घरदैलोमै सुरक्षित गर्भपतन सेवाः छैन सेवाग्राहीलाई जानकारी
नेपालबहस संवाददाता
असार ९, २०७९ बिहिबार १९:०:१२
९ असार , काठमाडौं । सरकारले घरदैलोमै सुरक्षित गर्भतन सेवा सुरुआत गरे पनि अनधिकृत औषधिबाट गर्भपतन गराउनेक्रम अझै रोकिएको छैन । दक्ष स्वास्थ्यकर्मीका सल्लाहबिना सेवन गर्ने यस्ता औषधिले महिलाको ज्यानसमेत जोखिममा पर्र्दै गएको छ भने कतिपयको त अकालमै मृत्यु भएको जनाइएको छ ।
नेपाल परिवार नियोजन संघ, उपत्यका शाखाका व्यवस्थापक शरद अर्यालले भने, “दक्ष स्वास्थ्यकर्मीका सल्लाहबिना औषधि पसलका जथाभावी औषधिबाट गर्भपतन गराउने क्रम अझै रोकिएको छैन । यस्ता अवैध औषधिले जटिलता उत्पन्न गराएपछि अन्तिम अवस्थामा स्वास्थ्य संस्थामा जाने क्रम पनि घटेको पनि देखिँदैन ।”
नेपालमा बर्सेनि कति महिलालाई सुरक्षित गर्भपतनको सेवा आवश्यक पर्छ र कति सेवाग्राहीले औषधि पसलका औषधिबाट गर्भपतन सेवा लिन्छन् भन्ने यकिन तथ्याङ्क सरकारी निकायसँग छैन ।
जिल्ला, प्रादेशिक तथा संघिय अस्पतालसहित सूचीकृत स्वास्थ्य संस्था एवं ‘घरमा नै सुरक्षित गर्भपतन सेवा पाइन्छ’ भन्ने जानकारीको अभावमा पनि सेवाग्राही अझै औषधि पसलमा निर्भर पर्ने गरेको जनाइएको छ ।
असुरक्षित गर्भपनतलाई अन्त्य गर्न सङ्घले ‘प्रजनन स्वास्थ्य स्वयंसेविका’ परिचालन गरी गर्भपतन सेवा आवश्यक पर्नेलाई खोज– पडताल गरी आफ्नो क्लिनिकमार्फत सेवा प्रदान गरिराखेको छ । “सुरक्षित गर्भपतन सेवाअन्तर्गत हामी क्लिनिक र औषधि सेवनमार्फत दुवै सेवा प्रदान गर्छौँ”, व्यवस्थापक अर्यालले भने ।
प्रभावकारी हुन सकेन घरदैलो सेवा
आवश्यक सूचना तथा जानकारीका अभावमा सुरक्षित गर्भपतन तथा परिवार व्यवस्थापन घरदैलो सेवा प्रभावकारी हुनसकेको छैन । सरकारले विविध कारणले स्वास्थ्य संस्थामा पुग्न नसक्ने एवं पहुँच नै नपुग्ने विपन्न, अपाङ्गता भएका व्यक्ति र सीमान्तकृत समुदायलाई घरमै सुरक्षित गर्भपतन सेवा तथा आवश्यक परिवार व्यवस्थापन (नियोजन)का सेवा प्रदान गर्न सुरुआत गरेको थियो ।
विशेषगरी कोरोना महामारीमा प्रजनन, मातृ, नवजात शिशु तथा बालस्वास्थ्य सेवालाई निरन्तरता दिन विसं २०७७ वैशाखदेखि घरदैलो सेवा थालनी गरिएको थियो । यसबाट परिवार नियोजनका साधनमा पहुँच अभिवृद्धि हुने र सुरक्षित गर्भपतन सेवासमेत निरन्तरता जारी रहने अपेक्षा लिइएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यो सेवालाई सुरक्षित गर्भपतन सेवा कार्यक्रम व्यवस्थापन निर्देशिका, २०७८ मा समेत समावेश गरेको छ । मन्त्रालयले ‘कोभिड–१९ महामारीः प्रजनन, मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य सेवाको अन्तरिम निर्देशिका, २०७७’ जारी गर्दै ती क्षेत्रमा टेलिफोन परामर्श तथा घरदैलो सेवा सञ्चालन गरेको थियो ।
अहिले पनि ती सेवा जारी नै रहेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ । अहिलेसम्म कतिले घरदैलो सेवा पाए भन्ने आधिकारिक तथ्याङ्क छैन ।
महाशाखाअन्तर्गतको परिवार योजना तथा प्रजनन स्वास्थ्य शाखा उपलब्ध सेवाका बारेमा आवश्यक सेवाग्राहीलाई जानकारी नहुँदा कार्यक्रम कार्यान्वयनमा चुनौती रहेको जनाएको छ । महामारीमा परिवार नियोजनको सेवाको प्रयोगदर ३९ बाट ३७ प्रतिशतमा झरेको थियो ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार परिवार नियोजन सेवा उपभोग गरी कम्तीमा दुई वर्षको गर्भान्तर गरेमा खण्डमा १० प्रतिशत शिशु र ३० प्रतिशत मातृ मृत्युदर घट्ने छ ।
मातृ तथा बाल मृत्युदरमा कमी ल्याउन परिवार नियोजनका सेवामा पहुँच विस्तार अनिवार्य मानिन्छ । नेपाल स्वास्थ्य क्षेत्र रणनीति ९२०१६–२०२१०ले मातृ मृत्युदर प्रति एक लाख जीवित जन्ममा १२५ मा झार्ने अति महत्वकाङ्क्षी लक्ष्य राखेको थियो ।
यसैगरी दिगो विकास लक्ष्यले सन् २०३० सम्म नेपालमा नवजात शिशु र पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर प्रति एक हजार जीवित जन्ममा क्रमशः १२ र २० मा झार्ने लक्ष्य राखेको छ । यी लक्ष्य हासिल लगभग असम्भव देखिएको छ ।
निर्देशिकाले पहिलोपटक तालिमप्राप्त स्वास्थ्यकर्मीलाई सुरक्षित गर्भपतन सेवा प्रदान गर्न स्वीकृति प्रदान गरेको थियो । विसं २०७३ देखि सूचीकृत सरकारी स्वास्थ्य सस्थामा मात्र औषधि र क्लिनिकल माध्यमबाट सुरक्षित गर्भपतन सेवा निःशुल्क प्रदान गरिँदै आइएको छ ।
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५, नियमावली २०७७ का प्रावधानअनुरुप स्वास्थ्यकर्मीलाई सो अधिकार प्रदान गरिएको हो ।
सुरक्षित गर्भपतन सेवा कार्यक्रम व्यवस्थापन निर्देशिका, २०७८ ले तीनै तहका सरकारलाई ती ऐन, नियमावली तथा निर्देशिका कार्यान्वयमा थप सहजीकरण गरिदिएको छ । आवश्यक जनशक्तिको अभाव देखाउँदै स्थानीय पालिकाहरुले निर्देशिकालाई प्रभावकारी कार्यान्वयन गर्न सकिरहेका छैनन् ।
हालसम्म सुरक्षित गर्भपतन सेवाका लागि ५३० स्वास्थ्य संस्था सूचीकृत भएका छन् भने तीन हजारभन्दा बढी स्वास्थ्यकर्मीले तालिमप्राप्त गरी सो सेवा प्रदान गरिराखेका जनाइएको छ ।
‘मिफेप्रिस्टोन’ र ‘मिसोप्रोस्टोल’ नामक औषधिको प्रयोगद्वारा गरिने सुरक्षित गर्भपतन सेवा ९एमए० नेपालमा बढी प्रयोगमा छ । यो १० हप्ताभित्रको गर्भको लागि सुरक्षित मानिन्छ ।
तालिम तथा अनुमतिप्राप्त नर्सले सुरक्षित गर्भपतनका लागि घरमा पुगेर सो सेवा दिनसमेत सुरुआत गरेका छन् । ग्रामीण क्षेत्रमा यो सेवा अति प्रभावकारी रहेको स्वास्थ्य मन्त्रालयको दाबी छ ।
यसैगरी १२ हप्तासम्मको गर्भपतनलाई ‘म्यानुअल भ्याकुम एस्पिरेशन ९एमभिए०’ विधिमार्फत तालिमप्राप्त स्वास्थ्यकर्मीद्वारा औजारका माध्यमबाट गरिन्छ । तेह्रदेखि १८ हप्तासम्म गर्भलाई ‘कम्प्रिहेन्सिब इमर्जेन्सी अब्सटेटिक नियोनेटल कियर’ सुविधा भएको सूचीकृत स्वास्थ्य संस्थामा तालिमप्राप्त स्वास्थ्यकर्मीद्वारा डाइलेटेशन एण्ड इभ्याकुएशन ९डिएण्ड० गरिन्छ ।
मेरीस्टोपका वरिष्ठ कार्यक्रम व्यवस्थापक डा .केपी उपाध्ययाय औषधि विधि (एमए) बाट गरिने गर्भपतन सेवा प्रभावकारी रहेको जानकारी दिए। उनी भने, “महामारीका समयमा पनि गर्भपतन सेवा लिन चाहनेका लागि हामीले घरदैलो सेवा प्रदान गरौँ ।
विशेषगरी मेरीस्टोपले एमए विधिबाट ४०० भन्दा बढीलाई सुरक्षित गर्भपतन सेवा उपलब्ध गराएको छ । अगामी दिनमा यसलाई सरकारले निरन्तरता दिनु आवश्यक छ ।”
महाशाखाका अनुसार गत आर्थिक वर्षमा सुरक्षित गर्भपतनको सेवा लिनेको सङ्ख्या ९५ हजार ४९२ रहेका मध्ये २० वर्षमुनिका सङ्ख्या आठ हजार २२३ रहेको थियो ।
तीमध्ये सबैभन्दा बढी औषधि विधि बढी भएको जनाइएको छ । विसं २०७६ चैत ११ गतेदेखि विसं २०७७ साउन ६ सम्मका लकडाउनमा मात्र १३४ सुत्केरी तथा गर्भवतीले अकालमा ज्यान गुमाएका थिए ।
वरिष्ठ जनस्वास्थ्य अधिकृत रामकृष्ण फँुयाल भने, “महामारीका सुरुआती चरणमा परिवार नियोजनका साधनको मागलाई पूर्ति गर्न समस्या देखियो । कोरोना नियन्त्रणलाई प्राथमिकता दिइएका कारण सुरक्षित गर्भपतन सेवा प्रदान गर्न केही अप्ठ्यारो भएको हो । पछिल्लो दिनमा सेवा सुरु भएको छ । सेवाका बारेमा अझै जानकारी छैन ।
सेवा लिनसमेत अझै हिचकिचाउने प्रवृत्ति छ । सुरक्षित गर्भपतन सेवा परिवार नियोजनको साधन होइन भन्ने कुरालाई समुदायमा बुझाउन जरुरी छ ।” जन्मदर घट्नु र असुरक्षित गर्भपतन बढ्नु चिन्ताको विषय मानिन्छ ।
वातावरण स्वास्थ्य र जनसख्या कार्यक्रम अनुसन्धान केन्द्र ९कृपा०का सहनिर्देशक डा महेश पुरी भने, “महामारीका समयमा परिवार नियोजनका साधनमा पहुँच र उपलब्धता नहुँदा, समयमा सुरक्षित गर्भपतन सेवा नपाउँदा अनिच्छिुक गर्भधारणा बढेको र सुरक्षित गर्भपतन भने घट्न गएको हो ।
यसले गर्दा यौन तथा प्रजनन स्वास्थ्य सेवाका सूचकलाई असर पार्छ ।” कृपाका एक अध्ययनअनुसार नेपालमा वार्षिकरूपमा तीन लाख २३ हजार गर्भपतन हुन्छ । तीमध्ये ४२ प्रतिशत सूचीकृत र ५८ प्रतिशत असूचीकृत संस्थामार्फत हुन्छ ।
अर्कोतर्फ परिवार नियोजन सेवाको विस्तार अपेक्षाअनुसार हुनसकेको छैन । हाल आधुनिक परिवार नियोजन सेवाको प्रयोग दर ४२।८ प्रतिशत छ । अझै पनि प्रजनन उमेरका २३।७ प्रतिशत महिलाले परिवार नियोजन सेवा प्रयोग गर्न चाहेर पनि सेवा प्राप्त गर्न सकेका छैनन् ।
गर्भनिरोधकका अस्थायी आधुनिक पाँच प्रकारका साधन (ढाल, पिल्स, डिपो, इन्प्लान्ट र आइयुसिडी)को प्रयोगदर बढ्न नसक्नु (स्थिर रहनु), परम्परागत विधिका प्रयोगकर्ता उल्लेख्यरूपमा बढ्नु, असन्तुलित दरमा प्रजननदर घट्नु र परिवार नियोजनका साधन चाहेर पनि पाउन नसक्ने दर (अनमेट निड) घट्नुले समस्या देखिएको छ ।
व्यवस्थापक अर्याल सुरक्षित गर्भपतन सेवा कार्यक्रम व्यवस्थापन निर्देशिका, २०७८ कार्यान्वयनमा जोड दिने । उनले भने, “महामारी तथा विपद्का अवस्थामा पनि यौन तथा प्रजनन स्वास्थ्यलाई प्रभावित हुन नदिन संघ आफ्नो सेवालाई निरन्तर दिँदै आएको छ ।
लकडाउन पहिलो हप्तामा नै आवश्यक स्वास्थ्य सावधानी अपनाउँदै क्लिनिकहरू सञ्चालन ल्यायौँ । समुदायमा रहेका हाम्रा प्रतिनिधिमार्फत घरदैलोमा नै परिवार नियोजनका साधन वितरण तथा तालिमप्राप्त स्वास्थ्यकर्मीमार्फत सुरक्षित गर्भपतन सेवा प्रदान ग-यौँ । यो क्रम अहिले पनि जारी छ ।”
गर्भ निरोधकमा आधुनिक साधन, मातृत्व र नवजात शिशु स्याहारमा लगानी बढाउन आवश्यक रहेको छ । नेपालमा करिब ६४ प्रतिशत महिलाले मात्र विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेअनुसारका कम्तीमा चारपटक गर्भ परीक्षण, ६१ प्रतिशतले तालिमप्राप्त स्वास्थ्यकर्मीको सहायताले सुत्केरी हुने गर्दछन् ।
अर्को एक अध्ययनका अनुसार नेपालका ५० प्रतिशतभन्दा कम स्वास्थ्य संस्थाले मात्र परिवार नियोजनका ती सेवा दिन सक्दछन् । जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण सन् २०१६ का अनुसार नेपालमा १५ देखि ४९ वर्षका विवाहित महिलाले परिवार नियोजनका साधन प्रयोग गर्दछन् ।
साधन प्रयोग गर्ने ५३ प्रतिशत महिलामध्ये ४३ प्रतिशतले आधुनिक साधन तथा सेवाको प्रयोग गर्छन् भने १० प्रतिशतले परम्परागत विधि अपनाउने गर्छन् । नेपालमा सबैभन्दा बढी महिलाले बन्ध्याकरण गर्ने गर्दछन् । यस्तो महिलाको सङ्ख्याको १५ र पुरुषको सङ्ख्या छ प्रतिशतभन्दा माथि उक्लिन सकेको छैन ।
परिवार नियोजनको आधुनिक साधन प्रयोग गर्नेमा शिक्षितभन्दा अशिक्षित महिला बढी रहेका उजागर सर्वेक्षणले गरेको थियो । कुनै शिक्षा हासिल नगरेका ५२ प्रतिशत महिलाले आधुनिक साधन र सेवा प्रयोग गर्ने तथा माध्यमिक शिक्षा वा सोभन्दा बढी हासिल गरेका ३४ प्रतिशत महिला मात्रै आधुनिक परिवार नियोजनका साधन प्रयोग गर्ने गरेका छन् ।
विवाहित महिलामा परिवार नियोजनका साधन तथा सेवाको प्रयोगदरमा उल्लेखनीय सुधार आएको देखिँदैन । सन् १९९६ मा प्रयोगदर २९ प्रतिशत रहेकामा हाल ५३ प्रतिशत मात्र पुगेको छ । सहनिर्देशक डा पुरी भन्नुहुन्छ, “आधुनिक परिवार नियोजनको साधनको प्रयोगदर बढाउनु र सुरक्षित गर्र्भपतनको पहुँच पु-याउनु जरुरी छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभा बैठक माघ १८ गते बोलाउन सिफारिस
माघ ११, २०८१ शुक्रबार
जङ्गली हात्ती बस्ती पस्न थालेपछि निजीलाई एकीकृत गर्न माग
माघ ९, २०८१ बुधबार
प्रदेशसभा सचिवालयमा तीन वटा विधेयक दर्ता
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार