म्याग्दीको लाम्पाटा–दरबाङ सडक अलपत्र
नेपालबहस संवाददाता
जेठ १९, २०७९ बिहिबार २०:२:५६
१९ जेठ, म्याग्दी । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्ड निर्माण अलपत्र परेको छ । निर्माण कम्पनीका व्यक्ति सम्पर्कविहीन हुँदा सर्वसाधारण जीर्ण, कच्ची, धुलाम्मे र हिलाम्मे सडकमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । पूर्वाधार विकास कार्यालय म्याग्दीसँग मंगला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न ठेक्का सम्झौता गरेको बिरुवा–क्याराभान जेभी एक महिनादेखि सम्पर्कविहीन अवस्थामा रहेको छ ।
२०७८ वैशाखदेखि मंसिरसम्म रोकिएको सडक निर्माणका लागि मुख्य ठेकेदारले हिमालयन विल्डर्सलाई सहायक ठेकेदारको रुपमा गत पुस महिनामा कार्यक्षेत्रमा परिचालन गरेका थिए । मूल ठेकेदारबाट भुक्तानी नपाउँदा सहायक ठेकेदार हिमालयन विल्डर्सले गत वैशाख अन्तिम सातादेखि काम छाडेपछि सडक निर्माण अलपत्र बनेको हो ।
पूर्वाधार विकास कार्यालय म्याग्दीका निमित्त प्रमुख गुरुदत्त अधिकारीले फोन र पत्रमार्फत ताकेता गरिए पनि बिरुवा–क्याराभानका प्रतिनिधिले काम सुचारु नगरेको बताए । “निर्माण व्यवसायीलाई फोन र पत्रमार्फत ताकेता गरेका छौँ”, उनले भने “मन्त्रालयमा जानकारी गराएर जमानत जफतका लागि बैंकमा पत्राचार गरिएको छ ।”
विसं २०७६ जेठ ३१ गते रु २२ करोड ५७ लाख ९३२ मा ठेक्का सम्झौता भएको आयोजना २०७८ जेठमा निर्माण सक्नुपर्ने समयसीमा तोकिएको थियो । विसं २०७८ चैत महिनामा अन्तिम पटक थपिएको सम्झौताको म्याद सकिए पनि समय थपका लागि समेत ठेकेदारले प्रक्रिया अघि बढाएका छैनन् । हालसम्म करिब ५५ प्रतिशत भौतिक प्रगति भएको छ ।
सहायक ठेकेदारले रणवाङ र रातोढुंगा क्षेत्रमा पर्खाल निर्माण तथा बलौटेमा म्याग्दी नदी नियन्त्रणका लागि किनारमा पर्खाल बनाएका थिए । सो खण्डमा पर्ने बांगेपहिरो क्षेत्र पहिरोग्रस्त र जोखियुक्त छ । अधुरो, अधकल्चो हिलाम्मे र धुलाम्मे सडकमा जोखिमपूर्ण यात्रा गर्नुपरेको मंगला गाउँपालिका–२ रणवाङका श्रीराम पौडेलले बताए ।
“दुई तीन वटा ठेकेदार फेरिएका छन्, कसैले पनि काम पूरा गरेका छैनन्, अधकल्चो मात्रै बनाएर छाडेका छन्,” उनले भने “पूर्वाधार विकास कार्यालय, प्रशासन र जनप्रतिनिधिमार्फत दबाब दिए पनि अटेरी गरेका देखिन्छ ।” सडकमा थुपारिएको माटो, ढुंगा र खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढाएको छ । लथालिङ अवस्थामा रहेको सडकमा सवारीसाधन संचालन गर्न निकै कठिनाई भइरहेको यातायात व्यवसायी शक्ति छिनालले बताए ।
मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पूर्वाधार विकास कार्यालयले तीन वटा प्याकेजमा स्तरोन्नति गरिरहेको छ । लामा–समानान्तर जेभीले ठेक्का लिएको बेनी–सिम खण्डको साढे १२ किलोमिटर दुरिको बेनीदेखि सिमखण्ड कालोपत्रको अन्तिम चरणमा पुगेको छ । बेनीदेखि तातोपानी सम्मको ९ किलोमिटर दुरिमा कालोपत्र गरिसकेको र तातोपानीदेखि सिमसम्मको सडकमा कालोपत्र गर्न थलिएका पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख अधिकारीले बताए ।
विसं २०७४ असोज ४ गते रु ४५ करोडमा ठेक्का सम्झौता भएको यो सडक २०७६ माघ ४ गते निर्माण सक्ने लक्ष्य लिइएको थियो । सिमदेखि लाम्पाटा खण्डको चार किलोमिटर सडक कालोपत्र गर्न पुस १८ गते ओमबुद्ध निर्माण सेवा बसुन्धराले रु १० करोड ७० लाख २१ हजारमा ठेक्का सम्झौता गरेको थियो । १८ महिनाको ठेक्का अवधि भएको ओमबुद्धले पहिलो चरणमा सडक विस्तारको काम थालेको छ ।
सडकलाई आठ मिटर फराकिलो बनाएर, सात मिटर चौडाइमा डिबिएसडी कालोपत्र, नाली र पर्खाल निर्माण गर्न लागिएको हो । विसं २०६३ मा मार्ग खुलेको २४ किलोमिटर दुरीको बेनी–दरबाङ म्याग्दीको मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने एकमात्र मार्ग हो । यो सडक बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार