आठ दशक वरपर घुमिरहेका कांग्रेस नेता पौडेललाई तनहुँमा दुई तगारो
नेपालबहस संवाददाता
कात्तिक २, २०७९ बुधबार २१:१९:५७
२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उमेर ८० को वरपर घुमिरहेका छन् । यद्यपि उनको राजनीतिक जाँगर भने कुनै युवाको भन्दा कम छैन् । उनी यतिबेला आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको प्रचार प्रसारमा तनहुँका गल्ली-गल्ली र चोक-चोकमा आफ्नो उम्मेदवारी किन भनेर आम मतदातालाई बुझाइरहेका छन् ।
लोकतन्त्रको रक्षा, पारदर्शी शासन व्यवस्था, ग्रामीणमूखी अर्थतन्त्रको विकास जस्ता एजेण्डा बोकेर प्रतिनिधिसभा सदस्यका लागि अन्तिम लडाई लडिरहेका पौडेललाई यो निर्वाचन पनि जितका लागि सहज देखिएको छैन् । उनका लागि कांग्रेसकै पुराना नेता एवं उनकै सहयात्री गोविन्दराज जोशी मुख्य तगारोका रुपमा देखिएका छन् भने विपक्षी दल एमालेका उम्मेदवार एकबहादुर रानासँग पौडेलको प्रतिस्पर्धा छ ।
नेपालको राष्ट्रिय राजनीतिमा राम्रो छवि बनाएका पौडेलकाे गृहजिल्ला तनहुँमा भने पछिल्लो पटक आलाेचना पनि भइरहेको छ । नेपाली कांग्रेसको राजनीतिमा जीवन बिताएका पौडेल यही मंसिर ४ गते हुने संघीय निर्वाचनमा अन्तिम चुनावी मैदानमा होमिएर तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यका लागि सातौं पटक चुनाव लड्दैछन् । उनको प्रतिस्पर्धा आफ्नै पुराना सहकर्मी गोविन्दराज जोशी र एमालेका एकबहादुर रानासँग हुँदैछ । यी दुइलाई पाखा लगाएपछि मात्रै पोडेलको जित सुनिश्चित हुन्छ ।
२०७४ को संघीय निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठसँग फराकिलो मतान्तरले पराजित भएपछि राष्ट्रिय राजनीतिमै कमजोर बनेका पौडेल अब हुने निर्वाचनमा त्यो कमजोरी हुन नदिन जोडतोडका साथ लागिरहेका छन् । तनहुँ जस्तो कांग्रेसको गढ मानिने जिल्ला, त्यसमा पनि पौडेलको चुनावी क्षेत्रमा उनको हारको समीक्षा भने उनले गरेका छैनन् । उनले आफ्नो हारका कारण नखोजेको भन्दै स्थानीय नेता कार्यकर्ताले समेत गुनासो गरिरहेका छन् ।
२०४८ सालमा तनहुँ–१ बाट निर्वाचित पौडेल ०५१ मा भने तनहुँ–२ चुनाव लडेर विजयी भएका थिए । त्यसपछि लगातार तीन पटक २०५६, २०६४ र २०७० मा पौडेलले तनहुँ–२ बाट नै चुनाव जितेका थिए । पाँच पटक जित हासिल गरेका उनलाई छैटौं पटक बाम गठबन्धनका उम्मेदवार किसान श्रेष्ठले धक्का दिए । मुलुक संघीय संरचनामा गएसँगै तनहुँ दुई निर्वाचन क्षेत्र सीमित भयो । २०७४ मा तनहुँ–१ बाट उम्मेदवारी दिएका पौडेल ६ हजार मतान्तरले पराजित भएका हुन् ।
२०७४ को निर्वाचनमा पनि पौडेलविरुद्ध जोशीले बागी उम्मेदवारी दिएका थिए । तर उच्च अदालतमा चलिरहेको भ्रष्टाचार मुद्दालाई प्रमुख कारण बनाई पौडेलकै उजुरीमा जोशीको उम्मेदवारी खारेज भएको थियो । पछि जोशीले श्रेष्ठलाई जिताउन सहयोग गरेको भन्दै पार्टीले उनलाई ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियाे ।
एउटै पार्टीमा आबद्ध रहे पनि सुरुदेखि नै पौडल र जोशी एकअर्काका विरोधीका रूपमा चिनिदै आएका छन् । रामचन्द पौडेल केन्द्रीय राजनीतिमा चर्चित भए पनि भूगोलको राजनीतिमा जोशीभन्दा कमजाेर रहेको जिल्ला स्तरका नेताहरु बताउँछन् । पौडेल भित्री खुराफाती राजनीतिमा जोशीभन्दा पछाडी छन् जसले गर्दा आफ्नै निर्वाचन क्षेत्रमा कसले आफुबिरुद्ध के गरिरहेको छ भन्ने कुरासमेत पौडेलले जानकारी राख्दैनन् । जोशीबिरुद्ध यसपटक पनि सर्वोच्चमा रिट परेको थियो तर त्यसलाई सर्वोच्चले खारेज गरिदिएको छ । रिट खारेज भएपछि जोशी पौडेलको तगारो बनेर तनहुँ १ मा उभिएका छन् ।
पौडेलले अहिले पनि देश र जनताका लागि उम्मेदवारी दिएको प्रतिक्रिया दिइरहेका छन् । समाजमा लोकतन्त्र र संविधानको संरक्षणका लागि आफू राजनीतिमा हालसम्म रहेको बताउँदै उनले निष्ठा र अनुशासनको राजनीतिको आधार स्थापनाका लागि आफुले उम्मेदवारी दिएको भन्दै प्रचार गरिरहेका छन् । उता, जोशीका मुद्दा भने गठबन्धनको राजनीति अन्त्य गर्नु रहेको छ । आफू पराजित भएको निर्वाचन क्षेत्रबाट निर्वाचित भएर मात्रै मर्ने इच्छा रहेको अभिव्यक्ति दिँदै आइरहेका पौडेललाई यसपटकको निर्वाचनमा पनि प्रतिपक्षी दल एमालेका उम्मेदवार एकबहादुर राना जोशीका कारण भारी पर्ने देखिएको छ ।
गठबन्धन भएका कारण पौडेललाई चुनाव जित्न केही सहज हुने चर्चा पनि तनहुँमा चलेको छ । पौडेल पनि अन्य पार्टीको सहयोगमा यो पटक निर्वाचित हुने आसमा छन् । स्थानीय कांग्रेस नेताहरुको भनाइमा अहिले पौडेल, जोशी र एमाले कसैलाई पनि पार्टीभित्रकै मतबाट जित्न सम्भव छैन । अहिलेका नयाँ मतदाता र युवाको रुचिलाई मध्यनजर गर्न सकेमात्रै पौडेलले बाजी मार्न सक्ने सम्भावना रहन्छ ।
पौडेलका लागि जोशी प्रतिस्पर्धी नभएपनि कांग्रेसका र अन्य भोट बिगार्ने र भत्काउने मात्रै हो । २०४८ मा पौडेलले क्षेत्र नं १ बाट जित हासिल गरेका थिए । त्यहीबाट सुरु भएको उनको संसदीय राजनीति अनवरत चलिरहेको छ । लामो समयसम्म पनि संसद, सरकार र पार्टी नेतृत्वमा बसेका पौडेलले जिल्लामा सिन्कोसमेत नभाँचेको प्रश्न अझ उठिरहेको छ । पौडेल पछिल्लो समय गाउँमै बसौं भन्ने अभियान चलाएका छन् ।आम जनता र कार्यकर्ता के चाहन्छन् भन्ने कुराको भेउ नपाउने अर्को आरोप पनि पौडेलमाथि लागेको छ ।
यसपटकको संघीय निर्वाचनमा अन्तिम पटक जित्ने दाउमा रहेका पौडेलको यो दाउ भने सहज छैन । नेपालको राजनीतिमा सशक्त हैसियत बनाएका गोविन्दराज जोशी उनको सबैभन्दा ठूलो तगारो बन्ने देखिएको छ । जोशीको तगारो हटाउन सकेनन् भने पौडेलको जितेरमात्र मर्ने चाहना अधुरै हुने स्थानीयहरु बताउँछन् । एउटै जिल्ला, त्यसमाथि एउटै क्षेत्र भएका जोशीको प्रमुख अभियान भनेको पौडेल हराउने नै देखिएको छ ।
पौडेल सादगी र इमानदार नेता हुन् । यसमा दुईमत छैन । तर, अबका जनताले त्यसलाई मात्र स्वीकार्न सक्दैनन् । आम जनताको न्यूनत्तम आवश्यकता, शिक्षा, स्वास्थ्य, खानेपानी र विकास निर्माणमा नहिँड्ने हो भने पौडेलका लागि अबको चुनाव पनि फलामको चिउरा सावित हुने कांग्रेसकै नेता कार्यकर्ताहरु बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
माघे संक्रान्ती अर्थात माघीको मेन्यु, हाम्रो स्वास्थ्यमा कस्तो प्रभाव पार्छ ?
पुष २९, २०८१ सोमबार
विपदमा क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न एक खर्ब एक अर्ब लाग्ने अनुमान
पुष २९, २०८१ सोमबार
नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश दिने
पुष २९, २०८१ सोमबार
यी हुन् राष्ट्रपतिले जारी गरेका चार अध्यादेश
पुष २९, २०८१ सोमबार
अस्पतालको पहिचान सेवाको गुणस्तरका आधारमा हुनुपर्छः स्वास्थ्यमन्त्री पौडेल
पुष २९, २०८१ सोमबार