जीत निश्चित नभएका नेताहरु एकभन्दा बढी क्षेत्रबाट सिफारिस, आफ्नै क्षेत्रमा दाहाल र देउवालाई सकस
नेपालबहस संवाददाता
भदौ २९, २०७९ बुधबार १७:५:५८
२९ भदौ, काठमाडौं । आगामी निर्वाचनमा प्रदेश र प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न शीर्ष र नाम चलेका केही नेताहरुको नाम पाँचभन्दा बढी क्षेत्रबाट सिफारिस भएको छ । कतिपयले निर्वाचन क्षेत्रनै फेर्न चाहेका छन् भने कतिपयले हार्ने डरले सुरक्षित क्षेत्र खोज्दै गर्दा बढी ठाँबाट नाम सिफारिस गर्न लगाएका छन् ।
पटक पटक निर्वाचन क्षेत्र फेर्न बानीपरेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको नाम सबैभन्दा बढी ६ वटा क्षेत्रबाट सिफारिस भएको छ । उनी प्राय एकै ठाँउबाट कम मात्रै चुनाव लड्दै आएका छन् । जसपा अध्यक्ष यादव ०७४ मा सप्तरी–२ बाट निर्वाचित भएका थिए । यसपटक पनि उनी त्यहीँबाट सर्वसम्मत उम्मेदवारका रूपमा सिफारिस भएका छन् । तर, मोरङ–५, बारा–२, पर्सा–४, सिरहा–१ र २ बाट समेत उनको नाम सिफारिस भएको छ ।
पहिलो संविधानसभा चुनावमा उनी मोरङ–५ र सुनसरी–५ बाट उठेका थिए । त्यतिबेला दुवै क्षेत्रबाट जितेका थिए । २०७० को दोस्रो संविधानसभा चुनावमा पनि उनले त्यही क्षेत्र दोहोर्याए पनि सुनसरीमा जित र मोरङमा हार निकालेका थिए । सप्तरी–२ बाट यसपटक जनमत पार्टीका अध्यक्ष सीके राउत उठ्ने भएपछि हारिने डरले उनले निर्वाचन क्षेत्र फेरेका हुन् । राउतले यादवलाई भेटेर उक्त क्षेत्रमा आफूलाई सहयोग गर्नसमेत भनेका थिए ।
नेपाली कांग्रेसमा सबैभन्दा धेरै क्षेत्रबाट नाम सिफारिस गर्न लगाउने नेतृ हुन प्रधानमन्त्री पत्नी आरजु देउवा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी आरजुले आफ्नो नाम पाँच जिल्लाबाट सिफारिस गर्न लगाएकी छन् । उनी ०७४ को निर्वाचनमा कैलाली–५ मा पराजित भएकी थिइन् । यसपटक पनि सोही क्षेत्रबाट उनको नाम सर्वसम्मत सिफारिस भएको छ । तर, त्यसबाहेक डडेलधुरा, बाग्लुङ, बाँके र बर्दियाबाट समेत उम्मेदवारका लागि उनको नाम सिफारिस भएर आएको छ ।
उनको गृहजिल्ला डडेलधुराबाट प्रत्यक्षतर्फ शेरबहादुर देउवाको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ राणाको नाम सिफारिस भएको छ । त्यस्तै, बागलुङ–२ र बाँके–३ बाट पनि प्रत्यक्षतर्फ उम्मेदवारका लागि राणाको नाम सिफारिस भएको छ । आफुले दवाव दिएर नाम सिफारिस गर्न लगाएपनि उनले भने स्थानीय नेता कार्यकर्ताले आफ्नो क्षेत्रबाट उम्मेदवार बन्न आग्रह गर्दै नाम पठाएको बताउँदै आएकी छन् । आरजुको माइतीघर रहेको जिल्ला बर्दियाबाट पनि उनको नाम सिफारिस भएको छ । बर्दिया क्षेत्र नं. २ ले उनको नाम पठाएको हो ।
निर्वाचन क्षेत्र फेर्ने नेतामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ पनि पर्दछन् । २०७४ सम्म उनले निर्वाचन क्षेत्र फेरेको फेरै गरेका थिए । प्रचण्डको नाम चार ठाँउबाट सिफारिस भएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले चार ठाँउबाट नाम आएपनि आगामी चुनाव चितवन–३ बाटै लड्ने बताएका छन् । तर पार्टीले भने ४ ठाउँबाट उम्मेदवारका लागि नाम सिफारिस गरेर पठाएको छ । चुनाव क्षेत्र फेरिरहने दाहालले ०७४ मा चितवन–३ बाट जितेका थिए ।
अहिले पनि सो क्षेत्रबाट उनको नाम सर्वसम्मत सिफारिस भएको छ । तर, चितवन दाहालको लागि असुरक्षित हुन सक्ने व्याख्या भइरहेका बेला दाहालको नाम माओवादी केन्द्रको वर्चस्व रहेको क्षेत्र गोरखा–१ बाट पनि सिफारिस भएको छ । त्यस्तै, नवलपुर क्षेत्र नं. १ र बागलुङ क्षेत्र नम्बर २ बाट समेत उनको नाम सिफारिस भएको छ ।
यसअघि ०६४ मा दाहालले रोल्पा–२ र काठमाडौं–१० बाट चुनाव जितेका थिए । तर, ०७० मा उनी काठमाडौं–१० मा दोहोरिन सकेनन् । सिरहा–५ बाट झिनो मतान्तरले चुनाव जिते । ०७४ मा वामगठबन्धन हुँदा चितवन–३ बाट उम्मेदवार बनेका उनी अब फेरि त्यही दोहोरिन चाहन्छन् । तर, त्यो क्षेत्रमा उनको पार्टी तेस्रो स्थानमा रहेकाले उनको जित सहज छैन् । चितवन उनका लागि जोखिम क्षेत्र हो । गठबन्धनकै कारण भरतपुर महानगरपालिका मेयरमा छोरी रेनु दाहाललाई दोहोर्याएका कारण दाहालले चितवनमै आफ्नो जित हुने ठानेका छन् ।
कांग्रेस महामन्त्री गगनकुमार थापा बढी नाम सिफरिस हुने नेताको चौथो नम्बरमा आउछन् । थापाले काठमाडौं–४ बाट लड्ने बताएपनि उनको नाम तीन क्षेत्रबाट सिफारिस भएको छ । नेपाली कांग्रेसको महामन्त्री रहेका गगन थापा काठमाडौं–४ बाट चुनाव लड्ने तयारीमा छन् । ०६४ मा समानुपातिकतर्फ सांसद् बनेका उनी ०७० र ०७४ मा यही क्षेत्रबाट निर्वाचित भएका थिए । तर, यसपटक थापालाई सर्लाही र कास्कीका नेता कार्यकर्ताले समेत आफ्नो क्षेत्रबाट चुनाव लड्न आग्रह गर्दै उनको नाम सिफारिस गरी पठाएका छन् ।
सर्लाही क्षेत्र नं. ४ र कास्की क्षेत्र नं. १ ले प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ थापाको नाम सिफारिस गरेका छन् । अझ सर्लाही–४ ले त थापाको नाम एकल सिफारिस गरेर पठाएको छ । थापाले भने काठमाडौं–४ मै चुनाव लड्ने प्रस्ट पारिसकेका छन् । यसअघि कास्की–१ बाट उनको नाम सिफारिस भएपछि थापाले आफू काठमाडौं–४ बाटै उम्मेदवारीको तयारी गरिरहेको बताएका थिए । काठमाडौं–४ उनका लानगि यसपटक सहज देखिएको छैन् ।
यो क्षेत्रबाट थापा २५ हजार ५५८ मत ल्याएर निर्वाचित भएका थिए । उनीसँग एमालेका राजन भट्टराई १८ हजार १४० मत ल्याएर पराजित भएका थिए । स्थानीय तहको हेर्दा यहाँ एमालेले १६ हजार ५०७ मत पाएको छ । त्यस्तै कांग्रेसले १५ हजार ७६३, माओवादीले ८८४ मत पाएको थियो । एकीकृत समाजवादीले २ हजार ४१४, जसपाले ३१७ मत प्राप्त गरेको निर्वाचन आयोगको नतिजाले देखाउँछ । यहाँ गठबन्धनसँग १९ हजार ३३८ मत हुन आउँछ । जुन एमालेभन्दा २ हजार ८३१ मतबढी हो । यो क्षेत्रमा राप्रपाले २ हजार २९३ मत पाएको छ । राप्रपा एमालेसँग मिलेर चुनाव लड्दैछ ।
विभिन्न राजनीतिक दलका शीर्ष र लोकप्रिय नेताहरूको नाम पार्टीका तल्ला तहका कमिटीहरूले एकभन्दा बढी ठाउँबाट सिफारिस गरेका हुन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहटका दुवै क्षेत्रबाट उम्मेदवार सिफारिस भएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले यसपटक रौतहटबाट चुनाव लड्ने जनाएका छन् । यसअघि ०७४ मा उनी काठमाडौं–२ बाट विजयी भएका थिए । रौतहटका दुई वटा क्षेत्रबाट नेपालको नाम सिफारिस भएको छ । रौतहट क्षेत्र नं. १ र क्षेत्र नं. ४ बाट उम्मेदवारका लागि नेपालको नाम सिफारिस भएको हो ।
यस्तै नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतको नाम काठमाडौं र नुवाकोट गरी दुई क्षेत्रबाट सिफारिस भएको छ । विगतमा नुवाकोटदेखि चुनाव लड्दै आएका महत ०७४ मा भने काठमाडौं–५ बाट चुनाव लडेका थिए । यसपटक पनि काठमाडौं–५ बाटै उनको एकल नाम सिफारिस भएको छ । उता नुवाकोट–१ बाट पनि महतको नाम सिफारिस भएको छ । महतले भने पार्टीले उपयुक्त ठानेको अवस्थामा दुईमध्ये जुनै क्षेत्रमा पनि आफू उम्मेदवार हुन तयार रहेको बताएका छन् ।
कांग्रेस केन्द्रीय सदस्य एवम् उद्योगपति विनोद चौधरी पनि यसपटक प्रत्यक्षतर्फ चुनाव लड्ने तयारीमा छन् । एमाले र कांग्रेसबाट गरी दुई पटक समानुपातिकतर्फ सांसद भइसकेका चौधरी गत मंसिरमा भएको कांग्रेस महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थिए । उनी कांग्रेसबाटै चुनाव लड्ने तयारीमा छन् । कांग्रेसले तीन वटा क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेदवारका लागि उनको नाम सिफारिस गरेको छ ।
नवलपरासी क्षेत्र नं. १ र नवलपुर क्षेत्र नं. १ र २ बाट प्रत्यक्षतर्फ उम्मेदवारका लागि उनको नाम सिफारिस भएको हो । नवलपुर–१ नेता शशांक कोइरालाले चुनाव लड्दै आएको क्षेत्र हो । ०७४ को निर्वाचनमा कोइराला नै निर्वाचित भएका थिए । नेताहरूका अनुसार चौधरी नवलपुर–२ बाट उम्मेदवार बन्ने तयारीमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार