डुबानको चिन्ताले छाडेन डुडुवावासीलाई
नेपालबहस संवाददाता
भदौ २७, २०७९ सोमबार २०:२३:३०
♦राकेशकुमार मिश्र
२८ भदौ, खजुरा । बाँके डुडुवा गाउँपालिकाको होलिया टेपरीका तेजाराम यादव कृषिमा निर्भर छन् । पानी परेपछि नै उहाँको खेतमा अनाज उत्पादन हुन्छ । किसान भएर पनि यादव आकाशमा कालो बादल मडारिदा खुशी हुनुपर्नेमा दुःखी देखिनु हुन्छ । ठूलो पानी पर्ने सङ्केत देखिंदा यादवलाई ज्यान बचाउने चिन्ता हुन्छ । जहान परिवार र वर्षभरि खाना राखेको अनाजको कसरी संरक्षण गर्ने भन्ने तनाब हुने गर्छ ।
यादवको यो चिन्ता र तनाब अहिले आइलागेको समस्या भने होइन । यो वर्षौंदेखि भोग्दै आएको समस्या हो । भारतले राप्ती नदीमा लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र दशगजामा अग्लो सडकजस्तो बाँध बनाइदिएपछि बर्षात्को समयमा यादवको जीवन जोखिममा पर्ने गरेको हो ।
विसं २०७१ मा आएको ठूलो बाढीमा यादवको परिवार डुङ्गामा बसेर नजिकै रहेको दशगजाको बाँधमा पुगे । यादवले खाद्यान्नको संरक्षण गर्न सकेनन । यादव भन्छन्, ‘‘भारतमा विहे भएकी छोरीले उतैबाट खाना ल्याएर सेवा गरिन् । दुई महिनासम्म उनैले पालिन् ।’’
रातिमा पानी पर्दा यादव परिवारलाई अझ बढी तनाब हुन्छ । रातिमा बाढी आइहालेमा कता भाग्ने समस्या हुन्छ । पटक–पटक डुबानमा पर्नु भएका यादवलाई कहिलेकाहीँ त लाग्छ, ‘भाग्यमा जे लेखेको छ । त्यही हुन्छ । बाढीबाट मर्न लेखेको छ भनेर जति भागे पनि बचिँदैन ।’ ‘श्वास रहुञ्जेल आश’ भने झै रातिमा ठूलो पानी पर्दा यादव परिवार जाग्राम नै बस्ने गरेको छ । उनको परिवार नजिकको उच्च ठाउँ या पक्की घरको छत खोज्न पुग्छ ।
होलिया कृषि चौफेरीका सेवकराम यादवले खाद्यान्न जति अटिया बनाएर राख्नु भएको छ । बाढी आइहालेमा खाद्यान्न बचाउने यादवको उपाय हो यो । कृषि चौफेरी राप्ती नदी बढ्ने बित्तिकै डुबानमा पर्ने ठाउँ मानिन्छ । आठ वर्षअघि ठूलो बाढी आउँदा सेवकरामको परिवार नजिकको स्कूलमा गएर बसेको थियो । नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको थियो । यसपालि गाउँपालिकाले नजिकै आश्रय स्थल बनाइदिएकाले कृषि चौफेरीका मानिसलाई बाँचिने आशा पलाएको छ ।
बेतहनी बाबा गाउँका लायकराम यादवका परिवार ठूलो पानी पर्न थालेपछि घरको छतमा गएर बस्न विवश छ । गाउँमा सबैभन्दा पहिला पक्की घर बनाएका यादवले २०७१ र २०७४ सालमा ठूलो दुःख पाएको बताए । त्यतिबेला ठूलो बाढी आएको थियो । २०७४ सालको बाढीले आफ्नो धेरै अन्न नोक्सान गरेको यादवले बताउनुभयो । घरभित्र नै पाँच फिटभन्दा बढी पानी पसेको यादवको स्मरण गरे ।
डुडुवा गाउँपालिकामा ४५ हजार जनसङ्ख्या रहेको छ । वर्षेनीजसो आउने बाढीले २५ हजार मानिसलाई दुःख दिने गर्दछ । छ वडामध्ये चार वडा डुबानको जोखिममा पर्छन् । साविकको होलिया र बेतहनी गाविस धेरै जोखिममा रहेको छ । बाढीले गर्दा जनतालाई दुःख दिने, कटान र पटानले खेतीयोग्य जमिन मरुभूमि बनाउने क्रम चलिरहेको छ ।
वर्षेनी हुने बाढीको समस्या रोक्न गाउँपालिकाले विभिन्न उपायहरु अपनाउन थालेको छ । जनता बचाउन पालिकाले ठाउँ–ठाउँमा आश्रयस्थल बनाएको छ । गाउँपालिका अध्यक्ष चौधरीका अनुसार रु ५२ लाख बढी खर्च गरेर पाँच वटा आश्रयस्थल निर्माण गरिएको छ । केही ठाउँमा अझै बनाउने योजना गाउँपालिकाको छ ।
वडा नं। १ होलियाको छिटईपुरुवामा दुई वटा, कृषि चौफेरी र बोर्डर चौफेरीमा एक÷एक वटा र बेतहनीको रामनगर पाजामा एउटा आश्रयस्थल बनाइएको छ । एउटा आश्रयस्थलमा सय बढी मानिस अट्न सक्छन् । बाढी आउँदा स्थानीय बासिन्दा त्यहाँ गएर बस्न सक्छन् । बाढी आएपछि स्थानीय बासिन्दा उच्च स्थानमा पुग्ने गर्दछन् । कसैको पक्की घर, स्कूल वा अरु कुनै उच्च ठाउँमा पुगेर ज्यान बचाउने होलिया र बेतहनीका बासिन्दालाई आश्रयस्थलले ठूलो सहयोग पु¥याउने पालिकाको विश्वास रहेको छ ।
विसं २०७१ मा ठूलो बाढी आउँदा सेनाको हेलिकोप्टर धेरैको उद्धार गरेको थियो । त्यसअघि डुङ्गाबाट मानिस अन्यत्र सारिएको थियो । पालिकाले बनाएको आश्रयस्थललाई प्राथमिक उपचारको रुपमा लिइएको छ । हेलिकोप्टरले उद्धार गर्नुअघि स्थानीय त्यहाँ बस्न सक्छन् । राप्ती नदीमा बाढी आउँदा होलिया, बेतहनीका गाउँहरुमा सिधा ठोकिन्छ । कृषि चौफेरी, छिटैपुरुवा, बोर्डर चौफेरी, गजराज पाजा, टेपरी, सिम्रहना, पिप्रहवा जोखिममा पर्छन् । केही वर्षयता राप्तीले धार परिवर्तन गर्दा सानो बाढीले पिप्रहवातिर भने असर नपार्ने भएको छ ।
हरेक वर्ष जस्तै यो वर्ष पनि गाउँपालिकाले वर्षात् लक्षित केही रणनीतिहरु बनाएको छ । अस्थायी तटबन्धको तयारी गरेको छ । कन्टेनर र डुङ्गाहरु तयारी अवस्थामा राखेको छ । ‘‘बाढी आइहालेमा उद्धार र राहतको तयारीमा छौंँ, पालिकाका प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले भन्नुभयो, पालिकाका सबै वडाहरुलाई तयारी अवस्थामा राखेका छौंँ।’’
बाढी तथा डुबानले डुडुवा पालिकाको धेरै खेतीयोग्य जमिन मरुभूमि भएको छ । उब्जाउ भूमिमा अहिले बालुवा थुप्रिएको छ । राप्ती नदीले धार परिवर्तन गरिरहने गर्दछ । पालिकाले अब मरुभूमि बनेका जमिनलाई पुनः उब्जाउ गराउने रणनीतिहरु बनाउनु पर्ने देखिन्छ ।
भारतले एकतर्फी रुपमा सन् १९८५ देखि ९० सम्ममा राप्ती नदीमा लक्ष्मणपुर बाँध निर्माण गर्यो । सन् २००० मा कलकलवा तटबन्ध बनायो । यी दुई संरचना बनेपछि बाँकेको राप्ती नदीतटीय क्षेत्रका बासिन्दाको ‘दशा’ शुरु भएको हो। यी संरचनापछिको डुबानले तटीय क्षेत्रका २० भन्दा बढी नागरिकको ज्यान लिइसकेको छ भने छ हजार बढी मानिस विस्थापित भइसकेका छन् । बाढीले पाँच हजार ४०० हेक्टर जमिन डुवान, कटान र पटान भएको छ ।
लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धले नै ठूलो क्षति पु¥याइरहेको बेलामा भारतले फेरि दशगजासँग सटाएर सडकजस्तो बाँध बनाएको छ । यसले अझ ठूलो समस्या सिर्जना गरेको छ । यो सडकले तटीय क्षेत्र मात्रै नभएर बाँकेको दक्षिणी पूरै बस्ती डुबानको जोखिममा परेको छ । नेपालबाट बग्ने नदी, नालाको प्राकृतिक बहावलाई भारतले बनाएका यी संरचनाले रोक्ने गरेको छ । जसको असर नेपालका दक्षिणी भेगमा पर्ने गरेको छ ।
दुई देश भएर बस्ने नदीमा संरचना बनाउँदा दुवैको सहमति हुनुपर्छ । हेलसिंगी नियम १९६६ को नियम २९ ९२० मा दुई देशमा बग्ने नदीलाई अर्को देशलाई असर पर्ने गरी संरचना निर्माण गर्न नपाइने उल्लेख छ । भारतले यो नियमलाई पालना गरेको छैन । नेपालबाट यसका बारेमा असन्तुष्टि जनाइएपछि भारतले सन् २००३ मा राप्ती नदीको दुवै किनारमा २८ किलोमिटर पक्की तटबन्ध बनाइदिने आश्वासन दिएको थियो ।
अहिलेसम्म यो आश्वासन पूरा हुन सकेको छैन । फेरि अहिले आएर ४५ किलोमिटर तटबन्ध बनाइदिने आश्वासन दिएको छ । त्यसका लागि नौ अर्ब छुट्याएको बताइएको छ । राप्ती नदीको बाया २२ दशमलव १५ र दाया २३ दशमलव २५ किलोमिटर पक्की तटबन्ध बनाइदिने सहमति भएको जनता तटबन्ध कार्यालयका इन्जिनियर महेशराज श्रेष्ठले जानकारी दिए ।
नदीको दुवै किनारमा पक्की तटबन्ध बनेमा तटीय क्षेत्रको गाउँ सुरक्षित हुनेछन् । भारतको भर पर्न नहुने स्थानीय बासिन्दाको जोड रहेको छ । लक्ष्मणपुर बाँध पीडित संघर्ष समितिका सचिव राजकुमार शुक्लाले भारतले नदीका दुवै किनारमा पक्की तटबन्ध बनाइदिने आश्वासन दिएर झुलाउने काम गरिरहेको बताए । राप्ती नदीले गर्दा कतिपय गाउँ विस्थापित भएका छन् । होलियाका टेपरीलगायत ठाउँका एक सय ४४ घरपरिवारलाई हजरत र झोरा सामुदायिक वनमा सारिएको छ । धेरै घरपरिवार अहिले पनि जंगल छेउछाउमा बसेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार