समन्वय ऐन २०७६ जारी भए । दुवैमा प्रदेश प्रहरी प्रमुख डीआईजी रहने किटानी व्यवस्था छ । समायोजन ऐनको दफा २० बमोजिम समायोजन प्रयोजनदेखि बाहेक अन्य कुनै पनि तरिकाले नयाँ दरबन्दी थप गर्न र पद सृजना गर्न मिल्दैन । के दश जना एआईजीलाई हेडक्वाटरमा शाखा प्रमुख बनाउने ? संघीय प्रहरीले हेर्ने जम्मा अठार हजारको फौजमा १० जना एआईजी राख्ने ? कानुनका यी दुवै प्रावधानलाई संशोधन नगरी कसरी दरबन्दी थप्ने ? की अध्यादेश ल्याउनु पर्यो । कानुन नमिलाई थप्नै मिल्दैन ।
अहिले प्रधानमन्त्री, गृहमन्त्री र सरकार जनताले पत्याएर बनेको होइन । तत्काल ओलीको जस्तो संवैधानिक हैसियत छैन । विगतको चर्चा अझै छ, अमुक व्यक्तिलाई प्रहरीको सर्वोच्च पद दिन म्याडमले पैसा कुम्लाएपछि पनि नमिलेको र त्यसैको पूर्तिको लागि अमुक आयोगमा अमुक स्थान दिन परेको । त्यसैमा ओलीसँग गठजोड देखिएकै हो ।
अहिले पनि पैसा र पदका लागि जुनसुकै काम गर्ने सक्ने अत्यन्त नकारात्मक छवि बनाइका कुख्यात डीआईजी सम्माननीयज्यूका प्राथमिकतामा छन । महिला सभासदलाई दुव्यवहार गर्ने तिनको मुल्यांकन वहालवाला गृहमन्त्रीले गरेको हुनुपर्ने हो । यस्तालाई केन्द्र विन्दुमा राखेर एआईजी नबनाइयोस ।
राम्रो काम गर्न नसके पनि गल्ती नहोस । आफ्नै विगतको र ओलीको गल्तीबाट सिक्न जरूरी छ । प्रदेश प्रहरीमा एआईजी खटाउन मिल्ने गरी कानुन संशोधन नगरीकन लोभीपापीको जालमा पर्नु हुँदैन। कानुन नाघ्ने होइन । नत्र मुद्दा पर्ला, अदालतले रोकिदेला । यो प्रहरी हाकिमको होइन, तल्लो दर्जाको हित गर्ने बेला हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
तीन युवा ‘युवा भाषा वैज्ञानिक पुरस्कार’बाट पुरस्कृत
मंसिर १३, २०८१ बिहिबार
मकवानपुरमा कुटपिटबाट एकको मृत्यु
मंसिर १३, २०८१ बिहिबार
क्रेन लगाएर कन्टेनर हटाइयो, पूर्वपश्चिम राजमार्ग सुचारु
मंसिर १३, २०८१ बिहिबार
मार्फामा पर्यटकको चहलपहल
मंसिर १३, २०८१ बिहिबार
विश्वको तेस्रो अग्लो कञ्चनजङ्घामा पर्यटक
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार