असोजबाट महत्वपूर्ण विधेयक, महाअभियोग र सर्वोच्चमा सिफारिस भएका न्यायाधीशको सुनुवाईसमेत अलपत्र हुँदै
नेपालबहस संवाददाता
भदौ २२, २०७९ बुधबार २२:२७:४०
२२ भदौ, काठमाडौं । प्रतिनिधिसभाको आयु जम्मा ११ दिन मात्रै बाँकी रहेपछि सरकारले प्राथमिकतामा राखेको सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक, निलम्बित प्रधानन्यायाधीश जबरामाथिको महाभियोग र सर्वोच्चका न्यायाधीशमा सिफारिस भएका तीन जनाको सुनुवाई अन्योलमा परेको छ ।
चौतर्फी आलोचनापछि प्रतिनिधिसभाको कार्यकाल निर्वाचनपछिको पहिलो बैठकसम्म पुर्याउन कानून संशोधन गर्नबाट सरकार पछि हटेकाले भदौबाट प्रतिनिधिसभा र विभिन्न संसदीय समितिहरु रहने छैनन् । प्रतिनिधिसभा र संसदीय समिति नरहने भएका कारण महत्वपूर्ण विधेयकहरुमा अर्को प्रतिनिधिसभा आएपछि मात्रै छलफल हुनेछ ।
आजसहित प्रतिनिधिसभाको आयु ११ दिनमात्र बाँकी छ । आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि दलहरूले असोज २ मा समानुपातिक उम्मेदवारको बन्दसूची दर्ता गर्दैछन् । त्यसको अघिल्लो दिन असोज १ मा नै सांसदहरू बिदा हुनेछन भने समितिहरु पनि रहने छैनन् ।
सरकारले गत शुक्रबार राति दर्ता गरेको केही नेपाल ऐन संशोधन गर्ने विधेयकमा प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउन प्रस्ताव मिसाएको थियो । तीव्र आलोचनापछि सत्तापक्षबाटै संशोधन प्रस्ताव राखेर विधेयकबाट उक्त व्यवस्था फिर्ता गरिएको छ ।
निर्वाचन आयोगले पनि समानुपातिक निर्वाचनका लागि बन्दसूची पेस गर्नु अघिल्लो दिन प्रतिनिधिसभाको कार्यकाल अन्त्य हुने घोषणा गरिसकेको छ । आयोगले २०७४ को निर्वाचनमा पनि समानुपातिक उम्मेदवारी दर्ताको अघिल्लो दिनसम्म मात्र प्रतिनिधिसभाको कार्यकाल रहेको स्मरण गराउँदै आफ्नै अभ्यास र कानुनी व्यवस्थालाई अवज्ञा गर्न नमिल्ने बताएको छ ।
आयोगका अनुसार बन्दसूचीमा रहेका व्यक्तिको उम्मेदवारी त्यस्तो प्रतिनिधिसभा रहेसम्म कायम रहने व्यवस्था प्रतिनिधिसभा निर्वाचन ऐनको दफा ३० मा छ । प्रदेशसभा निर्वाचनका हकमा पनि त्यही व्यवस्था छ । यो प्रतिनिधिसभा वा प्रदेशसभा रहेसम्म अघिल्लो निर्वाचनमा बन्दसूचीमा रहेका व्यक्तिको उम्मेदवारी कायम रहन्छ । प्रदेशसभा र प्रतिनिधिसभामा सबै दलका गरेर करिब २२ हजार उम्मेदवार बन्दसूचीमा छन्, यो प्रदेशसभा र प्रतिनिधिसभा रहेसम्म उनीहरू अर्को निर्वाचनमा उम्मेदवार बन्न अयोग्य हुनेछन ।
संविधानकै धारा ९१ (६) मा प्रतिनिधिसभा विघटन भएको अवस्थामा सभामुख र उपसभामुख उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म पदमा रहने व्यवस्था छ । सभामुख र उपसभामुख नै पदमुक्त भइसकेपछि पनि सभा कायम रहन्छ भनेर परिकल्पना गर्न नमिल्ने कानुनविद्हरू बताउँछन् । यो प्रावधान अनुसार पनि प्रतिनिधिसभाको कार्यकाल आगामी असोज १ सम्म मात्रै रहने छ ।
बाँकी रहेको १० दिनमा प्रतिनिधिसभाले सरकारले अघि सारेका विधेयक र प्रस्ताव टुंग्याउने सम्भावना छैन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन’ संशोधन गर्ने विधेयकलाई सरकारले प्राथमिकतामा राखेर टुंग्याउन चाहेपनि सकिने अवस्था छैन् । गत असार ३१ मा दर्ता भएको विधेयक अहिले पनि प्रतिनिधिसभामा छ ।
बाँकी दिनमा प्रतिनिधिसभाले पारित गरेर राष्ट्रिय सभामा पठाउने, त्यहाँबाट पनि पारित भएर प्रतिनिधिसभामा आउने र सभामुखले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाउन असम्भव रहेको नताहरुले नै बताउन थालेका छन् । यस्तै सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्तिका लागि मंगलबार न्याय परिषदले सिफारिस गरेको छ ।
परिषद्ले उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश निता गौतम दीक्षित, उच्च अदालत जनकपुरका कामु मुख्य न्यायाधीश विनोद शर्मा र नेपाल ल क्याम्पसका प्रमुख डा. डीएन पराजुलीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएको छ । सर्वोच्चको न्यायाधीशमा नियुक्तिपूर्व अनिवार्य संसदीय सुनुवाइ हुनुपर्ने व्यवस्था छ । उनीहरुको सुनुवाइ सुरु हुनु पूर्व उजुरीका लागि १० दिनको त समय नै चाहिन्छ । सुनुवाइ समिति नरहेपछि उनीहरुको सुनुवाई कसरी गर्ने भन्ने कुरा नै अन्योलमा परेको छ ।
२०७७ पुस र २०७८ जेठमा प्रतिनिधिसभा विघटन भएको अवस्थामा नियुक्तिको सिफारिसमा परेका विभिन्न संवैधानिक निकायका ५२ जना पदाधिकारी सुनुवाईबिना नै नियुक्त भएका थिए । उनीहरूको त्यस्तो नियुक्तिविरुद्ध परेको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ । सर्वोच्च अदालतका न्यायाधीश जस्तो विवादरहित र उच्च नैतिकताको अपेक्षा हुने पदमा सिफारिस भएका दीक्षित, शर्मा र पराजुलीले सुनुवाईबेगर नियुक्ति नहुनसक्छ ।
अर्को निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाभियोग प्रस्ताव पनि अन्योलमा परेको छ । यसअघि तीनदिन समितिले जबरासँग बयान लिएको थियो । यद्यपि तीन दिनमा पनि बयान नसकिएपछि २५ गते फेरि बोलाइएको छ । गत फागुनमा दर्ता भएको महाभियोग प्रतिनिधिसभाले ६ महिनासम्म प्रक्रियामा नलगी थन्क्याएर राखेको थियो । साउन २२ मा प्रतिनिधिसभाले प्रस्ताव समितिमा पठाएकामा भदौ ९ मा मात्र तीन दिनको म्याद दिएर जबराविरुद्ध उजुरी मागिएको थियो ।
महाभियोग प्रस्तावलाई संसद् रहेन भने पनि अर्को संसद्ले टुंगोमा पुर्याउने अन्तर्राष्ट्रिय अभ्यास रहेको कानूनविद्हरु बताउँछन् ।महाअभियोग छानविन समितिले आफैंले तय गरेको समयअनुसार काम नसकिएपछि कार्यतालिका संशोधन गर्ने तयारी पनि गरेको छ । तर, कार्यतालिका संशोधन गरेर पनि निलम्बित प्रधानन्यायाधीश जबराको महअभियोगको विषय टुंग्याउन मुस्किल देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार