गगन थापा : आमनिर्वाचन र कांग्रेस महाधिवेशनको हिरो !
चन्द्रमणि गौतम
मंसिर ४, २०७८ शनिबार २२:५८:२५
वाणी मानिसको सबभन्दा ठूलो शक्ति हो । वाणी नै वाण हो र वाणी नै कर्णप्रिय संगीत हो । वाणी धर्म हो । छान्दोग्य उपनिषदले भन्छ, यो समस्त भूतको रस पृथ्वी हो । पृथ्वीको रस पानी हो । पानीको रस औषधि हो । औषधिको रस मानव हो । मानव प्राणीको रस वाणी हो ।
नेपालको समकालिन राजनीतिमा वाणीका धनि हुन् नयाँ पुस्ताका कांग्रेस नेता गगन थापा । उनी आफ्ना वाणीका कारण भीड जम्मा गर्ने (क्राउड पुलर) शक्ति र सामथ्र्य राख्छन् । साविकमा उनका खुट्टा तानेर पत्तासाफ गर्न तम्सिएकाहरूसमेत चुनावी महाभारतको रथ पार लगाउन उनलाई गुहार्न पुगेकै हुन् । नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा उनले पार्टी महामन्त्रीको लागि उम्मेद्वारी घोषणा गरिसकेका छन् । यस पदका अन्य दावेदार उनका समकालीन वा दौंतरहरूमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा र प्रदीप पौडेल पनि छन् ।
कांग्रेसको गत (तेह्रौं) महाधिवेशनमा उनले गलत आंकलनका साथ कांग्रेस महामन्त्री पदकै लागि उम्मेद्वारी दिएका थिए । निर्वाचित हुने आंकलनका साथ उम्मेद्वारी दिएका थिए । यसै पदमा उम्मेद्वार भएका आफ्ना ससुरा–बुवा अर्जुननरसिंह के.सी.ले १०१७ र गगनको ५८४ मतका विरुद्ध बीपी पुत्र डा. शशांक कोइरालाले १४१७ मत पाएर विजयी भए । गगनको उक्त उम्मेद्वारी नियतवश नभए पनि परिबन्दले आफ्नै ससुरा–बुवाको विरुद्ध भएकोजस्तो देखियो । त्यो बेलाको गलत विश्लेषण र निष्कर्षलाई उनले यसपाली आमूल सुधार गरेका छन् । परिपक्वता प्रभावकारी छ । अहिलेको परिस्थितिका आधारमा हेर्दा दुईमध्ये एक महामन्त्रीको लागि गगनको प्रतिष्पर्धी छैनन् भन्नु अत्युक्ति नहोला ।
२०७० को निर्वाचनमा माओवादीले गगनलाई चितवनमा मार्नै खोजेर आक्रमण गरेको थियो, सौभाग्यवश उनी बचे । चुनावका क्रममा उनी जहाँ-जहाँ पुगे, त्यहाँ कांग्रेसको पक्षमा ५/७ सय मत बढाएरै हिँड्छन् । चुनाव हार्ने जोखाना देखेपछि २०७४ को निर्वाचनका बेला पनि उनलाई बुढानीलकण्ठ नजिक चपली (काठमाडौं) मा कम्युनिस्टहरूले सांघातिक हमला गरेका थिए । उनको वाणीको जादु यस्तो छ— उनको भाषणका लागि मानिस टाढाटाढाबाट समेत ओइरिन्छन् । गगन थापा सबै कांग्रेसजनका सम्पत्ति भएका छन् । तर कतिपय कांग्रेसजनका लागि उनी हाउगुजी बनेका छन् । आफ्नो राजनीति नै समाप्त पारिदिने अग्लो कदको हिरो बनेकोले अरू सबै बाउन्ने भएको लघुताभासबाट उनलाई लखेट्ने पनि कांग्रेस भित्रै छन् ।
गगन थापालाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ‘उदाउँदो पुस्ताको नेपालका प्रधानमन्त्री’का रुपमा देख्ने गर्दछन् । नेपालका अधिकांश युवाहरूले आगामी एक डेड दशकमा उनी नेपालको प्रधानमन्त्री हुने सपना र कामना सँगालेको पाइन्छ भनी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले कभरेज दिने गरेका छन् । युवा अवस्थामै उनी विघटित संविधानसभाका सदस्य भएका थिए भने पछिल्लो संविधानसभामा उनी सबभन्दा धेरै मत पाएर विजयी हुने शेरबहादुर देउबा, डा. बाबुराम भट्टराईको हाराहारीमा परेका थिए ।
नेपाल विद्यार्थी संघको उपसभापति, महामन्त्री र सदस्यका रुपमा रहेर काम गरिसकेका गगन थापा २०६२–६३ सालको आन्दोलनमा यति लोकप्रिय भइसकेका थिए कि अमेरिकी सिनेटमा नेपालको जनआन्दोलन र राजाको निरंकुश शासनको विरोधमा सिनेटरले भाषण गर्दा उनको नाम लिइन्थ्यो । पेट्रिक लेही त्यस्ता बृद्ध सिनेटर हुन् जसले आफ्नो भाषणमा गगनको नाम धेरैपटक उच्चारण गरे । यसरी नाम उच्चारणमा पर्ने नेपाली राजनीतिज्ञ विरलै छन् ।
२०७४ को संसदीय निर्वाचनमा कम्युनिस्टहरूको जोडदार हुरी–बतास आएपनि काठमाडौंको ४ नम्बर निर्वाचन क्षेत्रमा उनले ‘के.पी. ओलीका दाहिने हात’ मानिएका सल्लाहकार डा. राजन भट्टराईलाई करिब ५ हजार मतको फरकले हराउँदै निर्वाचन जिते । २०७० को संविधानसभा निर्वाचनमा २२ हजार ३३६ मत पाएर वर्तमान उपराष्ट्रपति, माओवादी ‘जनयुद्ध’कालका सर्बोच्च कमान्डर नन्दकिशोर पुन ‘पासाङ्’ लाई करिब साडबाह्र हजारको फराकिलो मतान्तरले हराएर अर्को रेकर्ड कायम गरे । बुलेटको हिरो ब्यालटले धूलो चाट्न पुग्यो । कांग्रेसको बाह्रौँ महाधिवेशनमा पार्टी केन्द्रीय समितिको २५ जना निर्वाचित सदस्यमध्ये उनी सबभन्दा बढी (२०६१) मत पाएर विजयी हुने सदस्य हुन् ।
दोस्रो जनआन्दोलनमा उनी विद्यार्थी नेताकै रुपमा नेपाली राजनीतिमा पनि युवा नेताको रुपमा चर्चित भइसकेका थिए । २०६० साल पुस १ गतेसम्ममा साविकको संवैधानिक राजतन्त्र कि सक्रिय राजतन्त्र भन्ने विवाद राजतन्त्र कि गणतन्त्र भन्ने बहसमा परिणत भयो । त्यो दिन २०१७ सालमा राजा महेन्द्रले गरेको देशघाती कदमको समर्थनमा राजावादीहरूको एउटा सानो समुहले सक्रिय राजतन्त्रको आवाज उठाएको दृश्य देखियो भने राजाको बढ्दो सक्रियताका बिरूद्ध युवा तथा विद्यार्थीको विशाल जुलुसले पार्टीका झण्डा र काला झण्डा बोकेर भव्य विरोध कार्यक्रम गरेको थियो ।
यसको नेतृत्व गर्ने गगन थापा लगायत नेपाली कांग्रेसकै गुरु घिमिरे, एमाले निकट अखिलका नेता पुरुषोत्तम आचार्यले राजतन्त्रविरोधी गणतन्त्रका नारा लगाएका थिए । यस बापत सरकारले गगन लगायतका विद्यार्थी नेताहरूलाई पक्राउ ग¥यो । तर यसले आन्दोलनको पक्षमा नयाँ लहर नै ल्यायो । पाँचपार्टीको आन्दोलनलाई फिस्टो जति पनि नमानेको शाही सत्ताका लागि गगनहरूको आन्दोलन देशब्यापी भएपछि अत्यास बढाउन थालेको हो । त्यसपछि गगन थापाको नेतृत्वमा शिक्षण संस्थाहरूमा विद्यार्थीबीच राजतन्त्रका बारेमा जनमत सग्रह भयो । जनमतमा ९५ प्रतिशतभन्दा बढीले राजतन्त्र हटाउनुपर्ने मागका साथ परिणाम आएपछि आन्दोलनले झन् सशक्तता पाएको हो । यसरी गगनले ०६२–६३ को आन्दोलनलाई ऊर्जा र गति दिए ।
राजनीतिशास्त्रमा एम.ए.को अध्ययन पूरा गर्नासाथ उनी पार्टीको राजनीतिमा सक्रिय भए । पत्रपत्रिकामा यिनी लेख–रचना लेखिरहन्छन् । ‘संविधानसभामा नेपाली कांग्रेस’ र ‘नेपाली कांग्रेसका ऐतिहासिक दस्ताबेज’ नामक यिनीद्वारा लिखित तथा सम्पादित पुस्तक पनि प्रकाशित छन् । अर्कातिर उनी कृषिजन्य उद्यम जस्तै बाख्रा पालन, मौरी पालन, मिटसप आदि ब्यवसाय पनि सञ्चालन गर्छन् । समाजसेवामा पनि उनी त्यति नै सक्रिय छन् । बिवाह भोजका लागि मातापिताले दिएको दुईलाख रुपैयाँ नगद उनले आफ्नी हजुरआमाको उपचार हुँदाहुँदै निधन भएको पाटन अस्पताललाई दान दिएको प्रसंग उल्लेखनीय छ ।
नेपाली कांग्रेसका जनप्रिय नेता अर्जुननरसिंह के.सी.का माइला ज्वाईँ गगनकी पत्नी अन्जना के.सी. थापा एडिनबरा विश्वविद्यालयबाट एम्.पी.एच. गरेकी चिकित्सक हुन् । २०३३ सालमा काठमाडौंको प्रसूतिगृहमा जन्मिएका गगनका मातापिता महेन्द्रकुमार थापा र रामेश्वरी थापा सोलुखुम्बुको खातापिता परिवारका हुन् ।
तीन दाजुभाईमा गगन माइला हुन् । पिताले सरकारी कर्मचारीबाट अवकाश पाइसकेका छन् । विद्युत प्राधिकरणमा इन्जिनियर भएकोले पिताको जागीरको क्रममा गगनको बाल्यकाल सिन्धुपाल्चोक जिल्लामा बित्यो । गगनको विद्यालय शिक्षा सिद्धार्थ वनस्थली हाइस्कूलमा भयो । २०४६ सालको जनआन्दोलनमा कक्षा ९ का विद्यार्थी गगन सक्रिय भए । एस.एल.सी.पास गरेपछि कलेज जीवनमा उनले रेडियोमा उद्घोषक हुनेदेखि ट्युसन पढाउने काम पनि गरे ।
चन्द्रमणि गौतम
वरिष्ठ पत्रकार चन्द्रमणि गौतम बिगत चार दशकदेखि नेपाली पत्रकारिता जगतमा क्रियाशील छन् । पत्रकारिताका साथसाथै अनुसन्धान, अनुसन्धानदाता र बौद्धिक व्यवसायमा पनि उनको निरन्तर सक्रियता छ । विभिन्न मन्त्रालयमा करिब आधा दर्जन मन्त्रीहरुको सल्लाहकारको रुपमा पनि उनले काम गरिसकेका छन् ।
लेखकबाट थपनेपाल नबन्नुको कारण
पुष २४, २०८१ बुधबार
जनताको पक्षमा काम गर्न नसकेका दलहरुका शीर्ष नेतृत्व छट्पटाउन थालेका हुन् ?
पुष २३, २०८१ मंगलबार
सांसदहरूले भ्रष्टाचार तथा अनियमितता रोक्ने कानुन बनाउने कि अझ बढाउने ?
पुष २०, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार