गठबन्धनका उम्मेदवारहरुको जीत सुनिश्चित छ–सञ्जयकुमार गौतम उम्मेदवार बर्दिया क्षेत्र नं. १
नेपालबहस संवाददाता
कात्तिक २, २०७९ बिहिबार ०:४४:२६
सञ्जयकुमार गौतम बर्दियाली जनता माँझ मात्र होइन राष्ट्रिय राजनीतिमै चर्चित नाम हो । खासगरी ०७४ सालको आम निर्वाचनमा राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमै चर्चाको शिखरमा रहेका एमाले नेता बामदेव गौतमलाई पराजित गरेपछि सञ्जय गौतमको चर्चा राष्ट्रिय राजनीतिमा बहसको विषय नै भएको थियो । एमाले र माओवादीबीच गठबन्धनसहित भएको त्यो चुनावमा बामदेव जस्तो पूर्व उपप्रधानमन्त्री एवं शक्तिशाली गृहमन्त्रीलाई पराजित गर्नु चानेचुने कुरा थिएन ।
हाल नेपाली कांग्रेसको केन्द्रीय सदस्य रहेका गौतम आसन्न मंसिर ४ गते हुने आम निर्वाचनमा बर्दिया क्षेत्र नं. १ बाट गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि उम्मेदवार छन् । ०७४ को आम निर्वाचनमा बर्दिया–१ बाट प्रत्यक्ष निर्वाचित सञ्जय गौतमले देउवा सरकारको पालामा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । जिल्लामा उनी राम्रो पकड भएका नेता मानिने उनी २ पटक जिल्ला पार्टी सभापति पनि भईसकेका छन् । सांसद भएको पहिलोपटक मै मन्त्री बन्न समेत सफल उनी पार्टीभित्र कुशल संगठक र नेतृत्वदायी भूमिकामा अब्बल मानिन्छन् ।
राजनीतिशास्त्रमा स्नातक तहसम्मको अध्ययन गरेका सञ्जय गौतमको जन्म बि.सं. २०२० साल फाल्गुन २ गते नेपालगञ्जको घरबारी टोलमा भएको हो भने हाल बर्दिया जिल्लाको गुलरिया–६ का स्थायी बासिन्दा हुन् । उनका बाबुको नाम किशोर कुमार गौतम र आमाको नाम स्व. रक्षा गौतम हो । उनकी श्रीमतीको नाम सावित्री गौतम हो ।
गौतमले २०३६–०३७ सालको चर्चित बिद्यार्थी आन्दोलनसँगै नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्राको पा्ररम्भ गरेका थिए । सो आन्दोलनका बेला तीन महिनासम्म भद्रगोल जेलमा बिताएका २०४९ सालमा वडाध्यक्ष भएर जिल्ला विकास समितिको उपसभापतिमा भीडेका थिए ।
पार्टीको गाउँ सचिव, क्षेत्रीय सचिव, जिल्लाको सह–सचिव, सचिव हुँदै गौतम पार्टीको दुईपटक जिल्ला सभापति समेत भईसकेका छन् । पार्टी विभाजनका बेला तत्कालीन संस्थापन पक्षमा रहेर सभापति भएका गौतम एकतापछि सर्वसम्मतिले सभापति भएका थिए । २०६२-०६३ को आन्दोलनका क्रममा पनि तीन महिना जेल परेका गौतम २०६४ मा सम्पन्न संविधानसभा निर्वाचनमा उम्मेदवारबनेका थिए तर पराजित भए । २०७० सालमा संविधानसभा सदस्यबनेका उनी गरिब, निमुखा, उत्पीडित तथा आवाजबिहीनहरुको आवाज बुलन्द गर्ने उनी असल नेता र समाजसेवीका रुपमा परिचति छन् । उनै गौतमसँग आमनिर्वाचनमा केन्द्रित रहेर नेपालबहसका कालिका महतले गरेको कुराकानीको सम्पादित अंशः
बर्दियामा चुनाव प्रचारप्रसार कत्तिको अगाडि बढेको छ ?
यतिबेला उम्मेदवारी दर्तापछि जिल्लाका नेता, कार्यकर्ता तथा साथीहरुसँग छलफल र सरसल्लाह गर्दैछु । गठबन्धनमा सामेल दलका नेता, कार्यकर्तासँग पनि भेटघाट गर्दैछु । भेटमा उहाँहरुसँग चुनावमा एकढिक्का भएर कसरी अगाडि बढ्ने भन्ने बारेमा गहन छलफल चलिरहेको छ । कांग्रेसका अग्रज नेता, कार्यकर्ता र गठबन्धनमा सामेल दलका नेता कार्यकर्ता बहस, छलफल र भेटवार्ता गरिरहेको छु । त्यसमा चुनावमा कसरी जाने, चुनाव परिचालन कमिटी कसरी बनाउने र सबैलाई मिलाएर कसरी अगाडि बढ्ने भन्ने विषयमा केन्द्रित रहेर छलफल जारी छ ।
यतिबेला नेपाली कांग्रेसभित्र पनि टिकटको विषयलाई लिएर असन्तुष्टिहरु छन् त्यहाँको अवस्था कस्तो छ ?
नेपाली कांग्रेस पुरानो र ठूलो लोकतान्त्रिक पार्टी हो । यसमा फरक विचार, बहस, छलफलहरु हुन्छन् । यसभित्रका नेताहरुबीच विभिन्न विचार र बहसहरु हुन्छन् । धेरै नेता, कार्यकर्ता भएको पार्टीमा कसैले टिकट पाउँछन् कसैले पाउँदैनन् । पाउने एउटा हुन्छ, आकांक्षी धेरै हुन्छन् । आशा गरेको ठाउँमा नपाउँदा असन्तुष्टि हुन्छ । त्यसपछि ती असन्तुष्टिहरु विस्तारै हराउँदै जान्छन् । बर्दिया कांग्रेसभित्र खासै असन्तुष्टि र मनमुटाव छैन । त्यसकारण हामी सबै एकढिक्का भएर जाने छौं । कांग्रेसभित्र खासै समस्या छैन ।
गठबन्धन कत्तिको अनुशासित र कसिलो भएर चुनावसम्म जाने जस्तो लाग्छ ?
यो गठबन्धनमा सबैभन्दा ठूलो समस्या भनेको भोट हाल्नका लागि चुनाव चिन्हको हो । किनभने रुखमा भोट हालिरहेका मान्छहरुले हसियाँ हथौडामा हाल्नुपर्ने तथा हसियाँ हथौडामा हालिरहेका मान्छेहरुले रुखमा हाल्नुपर्ने । यो चाहीं ठूलो टेक्निकल समस्या छ । तर, हामी गठबन्धनमा सामेल दलहरु एकदमै प्रतिबद्ध छौं । कार्यकर्ताहरुलाई पनि त्यसैगरी परिचालन गर्ने योजनामा जुटेका छौं ।
त्यसको लागि कार्यकर्तामार्फत जनतालाई पनि सूसुचित गरिरहेका छौं । हाम्रा नेता, कार्यकर्ताहरु पनि गठबन्धनका नेता नै हाम्रो उम्मेदवार हुन् भनेर लागिपरेको अवस्था छ । त्यसको लागि मानसिक रुपमा नै कन्भिन्स भएको अवस्था छ । त्यसकारण बर्दिया जिल्लामा यो गठबन्धनबाट हामीले लक्षित उपलब्धि हासिल गर्दछौं । त्यसको लागि साथीहरुमा खासै समस्या छैन । यहाँ गठबन्धनका उम्मेदवारहरुको जीत सुनिश्चित छ । हाम्रा साथीहरुबीच मैले त्यति ठूलो समस्या देखेको छैन् ।
बर्दिया निर्वाचन क्षेत्र नं. १ का जनताले सञ्जय गौतमलाई नै भोट दिनुपर्ने कारण के ?
मैले बर्दियाका जनताको जीवनस्तर परिवर्तनका लागि धेरै काम गरेको छु । मैले जनताको जीवनस्तर परिवर्तनलाई आफ्नो बलबुताले भ्याएसम्म अगाडि बढाउने काम गरेको छु । त्यसको अनुभूति यहाँका जनतालाई दिलाएको छु । हरेक कालखण्डमा यस क्षेत्रका जनताको जीवनस्तर परिवर्तनको महत्वपूर्ण भूमिका निर्वाह गरेको छु । मेरो कार्यकालमा बर्दिया जिल्लाले राजनीति परिवर्तनको अनुभूति गरेका छन् । त्यसकारण यहाँका जनताले जसरी मलाई निर्माण गरे, त्यसमा उनीहरु पनि खुशी छन् भन्ने मलाई लाग्छ ।
यसरी तपाईंले चुनाव जितेर त्यस ठाउँमा नेपाली कांग्रेसको संगठन स्थापित गर्नुभयो, यसपाली त्यो शाख कायम राख्न सक्नुहुन्छ ?
मज्जाले सक्छु, त्यसमा दुईमतै छैन । जसरी मैले अघिल्लो आमनिर्वाचनमा यहाँका जनताबाट साथ, सहयोग र समर्थन पाएको थिएँ । त्यसको गुन मैले तिरेको जस्तो लाग्छ । त्यसको मूल्यांकन जनताले पनि गरेका छन् । त्यो साथ, सहयोग र समर्थन यसपटकको निर्वाचनमा पनि पाउँछु भन्नेमा विश्वस्त छु । जसरी मलाई नेपाली कांग्रेसले विश्वास गरेर उम्मेदवार बनाएको छ । त्यसैगरी बर्दिया जिल्लामा कांग्रेसको दारिलो अनि भरपर्दो पार्टी बनाएर स्थापित गर्ने प्रतिबद्धता जाहेर गर्दछु । त्यसको लागि कांग्रेस नेता, कार्यकर्ता र गठबन्धनका साथीहरुको साथ, सहयोग र सर्मथन अपरिहार्य हुनेछ ।
परिवर्तनका कुरा गर्नुभयो, दलहरुप्रति खासै आकर्षण छैन, जनताबाट कस्तो आश्वासन पाउनुभएको छ त ?
यतिबेला आमजनताका बीचमा हामी राजनीति दलहरुप्रति जनताको वितृष्णा छ, त्यो कुरा साँचो हो । तर देशभरमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीजस्ता राष्ट्रिय पार्टीको विकल्प पनि छैन । कतिपय विषयमा ती कुरा खड्किएका पनि छन् । कतिपय कुराहरुमा हामीले पनि आफूलाई सुधार गर्नुपर्ने आवश्यकता देखिन्छ । हामीले जनताका बीचमा शान्तिसुरक्षा, आर्थिक सुशासन र राजनीतिक स्थिरता दिन्छौं भनेर जसरी वचनवद्धता गरेका छौं ।
यसपाली जनताले यो संविधान निर्माणपछि जुन किसिमको घटनाक्रम देशमा निर्माण भयो । नेपाल कम्युनिस्ट पार्टीको नाममा दुई तिहाई हाराहारीको सरकार बनेर पनि मुलुकमा राजनीतिक, सामाजिक र आर्थिक स्थिरता आउन सकेन । त्यसकारण अब उनीहरु नेपाली कांग्रेसको नेतृत्वमा निर्मित सरकारले राजनीतिक स्थिरता दिन्छ । देशमा शान्तिसुरक्षा र अमनचयन र आर्थिक उन्नति हुन्छ भनेर जनताले विश्वास गरेका छन् । र, संस्थागत रुपले हामीले निर्माण गरेको संविधानलाई कार्यान्वयन गर्ने पक्षमा नेपाली कांग्रेसको नेतृत्वमा यो अभियान सफल हुन्छ र मुलुकले एउटा स्थायित्वको बाटो लिन्छ भन्नेमा जनता विश्वस्त छन् । त्यसमा जनता दुईमत छन् जस्तो मलाई लाग्दैन ।
गठबन्धन नै गरेर चुनावमा जानुपर्ने राष्ट्रिय आवश्यकता हो कि यसमा संलग्न पार्टीहरु चुनावसँग डराएर हो ?
यो गठबन्धनलाई एउटा चुनाव जित्न, सरकारमा जान र प्रधानमन्त्री, मन्त्री बन्नका लागि मात्रै जोडेर हेर्न मिल्दैन । यसलाई नेपाली कांग्रेसले गठबन्धन गरेर चुनावमा जाने भनेर संस्थागत निर्णय गरेको छ । हामीहरु पनि त्यहीं अनुरुप अगाडि बढिसकेका छौं । त्यसैले हाम्रो गठबन्धन अहिलेको अपरिहार्य आवश्यकता नै हो भन्ने ठान्नु्पर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे
असोज १, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार