तालपोखरामा डुङ्गा चढ्ने र हेर्नेको उत्साह
नेपालबहस संवाददाता
जेठ १५, २०७९ आइतबार २०:३८:२०
♦ सुशीला रेग्मी
१५ जेठ, रामपुर ‘पाल्पा’ । ‘मिनि फेवाताल’को नामले चिनिएको रामपुरको तालपोखरामा यतिबेला पर्यटकको आकर्षण बढेको पाइएको छ । यहाँ नयाँ र आरामदायी खालको डुङ्गा सुचारु गरिएपछि तालपोखराले पर्यटक लोभ्याइरहेको हो । पर्यटकलक्षित हाँस आकारको फाइवर प्याडल डुङ्गा चढ्ने र हेर्नेको उत्साह छ ।
निस्दी गाउँपालिका–४ मित्यालका निर्मल राना हाँस आकारको डुङ्गा सयर गर्दा काठको डुङ्गाको तुलनामा बेग्लै रमाइलो भएको बताउछन् । पारिवारिक घुमघामका लागि तालपोखरा आएका रानाले निर्धक्कका साथ तालमा घुम्दा निकै रमाइलो लागेको सुनाए । “काठको डुङ्गाको तुलनामा धेरै आनन्ददायी लाग्यो, डुङ्गाभित्र पानी पस्छ कि भन्ने डर पनि भएन, ढुक्कका साथ नयाँ डुङ्गामा परिवारसहित ताल घुमियो, धेरै आनन्द लाग्यो” उनले भने ।
उक्त डुङ्गामा आठ जनासम्म बस्न मिल्ने, सुरक्षित खालको, फोटो, भिडियो खिच्न सहज, एकै पटक धेरै जना सयर गर्र्न मिल्ने सुविधा छ । त्यसकारण पनि यस डुङ्गामा बसेर तालमा घुम्दै सेल्फी खिच्ने, टिकटक बनाउने, भिडियो तथा फोटो खिच्नेहरु बढेका हुन् ।
रामपुरमा नयाँ र देख्दै आकर्षक खालको भएकाले यहाँ घुम्न आउने पर्यटकले अनौठो मान्दै अवलोकन गर्ने गरेको बताउछन्, स्थानीय भगवती खनाल । उनी भन्छन, “सानो काठको डुङ्गामा चढ्दा पानी पस्ने, हल्लिँदा डुङ्गा पल्टिँन्छ कि भन्ने मनमा त्रास हुन्थ्यो भने यसमा ढुक्क भएर चढ्न पाउँदा धेरै खुशी र रमाइलो लागेको छ ।”
यस आर्थिक वर्षमा रामपुर नगरपालिकाले जलमार्ग सामग्री खरिदका लागि रु १० लाख रकम उपलब्ध गराएको थियो । सो रकमबाट एउटा हाँस आकारको फाइवर प्याडल डुङ्गा रु चार लाखमा र एउटा काठको डुङ्गा रु दुई लाख ४० हजार खरिदमा खर्च गरिएको छ । बाँकी रकम तालपोखरा परिषरको करिब १४० मिटर पक्की बारबन्देज व्यवस्थापनमा खर्च गरिएको तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटाले बताए ।
“पर्यटकहरु विभिन्न ठाउँबाट तलापोखरा हेर्नकै लागि आउछन, नयाँपन दिन र पर्यटन प्रवद्र्धनका लागि पोखराबाट हाँस आकारको नयाँ डुङ्गा खरिद गरी चलाउन थालेपछि तालपोखरामा छुट्टै खालको रौनकता थपिएको छ” उनले भने ।
दिउँसो र साँझपखको समयमा ताल वरपरको प्राकृतिक वातावरणमा रमाउँदै आनन्द लिने युवाको सङ्ख्या यहाँ बढ्दो छ । पाल्पाको सदरमुकाम तानसेनबाट करिब ६५ किलोमिटर पूर्वमा अवस्थित रामपुरको तालपोखरालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएपछि यहाँ आउने आन्तरिक पर्यटक ह्वात्तै बढेका हुन् ।
डुङ्गा चालक भगवान देवकोटाले हाँस आकारको डुङ्गाले रौनकता थपेको र यसैमा धेरैको आकर्षण बढेको बताउछन । उनी भन्छन, “नयाँ आउने पर्यटक आश्चर्यजनक मान्दै डुङ्गा चढ्ने गर्छन, यसमा सयर गर्दा आनन्दको अनुभूति हुने, देख्दै आकर्षक खालको रहेकाले पनि सबै उमेर समूहलाई लोभ्याइरहेको छ” । हाँस डुङ्गा प्रतिव्यक्ति रु १०० र काठको डुङगा प्रतिव्यक्ति रु ५० शुल्क कायम गरिएको छ ।
तालमा हाल दैनिक दुई डुङ्गा चालकको व्यवस्था गरिएको छ । बिहान ७ बजेदेखि साँझ रात नपरुन्जेलसम्म डुङ्गा सञ्चालन गर्ने गरिएको बताउछन, चालक श्रीधर पराजुली । उनका अनुसार विशेषगरी तालपोखरामा युवायुवती र बालबालिका डुङ्गा सयर गर्दै सेल्फीमा रमाउने, भिडियो तथा टिकटक बनाउने र फोटो खिचाउनेको भीड लाग्छ । हाल यहाँ दैनिक एक हाँस डुङ्गा र दुई काठको डुङ्गा सञ्चालनमा ल्याइएको छ ।
एक सय पर्यटकीय गन्तव्यस्थलका रुपमा सूचीकृत पर्यटकीयस्थल तालपोखरामा हालसालै विभिन्न पूर्वाधार स्तरोन्नतिका काम सम्पन्न गरिएपछि यसको सुन्दरताले पर्यटकलाई लोभ्याएको छ । पोखराको फेवातालको झल्को दिनेगरी पर्यटकीय पूर्वाधारका कार्य भएपछि अहिले रामपुरको पर्यटन विकासमा यसले योगदान दिएको छ ।
प्रयोगमा नआउने सामान्य खाडलजस्तो जमिनलाई तालको रुपमा विकास गरी पर्यटकीय क्षेत्र बनाइएको छ । यहाँका स्थानीय र समितिले एक दशकदेखि तालपोखराको स्तरोन्नतिमा भौतिक पूर्वाधारका काममा जोड दिँदै पर्यटकीय गन्तव्यस्थलका रुपमा चिनाउन सफल भएका छन् ।
हालसम्म विभिन्न क्षेत्रको सहयोगमा पर्यटकीय पूर्वाधार विकासमा रु तीन करोड ५० लाख बढी रकम खर्च भइसकेको छ । श्रीमद्भागवत धान्याञ्चल ज्ञान–महायज्ञ गरी विसं २०६६ बाट यहाँ पर्यटन प्रवद्धर््नको काम सुरु गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गरिएको हो । फेवातालको झल्कोस्वरुप तालको बीचमा मन्दिर निर्माण गरिएको छ । यहाँ २०७४ माघ २४ गतेदेखि डुङ्गा सञ्चालन सुरु गरिएको हो । कोरोनाको कहरमा केही समय बन्द रहे पनि अहिले भने नियमित रुपमा डुङ्गा सञ्चालन भइरहेको छ ।
करिब ४५ रोपनी क्षेत्रफलमा ताल फैलिएको छ । तालकोबीच भागमा जलेश्वर महादेवको मन्दिर छ । ताल वरिपरी घेराबार, प्रवेशद्वार, पर्यटकका निम्ति फोटो खिचाउन तालको आडैमा सेल्फी जोनको व्यवस्था छ । यसको नाममा पोखरी र पार्कसमेत छ । पार्कमा विभिन्न कार्यक्रम, वनभोज हुन्छ । ताल र पार्कसहित करिब ७५ रोपनी क्षेत्रफल तालपोखरा समितिको नाममा छ
वर्षायामको पानी जम्मा हुने पोखरीलाई विकास गरी तालको रुपमा परिणत गरिएको हो । हाल यहाँ स्थानीय कुलो, नहरबाट पानी व्यवस्थापन गरिएको छ ।
तालपोखरामा पर्यटक दैनिकजसो बढ्दै जान थालेपछि पार्क परिसरमा बाल–उद्यान तयार गर्ने समितिले जनाएको छ । पार्क व्यवस्थित गर्ने, बाल–उद्यान निर्माणका सामग्री खरिद, तालकोबीच भाग ‘मन्दिर परिसरमा’मा पर्यटकलक्षित बस्ने ठाउँको व्यवस्थापन गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारसमक्ष वजेट माग गरी पुर्वाधार निर्माण गर्ने जनाइएको छ । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
अझै स्तरोन्नति भएन सहीद मार्ग, सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य
पुष २९, २०८१ सोमबार
जिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित
पुष २९, २०८१ सोमबार
कर्णालीका दुग्ध उत्पादक किसानलाई प्रोत्साहनबापत एक करोड २३ हजार भुक्तानी
पुष २९, २०८१ सोमबार
स्वर्णलक्ष्मी सहकारी ठगीमा रविको बयान सकियो, आजदेखि थुनछेक बहस
पुष २९, २०८१ सोमबार
यी पाँच प्रदेशमा वर्षा हुने, हिमाली भू–भागमा हिमपातको सम्भावना
पुष २९, २०८१ सोमबार
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
पुष २९, २०८१ सोमबार