बन्दीपुरको घरबासमा पर्यटकको चहलपहल बढ्दै
नेपालबहस संवाददाता
जेठ १८, २०७९ बुधबार २०:४५:३०
♦कृष्ण न्यौपाने
१८ जेठ, दमौली । तनहुँको चर्चित पर्यटकीयस्थल बन्दीपुरमा संचालित घरबास आन्तरिक पर्यटकको रोजाइँमा पर्न थालेको छ । बन्दीपुर गाउँपालिकामा संचालित बन्दीपुर सामुदायिक घरबासमा हाल आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो । कोभिड–१९ को जोखिम घटेपछि बन्दीपुरमा संचालित सामुदायिक घरबासमा पर्यटकको चहलपहल बढेको बन्दीपुर सामुदायिक घरबास व्यवस्थापन समितिका अध्यक्ष दिलकुमारी रानाले बताए । “कोभिड–१९ को सङ्क्रमणका कारण लामो समय बन्दीपुरको पर्यटन ठप्पै भयो,” उनले भने, “अहिले जनजीवन सामान्य बनेपछि बन्दीपुर घुम्न आउनेको सङ्ख्या क्रमश बढिरहेको छ ।” बन्दीपुर आउने अधिकांश पर्यटक घरबासमा बस्न रुचाउने गरेको उनले बताए ।
अन्य दिनको तुलनामा शुक्रबार र शनिबार घरबासमा बस्न आउने पर्यटकको सङ्ख्या बढी हुने गरेको हो । “ती दिनमा हामीलाई पाहुना स्वागत गर्न भ्याइनभ्याइ हुन्छ, उनीहरुको स्वागतार्थ पूर्वतयारी गर्नुपर्ने पनि हुन्छ” रानाले भने । उनका अनुसार एकदिन मात्रै घरबासमा बस्ने गरेर आएका पर्यटक एकदिन मात्रै नभइ दोस्रो दिन पनि बस्ने गरेका छन् । “एक दिन मात्रै बस्दा रहर पुगेन भनेर अर्को दिन पनि बस्नुहुने पर्यटकको सङ्ख्या पनि धेरै नै छ,” उनले भने ।
घरबासमा बस्ने पर्यटकलाई बेलुकाको समयमा स्वागत र जाने बेलामा बिदाइ गर्ने गरिएको छ । “घरबासमा बस्दा पाहुनाहरुले पारिवारिक वातावरणमा बसेको जस्तो अनुभूति भएको हामीलाई प्रतिक्रिया दिनुहुन्छ, होटलमा बस्दा त्यस्तो अनुभव गर्न सायद पाउनुहुँदैन,” उनले भने । बन्दीपुर सामुदायिक घरबास व्यवस्थापन समितिका पूर्व अध्यक्ष राजु बानियाँका अनुसार पर्यटकीय मौसमका बेलामा घरबासमा थेग्नै नसकिने भीड हुन्छ । बेमौसममा पनि समूह–समूहमा पाहुना आउने गरेको उनले बताए । “समूहमा आउने पर्यटकलाई यहाँका सबै घरबासमा मिलाएर राख्ने व्यवस्था मिलाइन्छ,” उनले भने ।
यहाँ बन्दीपुर सामुदायिक घरबास, मोहोरिया घरबास र विन्ध्यावासिनी घरबास सञ्चालित छ । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बन्दीपुरमा सञ्चालित घरबासले पर्यटक आकर्षित गरेको बताउनुभयो । “बन्दीपुरको पर्यटन प्रबद्र्धनका लागि घरबासले पनि महत्वपूर्ण भूमिका निभाउँदै आएका छन्,” उनले भने । पोखराबाट घरबासमा बास बस्न आउनुभएका हरि पौडेलले घरबासको आतिथ्यता र सत्कार देखेर खुशी लागेको बताउनुभयो । बन्दीपुरमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको बन्दीपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेलले जानकारी दिए ।
बन्दीपुर गण्डकी प्रदेशको दोस्रो पर्यटकीय गन्तव्य पनि हो । यहाँबाट अन्नपूर्ण, माछापुच्छे, धौलागिरिलगायतका हिमशृङ्खला देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ ।
कोलाहल, धुँवाधुलोबाट केही टाढा घुम्न जाने सोच बनाएकालाई बन्दीपुर उत्कृष्ट गन्तव्यको रुपमा विकास भइरहेको छ । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर दूरीको डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि पर्यटकीय बन्दीपुर पुगिन्छ । १८औँ शताब्दीमा भक्तपुर र बनेपाबाट आएका नेवारहरुले भक्तपुरे शैलीमा घर र ढुङ्गा विछ्याइएको बाटो निर्माण गरेका थिए ।
बन्दीपुरमा अहिले पनि घर निर्माणमा मौलिकता अपनाउने गरिएको छ । बन्दीपुर बजारमा भएका पुरानो घरको आकर्षणले गर्दा पर्यटकको आगमन बढ्दै गएकाले गाउँपालिकाले बजार क्षेत्रभित्र आधुनिक र पश्चिमेलीशैली झल्किने गरी घर बनाउन निषेध गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार