चिसो काठमाडौं तात्तियो बसन्त चौधरीका कविताले, एकसाथ दुई कृतिको विमोचन
नेपालबहस संवाददाता
पुस २१, २०७८ बुधबार २२:४१:४६
२१ पुस, काठमाडौं । पुस महिनाको मुटु कमाउने ठिही । घाम र बादलबीचको लुकामारी नियालिरहेको काठमाण्डौ । अरु जिउ तताउन घरि–घरि घुम्टो उघार्ने घाम पर्खिरहेका बेला कमलपोखरी छेउको मारवाडी सेवा सदनको हलमा भने अटीनअटी मानिसहरुको घूँइचो लाग्यो । काव्यका अनेक रस स्वादनका लागि काव्यप्रेमीहरु त्यहाँ जम्मा भएका थिए ।
बाहिरी जाडोलाई बेवास्ता गर्दै माहौल तताउन कनिष्ठदेखि वरिष्ठ साहित्यकार, कवि, गीतकार, गजलकार तथा स्रष्टाहरुको जमघाट चलिरहेको थियो । सन्दर्भ थियो–चर्चित कवि तथा गीतकार बसन्त चौधरीका दुई कृति एकसाथ लोकार्पणको । उनको नेपाली भाषाको कविता संग्रह ‘तिमीविनाको म’ र अंग्रेजी भाषाको कविता संग्रह ‘अनेक पल और मैं’ एक भव्य समारोहका बीच लोकार्पण गरियो ।
कुल ८५ वटा कविता समेटिएको ‘तिमीविनाको म’ र ८३ वटा रचना समेटिएका ‘अनेक पल औंर मैं’लाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, वरिष्ठ कवि तुलसी दिवस, स्वयम् कवि बसन्त चौधरी, ‘तिमीविनाको म’को प्रकाशक मेघा चौधरी, प्रसिद्ध आख्यानकार तथा प्राध्यापक श्रीमती भूवन ढुंगाना तथा मुम्बई विश्वविद्यालयको हिन्दी विभागका अध्यक्ष प्रा.डा. करुणा शंकर उपाध्यायले संयुक्त रुपमा लोकार्पण गरे ।
लामो समयको अन्तरालमा काव्यको रसस्वादन गर्ने अवसर जुरेर होला, कार्यक्रममा साहित्यकार तथा स्रष्टाहरुको निकै ठूलो जमघट देखिन्थ्यो । यसअघि आफ्ना सयौं सिर्जनाहरुलाई आठवटा पुस्तकको रुपमा बाहिर ल्याइसकेका कवि बसन्त चौधरीको व्यक्तित्व र उनको कृतित्वमाथि स्रष्टाहरुले खुलेरै टिप्पणी गरे ।
कार्यक्रममा ‘तिमीविनाको म’को समीक्षा गर्दै वरिष्ठ आख्यानकार भूवन ढुंगानाले बसन्त चौधरीको काव्यिक यात्राको प्रशंसा गरे। उनले चौधरीमा समकालीन साहित्यकार तथा कविहरुमध्ये छुट्टै दर्शन र व्यक्तित्व आफूले पाएको बताए । ‘उनको लेखन यात्राबाट मानिसले सम्पत्तिबाट होइन, सानो–सानो कुराबाट नै खुशी पाउँदो रहेछ भन्ने देखिन्छ ।’ उनले भने–‘खुशी प्राप्त गर्ने वा सन्तोष पाइने माध्यम साहित्य साधना पनि रहेछ भन्ने कुरा बसन्त चौधरीबाट सिक्न सकिन्छ ।’
पैसा र धन भन्ने कुरा भौतिक रुपमा अस्थायी मात्र रहेका र आफूलाई अम्मर राख्ने कुरा साहित्य सिर्जना नै हो भन्ने तर्कलाई बसन्त चौधरीले पुष्टि गरिदिएका उनको भनाई थियो । उनले आफूले चौधरीको कवितामा प्रकृति, प्रेम र जीवनको मूल उद्देश्य भेटेको समेत बताए । ‘कवितामा मातापिता र परिवारप्रतिको अगाध प्रेम देखिन्छ । प्रकृति र सृष्टिप्रति उस्तै प्रेम।’ उनले भने–‘रचनामा आफूलाई सुन्दर र सरल ढंगले प्रस्तुत गर्ने अचम्मको क्षमता छ बसन्त चौधरीजीमा ।’
उनले नेपालजस्तो देशमा व्यापारव्यवसाय गर्दा भोगिने र आइपर्ने दैनिकका अनेकौं समस्या र भद्रगोलका बीच पनि चौधरीले सुन्दर रचनाहरु दिइरहँदा समय कसरी व्यवस्थापन गर्नुहुन्छ होला भनेर आफू अचम्ममा पर्ने गरेको समेत सुनाए । ‘एकातिर सफल उद्योगपति पनि छन् भने अर्कोतिर साहित्य रचनामा चुर्लुम्म डूब्नसक्ने क्षमता पनि छ । समयको व्यवस्थापन कसरी हुन्छ होला ? म चकित परेकी छु ।’ उनले थपे–‘उनका कविताहरु सबै सरल छन्, भाव गहन । एकहिसाबले भन्दा उनका कविता तथा रचना भूपि शेरचनका झै सरल र गहन लाग्छन् ।’ चौधरीको कविताहरुमा प्रेम, विरह, प्रकृति, मानवको सोंच, देशकाल र परिस्थितिप्रतिको चिन्ता लगायतका कुराहरु आफूले भेटेको समेत ढुंगानाले बताए ।
हिन्दी कविता संग्रह ‘अनेक पल और मैं’को समीक्षा गर्दै प्रा.डा. करुणाशंकर उपाध्यायले एक शालीन र सरल व्यवहारका सशक्त कवि आफूहरुले पाएको दाबी गरिन् । ‘बसन्तका कविताहरुको बढी विशेषता जीवनको अनुभवबाट निक्लिएर आएको छ ।’ उनले थपिन–‘उका कवितामा जीवनबोध र दायीत्वबोध छ । उहाँ समाज र समयका खारिएका चित्रकार जस्तो देखिनुहुन्छ ।’ चौधरीले जीवनका अनेक पल र अनुभव आफ्ना कवितामार्फत व्यक्त गरेका र त्यो पढ्नेलाई समेत कवितासँगै आफू पनि आफ्नै जिन्दगीका पानाहरु पल्टाइरहेको आभास हुने डा. उपाध्यायले तर्क गरिन। ‘पाठकको हृदयमा सोझै बस्ने कविता लेख्नुहुँदो रहेछ ।’ उनले भनिन–‘उहाँका कविता पढ्दा, पाठक आफैंले लेखिरहेजस्तो वा आफ्नै कथाव्यथा पढिरहेजस्तो ।’
भारतका महाकवि जयशंकर र कवि बसन्त चौधरीको व्यक्तित्वमा आफूले समानता देखेको उनको भनाई थियो । ‘महाकवि जयशंकर पनि बसन्त जस्तै आफ्नो व्यापार व्यवसायमा व्यस्त रहेर पनि सिर्जना कर्ममा स्थापित थिए ।’ उनले थपे–‘उसैगरी व्यस्त क्षणमा समेत आफ्नो संवेदनालाई राम्रो मौलिकतामा प्रस्तुत गर्नु बसन्तको सवल पक्ष हो ।’
चौधरीका कवितमा गहनता र मौलिकता पाइने उनको टिप्पणी थियो । हिन्दी साहित्यका लागि समेत बसन्त चौधरीका कृति महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ थियो । ‘उनको कवितामा नेपालको मात्र होइन, भारतका समस्या, जीवनबोध, अन्तरवृति पनि समेटिएका छन् ।’उनले थपे–‘आफ्नो समय र समाजका तमाम चुनौति उनका कवितामा छन् । बसन्तजीको कविताले जयशंकरको याद दिलाउँछ ।’ नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपाली वाङ्मयमा बसन्त चौधरीले महत्वपूर्ण योगदान दिएका उल्लेख गरे ।
उनले चौधरी अब बरिष्ठ कविको रुपमा स्थापित भइसकेका उल्लेख गर्दै भने–‘जीवनलाई सोचेजस्तो अगाडि बढाउन साहित्यको महान परिभाषा दिनुभएको छ प्रेमिल भावनाबाट ओतप्रोत भएर ।’ उप्रेतीले प्रकृतिबाट प्राप्त प्रेमिल भावना बसन्त चौधरीले काव्यमा उतारेका बताए । ‘कवितामा उर्जापूर्ण सोचाई छन् । भावना व्यक्त गर्ने शैली पनि उत्कृष्ट छ ।’ उनले भने–‘बसन्त चौधरी एक स्थापित उद्योगपति भएर पनि साहित्यलाई समेत उत्तिकै प्राथमिकता दिएबाट एउटा पूर्ण नेपाली समाज बन्नका लागि कलासाहित्य कति महत्वपूर्ण रहेछ भन्ने पुष्टि हुन्छ ।’ वरिष्ठ कवि तुलसी दिवसले बसन्त चौधरीका सिर्जनाहरुमा आफूले उर्वरता देखेको टिप्पणी गरे ।
‘उनका सिर्जनाहरुमा उचाई, गहिराई र बिस्तारित रुप देखिन्छ । यी तीन चिज जुन सिर्जनामा हुन्छ, त्यो नै उत्कृष्ट कविता बन्छ, बसन्त चौधरीको सिर्जनामा यी चिज भेटिन्छन् ।’ उनले थपे–‘बसन्त चौधरीजस्तै आफ्नो मौलिकता कायमै राखेर कविहरुले कविता कोर्न सक्नुपर्छ, सिर्जना गर्न सक्नुपर्छ ।’ बसन्त चौधरीका कविताहरुमा मौलिकता, निजत्व, इमानदारिता आफूले भेटेको उनको भनाई थियो । ‘प्रियजन, देश, समाज यी सबैबिनाको म भन्ने भावबाट कविता संग्रह तयार भएको देखिन्छ ।’ उनले भने–‘जति पढ्यो, पढूँ पढूँ लाग्ने कविता लेखिएका छन् ।
कविता पूरै पढेपछि मात्र मज्जा आउने सिर्जना बसन्त चौधरीले गर्नुहुँदो रहेछ ।’ ‘तिमीविनाको म’ कविता संग्रहका प्रकाशक मेघा चौधरीलले बुबा भएर मात्र नभई मनैबाट अभिप्रेरित भई आफूले कविता संग्रह प्रकाशनको निर्णय लिएको बताए । ‘मैले मेरो बुबालाई व्यापार व्यवसायमा भन्दा साहित्य पढ्दा र कविता लेख्दा बढी खुशी देखेकी छु ।’ उनले थपे–‘बुबाको त्यही खुशी र आनन्दका लागि मैले प्रकाशक बन्ने निर्णय गरेकी हुँ ।’
उनले आफ्ना पिताले घरमा आमा र आफूलाई छेउमा र नातिनीलाई काखमा राखेर कविता तथा सिर्जना सुनाउने गरेको र त्यसबेला आफ्ना पिताको अनुहारमा गज्जबको उज्यालो देख्ने गरेको सुनाए । ‘मेरो बुबाको अनुहारमा सधैं यस्तै चमक देखिरहूँ ।’ उनले भने–‘यही कुराबाट प्रेरित भएर म प्रकाशक बनेकी हुँ ।’ कवि बसन्त चौधरीले दुवै कृतिबाट एक÷एक कविता समेत वाचन गरेका थिए ।
आफ्ना कविता संग्रहप्रति व्यक्ति विचार तथा टिप्पणीबाट आफूलाई आगामी दिनमा थप सिर्जना गर्न छुट्टै उर्जा प्राप्त भएको समेत सो क्रममा उनले बताए। सो कार्यक्रममा हालै भारतमा सम्पन्न कालिङ्गा साहित्य महोत्वसमा बसन्त चौधरीको हिन्दी कविता संग्रह ‘अनेक पल और मैं’ उत्कृष्ट कविता संग्रहको रुपमा पुरस्कृत भएको समेत जानकारी गराइएको थियो । त्यसको प्रमाणपत्र र ट्रफी कवि चौधरीलाई हस्तान्तरण समेत गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिभाको मण्डला कलाको एकल प्रर्शनी सुरु
पुष १३, २०८१ शनिबार
केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा
पुष २२, २०८१ सोमबार
यस्तो छ तरकारी र फलफूल आजको मूल्य
पुष २२, २०८१ सोमबार
एमाले केन्द्रीय समिति बैठक आज पनि, सदस्यहरूले बोल्ने क्रम जारी
पुष २२, २०८१ सोमबार
ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि
पुष २२, २०८१ सोमबार
पाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्दै गोरखा नगरपालिका
पुष २२, २०८१ सोमबार