मासिँदै स्थानीय प्रविधिका झोलुंगे पुल
नेपालबहस संवाददाता
असार २९, २०७९ बुधबार १७:९:५९
♦ रामबहादुर थापा
२९ असार, बागलुङ । गाईघाट झरना छेउको झोलुंगे पुल भत्काइएको खबर सुन्दा ६० वर्षीय दिलबहादुर घर्तीलाई ननिको लागेको छ । ताराखोला गाउँपालिका–१ स्थित दरमखोलामा रहेको उक्त झोलुंगे पुलको अहिले नामोनिसान छैन ।
‘ट्रस्ट’ पुल बनाउन पुरानो झोलुंगे पुल हटाइएको हो । “६ कक्षा पढ्न हरिचौर जाँदा गाईघाटको पुल तरेर जानुपथ्र्यो”, घर्तीले भने, “नौ, दस कक्षा पढ्ने बेलासम्मै त्यहीँ बाटो भएर हिँड्यौँ, हामी सानो छँदादेखि नै त्यहाँ झोलुंगे पुल थियो ।”
परम्परागत सीप र साधनबाट बनाइएको पुल संरक्षण गर्नुपर्नेमा उल्टै भत्काइएपछि घर्तीको मन कुँडिएको हो । बूढापाकाका अनुसार झण्डै १०० वर्षअघि व्यापारका सिलसिलामा ताराखोला पुगेकी ‘सेती थकाल्नी’ले उक्त पुल बनाएका थिए ।
“थकाली व्यापार गर्न जहाँ पुग्थिन त्यहीँ धर्मकर्मका नाममा पुल, चौतारी, पाटी, पौवा बनाउने गर्थिन, गाईघाटको पुल पनि सेती थकाल्नीले बनाएको भन्ने गाउँका पाकापुरानाबाट सुनिन्छ”, घर्तीले भने । तत्कालीन अर्गल गाविसका अध्यक्षसमेत रहेका घर्तीले उक्त झोलुंगे पुलको लठ्ठा मात्र भए पनि जोगाउन सके इतिहास सुरक्षित हुने धारणा राखे ।
“गाउँपालिकाको सङ्ग्रहालय बन्दैछ, त्यो लठ्ठालाई ल्याएर त्यहीँ राख्न सकिन्छ”, उनले भने, “हाम्रा पितापुर्खाको सीप र कौशल नयाँ पुस्ताले हेर्ने, बुझ्ने मौका पाउँथे ।”
दुर्भाग्य इतिहाससँग जोडिएको उक्त झोलुङ्ले पुलको लठ्ठा अहिले दरमखोलामा अलपत्र छाडिएको छ । बर्खामासको खोलाले बगाएर अन्तै पु¥याए पनि कसैलाई चासो छैन । ‘ट्रस्ट’ पुल निर्माणको जिम्मा पाएको बनौ निर्माण सेवाका प्रतिनिधि टोपबहादुर रोकाले लठ्ठालाई टुक्राएर निकाल्न सकिने बताए । “यतिकै झिक्न त गाह्रो छ, मेसिनले टुक्रा बनाएर निकाल्न सकिन्छ”, उनले भने ।
निर्माण कम्पनीले पहिलेकै ठाउँमा ‘ट्रस्ट’ पुल बन्ने भएपछि पुरानो संरचना भत्काइएको जनाएको छ । गाउँपालिकाको रु २० लाख लागतमा गाईघाटमा नयाँ पुल बन्न लागेको हो । यसरी कुनैताका विकट गाउँ–बस्ती जोड्न स्थानीय सीप र साधन प्रयोग गरेर बनाइएका झोलुंगे पुल आधुनिक प्रविधि भित्रिएसँगै मासिन थालेका छन् । झोलुंगे पुल बनाउने त्यो बेलाको रैथाने सीप र कौशल पनि अब इतिहास बनिसक्यो ।
ताराखोला गाउँपालिका–२ अर्गलका ६८ वर्षीय गोविन्द घर्तीले पुल बनाउने फलाम लिन २०२८ साल तिर बुबाको साथ लागेर बुटवलसम्म पुगेको स्मरण गरे । उनका अनुसार बुटवल पुग्न १४÷१५ दिनसम्म लाग्थ्यो । पुल बनाउने योजना बनेपछि गाउँभरिका मानिस लाम लागेर फलाम लिन बुटवल झर्थे ।
त्यसरी ल्याएको फलाम आरनमा गालेर लठ्ठा बनाउन तीन महिनासम्म लाग्थ्यो । पूरै झोलुङ्गे पुल तयार हुँदा आठ महिना बित्थ्यो । फलाम गालेर, पिटेर बनाइएका साङ्ला एकापसमा गाँसेर लामो लठ्ठा बनाउने गरिन्थ्यो । स्थानीय विश्वकर्मा समुदायका कालीगढले फलामको लठ्ठा बनाउने जिम्मा लिन्थे । लठ्ठा बनेपछि मात्र पुलको अरु काम सुरु हुन्थ्यो ।
त्यसताका अहिले जस्तो सिमेन्ट, बालुवा नराखी ढुंगाले मात्र पुलको ‘जिप’ बनाउने गरिएको गोविन्दले सुनाए । उनका अनुसार ठूल्ठूला ढुंगा र खाल्डा प्रयोग गरेर पुलको लठ्ठा तन्काउने गरिन्थ्यो ।
“जिपको पछाडिपट्टि ठूलो खाल्डा खनी त्यसमा गारो चिन्ने अनि त्यहीँमाथि ढुंगा चढाइ लठ्ठा खिच्ने गरिन्थ्यो । लठ्ठा ढुंगामा बाँधेपछि तल चिनिएको गारो विस्तारै झिक्दा ठूलो ढुंगे तल खस्दै जान्थ्यो अनि लठ्ठा तानिन्थ्यो,” उनले भने ।
उक्त काम होसियारीपूर्वक नगरे पुलको ‘जिप’ नै भत्किने खतरा हुन्थ्यो । लठ्ठा खिच्ने ढुंगा ल्याउन, खाल्डो खन्न, लठ्ठा खिच्न मान्छेको बल र बुद्धिको खाँचो पथ्र्यो । ठूलो ढुंगा टाढाबाट डोरी लगाएर ल्याउन ४०÷५० मजदुर खटिन्थे ।
यसरी ढुंगा अल्झाएर तानेको लठ्ठाले नै पुलको भार थाम्ने गथ्र्यो । ढुंगा र पहरा भएका ठाउँमा छिनाले दुई हातसम्म प्वाल पारेर लठ्ठा अड्काउने गरिन्थ्यो । लठ्ठा तानेपछि पुलको तलपट्टि काठ बिछ्याउने र दायाँबायाँ फलामकै पाताले बार लगाउने गरिन्थ्यो ।
झोलुंगे पुल निर्माणमा आधुनिक प्रविधि भित्रिएसँगै रैथाने सीप र प्रविधि लोप मात्र भएको छैन आरान चलाउने, भारी बोक्ने, कालीगढी गर्ने व्यक्तिको कमाइको श्रोत पनि गुमेको छ । झोलुंगे पुल निर्माणमा व्यवस्थापकीय र सामाजिक परिचालनका काममा सघाउँदै आएको भिमापोखरा युवा क्लब (बिवाइसी)का कार्यक्रम संयोजक प्रेम केसीले परम्परागत प्रविधिबाट बनेका झोलुंगे पुल जीर्ण बनेपछि त्यहीँ ठाउँमा नयाँ पुल निर्माण भइरहेको बताए ।
“पुरानो प्रविधिबाट बनेका अधिकांश पुल जीर्ण छन्, कुनै प्रयोगविहीन त कुनै कामै नलाग्ने अवस्थामा छन्”, उनले भने, “सर्वेक्षणका क्रममा केही पुल संरक्षण गर्नुपर्ने भनेर तोकिएको पनि छ ।” स्थानीयले जोगाउन चाहेको र अरु हिसाबले पनि महत्व बोकेका पुललाई संरक्षण गर्नुपर्ने संयोजक केसीको सुझाव छ ।
पुल निर्माणमा नयाँ प्रविधिले ठाउँ लिए पनि रैथाने सीपमा आधारित परम्परागत शैलीका झोलुङ्गे पुलको संरक्षणमा पनि ध्यान दिनुपर्ने उहाँको भनाइ छ । दुई वर्षअघि गलकोट नगरपालिकाको पुरानो ‘राजाको पुल’लाई परम्परागत प्रविधि र मौलिकता झल्काउने गरी पुनःनिर्माण गरिएको थियो ।
झोलुंगे पुल बनाउने बागलुङको रैथाने प्रविधि पनि संरक्षण होस् भनेर उक्त पुलको माथिपट्टि पुरानै पुलको लठ्ठा प्रयोग गरिएको छ । चौबिसे राज्यअन्तर्गत तत्कालीन गलकोटे राजा भरतबम मल्लका पालामा उक्त पुल बनेको थियो ।
झोलुंगे पुल बनाउने बागलुङको परम्परागत प्रविधिलाई ‘इन्जिनियरिङ’ गरी नयाँ प्रविधि भित्र्याइएको तत्कालीन जिल्ला प्राविधिक कार्यालय बागलुङमा झोलुंगे पुल हेर्ने इन्जिनियर बलविक्रम दाहालले बताए । उनका अनुसार आधुनिक प्रविधिबाट अहिले बन्ने पुल तीन महिनामै तयार हुन्छन् । लठ्ठा, जालीलगायतका निर्माण सामग्री सबै तयारी अवस्थामै किन्न पाइन्छन् । गुणस्तर, लागत खर्च, समय इत्यादि कारणले आधुनिक प्रविधि नै उत्तम रहेको इन्जिनियर दाहालको भनाइ छ ।
आधुनिक प्रविधिको झोलुंगे पुल निर्माणमा परम्परागत प्रविधिकै विकसित रुप (जसलाई बागलुङ प्रविधि पनि भनिन्छ) नै प्रयोगमा आएको पाइन्छ । ‘झोलुंगे पुलको जिल्ला’ भनेर चिनिने बागलुङमा ४१० भन्दा बढी झोलुंगे पुल छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सिद्धार्थ लाईफ केयरद्वारा मर्चवारमा निःशुल्क स्वास्थ्य शिविर
पुष २८, २०८१ आइतबार
काठमाडौं अदालतमा रवि लामिछानेको थुनछेक बहस जारी
पुष २८, २०८१ आइतबार
राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस
पुष २८, २०८१ आइतबार
माघेसंक्रान्ति मेलाको तयारी अन्तिम चरणमा
पुष २८, २०८१ आइतबार
दिल्लीमा हल्का वर्षासँगै व्यापक चिसो
पुष २८, २०८१ आइतबार
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
पुष २८, २०८१ आइतबार