एन्फालाई प्रशिक्षक अल्मुताइरी र व्यवस्थापन हटाउन सुझाव
नेपालबहस संवाददाता
जेठ ६, २०७९ शनिबार १:५९:५४
६ जेठ, काठमाडौं । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीबीचको विवादको अनुसन्धानका लागि गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ ।
प्रतिवेदनमा कार्यदलले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र व्यवस्थापक मधुसुधन उपाध्ययलाई परिवर्तन गर्न सुझाव दिएको छ ।
प्रशिक्षकको विकल्प र एएफसी कप छनोट पछि व्यवस्थापकलाई हटाउन सिफारिस गरेको छ । प्रशिक्षक अब्दुल्लाहले आज नै विद्रोह गरेका १० खेलाडी सहित कप्तान क्रण कुमार लिम्बूलाई बाहिर राख्दै टिम घोषणा गरेका छन् । जसमा चार खेलाडीले मात्रै मौका पाएका छन् ।
एन्फाको कार्यसमिति बैठकले पूर्व खेलाडी भिक्टोर राणाको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । राणाको नेतृत्वमा गठित समितिमा पूर्व खेलाडी विदुर विष्ट र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा सदस्य रहेका थिए ।
तीन सदस्यीय समितिले एन्फा सचिवालयमा जेठ ४ गते पेस गरेको प्रतिवेदनमा दुवै पक्षको दोष देखाइएको छ भने स्पष्टरूपमा गल्तीबारे यकिन गरिएको छैन । खेलाडी र प्रशिक्षक, व्यवस्थापन सबै पक्षको दोष देखाइएको प्रतिवेदनले सबै पक्षलाई सचेत गराउने उपाय सुझाएको छ ।
कार्यदलले खेलाडी र अल्मुताइरीबीचको विवादमा टिम व्यवस्थापक उपाध्ययलाई पनि दोषी ठहर गरेको छ । कार्यदलले बुधबार एन्फालाई प्रतिवेदन बुझाएको प्रतिवेदनमा २८ पृष्ठ लामो ९ बुँदे सुझाव दिएको छ ।
वैशाख २५ गते गठित कार्यदलले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, महासचिव तुलाधर, खेलाडी, मुख्य प्रशिक्षक अल्मुताइरी, टिम व्यवस्थापक लगायतसँग सोधपुछ गरेको थियो ।
प्रतिवेदनमा व्यवस्थापक मधुसुधन उपाध्यय वन्द प्रशिक्षणमा र वैशाख १३ गतेको घटनामा पनि होटेलमा नरहेको भन्दै खेलाडीहरूसँग हुँदा पनि उनले आफ्नो पदीय जिम्मेवारी सन्तोषजनकरुपमा नसम्हालेको मुख्य प्रशिक्षक तथा खेलाडीहरूलाई सम्झाउन कोशिस नगरेको हुँदा यस घटना हुनुमा उनी जिम्मेवार देखिएको उल्लेख छ ।
उनलाई करिब ३ वर्ष नेपाली राष्ट्रिय टिमको मुख्य व्यवस्थापक भएर कार्य गर्ने जिम्मेवारी एन्फा सचिवालयले व्यक्तिगत विश्वासको आधारमा नियुक्ती दिएको पाइन्छ ।
एउटा राष्ट्रिय फुटवल टिमको नेतृत्व गर्ने कार्य क्षमता उनमा देखिदैन । जसले गर्दा एसिया कप छनौट प्रतियोगिता पश्चात उनलाई व्यवस्थापक पदबाट हटाउन सिफारिस गरिन्छ प्रतिवेदनमा भनिएको छ ।
कार्यदलले समस्या समाधानका लागि दिएका सुझावहरू
एसिया कप छनोटका लागि बन्द प्रशिक्षणमा रहेका मुख्य प्रशिक्षक र १० (दश) जना खेलाडीबीच भएको विवाद सुल्झाउन निम्न राय सुझावहरू सिफारिस गर्दछौँ–
(क) खेलाडी सम्बन्धी
(१) खेलाडी वन्द प्रशिक्षणबाट भागेर गएको तथ्यमा सत्यता देखिन्न । मुख्य प्रशिक्षकले ९ जना खेलाडीहरूलाई बारम्बार अमर्यादित भाषामा प्रशिक्षणबाट बाहिर जानु भनेपछि उनीहरू वाध्य भएको देखिन्छ । तर मुख्य प्रशिक्षकले खेलाडीको चोट, कार्य दक्षता वा अनुशासन के को आधारमा खेलाडीलाई निष्काशन गरेको स्पष्ट छैन ।
मुख्य प्रशिक्षकले बन्द प्रशिक्षणमा खेलाडीहरू छनौट भएको एन्फा महासचिवलाई पत्राचार गरी क्लवलाई खेलाडीहरूलाई पठाउन निर्देशन दिने गरेको तर, खेलाडी निष्काशन गर्दा सो प्रकृया नअपनाएको हुँदा त्यसको व्यवस्था गर्न उपयुक्त देखिन्छ ।
(२) मुख्य प्रशिक्षकले होटेल सम्बन्धी विषय बारम्बार नदोहोयाउनु भनेको र होटेल व्यवस्था भई सकेको अवस्थामा र उक्त विषय व्यवस्थापकको जिम्मेवारी हुँदाहुँदै खेलाडीहरूले सोही कुरा पुनः समुहगत रुपमा उठाएर बादविवाद सिर्जना गरी मुख्य प्रशिक्षकलाई अप्ठ्यारो अवस्थामा पुर्याउनू खेलाडी दोषी देखिन्छन् ।
(३) खेलाडीहरूलाई सहायक प्रशिक्षक, गोलकिपर प्रशिक्षक, टिम को–अर्डिनेटर र फिजियोले बैशाख १३ गते राती बाहिर नजान आग्रह गरे तापनि बाहिरिनु खेलाडीको गल्ती देखिन्छ ।
(४) बैशाख १४ गते मुख्य प्रशिक्षक तथा अन्य व्यवस्थापक समूहबाट फोन तथा मेसेजबाट सम्पर्क गरी समाधान गर्ने प्रयास गर्दा खेलाडीहरूबाट कुनैपनि प्रतिकृया नहुनु गैर जिम्मेवारीपूर्ण कार्य देखिन्छ
(५) एन्फाबाट समस्या समाधान गर्ने प्रयास र समझदारीको विकल्प हुँदाहुँदै खेलाडीहरूले प्रेश मिटिङ्ग गर्नाले समस्याले झन् बढि उग्र रुप लिएको । राष्ट्रिय खेलाडीले यस्तो अनुशासनहिन र गैरजिम्मेवारीपूर्ण कार्य गरेको देखिएको हुँदा उनीहरूले यस्तो गल्ती नदोहोरउने प्रतिवद्धता जनाएमा ति १० (दश) खेलाडीहरूलाई एसिया कप छनौट प्रयोगितामा मात्र सहभागी हुन बञ्चित गर्नुको साथै यस्ता किसिमको कृयाकलाप भविष्यमा दोहोयाएमा राष्ट्रिय फुटवल टिममा छनौट हुन अयोग्य हुनेबारे सचेत गराउन सिफारिस गरिन्छ ।
(६) खेलाडीहरूलाई एन्फा सचिवालयले र राज्यले पुर्याउन सक्ने उचित सेवा सुविधा प्रदान गर्दै आएकोमा यस्ता विषयमा पुनः विवाद नउठाउन सचेत गराउन सिफारिस गरिन्छ ।
(७) हालको वन्द प्रशिक्षण लगायत विगतका राष्ट्रिय लिग तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीहरूले अमर्यादित र अनुशासनहिन कार्य गरेका उदाहरणहरू विद्यमान छन् । भविष्यमा त्यस्ता गतिविधि नहुन अनुशासन सम्बन्धी ‘जिरो टेलरेन्स पोलिसी’ लागु गर्न सिफारिस गरिन्छ ।
(ख) मुख्य प्रशिक्षक
(१) मुख्य प्रशिक्षकले एन्फा सचिवालयको मातहतमा रही कार्य नगरी एक्लौटी र स्वेच्छाचारी रुपमा कार्य गर्ने प्रवृत्ति बढ्दै गएको हुँदा चेन अफ कमाण्डअनुसार कार्य गर्न निर्देशित गर्न सिफारिस गरिन्छ ।
(२) उहाँको मुख्य जिम्मेवारी खेलाडी छनौट, प्रशिक्षण र मूल्यांकन गर्नु रहेकोमा अन्य व्यवस्थापन सम्बन्धी कार्यमा समेत हस्तक्षेप गर्ने प्रवृत्तिलाई सच्याउन सिफारिस गरिन्छ ।
(३) एकै पटक ९ जना खेलाडी क्याम्प छाडेर जानुमा मुख्य प्रशिक्षक, व्यवस्थापक तथा एन्फा सचिवालयको पनि अवश्य केही त्रुटी छन् । मुख्य प्रशिक्षकको स्वास्थ्य स्थितिले गर्दा उत्तेजक र तनावमा देखिनु, स्वास्थ्य परीक्षणको लागि विदा स्वीकृत रहेको अवस्था, फरक सामाजिक र सांस्कृतिक परिवेश, बारम्बार विवाद, तथा सामाजिक संजालमा अनावश्यक टिकाटिप्पणी जस्ता कृयाकलापले गर्दा राष्ट्रिय टिममा स्वच्छ वातावरण नभएको देखिन्छ । यस्तो अवस्थामा भविष्यमा अरु समस्या उब्जने प्रवल सम्भावनालाई समेत नकार्न सकिदैन । तसर्थः एसिया कप छनौट प्रतियोगिता पछि कतार फुटबल संघसँगको सहयोगलाई निरन्तरता र सहमती कायम राख्दै मुख्य प्रशिक्षकको अर्को विकल्प खोज्न सिफारिस गरिन्छ ।
(४) विगतमा युवा तथा खेलकुद मन्त्रालयले गरेको छानबिनमा मुख्य प्रशिक्षकलाई संचार माध्यममा अनावश्यक टिकाटिप्पणी नगर्न सचेत गराएको अवस्थामा हालमा पनि उनले बारम्बार प्रचार प्रसार र संचार माध्यममा अमर्यादित र आचार संहिता विपरित टिकाटिप्पणी गरी बादविवाद निम्त्याई रहेको हुंदा यस्ता गतिविधि नगर्न पुनः सचेत गर्न सिफारिस गरिन्छ ।
(ग) मुख्य व्यवस्थापक
(१) उहाँ प्रायः वन्द प्रशिक्षणमा होटेलमा नरहनु र बैशाख १३ गतेको घटनामा पनि होटेलमा नरहेको देखिन्छ । खेलाडीहरूसँग हुँदा पनि उहाँले आफ्नो पदीय जिम्मेवारी सन्तोषजनकरुपमा नसम्हालेको मुख्य प्रशिक्षक तथा खेलाडीहरूलाई सम्झाउन कोशिस नगरेको हुँदा यस घटना हुनुमा उहाँ जिम्मेवार देखिनु हुन्छ ।
(२) उहाँलाई करिब ३ वर्ष नेपाली राष्ट्रिय टिमको मुख्य व्यवस्थापक भएर कार्य गर्ने जिम्मेवारी एन्फा सचिवालयले व्यक्तिगत विश्वासको आधारमा नियुक्ती दिएको पाइन्छ । एउटा राष्ट्रिय फुटवल टिमको नेतृत्व गर्ने कार्य क्षमता उहाँमा देखिदैन । जसले गर्दा एसिया कप छनौट प्रतियोगिता पश्चात उहाँलाई व्यवस्थापक पदबाट हटाउन सिफारिस गरिन्छ ।
(घ) सहायक प्रशिक्षक, गोलकिपर प्रशिक्षक, टिम को–अर्डिनेटर र फिजियो
(१) खेलाडी तथा मुख्य प्रशिक्षक वीच असमझदारी र वादविवाद बढ्दै गएको अवस्थामा समस्या समाधान तथा मुख्य प्रशिक्षकलाई सम्झाउन बुझाउन नसक्नु उहाँहरूको कमजोरी देखिन्छ । उहांहरूलाई राष्ट्रिय फुटवल टिमको विकासको लागि अझ प्रभावकारी र सशक्त भूमिका निभाउन आफ्नो कार्यदक्षता अभिवृद्धि गर्न सिफारिस गरिन्छ ।
(ङ) एन्फा पदाधिकारी सचिवालय
(१) १० (दश) जना खेलाडी तथा मुख्य प्रशिक्षकलाई एकै ठाँउमा राखी उनीहरूवीच भएको मनमुटाव मिलाई समझदारी कायम गर्न आवश्यक वातावरण मिलाउन सिफारिस गरिन्छ ।
(२) मुख्य प्रशिक्षकलाई आवश्यक निर्देशन प्रदान गर्न स्पष्ट नीति तथा चेन अफ कमाण्ड कायम गर्न सिफारिस गरिन्छ ।
(३) एन्फाको विधानमा भएका प्रावधान अनुरुप महत्वपूर्ण निर्णयहरू जस्तै मुख्य प्रशिक्षकको छनौट, टेक्निकल कमिटिको सुझावअनुसार कार्य समितिमा छलफल गरी उपयुक्त निर्णय लिन सिफारिस गरिन्छ ।
(४) टेक्निकल कमिटीलाई बढि कृयाशिल र सशक्त बनाई मुख्य प्रशिक्षक लगायत अन्य उमेर समूहको फुटवल खेलाडीहरूलाई प्रशिक्षक तथा व्यवस्थापकको छनौट, काम कर्तव्य र मूल्यांकन गर्ने आधार तयार गर्न सिफारिस गरिन्छ ।
(५) राष्ट्रिय फुटवल टिमलाई व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी वहन गर्ने व्यवस्थापक तथा पदाधिकारीहरूको छनौट गर्दा क्षमतावान तथा कार्यदक्षता भएका व्यक्ति खुल्ला प्रतिस्पर्धाबाट छनौट गर्न सिफारिस गरिन्छ ।
(६) राष्ट्रिय फुटवल टिमका मुख्य प्रशिक्षक व्यवस्थापक र अन्य पदाधिकारीहरूको कुनैपनि ‘जब डिस्क्रिप्सन’ नभएको अवस्थामा कार्य सम्पादनमा अस्पष्टता तथा विवाद हुन सक्ने हुंदा यस्ता व्यक्तिहरूलाई नियुक्ती हुनु पूर्व ‘जब डिस्क्रिप्सन’ तय गर्न सिफारिस गरिन्छ ।
(७) आचार संहिता (कोड अफ कन्डक्ट) को अभावमा प्रशिक्षक, खेलाडी तथा अन्य पदाधिकारीहरूले प्रदर्शन गर्नुपर्ने व्यवहार बारे मार्ग निर्देशनको अस्पष्टताले गर्दा अनुशासनहिन कार्य बढ्दै गएको हुँदा कोड अफ कन्डक्ट तय गरी लागू गर्न सिफारिस गरिन्छ ।
(८) राष्ट्रिय फुटवल खेलाडीहरूको बासस्थानको स्तर, वन्द प्रशिक्षण समय अवधि, खानपिन, खेलकुद सामग्री तथा भत्ता बारे लिखित रुपमा मापदण्ड तयार गर्न सिफारिस गरिन्छ ।
(९) टेक्निकल कमिटी, मुख्य प्रशिक्षक र अन्य क्लबका प्रशिक्षक सम्मिलित एउटा बोर्ड गठन गरी प्रत्येक वर्ष राष्ट्रिय लिग समाप्त भएपछि करिब १०० जना खेलाडीहरूको लिष्ट तय गरी हरेक पोजिशनमा ‘र्यान्क अर्डर’ गरी उक्त सूचीबाट राष्ट्रिय फुटवल टिममा छनौट गर्न सिफारिस गरिन्छ ।
(१०) मातहतको विभागसँग समन्वय गरी आवश्यक श्रोत जुटाई योग्य नेपाली फुटवल प्रशिक्षकलाई प्रोफेसनल फुटवल लाईसेन्सको लागि प्रशिक्षणमा पठाउन सिफारिस गरिन्छ ।
(११) एन्फाको होस्टेललाई अझ व्यवस्थित र सुविधायुक्त बनाई बन्द प्रशिक्षणमा खेलाडी राख्न सिफारिस गरिन्छ ।
(१२) एन्फाको कार्यकारी समितिका सम्पूर्ण अधिकारीहरू विभिन्न आन्तरिक खिचातानी र आसन्न एन्फाको चुनावको असरले वर्तमान मुख्य प्रशिक्षक तथा खेलाडीहरूको सामान्य समस्या समाधान गर्न असफल भएको देखिन्छ । यस्ता किसिमको घटना नदोहोरिन एन्फाको सांगठनिक संरचना, विभिन्न विभागका कार्य क्षेत्र, विधी विधान, आर्थिक सुशासन तथा माथिल उल्लेखित सुझाव कार्यान्वय गर्ने विज्ञ समूह गठन गरी उक्त समूहको राय सुझाव अनुसार कार्य सम्पादन गर्न सिफारिस गरिन्छ ।
पुनश्चः यस कार्यदलको प्रतिवेदन नेपालको राष्ट्रिय फुटवलको भविष्यसंग जोडिएको हुंदा उक्त प्रतिवेदन बुझाएको ७ (सात) दिन भित्र प्रतिवेदन सार्वजनिक गर्न अनुरोध गरिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवेस्टह्याम युनाइटेडको नयाँ प्रशिक्षकमा ग्राहम पोर्टर
पुष २५, २०८१ बिहिबार
सभापति कप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी माघमा हुने
पुष १८, २०८१ बिहिबार
फुटबलः चर्च ब्वाइज विजयी
पुष १२, २०८१ शुक्रबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार