हाउजिङको ब्राण्ड बनाएर हाउजिङकै धन्दाबाट अवसान भए इच्छाराज तामाङ, महत्वाकांक्षी उडानमा अनियमित दूर्घटना
नेपालबहस संवाददाता
कात्तिक ९, २०७८ मंगलबार १८:११:२०
९ असोज, काठमाडौं । आजभन्दा २० वर्ष अघि पुल्चोकमा क्याम्पसमा पढाइरहेका इच्छाराज तामाङ अहिले प्रहरीको हिरासतमा छन् । यतिबेला प्राध्यापक भएर प्रतिष्ठित जीवन बिताउने तामाङ अरबौ ठगी अभियोगमा प्रहरी हिरासतभित्र छन् ।
रसियाबाट सिभिल इन्जिनियरिङ गरेर फर्किएपछि पुल्चोक इन्जिनियरिङ कलेजमा पढाउँदाका साथीहरुसँग मिलेर २०५७ सालमा सिभिल सहकारी स्थापनाबाट व्यवसायिक दुनियाँमा छिरेका तामाङले केही वर्षको अन्तरालमै आफ्नै बलबुतामा हासिल गरेको यो रवाफिलो जीवनलाई धुलीसात मात्र बनाएका छैन, हजारौ नागरिकको पैसा हिनामिना गरेर उनीहरुको आर्थिक अवस्था समेत जर्जर बनाइदिए ।
हाउजिङ व्यवसायमा छिरेका तामाङ कुनै पनि नेपाली व्यवसायीका लागि लोभलाग्दो जीवन विताइरहेका थिए । उनको नेतृत्वमा सिभिल समूहका नौ कम्पनीले अर्बौंको कारोबार र स्थिर सम्पत्ति (जग्गा तथा भवनसहित) को स्वामित्व होल्ड गर्ने अवस्थामा पुगेको अवस्थामा लोभलाग्दो बनेको थियो । तर उनकै कारण अहिले सहकारी र हाउजिङ दुवैप्रति मानिसहरुको वितृष्ण पैदा भएको छ । सिभिल होम्सको नामबाट ११ वटा परियोजनासमेत सञ्चालनमा ल्याएका तामाङलाई २०७२ सालको भूकम्पपछि लागेको धक्काबाट उनी उठ्न सकेनन । त्यही धक्काको मारबाट गुज्रिदै गएपछि अहिले उनी प्रहरीको पाहुना भए ।
घर बेचेको पैसा गायब
सहकारीबाट सबै रकम हाउजिङमा लगानी गरिएको थियो । तामाङनिकट नौवटा कम्पनीमार्फत सहकारीको पैसा हाउजिङ क्षेत्रमा लगानी गरिएको र हाउजिङमा निर्माण भएका सबै घर विक्री भैसकेका थिए । त्यसरी लगानीपछि घर बिक्रीको पैसा भने सहकारीमा भेटिदैन । यसबाट नियोजित रूपमा संस्थामा हिनामिना गरिएको प्रहरी आशंका छ । ‘सिभिल होम्स बेचेको पैसा कहाँ लगियो भनेर हामी खोजी गरिरहेका छौँ,’ सीआईबीका डीआईजी धीरजप्रताप सिंहले भने । प्रहरीका अनुसार नियम मिचेर लगानी भयो भने अर्काेतर्फ पैसा नै गायब भएको छ ।
तामाङले सिभिल होम्स, सिभिल इस्टेट, सिभिल अपार्टमेन्टलगायत कम्पनीमार्फत सहकारीको रकम दुरुपयोग गरेका थिए । त्यसमध्ये कतिपय लगानीमा प्रतिफल भए पनि कतिपय लगानी घाटामा गएको देखाइएको छ । सुन्धाराको सीटीसी मललगायतमा भएको लगानीको प्रतिफल नआएपछि तामाङ समस्यामा परेका थिए । यसअघि समस्यामा फसेपछि उनले सिभिल बैंकमा श्रीमतीको नाममा रहेको शेयरसमेत बिक्री गरेका थिए । ‘जसरी हचुवाका भरमा हाउजिङ क्षेत्रमा लगानी गर्दा सुधीर बस्नेत डुबेका थिए, तामाङको पनि त्यस्तै अवस्था देखियो,’ प्रहरी स्रोतले भन्यो ।
सात अर्ब फिर्ता गर्नुपर्ने
पक्राउ परेका पूर्वसांसद इच्छाराज तामाङ लगायतले प्रवर्द्धन गरेको सिभिल सेभिङ्स एन्ड क्रेडिट को–अपरेटिभ्सले सर्वसाधारण निक्षेपकर्ताको साढे सात अर्ब रुपैयाँ निक्षेप फिर्ता गरेको छैन । दुई हजार एक सय ९० बचतकर्ताले सात अर्ब ५८ करोड रुपैयाँ फिर्ता पाउन बाँकी रहेको सहकारीपीडित संघर्ष समितिका संयोजक उज्ज्वल सत्यालको भनाई छ । सर्वसाधारणको निक्षेप फिर्ता नगरी ठगी गरेको तथा संस्थाको कर्जा पनि नतिरेपछि तामाङसहित संस्थाका १२ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरी अनुसन्धान गरेपछि सर्वसाधारणको सात अर्ब रकम फिर्ता गर्नुपर्ने देखिएको हो ।
सर्वसाधारणलाई निक्षेप रकम फिर्ता नगरेको, तर नजिकका केही सीमित व्यक्ति तथा संस्थाले भने सहकारीबाट भुक्तानी पाइरहेको कार्यालयबाट सहकारीपीडित संघर्ष समितिले झिकाएको विवरणले देखाउँछ । सहकारीमा समस्या देखिएपछि कर्मचारी र तिनका आफन्त, सिभिल समूहकै केही संस्था र अध्यक्ष संलग्न निर्माण क्षेत्रका व्यक्तिहरूलाई भुक्तानी दिइएको थियो । तीन वर्षदेखि साधारणसभा गर्न नसकेको सिभिलले ३ असोजमा सभा गर्न सहकारी रजिस्ट्रार, हेटौँडाबाट म्याद पाएको थियो । तर, २२ असोजमा सभा गर्ने मिति तय गरेको भएपनि सञ्चालक नै पक्राउ परेपछि हाल रोकिएको छ ।
सर्वसाधारणको निक्षेप नियम मिचेर हाउजिङ क्षेत्रमा लगानी गर्दा जसरी ओरेन्टल सहकारी डुबेको थियो, त्यस्तै अवस्था सिभिल सहकारीमा आएको छ । सहकारीका संस्थापक इच्छाराज तामाङलगायतले सहकारीको पैसा हाउजिङमा लगाएर संस्थालाई कर्जा तिरेका छैनन ।
करिब पाँच अर्बको उजुरी
सिभिल सहकारीविरुद्ध सीआईबीमा एक हजार १६७ ले उजुरी दर्ता गराएका छन् । जाहेरीमा उल्लेखित रकमको एकमुस्ट परिमाण चार अर्ब ६६ करोड १५ लाख ८२ हजार दुई सय छ । सीआईबी प्रमुख डीआईजी सिंहका अनुसार पक्राउ परेका सहकारीका संस्थापक अध्यक्ष तामाङसहित १२ विरुद्ध संगठित अपराधअन्तर्गत म्याद थप भई अनुसन्धान भइरहेको छ । उनीहरूविरुद्ध सीआईबीले १८ दिनको म्याद थप गरेको छ । ‘पक्राउ परेकाविरुद्ध संगठित अपराधअन्तर्गत म्याद थप भई अनुसन्धान भइरहेको छ । उनीहरूविरुद्ध ११ सय ६७ ले जाहेरी दिएका छन् । चार अर्ब ६६ करोड रुपैयाँ बिगो दाबी छ,’ सीआईबी प्रमुख सिंहले भने ।
तामाङले बिनाधितो सिभिल सहकारीबाट तीन कम्पनीको नाममा आठ अर्ब ऋण लिएर २१ कम्पनीमा लगानी गरेका छन् । सरदर एक करोड रुपैयाँका दरले सिभिल होम्सका ११ सय घर बेचे । यस आधारमा तामाङसँग न्यूनतम पनि १९ अर्ब सम्पति हुनु पर्ने हो । तर, अनुसन्धानबाट उनीसँग करिब साढे दुई अर्बको सम्पति मात्रै देखिएको छ । बाँकी सम्पति कहाँ छ ? प्रहरी खोजीमा जुटेको छ । सीआईबीले पक्राउ परेकाविरुद्ध बैंकिङ कसुर, ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अन्तर्गत रहेर अनुसन्धान अघि बढाएको छ । अभियुक्तले विदेशमा समेत रकम लुकाएर राखेको हुनसक्ने भन्दै त्यसतर्फ पनि अनुसन्धान अघि बढेको छ ।
विवादै विवाद
लामो समयदेखि विवादित रहेको सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित त्यसका सञ्चालकहरुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गर्यो । नेपाल प्रहरीको अनुसन्धान केन्द्रीय ब्युरोले संविधानसभाका पूर्व सदस्य एवं सिभिल बैंक तथा सिभिल समुहका अध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई पक्राउ गरेर अनसन्धान शुरु गरेपछि पीडितहरुको भीड नै लागेको छ । शुरुमा करिब ७० करोड ठगी गरेको उजुरी लिएर सीआईबीले अनुसन्धान शुरु गरेको थियो ।
सिभिल ग्रुरुपकै अध्यक्ष रहेका तामाङले आफैँले सञ्चालन गरेका कम्पनीहरू सिभिल होम्सलाई आठ अर्ब आठ करोड, सिभिल मललाई ३८ करोड, सिभिल स्टेटलाई पाँच करोड र सिभिल अपार्टमेन्टलाई ४४ करोड ३२ लाख गरी आठ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी रकम लगानी गरेका छन् । यी सबै लगानी विवादित हुन् ।
शुरुदेखि नै विवादमा रहेको सहकारीमा रकम बचतकर्ताहरूले उज्ज्वल सत्यालको संयोजकत्वमा संघर्ष समिति नै गठन गरेर धर्ना, नारा, जुलुस गर्दै संघर्षमा उत्रिएपनि उनलाई प्रहरीले पक्राउ गर्ने आँट गरेको थिएन । अहिले सरकार परिवर्तनको मौका पारेर उजुरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ । शक्तिको आडमा सधै छलिदै आएका तामाङका विरुद्ध विभिन्न निकायमा उजुरी परेको थियो ।
निर्वाध लगानी
वचतकर्ताको रकम जोखिममा पर्नुको कारण तामाङले सहकारीबाट अनधिकृत रुपमा ऋण लिएर अन्धाधुन्ध घरजग्गामा लगानी गरेको देखिन्छ । सहकारीको आर्थिक वर्ष ०७४/७५ को लेखापरीक्षण प्रतिवेदनमा सहकारीबाट आठ अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह भएको देखिएको थियो। त्यसमा तामाङको रियल स्टेट व्यवसायमा मात्र ९० प्रतिशत कर्जा लगानी भएको थियो ।
सहकारीका वचतकर्ताको रकम तामाङले सिभिल होम्स प्रालि, सिभिल अपार्टमेन्ट प्रालि र सिभिल इस्टेट प्रालिमा लगानी भएको थियो । घर–जग्गा कारोबारमा मन्दी आएसँगै सहकारीको रकम चलाएर फाइदा उठाउने तामाङको योजना असफल भएको छ । समयमा सहकारीको सावाँ र ब्याज फिर्ता गर्न सकेनन्। सहकारीले वचतकतर्ताको रकम फिर्ता गर्न सकेन।
बैंकको ऋण तिर्न समस्या भएपछि तामाङले सुन्धारामा बनाइरहेको सिभिल होम्स अपार्टमेन्ट बिक्री गरेका थिए । सिभिल बैंकमा रहेको श्रीमतीको संस्थापक सेयर बिक्रीका लागि कागजी छोडपत्र गरेर सिभिल बैंकमा रहेको १७ करोड ५३ लाखको संस्थापक शेयर बिक्री गरेका थिए । उता सहकारीलाई रकम उठाउन पनि समस्या । तामाङको हाउजिङमा लगानी गरेकाहरु पुन समस्यामा पर्दै गए ।
तर, सहकारीको सावाँ र व्याज तिर्न नसकेपछि वचतकर्ताहरुले सहकारी बोर्ड लगायतमा उनीविरुद्ध लामो समयदेखि उजुरी गर्दै आए पनि कारबाही हुन सकेको थिएन । पछि तामाङले सहकारीको अध्यक्ष केशवलाल श्रेष्ठलाई बनाए । उनी पनि सिभिल होम्समा संलग्न छन्। प्रहरीले श्रेष्ठलाई समेत पक्राउ गरेको छ ।
सम्पत्ति रोक्का
दुई वर्ष अघि नै व्यवसायी तथा पूर्वसभासद तामाङको सम्पत्ति छानबिनका लागि रोक्का भएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनको नाममा रहेको अधिकांश सम्पत्ति रोक्का राख्न विभिन्न निकायलाई पत्राचार गरेको थियो । तर तत्कालिन सत्तारुढ दल नेकपानिकट व्यवसायी तामाङको धेरै सम्पत्ति भने रोक्का भएको थिएन । सिभिल बैंकका अध्यक्ष र सिभिल होम्सका सञ्चालक रहेका उनले सिभिल सहकारीसमेत चलाउँदै आएका थिए । सोही सहकारीको रकम ठगी आरोपमा सीआईबीले पक्राउ गरेको हो ।
शुद्धिकरण विभागले विस्तृत अनुसन्धानको क्रममा मुद्दा नै चलाउनुपर्ने अवस्था देखिएकाले सम्पत्ति रोक्का राखिएको बताए पनि राजनीतिक दबाबले कारवाही गर्न सकेको थिएन । त्यतिबेला विभागले उनलाई बयानका लागि बोलाएको भएपनि उनी बयान दिन गएका थिएनन । उनको धेरै सम्पत्तिको स्रोत खुल्ने आधार नभेटिएपछि रोक्का राखिएको र विभागको छानबिनमा उनीसँग करिब ६० करोडबराबरको सम्पत्ति भेटिएको थियो ।
विभागको अनुसन्धानमा सहकारीको ९० प्रतिशतभन्दा धेरै रकम नियमविपरीत आफ्नो कम्पनीको नाममा लिइएको पाइएको थियो । विभिन्न २४ वटा कम्पनीमा उनको लगानी देखिएको छ । सिभिल होटेल, सिभिल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी, ल्होत्से भैरव बहुउद्देश्यीय कम्पनीलगायत कम्पनीको शेयरसमेत रहेको छ ।
विदेशमा सम्पत्ति राखेको आशंका
तामाङले आर्जन गरेको सबै सम्पत्ति हेर्दा अहिलेसम्म २ देखि ३ अर्ब मात्रै रहेको प्रहरी भनाई छ । तर यतिधेरै रकम कहाँ गयो भन्नेबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । सिटीसी महलसँगै बनेका दुई वटा अपार्टमेण्ट बेचेको पैसा सहकारी र बैंकमा समेत नभएपछि सो पैसा अहिले नेपालमा नभएको प्रहरीको अनुमान हो ।
अजेयराज सुमार्गीसँग समेत उनको उठबस भएपछि सुमार्गीसँगै मिलेर सो रकम विदेशी बैकमा हुनसक्ने प्रहरीले अनुमान गरेको छ । यद्यपि यो विषय पुष्टि भने भएको छैन । गुण सहकारीका राजेन्द्र शाक्यको पैसा विदेशी बैंकमा भएको खुलेपछि तामाङपनि पैसा विदेशी बैंकमा हुनसक्ने आशंका गरिएको अनुसन्धानमा संलग्न प्रहरीले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुके पठाइ दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार