बेनीको खुलामंचमा ‘मिनी रंगशाला’ बनाउने योजना अलपत्र
नेपालबहस संवाददाता
जेठ २६, २०७९ शुक्रबार ०:११:२३
♦ कमल खत्री
२५ जेठ, बेनी । म्याग्दीको सदरमुकाम बेनीस्थित खुलामञ्चमा लामो समयदेखि युवाले खेलकुद अभ्यास गर्न पाएका छैनन् । खुलामंचलाई स्तरोन्नति गरी मिनी रङ्गशाला बनाउने काम सुरु भएको वर्षौं बिते पनि बजेट अभावले योजना अलपत्र बनेको छ । खुलामंचमा खेल अभ्यास गर्ने खेलाडी यसअघि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरसम्म पुगिसकेको भए पनि केही वर्षयता खुलामंच खेलमैदान प्रयोगविहीन बनेको छ ।
खुुलामञ्चको पूर्वाधार योजना अलपत्र बनेको र निर्माण सामग्री अव्यवस्थितरुपमा राखिएको कारण विभिन्न समयमा हुँदै आएका खेलकुद प्रतियोगितासमेत प्रभावित बनेका छन् भने बेनीस्थित विभिन्न विद्यालय र क्लबका खेलाडीले खेल अभ्यास राम्रोसँग गर्न पाएका छैनन् । मिनी स्टेडियम बनाउने योजनामा खेलमैदानलाई फराकिलो बनाउने र प्यारापिट बनाउने पूर्वाधारसमेत बीचैमा अलपत्र बनेका छन् ।
पूर्वाधार निर्माण योजनाले पूर्णता पाउन नसक्दा युवालाई खेलकुद अभ्यासमा कठिनाइ र फुटबल प्रतियोगिता आयोजना गर्न नपाएको एभग्रीन युवा क्लबका अध्यक्ष नीरज राम्जालीले बताए । “खुलामंचमा पछिल्लो समय खेलकुद अभ्यास गर्न गाह्रो छ, ढुंगा, बालुवा र सडक कालापत्रे गर्ने अलकत्रालगायतका सामग्री खुलामञ्चमा राख्दा अभ्यास गर्ने मैदानको स्वरुप बिग्रिएको छ, खेलकुद अभ्यासमा युवा घाइते हुने अवस्था सिर्जना भएको छ”, अध्यक्ष राम्जालीले भने ।
खुलामंचलाई मिनी रंगशाला बनाउने योजनासहित अघि बढे पनि बजेटको निरन्तरता नहुँदा पूर्वाधार निर्माण अलपत्र परेको हो । खुलामंच खेलमैदान मात्र नभएर व्यापारिक मेला महोत्सव, सांस्कृतिक कार्यक्रम र राजनीतिक सभा हुने स्थल पनि हो । बजेटमा निरन्तरता नहुँदा निर्माणाधीन प्यारापिट अलपत्र छ । संघ, प्रदेश र स्थानीय तहले खुलामंचको पूर्वाधार निर्माणमा प्राथमिकता नदिएको युवा क्लबको गुनासो छ ।
अलपत्र अवस्थामा रहेको खुलामंचलाई पूर्णता दिने गरी बजेटको लागि नगरमा छलफल अघि बढाउने बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले बताए । कालीगण्डकी किनारतर्फ खुलामंचलाई फराकिलो बनाउने किसिमले प्यारापिट निर्माणका लागि सुरु गरिएको काम पिल्लर राख्नेमा मात्र सीमित भएको छ ।
जिल्ला सदरमुकाम बेनीमा फराकिलो प्यारापिटसहितको स्तरीय रङ्गशाला बनाउने योजनासँगै जिल्ला खेलकुद विकास समितिले २०७४ सालमा डिपिआरसहित रु नौ करोडको लागत अनुमान सार्वजनिक गरेको थियो । कालीगण्डकी र म्याग्दी नदीमा पक्की पर्खाल र पुरानोभन्दा फराकिलो ११÷११ जना फुटबल खेल्न मिल्ने खेलमैदान बनाउन ९६ मिटर लम्बाइ र ४५ मिटर चौडाइ भएको मिनी स्टेडियम बनाउने योजना छ । हालसम्म रु तीन करोडभन्दा बढी लगानी भएको खुलामंचलाई व्यवस्थित बनाउन रु नौ करोडभन्दा बढी खर्च हुने अनुमान गरिएको छ ।
कोरोना कहर र त्यसपछि समेत बजेट विनियोजन नभएपछि खुलामंचको पूर्वाधार निर्माण प्रभावित बनेको हो । आर्थिक वर्ष २०७७÷०७८ मा यो योजनामा कतैबाट पनि बजेट विनियोजन भएन । आव २०७८÷७९ मा पनि विगतमा दिएको आश्वासनअनुसार बजेट विनियोजन नहुँदा खुलामंचको स्वरुप फेर्दै रंगशाला बनाउने योजना अधुरै बन्ने भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार