ललितपुर महानगरपालिकाः फोहर व्यवस्थापन र खानेपानी नै प्रमुख एजेन्डा
नेपालबहस संवाददाता
बैशाख १६, २०७९ शुक्रबार २०:२५:३७
–सञ्चिता घिमिरे
१६ वैशाख, काठमाडौँ । ललितपुर महानगरपालिकामा गत निर्वाचनमा जस्तै आसन्न निर्वाचनमा पनि उम्मेदवारले खानीपानीको समस्या समाधान र फोहरमैला व्यवस्थापनलाई प्रमुख एजेन्डाका रुपमा अघि सारेका छन् ।
खासगरी सत्ता गठबन्धन दलका उम्मेदवार, नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलका उम्मेदवारले आफू विजयी भएमा यी समस्या समाधानमा लाग्ने प्रतिबद्धता जनाएका छन् । महानगरपालिकाबासी लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका छन् । विगतदेखि नै यो मुद्दा चुनावी मुद्दा बन्दै आएकामा यो पटक पनि मुख्य विषय बनेको छ । महानगरभित्र पर्याप्त स्रोत नभए पनि समस्या जस्ताको तस्तै छ ।फोहरमैला व्यवस्थापनका लागि महानगर आफैँले छुट्टै व्यवस्थापन गर्न नसक्दा सङ्घीय सरकारले निर्माण गरेको ल्यान्डफिल साइटमा निर्भर छ । सो ठाउँमा फोहर फाल्न नदिँदा पटक–पटक समस्या भएपछि त्यसको विकल्प छैन । तीनै तहमा उठ्ने यहाँका उम्मेदवारले सधैँ खानेपानीको समस्या समाधान गर्ने र सहर सफा बनाउने प्रतिबद्धता भने कहिल्यै छोड्दैनन् ।
नेपाली कांग्रेसका प्रमुखका उम्मेदवार चिरीबाबु महर्जन यसअघि पनि महानगरमा प्रमुख थिए । आफूले प्रमुखका रुपमा रहँदा पनि खानेपानी र फोहरमैला व्यवस्थापनको समस्या समाधानका लागि काम गरेको उनले बताए । फोहर व्यवस्थापन र खानेपानीको अभाव काठमाडौँ उपत्यकाभित्रका सबै पालिकाको साझा समस्या भएको उनको भनाइ छ । गतवर्ष केही समय उपत्यकामा मेलम्ची आउँदा कतिपय स्थानमा पानी गए पनि कतिपय ठाउँमा नगएको उनले बताए । विगतमा कुन ठाउँमा पानी आयो र कहाँ आएन भनी पत्ता लगाउन नसकिएकाले अब मेलम्ची आइसकेको अवस्थामा कहाँकहाँ समस्या छ पत्ता लगाइने उनले बताए । उनले भने, “पहिलो चरणमा त्यहाँ डिपट्युववेल खनेर पनि व्यवस्थापन गरिनेछ ।” काठमाडौँ महानगरपालिकामा जस्तो फोहरको ठूलो समस्या ललितपुरमा नभएको प्रमुखका उम्मेदवार महर्जनले बताए ।
आफ्नो पाँच वर्षे कार्यकालमा सुक्ष्म तरिकाले फोहरको व्यवस्थापन गर्दै आएको उनले बताए । काठमाडौँमा दुई तीन दिन उठेन भने पनि ठूलो समस्या हुन्छ तर ललितपुरमा झण्डै १५ दिनसम्म पनि आफैँ व्यवस्थापन गरिँदै आएको छ । त्योभन्दा बढी दिनसम्म पनि ल्यान्डफिल साइटमा फोहर पठाउन नसक्दा भने समस्या हुने उनले बताए । उनले भने, “बञ्चरेडाँडामा छिटोभन्दा छिटो सङ्घीय सरकारले हस्तान्तरण गरेमा स्थानीय सरकारले नै त्यसको व्यवस्था गर्नसक्छ । ”आफूले फोहर व्यवस्थापनका लागि महानगरको दक्षिणतर्फको ठाउँमा प्रयास गरेको भए पनि भूगोलका कारणले योजना अघि बढाउन नसकिएको प्रमुखका उम्मेदवार महर्जनले बताए । विगतमा सिसडोलमा फोहर पठाउन समस्या भएपछि एस्कलौटी फोहर व्यवस्थापनका लागि अध्ययन गर्न थाल्दा नागरिक उडययन प्राधिकरणले दक्षिण क्षेत्र उडययन् रुटमा फोहर फाल्दा दुर्घटनाको सम्भावना छ भनेकाले अघि बढाउन नसकिएको उनले बताए । उनले भने, “छुट्टै व्यवस्थापन गर्न नसकिए पनि हामीले सानासानो तहमा व्यवस्थापन गरेर दुई सातासम्म फोहर बाहिर निस्कन नदिएको छु ।”
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का ललितपुर महानगरपालिका प्रमुखका उम्मेदवार हरिकृृष्ण ब्यञ्जनकारले आसन्न निर्वाचनमा आफू विजयी भए पनि पहिलो कामका रुपमा महानगरको भित्री बस्तीमा रहेको खानेपानीको समस्या समाधानमा लाग्ने बताए । नागरिकको मौलिक हकका रुपमा खानेपानीको हक रहेको र त्यसको कार्यान्वयन गर्नु स्थानीय सरकारको जिम्मेवारी हुने उनको भनाइ छ ।
उनले भने, “मानिसको भान्छादेखि दैनिक जीवनमा समेत पानीले प्रत्यक्ष भूमिका खेल्ने भएकाले अब महानगरवासीले काकाकुल हुने अवस्थाको अन्त्य गर्न लागिनेछ ।” महानगरपालिकालाई फोहरमुक्त बनाउन आफूले योजना बनाएको प्रमुखका उम्मेदवार ब्यञ्जनकारले बताउनुभयो । फोहरलाई मलमा रुपान्तरण गर्ने लक्ष्य लिएको बताएका छन् । लामो समयसम्म फोहर उसै राख्दा रोगको जोखिम रहेकाले आधुनिक प्रविधिको प्रयोगमार्फत मल बनाएर खेतबारीमा प्रयोग गर्ने बस्तु बनाइने बताए। उनले भने, “म विजयी भएर गएपछि महानगरपालिकाको गल्लीमा कुनै दिन फोहर थुप्रेर रहने छैन ।”
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुखका उम्मेदवार अष्टबहादुर महर्जनले खानेपानी र सरसफाइ आफ्नो प्रमुख एजेन्डा रहेको बताए । आफू निर्वाचित भएपछि पहिले कुनकुन वडमा पानीको समस्या छ भनी विस्तृत रुपमा बुझ्न लाग्ने उनको भनाइ छ । समस्याको पहिचान भएपछि त्यसैका आधारमा बढी समस्या भएका ठाउँलाई प्राथमिकता दिएर कार्यक्रम अघि बढाइनेछ । उनले भने, “नगरको टोलटोल सफा भएपछि मात्रै नागरिक पनि स्वस्थ हुनेछन् ।”
नेकपा एमालेका तर्फबाट उपप्रमुखकी उम्मेदवार मञ्जली शाक्य ९आस्था० नागरिकको मौलिक हक कार्यान्वयन पहिलो प्राथमिकता रहेको बताउनुभयो । शिक्षा, स्वास्थ्य र खानेपानी नागरिकलाई पुर्याउने कुरामा ध्यान दिइने उनले बताए । नगरका कतिपय भित्री बस्तीमा धारामा कहिल्यै पानी नआउने समस्या रहेको छ । उनले भने, “सबै नागरिकलाई पानी खुवाउने योजना छ ।” सरसफाइको विज्ञ राखेर परियोजना अघि बढाउने र फोहरलाई मोहर बनाउने योजना कार्यान्वयनमा लैजाने उनले बताए । एक वर्षभित्र प्लाष्टिकमुक्त र फोहरमुक्त सहर बनाइने उनले बताए । सहरलाई सुन्दर र सफा बनाउनकै लागि भित्री सहरमा विद्युतीय गाडि चलाउने योजना उनले सुनाए । त्यसका लागि विभिन्न देशसँगको सहकार्यमा कार्यक्रम अघि बढाउने गरी छलफल भइरहेको छ । उनले भने, “पर्यावरणको संरक्षणका लागि ५० लाख बिरुवा रोप्ने योजना छ ।”
नेकपा (माओवादी) का तर्फबाट उपप्रमुखका उम्मेदवार बाबुराज बज्राचार्यले खानेपानी र ढल व्यवस्थापन गरेर सहर सफा बनाउने योजना रहेको बताए । भूगोल र जनसङ्ख्याका हिसाबले ठूलो नगर भएकाले धेरै समस्या रहेको र त्यसमा पनि सबैभन्दा ठूलो समस्याका रुपमा खानेपानीको समस्या रहेकाले त्यसको समाधानमा ध्यान दिइने उनले बताए । मेलम्चीको पानी महानगरका धेरै ठाउँमा नपुग्दा अहिले पनि पानीको समस्या हट्न सकेको छैन ।अहिले पनि महानगरका भित्री बस्तीमा ढलको समस्या छ । वर्षाको समयमा ढल फुटेर फोहरपानी बाहिर निस्कने समस्या रहेकाले नगर सफा सुग्गर बनाउने उपप्रमुखका उम्मेदवार बज्राचार्यको योजना छ । अहिले नटोलबाट ग्वार्खो जाँदा दायाँबायाँ हेर्दा फोहर जम्मा र ढल फुटेर नाला रहेका र त्यो र त्यस्तै समस्या समाधान गरिने उनले बताए ।
महानगरभित्र बधशालाको पनि समस्या रहेको कुरा आफुले लामो समयदेखि उठाउँदै आएको भन्दै उनले भने, “नागरिकले सफा मासु खान पाउने गरी व्यवस्था मिलाइनेछ ।” महानगरका उम्मेदवारले आर्थिक विकास, पूर्वाधार विकास, लैङ्गिक समावेशी महानगरको पनि योजना अघि सारेका छन् । कला र संस्कृतिको केन्द्रका रुपमा रहेको महानगरमा सम्पदा संरक्षणसमेत उम्मेदवारले प्राथमिकतामा राखेको पाइन्छ ।यही वैशाख ३० गते हुने निर्वाचनका लागि महानगरका प्रमुखमा १४ र उपप्रमुखमा १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । वडाध्यक्षमा १६९, वडा सदस्यमा २६६, महिला सदस्यमा १२६ र दलित महिला सदस्यमा ५७ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार