मोरङमा कोइराला र शर्मा सुरक्षित, अरुमा घम्साघम्सी कायमै
नेपालबहस संवाददाता
भदौ १५, २०७९ बुधबार १७:३०:३८
१५ भदौ, विराटनगर । नेपाली कांग्रेसको आधार क्षेत्र मानिएको मोरङ पछिल्लो समय कमजाेर बन्दै गइरहेको छ । केन्द्रीय स्तरका धेरै नेता रहेपनि उनीहरुले मोरङमा कांग्रेसको उपस्थितिलाई बलियो बनाउन सकेका छैनन् । अन्तरिक कलह तथा पक्ष र विपक्षबीचमा मुख ताकाताकले मोरङमा कांग्रेसलाई कमजाेर बनाउने काम गइरहेको छ ।
२०७४ को आम निर्वाचनमा मोरङ ६ बाट पराजित भएका डा. शेखर कोइराला यसपटक भने सुरक्षित देखिएका छन् । गएको निर्वाचनमा पनि उक्त क्षेत्र कांग्रेस पराजित हुने क्षेत्र थिएन । कोइरालाको सामान्य गल्ती र अहंकारले गर्दा मात्रै ६७५ मतले पराजित भएका हुन् । २०७४ मा वडा नं ३ र ४ को ६२५ भोटका विषयमा कुरा नमिल्दा एमालेका लालबाबु पण्डितसँग पराजित हुन पुगे ।
यसपटक पनि कोइरालालाई अन्तर्घातको सम्भावना भने धेरै देखिएको छ । मोरङमा संस्थापन पक्षका केही नेताहरु कोइराला नजिक हुन चाहिरहेका छैनन् । पार्टीभित्रैबाट हुने अन्तर्घात उनका लागि मुख्य टाउको दुखाइको विषय बन्न सक्छ । अर्को महत्वपूर्ण पक्ष भनेको कोइरालाले आफ्नो क्षेत्रमा रहेका आफ्ना पक्षका नेताहरुलाई पनि सुरक्षित अवतरण गराउन सकेका छैनन् ।
पहिले उनकै पक्षमा रहेका पूर्व मेयर भीम पराजुलीदेखि गुरु घिमिरेसम्मका धेरै नेता कार्यकर्ताहरु कोइरालाबाट संरक्षित हुन् चाहिरहेका थिए । उनीहरुमध्ये पराजुली सिटौला पक्षमा गइसकेका छन् । पराजुली कोइरालाको क्षेत्रका बलिया कांग्रेस कार्यकर्ता हुन् ।
स्थानीय तहको निर्वाचन २०७९ मा गठबन्धनको आलोचना गर्दै आएका डा. शेखरले गृहनगरमा आयोजित कार्यक्रममा गठबन्धनका कारण स्थानीय तहहरुमा कांग्रेसले राम्रो नतिजा ल्याउन सफल भएको स्वीकार गरेका छन् । तर, २०७४ कोभन्दा स्थानीय तहमा पनि कांग्रेस खस्किएको छ ।
मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा विराटनगर महानगरपालिकाका ७, बुढीगंगा गाउँपालिका र सुन्दरहरैंचा नगरपालिकाका ६–६ वटा वडा पर्दछन् । २०७४ को निर्वाचनमा एमालेका पण्डितले ३३ हजार ९४१ मत प्राप्त गरी विजयी हुँदा कोइरालाले ३३ हजार २६६ मत प्राप्त गरेका थिए ।
भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन परिणामलाई हेर्दा यो निर्वाचन क्षेत्रका विभिन्न वडाहरुमा कांग्रेस एक्लैले २८ हजार ४२८ मत प्राप्त गरेको छ । गठबन्धनमा रहेको दल नेकपा माओवादी केन्द्रले ५ हजार ३५६, जसपाले ३ हजार ९३९ र एकीकृत समाजवादीले ३ हजार ३६९ मत प्राप्त गरेका थिए ।
गठबन्धनको मतलाई आधार मान्दा कांग्रेस योपटकको निर्वाचनमा मोरङ ६ मा सहज अवस्थामा देखिन्छ । उता, मोरङ ३ बाट प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको उम्मेदवारमा डा. सुनिल शर्मा एकल सिफारिस भएका छन् । नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पताल विराटनगर र काठमाडौं मेडिकल कलेजका सञ्चालक शर्माको एकल नाम सिफारिस भएकाले उनी पक्का उम्मेदवार भइसकेका छन् ।
२०७४ सालको निर्वाचनमा उनी वाम गठबन्धनका उम्मेदवार भानुभक्त ढकालसँग पराजित भएका थिए । नेकपा एमालेका ढकालले ४२ हजार ४१३ मत प्राप्त गर्दा शर्माले ४० हजार ५०७ मत प्राप्त गरेका थिए ।
यस्तै मोरङ ४ मा भने अझै विवाद कायमै छ । प्रतिनिधिसभा निर्वाचनमा मोरङको क्षेत्र नम्बर ४ मा सत्तारुढ गठबन्धनका दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्रले दाबी गरेका छन् । माओवादीबाट एक्लो दाबेदार अमनलाल मोदीले भने चुनावी अभियान सुरु गरिसकेका छन् । कांग्रेसबाट तीन जना दाबेदार भएकाले टिकट कसले पाउला भन्ने चासो अझै कायमै छ ।
गत चुनावमा माओवादी केन्द्रबाट अमनलाल मोदी यो क्षेत्रबाट विजयी भएका थिए । मोदीसँग पराजित कांग्रेस उम्मेदवार महेश आचार्यसहित कांग्रेसकै गुरुराज घिमिरे र भीम पराजुली पनि टिकटमा दावी गरिरहेका छन् । यूवा नेता घिमिरे अहिलेसम्म कांग्रेसमा अवसर नपाएका नेता हुन् । उनी कांग्रेसमा इमान्दार र युवा वर्गमा लोकप्रिय मानिन्छन् । कांग्रेसका नेता आचार्य पनि पार्टीका कार्यक्रमहरुमा सहभागी भइरहेका छन् । २०७४ सालको निर्वाचनमा एमाले र माओवादी गठबन्धनबाट माओवादी उम्मेदवार अमनलाल मोदी ३३ हजार ५ सय २९ मतसहित विजयी हुँदा आचार्यले २६ हजार ८ सय मत प्राप्त गरेका थिए । अहिले क्षेत्र नम्बर ४ मा माओवादीको तुलनामा कांग्रेस बलियो देखिएको छ ।
२०७४ सालको निर्वाचनमा मोरङका ६ मध्ये एमालेले ३, माओवादीले २ र कांग्रेसले एउटा क्षेत्र जितेका थिए । यसपटक माओवादीले मोरङका दुई वटा क्षेत्र दाबी गरिरहेको छ । तर प्रतिनिधिसभाका दुवै क्षेत्र छाड्नलाई नेपाली कांग्रेसले मानिरहेको छैन । क्षेत्र नम्बर ५ मा कांग्रेसबाट अमृत अर्याल दाबेदार छन् । क्षेत्र नम्बर ५ मा माओवादीबाट शिवकुमार मण्डल पनि दाबेदार छन् । २०७४ सालको निर्वाचनमा मण्डलले नै अर्याललाई पराजित गरेका थिए ।
पार्टी सभापति शेरबहादुर देउवा निकट रहेका अर्याल यो पटक टिकट लिने दाउमा छन् । विराटनगरको मेयरमा पनि दाबी गरेका उनले अन्तिम समयमा संघको टिकट लिने भन्दै नागेश कोइरालालाई समर्थन गरेका थिए । पार्टीको प्रभाव क्षेत्र रहेको दाबी गर्दै आएको जसपाले पनि क्षेत्र नम्बर ५ आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ ।
नेकपा एमालेले क्षेत्र नम्बर ४ मा विनोद ढकाललाई उम्मेदवार बनाउने तयारी गरेको छ । क्षेत्र नम्बर ४ मा अन्य दाबेदार नभएका कारण ढकालले टिकट पाउने लगभग निश्चित छ । एमालेले क्षेत्र नम्बर ५ मा जीवन विकास समाज लघुवित्तका संस्थापक अध्यक्ष योगेन्द्र मण्डललाई अघि सारेको छ । औपचारिक निर्णय नभए पनि उनी चुनावी अभियानमा छन् ।
स्थानीय तह निर्वाचनलाई आधार मान्ने हो भने मोरङ क्षेत्र नम्बर ४ मा पर्ने वडाहरुमा एमालेले २५ हजार ७३०, नेपाली कांग्रेसले २१ हजार ८९४, माओवादी केन्द्रले ९ हजार ९९०, जसपाले ३ हजार ११२ र नेकपा एकीकृत समाजवादीले १ हजार २५५ मत पाएका थिए ।
यसैगरी क्षेत्र नम्बर ५ मा कांग्रेसले १९ हजार ४९८, एमालेले १५ हजार ६८०, जसपाले १३ हजार २४९, माओवादी केन्द्रले ११ हजार ६२८, राप्रपाले १ हजार ८८७, लोसपाले ७५२ र नेकपा एकीकृत समाजवादी ६०८ मत पाएका थिए । मोरङ क्षेत्र नं १ मा पनि अहिले सम्म कांग्रेसले टुंग्याउन सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार
लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
पुष २८, २०८१ आइतबार
रवि लामिछानेलाई अदालतबाट लगियो प्रहरी हिरासतमा
पुष २८, २०८१ आइतबार
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार
छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार