गलकोटमा शृङ्खलाबद्ध चोरी, अनुसन्धान फितलो : पेशेवर लुटेरा सक्रिय
नेपालबहस संवाददाता
भदौ २९, २०७८ मंगलबार १४:२४:२४
रामबहादुर थापा
२९ भदौ, बागलुङ । तीजको दर खाने दिन थियो !! गलकोट नगरपालिका–३ हटिया, बेँसीका तेजबहादुर बोहोरा घरमा तालाचाबी लगाएर बोहोराफाँटमा रहेको अर्को घरमा गए । त्यहाँ उनीसहित सपरिवार एकैठाउँ भएर दर खाए, रमाए । भोलिपल्ट बिहान बेँसीको घर फर्कँदा भने उनी झस्किए । अघिल्लो दिन ठिकठाक छाडेको घरमा चोरले बितण्डा मच्चाएको दृश्य एकाएक आँखाअघि आयो ।
घरमा कोही नभएको मौका छोपेर चोरले ढोका, दराजका ताला र सुटकेस फोरेर नगदसहित गरगहना लुटेका थिए । साँझ ७ बजेतिर घरका सबै ढोका बन्द गरी बाहिर बिजुली बालेर आफू अर्को घर गएको बोहोराले बताए । उनको घरबाट करिब आठ तोला बराबरका सुनका गरगहना र एक लाख ४० हजार नगद चोरी भएको थियो । सुनको बेरुवा औँठी, हार, मङ्गलसूत्र, सादा औँठी, तिलहरी र झुम्का चोरले लगेको उनको भनाइ छ ।
चोरले रड प्रयोग गरी चाबी फोरेको पाइएको छ । अनुसन्धानका क्रममा उक्त रड चोरी भएको कोठामै फेला परेको प्रहरीले जनाएको छ । योसँगै एक वर्षयता गलकोटमा चोरीका दर्जनौँ घटना भएका छन् । गत असोजमा वडा नं २ नरेठाँटीका ज्येष्ठ दम्पतीलाई बन्धक बनाएर सम्पत्ति लुटेको घटनाले धेरैलाई झस्कायो । हतियारधारी जथ्थाले ६५ वर्षीया गोरबहादुर भण्डारी र उनकी श्रीमतीलाई धाकधम्की देखाएर नौ तोला सुन र नगद रु ६५ हजार लुटेका थिए ।
छ जनाको लुटेरा समूहले आफूहरु प्रहरी भएको र खानतलासी गर्न आएको भन्दै भण्डारीको घरमा लुट मच्चाएका थिए । हातखुट्टा बाँधेर चोरी गरिएकाले दम्पतीले हारगुहार गर्नसमेत नपाएको स्थानीयवासी बताउँछन् । भोलिपल्ट बिहान मात्र छिमेकीले घटनाबारे थाहा पाएका थिए ।
गत माघको पहिलो हप्तामात्रै गलकोटका विभिन्न वडा र बस्तीका १८ घरमा चोरी भयो । नगरप्रमुख भरत शर्मा गैरेको वडा नं २ स्थित घरलाई समेत चोरले निशाना बनाए । उनको घरबाट रु १० हजार नगद र गरगहना लुटिएको थियो । माघ ३ गतेको रात उक्त वडाका आधा दर्जन घरमा चोरीका घटना भए । त्यसको भोलिपल्ट वडा नं ५ को गलकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडसहित आठ घरमा चोरी र तोडफोड भयो । जबकि उक्त सहकारी प्रहरी कार्यालयदेखि ३०० मिटरको दूरीमा पर्छ ।
सटरको ताला फोडेर सहकारीभित्र पस्न खोजेको तर नसकेपछि लुटेरा त्यहाँबाट भागेको दृश्य सिसी क्यामेरामा समेत कैद भएको थियो । गत जेठ २९ गते वडा नं ६ चरौँदीका लालबहादुर खत्रीको घर तोडफोड गरी नगद र गरगहना लुटियो । घरमा कोही नभएको मौका हेरी लुटेराले एक तोला सुनको मङ्गलसूत्र, झुम्का, आइफोन मोबाइल र नगदसमेत गरी रु चार लाखको धनमाल चोरेका थिए ।
उक्त घटनामा संलग्न रहेको आशङ्कामा स्थानीय केही व्यक्ति पक्राउ त परे तर दुई दिनमै छुटे । प्रहरीले सामान्य सोधपुछपछि उनीहरुको संलग्नता नदेखिएकाले छाडिएको जवाफ दियो । हरेकजसो घटनामा अनुसन्धान जारी रहेको बनिबनाउन जवाफ प्रहरीबाट आउने गरेको छ ।
नरेठाँटीका ज्येष्ठ दम्पतीको घरमा भएको लुटपाटमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिए पनि मुद्दाको टुङ्गो लागेको छैन । उक्त घटनामा छ जना संलग्न रहेकामा अन्य पाँच अझै अनुसन्धानको दायरामा आउन सकेका छैनन् । अन्य घटनामा पनि प्रहरी अनुसन्धान सोधपुछमै सीमित छ । कतिपय घटनामा त प्रहरी पुग्नै सकेको छैन । पीडित र स्थानीयवासीले भने प्रहरी अनुसन्धान फितलो र निष्प्रभावी भएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
नगरप्रमुख भरत शर्मा गरैले लगातारजसो चोरीका घटना हुँदा पनि दोषी पत्ता लाग्न नसक्नु दुर्भाग्य भएको बताए। “कि त प्रहरीको अनुसन्धान प्रक्रियामै त्रुटि छ, कि प्रहरीले घटनाप्रति चासो दिएकै छैन”, उनले भने । कतिपय घटनाका प्रकृति हेर्दा पेशेवर लुटेरा सक्रिय भएको देखिएकाले सुरक्षामा गम्भीर चिन्ता थपिएको नगरप्रमुख गैरेले बताए । कानुनतः स्थानीय तहले प्रहरी र प्रशासनका एकाइलाई आपराधिक घटनाका सम्बन्धमा अनुरोध र समन्वयबाहेक केही गर्न नसक्ने उनले उल्लेख गरे।
“जिल्ला प्रशासन कार्यालय र प्रहरीमा गलकोटको समस्यालाई गम्भीररूपले उठाएको छु, तर खास सुनुवाइ र चासो लिएको देखिएको छैन”, नगरप्रमुख गैरेले गुनासो गरे । दोषीलाई कानुनी कठघरामा ल्याउन नसके चोरीका घटनालाई निरुत्साहित गर्न नसकिने उनको भनाइ छ ।
हटिया प्रहरी चौकीका प्रहरी नायब निरीक्षक बाबुराम पुरीले गत बुधबार राति वडा नं ३ बेँसीमा भएको घटनामा शङ्कास्पद देखिएका व्यक्तिलाई कार्यालयमा झिकाइ सोधपुछ गर्ने भइरहेको बताए। “दोषी पत्ता लागेको छैन, अनुसन्धान जारी छ”, उनले भने । प्रनानि पुरीले प्रहरीको प्रत्यक्ष पहुँच नभएका ग्रामीण भेगमा चोरीका घटना बढी भइरहेको जानकारी दिए।
उहाँले चोरी हुन नदिन सुरक्षाका उपाय अपनाउन, धनमाल र गरगहना घरभित्रै छाडेर बाहिर नजान, शङ्कास्पद व्यक्ति देखिएमा प्रहरीलाई खबर गर्न सर्वसाधारणलाई सुझाए । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले गलकोटमा भइरहेका चोरीका घटनालाई संवेदनशीलरूपमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताए । “घरमा कोही नभएका बेला पारेर हुने चोरीका घटनामा अनुसन्धान जटिल हुने गर्छ, समय लागे पनि दोषी पत्ता लाग्छ”, उनले भने ।
मास्क, मुकुण्डो, पञ्जा लगाउने हुनाले लुटेरा उम्कन सफल हुने गरेको उनको भनाइ छ । “बन्दाबन्दी र निषेधाज्ञामा सबै जना घरमै बस्ने भएकाले चोरी हुन्थेन, अहिले निषेधाज्ञा हट्यो फेरि घटना दोहोरिन थालेका छन्”, प्रउ पल्ली मगरले भने । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार