डरलाग्दो कुरीति बोक्सी आरोपमा दुई वृद्धामाथि कुटपिट, प्रहरी के गर्दैछ ?
नेपालबहस संवाददाता
जेठ २९, २०७९ आइतबार १३:१३:३
♦ विशाल बस्नेत
२९ जेठ, महोत्तरी । नेपाली समाजको डरलाग्दो कुरीति हो— बोक्सी प्रथा । बोक्सीका नाममा अपवादबाहेक, एकल, दलित, जनजाति वा पिछडिएका वा आर्थिक रूपमा कमजोर महिलालाई कुटपिट गर्ने, कपाल मुण्डन गर्ने, डाम्ने, जलाउने, दिसा–पिसाब खुवाउनेजस्ता अमानवीय घटना समाजमा बाराम्बार भइरहेका छन् ।
एक्काइसौं शताब्दीको दुई दशक नाघिसक्दा पनि यो कहालीलाग्दो कुप्रथाले नेपाली समाजलाई गाँजिरहेकै छ । यस्तै घटना महोत्तरीमा पनि भएकाे छ । बोक्सीको आरोपमा दुई वृद्धा महिलालाई निर्घात कुटपिट गरिएको छ ।
जलेश्वर नगरपालिका-६ धवौलीका कालीदेवी महतो र दुलरिया महतोलाई बोक्सीको आरोपमा छिमेकीले निर्घात कुटपिट गरेको पीडित पक्षले बताएको छ । पछिल्ला वर्षहरूमा शिक्षामा पहुँच बढेको छ, तैपनि यस्ता घटना कम भएका छैनन् ।
छिमेकी भुलन रामचमारले आफ्नी बुहारीलाई टुनामुना लगाएर बिरामी बनाएको भन्दै उनीहरूलाई कुटपिट गरिएको बताइएको छ । कुटपिटका क्रममा दुवैजनाको मुख, घाँटी र ढाडमा चोट लागेको छ । अहिले कालोदेविको जानकी हेल्थ केयर जनकपुरमा उपचार भइइरहेको छ ।
के भएको थियो ?
२६ जेठमा भुलन रामचमारको घरमा विवाहको रौनक थियो । भुलनको घरमा जमघट र रमाइलो चलिरहेका बेला उनकी बुहारी सोमारीदेवी एक्कासी बिरामी भइन ।
सोही समयमा सोमारीदेवी देवता चढेको भन्दै बक्न थालिन् । सोमारीदेवीले कालीदेवी बोक्सी लागेको र उनलाई घरमा ल्याउन निर्देशन दिइन् । त्यसपछि तुरुन्तै सोमारीदेवीका कान्छा ससुरा भुलन रामचमार कालीदेवदीका घरमा पुगे र उनलाई लिएर आफ्नो घरमा आए ।
झुक्याएर घरमा ल्याएका कालीदेवीलाई आगनमा पुर्याएपछि बुहारीमाथि बोक्सी लगाएको भन्दै कपडा समेत खोलेर नाङ्गेझार बनाइ निर्घात कुटपिट गरिएको दाबी छ । कालीदेवीको नाम लिइरहेकी सोमारीले दुलहरिया देवीलाई पनि तुरुन्त ल्याउन निर्देशन दिइन् ।
भुलनसहित उनका परिवार दुलहरियालाई खोज्दै जाँदा खेतमा फेला पारे । पीडित पक्षका दुलहरियाको चुल्ठोमा समातेर लडाइयो र कपडा खोलेर नजिकै रहेको पोखरीमा डुबाइयो ।
अहिले दुलरिया देवीको गाउँमा नै घरेलु उपचार भइइरहेको छ । ५२ र ५३ वर्षीया दुवै महिलालाई मलमुत्र खुवाउने प्रयाससमेत भएको पीडित पक्षको भनाई छ ।
प्रहरी के गर्दै छ ?
पीडित कालीदेववीका छोरा अमित महतो र दुलहरीदेवीका नाती रामजीवनले प्रहरीमा किटानी जाहेरी दिएका छन् ।२७ जेठमा नै प्रहरीले कुटपिट गरी ज्यान मार्ने उद्योगमा उजुरी दर्ता गरिसकेको छ ।
घटनामा संलग्न भएको आरोप लागेका रामभुलन र सोमारीदेवीलाई प्रहरीले पक्राउ गरिसकेको छ । घटनामा संलग्न अन्य फरार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
फरारको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज राइले जानकारी दिए । पक्राउ परेकालाई म्याद थप्ने प्रक्रिया अगाडि बढाएर अनुसन्धान भइरहेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगन्जमा गाँजासहित चार जना पक्राउ
पुष २४, २०८१ बुधबार
लागूऔषधसहित विभिन्न ठाउँबाट सात जना पक्राउ
पुष २४, २०८१ बुधबार
पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पुष २४, २०८१ बुधबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार